बादी समुदायसँग जोडेर प्रोजेक्ट बनाएर विदेशी बजेट ल्याएका छन्
० वादी समुदायको चरित्र हत्या हुँदा पनि नबोल्नुको कारण कहिँ न कहिँ सत्ताको लोभ छ ।
० जब देशको शक्तिशाली पदमा बस्नेहरु बिक्न थाल्छन्, तब न्याय मर्छ ।
० ।
० बादीका छोरी चेलीलाई पढाएको भन्दै व्यवसाय चलाएका छन् ।
० अहिले जुन अवस्था आयो त्यसमा हाम्रै वादी समुदायका अभियन्ताका कमजोरीका कारण हो ।
० अहिले बादीहरुले मादल बनाएर, बचेर जीविकोपार्जन गरिरहेका छन् । माछा मारेर पेट पालिरहेका छन् ।
० गल्ति गरेर बजारीकरण गरिसकेपछि खाए खा नखाए घीच भने जस्तो गरी सत्ता र शक्ति लगाएर फिल्म चलाउनु भनेको न्यायपालिकाको अबहेलना हो ।
० अदालतले नौ दिनपछि फिल्म चल्न दिनु थियो भने क्लिनचिट दिनुपर्दथ्यो ।
० यो त सरकारले भद्धामजाक गरिरहेको छ ।
० हामी तारिख र पेसीमा झेलिएर थाकीसकेका छौं ।
० मन्त्री सीता बादीको काम के हो ? उनी चुइक्क बोल्न सकिरहेकी छैनन् ।
रोशनी नेपाली बादी
दाङ जिल्लाको साविक श्रीगाउँ गाविस हालको दंगीशरण गाउँपालिकामा जन्मनुभएकी .रोशनी नेपाली बादी चिकित्सा पेसामा आवद्ध हुनुहुन्छ । बुवा निर्मल नेपाली बादी सरकारी विद्यालयमा शिक्षक हुनुका साथै बादी समुदायको पहिचानका लागि धेरै लडाई लड्नुभएको थियो । उहाँ अहिले दाङको तुल्सीपुरमा बस्नुहुन्छ । रोशनी अंग्रेजी विद्यालयमा पढ्नुभएको हो । उनका तीन दिदी बहिनी र एक जना भाइ छन् । बादी समुदायमा छोरी जन्मदा खुशी हुन्छन् र छोरा जन्मदा दुःखी भनेर ट्याग लगाएका छन् । यो भनाईमा रोशनीको आक्रोस छ । उहाँ दक्षिण भारतमा रहेको कर्नाटकको राजिव गान्धी विश्व विद्यालयबाट फिजियो थेरापी अध्ययन गर्नुभएको । उहाँ हाडजोनी सम्बन्धी चिकित्सक हुनुहुन्छ । बादी समुदायलाई गम्भीर आक्षेप र मानमर्दन गराएर फिल्म निर्माण गरिएको भन्दै चलचित्र ‘लालीबजार’लाई बन्द गरिनुपर्छ भन्ने मागसहित उहाँले रिट निवेदन गर्नुभयो । सुरुमा उच्च अदालतमा रिट दायर गर्नुभयो । उच्च अदालत पाटनका न्यायधीशद्वय षडानन्द तिवारी र नेत्र प्रसाद आचार्यको इजलासले यो चलचित्र नचलाउन अल्पकालिन आदेश गरिदियो । तथापि सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र सुनिलकुमार पोखरेलले चलचित्रमा प्रयोग भएका ‘बादी, ‘राजाको सम्मान’ र ‘चढाउने प्रसाद’ हटाएर चलाउने आदेश दिए । बन्द हुनुपर्ने चलचित्र केहि शब्द हटाएर चलाउन दिने अदालतको यो आदेशले बादी समुदायको आत्मसम्मानमा गम्भीर प्रकारको चोट पुगेको भन्दै रोशनी बादी माइतीघर मण्डलामा धर्नामा हुनुहुन्छ । यसै सन्दर्भमा लाली बजार चलचित्रमा के कस्ता आपत्तिजनक विषयहरु छन् ? भन्ने विषयमा नारायणप्रसाद शर्माले रोशनी नेपाली बादीसँग धर्नाकै स्थलमा गरिएको छोटो अन्र्तवार्ताः
तपाई लालीबजार चलचित्रले वादी जातीको आत्म सम्मानमा गम्भीर ठेस पु¥याएको भन्दै धर्नामा हुनुुहन्छ । रिट पनि दायर गर्नुभयो । अदालतले तीन वटा विषय हटाउन पनि आदेश गरेको छ । वास्तवमा कसरी आत्मसम्मानमा ठेस पुग्न गयो ?
तीन तीन वटा हटाउन खोजिएका विषय वस्तुहरु के के हुन् तपाईलाई थाह छ ?
