October 26, 2026

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

भाकल पूरा गर्न लामिछाने भारतमा, रहस्यमय भ्रमण प्रति गम्भीर आशंका


विज्ञान वा माक्र्सवादले कुनै मन्दिर वा धार्मिक स्थलमा गएर, भाकल गरेर वा देवीदेवता भाकेर राजनीतिक शक्ति वा वस्तु प्राप्त हुने कुरा कतै प्रमाणित भएको छैन । सत्ताधारी दलको सभापतिको यो भनाई र गराईले नेपाल र नेपालीका लागि लज्जास्पद अवस्था बनाएको छ ।

नारायण प्रसाद शर्मा
काठमाडौँ । नेपाली राजनीतिका चर्चित मधेशी नेता उपेन्द्र यादवले कुनै समय नेपाली नेताहरूका लागि ‘भारत भ्रमण मक्का–मदिना जस्तै’ भएको टिप्पणी गर्ने गर्दथे । मुस्लिम धर्मावलम्बीहरूका लागि मक्का–मदिना जति महत्वपूर्ण छ, नेपाली राजनीतिको बागडोर सम्हाल्ने वा कुर्सीमा पुग्न चाहनेहरूका लागि दिल्ली दरबार र त्यहाँका तीर्थस्थलहरू त्यत्तिकै महत्वपूर्ण बन्ने गरेको इतिहास पुरानो हो । वि.सं. २००७ सालको आन्दोलनदेखि नै नेपालमा प्रजातन्त्र स्थापना र विभिन्न राजनीतिक परिवर्तनहरूमा आफ्नो योगदान रहेको दाबी गर्दै भारतले आफ्नो स्वार्थ अनुकूल नेपालको आन्तरिक मामिलामा हस्तक्षेपकारी भूमिका निर्वाह गर्दै आएको विषय कतै लुकेको छैन । आफ्नो अनुकूल नभएका नेपाली नेताहरूलाई सत्ताबाट अपदस्थ गराउने र अनुकूलका पात्रहरूलाई स्थापित गर्ने खेल नेपालको सिंहदरबार र दिल्लीको साउथ ब्लकबीच लामो समयदेखि चल्दै आएको छ ।
विगतको इतिहास हेर्ने हो भने भारतको वर्तमान सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) लाई तत्कालीन समयमा नेपालको राजसंस्थाले निर्वाचन खर्च समेत उपलब्ध गराउने गरेको कतिपय पुराना राजनीतिक विश्लेषक र नेताहरू स्मरण गर्छन् । सोही कारणले गर्दा पनि नेपालको राजसंस्था र भारतको तत्कालीन सत्तारुढ दल कङ्ग्रेस (आई) बीचको सम्बन्ध कहिल्यै सुमधुर हुन सकेन । वि.सं. २०४६ सालको जनआन्दोलन ताका राजाले भारतीय संस्थापन पक्षको साथ नपाउनुको एउटा मुख्य कडी पनि यही सम्बन्धको चिसोपनलाई मानिन्छ ।
विगतमा अमेरिकी स्थायी बसोबास (ग्रीनकार्ड) का लागि नेपाली नागरिकता समेत त्यागेका र पछि नेपाल फर्किएर राजनीतिमा उदाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भारतसम्बन्धी नीति पनि सधैँ दोहोरो चरित्रको रहेको आलोचकहरू बताउँछन् । पहिलो पटक गृह मन्त्री बन्दा र पछि नागरिकता तथा राहदानी विवादका कारण पदबाट राजीनामा दिन बाध्य हुँदा उनले आयोजना गरेको विशेष पत्रकार सम्मेलनमा भारतीय मिडिया र भारतीय पक्षको चर्को आलोचना गरेका थिए । तर, वि.सं. २०८२ साल फागुन २१ गतेको निर्वाचनपश्चात् उनको दल रास्वपाले संसदमा १८२ सीटको अभूतपूर्व शक्ति प्राप्त गरेपछि उनको बोली र व्यवहारमा एकाएक परिवर्तन आएको छ । अहिले उनी भारतीय पक्षका विश्वासशीला पात्र बन्ने पुगेका छन् । निर्वाचनलगत्तै लामिछाने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका शीर्ष नेताहरूलाई भेट्न नयाँ दिल्ली पुगेका थिए, जसलाई धेरैले उनको सत्तालिप्सा र दिल्ली रिझाउने रणनीतिका रूपमा व्याख्या गरेका छन् ।


