स्याङ्जाको विरुवामा संकटकाल पछिको पहिलो चार शहीदको प्रतिमा
स्याङ्जा । नेकपा माओवादी पार्टीले जनयुद्दको घोषणा गर्नु अघि २०५२ साल चैत्रमा पोलिट ब्यूरो सदस्यहरुको बैठक बसेको चर्चित स्थान विरुवा गाउँपालिका वडा – २ अर्चले भन्ज्याङ गावुडाँडा, झागडीमा जनयुद्धका चार शहीदहरुको प्रतिमा निर्माण गरिएको छ
। जनयुद्धकालमा नेकपा माओवादी पार्टीका एरिया कमिटी सदस्य तथा अनेमसंघ स्याङ्जाकी अध्यक्ष समेत रहेकी यान कुमारी गुरुङ ‘सरला’, संकटकाल पछिको पहिलो शहीद बनेकी हुन् । जनमुक्ति सेनाको सेक्सन कमाण्डर भएर काम गरेकी यान कुमारी गुरुङ ‘सरला’लाई २०५८ साल चैत्र ८ गते स्याङजा जिल्लाको माझकोट शिवालयबाट पक्राउ गरि स्याङजाको सदरमुकाम पुतलीबजार लैजाने क्रममा फेदीखोला गाउँपालिकाको भालुपहाडमा लगेर तत्कालिन शाही नेपाली सेनाद्वारा हत्या गरिएको थियो । त्यसै गरी लक्ष्मी गुरुङ ‘सपना’को २०५९ साउन ४ गते स्याङजाको कुवाकोटमा लगेर हत्या गरी कालि गण्डकीमा शव फालिएको थियो । त्यसै गरी तुल्सी लम्साल ‘पवन’ २०६० सालमा र रेल बहादुर गुरुङ २०६१ माघ २९ गते शहीद भएका थिए ।
प्रदेश सभाका सदस्य दिपक चर्तिमगरको क्षेत्र विकास कोषको ६ लाख रुपैया, स्थानीयको श्रमदान र अन्य सहयोग रकम गरी ११ लाख भन्दा बढि खर्च भइसकेको छ । पार्कसमेत निर्माण गरिएको उक्त स्थानमा नेकपा स्याङ्जाका जिल्ला कमिटी सदस्य तिल बहादुर गुरुङले व्यवस्थापन गरेका छन् । उनका अनुसार निकट समयमै प्रतिमाको अनावरण गरिनेछ ।चारै जना शहीदको प्रतिमा मुर्तिकार रमेश सुनारले साढे दुई महिना लगाएर बौद्ध, काठमाडौंमा बनाएका हुन् । प्रतिमा निर्माणमा पुतलीबजार नगरपालिका–९, कोल्माका प्रकाश पौडेलले व्यवस्थापन संयोजनमा सहयोग गरेका छन् ।
दिपक चर्तिमगर २०७४ सालमा सम्पन्न प्रदेश सभा निर्वाचनमा स्याङ्जाबाट प्रदेशसभाका निर्वाचित सदस्य हुन् । स्याङ्जामा संघीय संसदमा दुई जना र प्रदेशसभामा तीन जना नेकपाबाट निर्वाचित भएका छन् भने एक जना नेपाली कांग्रेसबाट उमेद्वार बनेर प्रदेश सभामा निवाचित भएका छन् ।