छ, ति तीनवटा शब्द ‘बादी, ‘राजाको सम्मान’ र ‘चढाउने प्रसाद’ हुन् ।
तपाई हामी जस्ता पीडितहरुको पीडा बुझेर अन्तवार्ता लिन आउनुभएको रहेछ । यसका लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु । सेन्सर बोर्डले फिल्म चल्नु अघि नै दिएका शर्तहरु थिए । यदि फिल्म चलाउनु छ भने वादी शब्द, मान्छेलाई चढाउने जुन सिस्टम देखाएको छ यस्ता डाइलगहरु काटेर चलाउन सेन्सर बोर्ड (चलचित्र जाँचबुझ समिति) ले अनुमति दिएको थियो । तर, सेन्सर बोर्डको आदेश नै फिल्म निर्माताले मानेनन् । अहिले पनि मधुमाला वादी भनेर उच्चाहरण भइरहेको छ । रमेश वादी भनेर उच्चाहरण गरिएको छ । तिमीहरु वादीहरु हौ भने समाजमा खास के हुन्छ भन्ने ? वादी महिलाहरुलाई अन्य जातिले विवाह नै गर्दैनन् भन्ने कथा वस्तु बनाएको छ । लाली बजारको विवादित कथा वस्तु भनेको नथिया हो । सेन्सर बोर्ड वादी समुदाय होइन । डायलगमा समस्या देखाएको होला । सेनसर बोर्डमा बसेर हामीले जब फिल्म हेरेका थियौं, फिल्मले देखाउन खोजेको कथा वस्तु र मूल उद्देश्यले सकरात्मकता दिँदैन । फिल्ममा इमोशनल नबनाएसम्म चल्दैन । राम्रो गाना र बाना राम्रो फाइट नराखे फिल्म चल्दैन । फिल्म सुरुबाटै तपाई रुन थाल्नुहुन्छ । तपाई एक्साइटेड हुनुहुन्छ । आमा छोरीको संघर्ष हेर्दा पनि त्यस्तै हुन्छ । तर, हामीलाई ‘एक्साईटेड र इन्टरटेन्मेन्ट’ अलग राखेर जुन कथा वस्तु लाली बजारमा बनाइएको छ, ‘त्यसमा वादी महिलाको कथा भनिएको छ, वादी महिलालाई यौनकर्मी भनेर चित्रण गरिएको छ । रहनसहन, ल्वाई ख्वाई सबै देखाएर वादी महिलाहरु जत्ति यौनकर्मी थिए भनिएको छ । घर यौन कर्मले चल्दथ्यो, आमाले जुन पेसा गरेको छ छोरीले पनि त्यहि पेसा गर्छे भनेर चित्रण गरिएको छ ।’ यो फिल्म यत्ति हदसम्म गिरेको छ की आफनो भिउर बढाउनका लागि त्यसको पात्र मधुमाला क्रान्तिकारी हुन् उनले बन्दूक उठाएर सामन्ती र शोषण गर्ने राजालाई मारेर शान्ति ल्याएको छ । यसबाट यौन व्यवसाय हटाइएको छ भनेर देखाइएको छ । के वादी समुदाय विकासका रुपमा यो अवस्थामा आएको छ, मधुमाला बादीकै कारणले हो त ? उनले उठाएकै आवाजका कारण हो ? त्यो आवाज यौन शोषणका विरुद्धमा मात्रै थिएन । मधुमालाबादीले स्वइच्छाले त्यो काम गरिरहेकी थिइन् । उनले गिट्टी कुटेर खाएको देखाएको छ भने सुरुमा तिनले त्यो काम किन गरिन् त ? सुरुमा आमाले गरेको पेसा छोरीले अप्नाएको भन्दै हाम्रो वादी समुदायलाई घृणित ढंगले प्रस्तुत गरेको छ । जुन गलत हो । मधुमालाबादीले सामन्तीलाई बन्दूक देखाएर मारेको भन्नु पनि गलत हो । जुन यौनकर्मीको भूमिका भनेर देखाइएको गलत हो र साथै नथिया प्रथा भनेर चित्रण गर्नु पनि गलत हो । यो प्रथा वादी समुदायमा थिएन । कोहि एक दुई जनाले भनेको भरमा वास्तविक गर्भिलो इतिहासलाई मोडेर फिल्म बनाउन पाइदैन । चेनतशील ब्यक्तिले बुभ्ने कुरा हो । यो फिल्ममा हुने इमोशनल कुरा छाडिदिउँ । वास्तविक रुपमा एकजना न्यायाधीशले त्यो फिल किन गरेनन् भन्ने कुरा हो । जुन न्यायाधीशले कानून पढेर प्रधानन्यायाधीश र न्यायाधीशको कुर्सिमा बस्नुभएको छ । संविधान र कानून सबै थाह छ । एउटा नागरिकलाई सामान्य गाली दिन सकिदैन भने, यौनकर्मी देखाउनु भनेको कति हदसम्म निचता हो ?