विज्ञान भर्सेस रुढीवादः ‘भन्नेभन्दा देख्नेलाई लाज’
सत्तारुढ दलकै प्रमुख नेता एवं देशको भावी प्रधानमन्त्रीका रूपमा आफूलाई प्रस्तुत गरिरहेका लामिछानेले आफू कारागार (जेल) मा रहँदा ‘भाकल’ गरेको भन्दै त्यसलाई पूरा गर्न भारतका धार्मिक तीर्थस्थलहरू जाने सार्वजनिक उद्घोेष गरेपछि नयाँ पुस्ता र विज्ञानमा विश्वास गर्ने नेपालीहरूका लागि यो कदम ‘…….भन्दा देख्नेलाई लाज’ जस्तो बन्न पुगेको छ । आधुनिक र वैज्ञानिक चेतनाको वकालत गर्ने दलका प्रमुख नै भाकल र रुढीवादी परम्पराको पछि लाग्नुले रास्वपाको वैचारिक धरातलमाथि नै गम्भीर प्रश्न उठाएको छ । विज्ञानको कुनै पनि नियम वा सिद्धान्तमा भाकल गरेर वा देवीदेवता भाकेर राजनीतिक शक्ति वा वस्तु प्राप्त हुने कुरा कतै प्रमाणित भएको छैन ।
लामिछानेको जेलमुक्ति र त्यसको आसपासका घटनाक्रमहरू अझै पनि विवादको घेराबाट मुक्त हुन सकेका छैनन् । वि.सं. २०८२ भदौ २४ गते लामिछाने नख्खु कारागारबाट मुक्त हुँदा चर्चित गीतकार रामकृष्ण ढकालको गाडी चढेर निस्किएका थिए, जसलाई मिडियामा एउटा ठूलो ‘फण्डा’ र नाटकका रूपमा चित्रण गरिएको थियो । लामिछाने जेलमा रहँदा र उनको मुद्दाको बहस चल्दा देशका विभिन्न कारागारहरूबाट झण्डै १५ हजार कैदीहरू फरार भएको र तिनै फरार कैदीहरूले समाजमा विभिन्न प्रकारका गम्भीर आपराधिक घटनाहरू घटाएको आरोप समेत उनीमाथि लाग्ने गरेको छ ।


आर्थिक, नैतिक र सामाजिक पतनको आरोप
ग्यालेक्सी फोरके टेलिभिजनको प्रबन्ध निर्देशक तथा सीईओ रहँदा रवि लामिछानेले विभिन्न सहकारीहरूबाट गैरकानुनी रूपमा करोडौँ रुपैयाँ ऋण लिएको र सर्वसाधारणको बचत ठगी गरेको प्रकरणबाट उनी अझै पनि मुक्त हुन सकेका छैनन् । सर्वसाधारण नागरिकले आफ्नो रगत–पसिना बगाएर सहकारीमा जम्मा गरेको अर्बौँ रुपैयाँ हिनामिना र घोटालाकाण्डमा उनी प्रत्यक्ष जोडिएको तथ्यहरू बाहिर आउँदा पनि उनी सहजै निर्वाचनमा उम्मेदवार बन्न पाउनु र सत्ताको नेतृत्व तहमा पुग्नुलाई धेरैले विडम्बना मानेका छन् । यस्तो कानुनी सौभाग्य र राजनीतिक संरक्षण देशका अन्य सर्वसाधारण नागरिकलाई विरलै प्राप्त हुन्छ ।
आर्थिक रूपमा मात्र नभई सामाजिक र नैतिक रूपमा पनि लामिछानेको जीवन निकै विवादित रहँदै आएको छ । तीन वटा विवाह गरेका लामिछानेकी कान्छी श्रीमती निकिता पौडेल हुन् । निकिता पौडेल आफैँ पनि आफ्ना पूर्वपति र छोरीलाई छाडेर पारपाचुके (डिभोर्स) गरी रविसँग वैवाहिक बन्धनमा बाँधिएकी पात्र हुन् । उनीहरूको विवाहको भड्किलो खर्च र त्यसका लागि लिइएको मोटो रकम फिर्ता नगरेको विषयमा आवाज उठाउँदा भरत जङ्गम जस्ता प्रतिष्ठित व्यक्तिहरू समेत थुनामा पर्नु परेको घटनाले लामिछानेको शक्तिको दुरुपयोगलाई उदाङ्गो पारेको छ ।


प्रधानमन्त्री बन्ने अन्तिम दाउपेच र ‘वाग्ले दूत’ को दिल्ली मिसन
सत्तारुढ दल रास्वपाले आफ्नो विधानमा नै पार्टी सभापतिलाई संसदीय दलको नेता जुनसुकै बेला फेर्न सक्ने र सर्वोपरि अधिकार रहने विशेष प्रावधान राखेको छ । रास्वपाको यो विधानको व्यवस्थाबाटै के प्रष्ट हुन्छ भने रवि लामिछानेलाई जसरी पनि र जुनसुकै मूल्यमा पनि मुलुकको प्रधानमन्त्री पद चाहिएको छ । प्रधानमन्त्री बन्ने यही तीव्र आकांक्षाकै कारण उनले आफ्ना दलका उपाध्यक्ष एवं वर्तमान उपप्रधान तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई आफ्नो विशेष ‘दूत’ का रूपमा भारत पठाएका छन् ।


पछिल्लो समय डा. स्वर्णिम वाग्लेले भारतीय सत्तारुढ दल भाजपा र दिल्लीका उच्च राजनीतिक अधिकारीहरूसँग सघन भेटघाट र लबिङ गरिरहेका छन् । रविलाई प्रधानमन्त्रीका रूपमा स्वीकार गर्न र नेपालको आगामी सत्ता समीकरणमा रास्वपालाई पूर्ण सहयोग गर्न वाग्लेले दिल्लीमा वातावरण बनाइरहेको स्रोतको दाबी छ । खाना, खाजा, र राजनीतिक डिलहरूमा मनपरी बिल बनाएर अकुत कमाउधन्दा सञ्चालन गर्दै आएका संसद्का एकथरी रैथाने कर्मचारीहरू र स्वार्थी समूहको आडमा लामिछानेले आफ्नो प्रधानमन्त्री बन्ने महत्वाकांक्षा पूरा गर्न चालेको यो ‘दिल्ली र तीर्थ’ रणनीतिले आगामी दिनमा नेपालको राजनीतिलाई कुन दिशामा लैजान्छ, त्यो भने हेर्न बाँकी नै छ ।
२०८३ कार्तिक ९ गते प्रकाशित डायरी एक्सप्रेस साप्ताहिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.