यसरी यो फिल्ममा जाती विशेषलाई होच्याउने काम गर्नुमा के देख्नुहुन्छ ? तपाईकै समुदायका मन्त्री र दलित समुदायका सांसदहरु पनि हुनुहुन्छ । तर, उहाँहरु त बोल्नुभएको छैन नी ?
हामीलाई यसैले निरास बनाएको छ । देश बिगारेको छ । जब देशको शक्तिशाली पदमा बस्नेहरु बिक्न थाल्छन्, तब न्याय मर्छ । जुन बादी समुदायमा पनि देखिएको छ । लालीबजार फिल्मका सन्दर्भमा । मन्त्रीपरिषद्का एक जना सदस्य सीता बादी नै हुनुहुन्छ । तथापि वादी समुदायको चरित्र हत्या हुँदा पनि नबोल्नुको कारण कहिँ न कहिँ सत्ताको लोभ छ । माननीय मन्त्रीका नातेदारहरु दिदी हन्ना बादी र उहाँले चलाएका छोरी चेलीहरु होस्टेलका नानीहरुलाई प्रयोग गरेर लाली बजारको टिआरबी बढाइएको छ । बादी समुदायका अभियन्ताहरु पनि चुप लागेर बस्नुभएको छ । यो उहाँहरुको लोभ र बिकाउँपन हो । केहि पैसाको लोभमा वा राजनीतिक पदको लालचामा चुप लागेर बस्नुभएको छ ।
भारतीय लेखिका डा. प्रमिला कपुरले ‘सम्मानित बेश्या’का विषयमा विद्यावारिधी नै गर्नुभएको छ । कुनै पनि पेसामा जाति विशेष नभएर परिस्थितिले निम्त्याउने भन्दै ब्याख्या गर्नुभएको छ ।
हरेक ठाउँमा बिभिन्न प्रकारका मानवीय प्रकृतिहरु हुन्छन् भन्ने लुकाएर वादी समुदायमा मात्रै यो प्रकारको काम गरिन्छ भनेर देखाउनको अर्थ के हो ?
हाम्रै वादी समुदायका अभियन्ताहरु बेचिएर हो । हाम्रो कमजोरी नै हाम्रै अभियन्ताको हो । सधै बादी समुदायलाई कराडौंको बजेट ल्याउनका लागि यस्तै प्रकारका शब्दमा जोडिएको छ । यौन जोडेर किताव प्रकाशन गरिएका छन् । बादी समुदायसँग जोडेर प्रोजेक्ट बनाएर विदेशी बजेट ल्याएका छन् । करोडौंको बजेट ल्याएर होस्टल खोलेका छन् । बादीका छोरी चेलीलाई पढाएको भन्दै व्यवसाय चलाएका छन् । जुन तितो सत्य हो । कोहि वादी समुदायका चेलीहरु होस्टलमा बसेर पढेका छन् भनेर हामीले आवाज उठाएका थिएनौं । तर, अहिले त हदै भएको छ । जब पाप कराउँछ, तब घैटो फुट्छ भनिएको छ । त्यहि अवस्था आएको छ । उहाँहरुले हाम्रो इज्जत र स्वाभीमान नै बेचेर भाग खानुभएको अवस्था छ । तर, अहिले हदै गिर्नुभएको छ । आउने पुस्तालाई हदै गिर्ने गरी अनुमति दिनुभएको छ । यो कुरा मैले होइन स्वयं स्वस्तिमा खड्काले आफ्नै मुखबाट भनेकी छन् । स्वस्तिमा खड्का र रबिन्द्र सिंह बानियाजीले फलानो फलानोले सहयोग गर्नुभएको छ भनेर आफ्नै मुखबाट भन्नुभएको छ । जुन बादी समुदायका अभियन्ताहरु हुन् । वादी समुदायकै अग्रज हुनुहुन्छ भनेर उहाँहरुलाई नाङ्गो बनाएर हिडाएका छैनौं । चुप लागेर बसेका छौं । न्यायमा समय लाग्ला तर, न्याय भला त सब भला भने जस्तै न्यायकै प्रतिक्षामा लडिरहेका छौं । अहिले जुन अवस्था आयो त्यसमा हाम्रै वादी समुदायका अभियन्ताका कमजोरीका कारण हो । सरकारी कानून र नीति नियमका कारणले हो ।
न्यायलयले जुन तीन वटा विषयहरु हटाउँ भन्नु त फिल्ममा गल्ति रहेछ भन्ने हो होइन ?
सेन्सर बोर्डले पनि गल्ति देखाएको छ । सेन्सर बोर्डले नथियालाई देखाएन । किनकी नथियालाई नदेखाउने बित्तिकै फिल्म बन्द हुन्छ । सेन्सर बोर्ड र चलचित्र विकास बोर्डले फिल्म चलाउन खोजेको हो । जेनतेन तानतुन पारेर टुक्का टुक्की जोडेर फिल्म चलाउन खोजिएको हो । फिल्म निर्मातालाई घाटा नलागोस् भन्ने उद्देश्यले गरिएको भए पनि समस्या त देखिएको हो नि ? राष्ट्रिय दलित आयोगको अध्यक्षले मसँगै बसेर फिल्म हेर्नुभएको थियो । यसरी आयोगबाट यो फिल्म चल्नु हुँदैन भनेर पत्रसमेत दिनुभएको छ । राष्ट्रिय दलित आयोगबाट फिल्म चल्नु हुँदै भन्दा भन्दै चलाउँनुको मतलव के हो ? दलित आयोगको कुरा अदालतले पनि सुनेन ।
आयोगको के अर्थ रह्यो ? संवैधानिक आयोगको कुनै कुरा फिल्म निर्माताले मानेनन् ?
हो मानेनन् । सेन्सर बोर्डले भनेका कुराहरु पनि मानिएन । बादी, प्रसाद र नथिया अहिले पनि हटाइएको छैनन् । हामीलाई मूख्य गरी नथिया प्रथा ( आमाले जे गरिन् छोरीले पनि त्यहि गर्छे भनेर देखाइएको छ । इज्जत लुटेर नाङ्गो बनाएर देखाएपछि मधुमालाले गर्दा यस्तो चिज भएन । परिवर्तन भइसकेको छ । यो समुदायका छोरीहरु डाक्टर, नर्स र प्रिन्सीपल बनिसकेका छन् भनेर पनि देखाइएको छ । डाक्टर, नर्स र प्रिन्सीपल यौन पेसा गरेर आएकाहरुबाट बनेका हैनन् । यौनकर्मीका बाबुआमाले बनाएका हैनन् । यो समाजको सामान्य ब्यक्तिले त्यो वास्तविकता बुझ्दैन । समाजको ब्यक्तिले त इमोशनल, इन्टरटेन्मेन्ट हेर्छ । अन्तिममा सुध्रिएको देखाइन्छ । यौनकर्मलाई देखाएर सुध्रिएको भन्दै ब्याख्या गरिन्छ । बादी समुदायको ईतिहासमा, गर्भमा, स्वाभिमानमै यौन भन्ने शब्द नै छैन । बादी भनेको बाद्य बाधनबाट आएको जाति हो । अहिले बादीहरुले मादल बनाएर, बचेर जीविकोपार्जन गरिरहेका छन् । माछा मारेर पेट पालिरहेका छन् । गाउने कला देखि लिएर नाँचगाँन गर्ने कलामा बादी समुदाय सु–सम्पन्न थिए । अहिले त फिल्मकर्मीहरु आइसके । मोबाइलका कारण संगीत, बाजागाँजा र सबै लोप हुन लाग्यो । जुन उहाँहरुले कथा भनिएको छ त्यो समयमा त्यस प्रकारको अवस्था नै थिएन । कसैले फिल्म बनाउने चाहना छ भने बास्तविक कानून बुझ्नुपर्दछ । गल्ति गरेर बजारीकरण गरिसकेपछि खाए खा नखाए घीच भने जस्तो गरी सत्ता र शक्ति लगाएर फिल्म चलाउनु भनेको न्यायपालिकाको बद्नामी हो । गृहमन्त्री, नीति नियम र विधि विधानको बद्नामी भएको छ ।
लालीबजारका निर्माताले सेन्सर बोर्ड र दलित आयोग दुबैले भनेको मानेनन् ?
हो, मानेनन् ।
दलित आयोगको निर्देशनमा के छ ?
जसरी नथिया देखाइएको छ । जुन स्वाभीमानमा ठेस पुगेको छ । त्यसले समाजमा क्रान्ति ल्याउँछ । कहिँ न कहिँ यसमा पाच्य छैन । त्यसैकारण फिल्म नचल्नु नै राम्रो भनेर पत्र दिएको छ ।
पूर्ण रुपमा बन्द गर्नुपर्छ भनिएको छ ?
हो, बन्द गर्नुपर्छ भन्ने छ । अदालतले नौ दिनपछि फिल्म चल्न दिनु थियो भने क्लिनचिट दिनुपर्दथ्यो । फिल्मको पक्षमा मुद्दा जित्यो भनिन्थ्यो ।
अहिले मुद्दा पनि चलिरहेको छ ।
फिल्म चलेको पनि छ हप्ता भइसकेको छ । मुद्दा चलिरहेको छ, पेशी र तारिखमा हामी हिडिहरेका छौं । तिनै फिल्मकर्मीहरु हिडिरहेका छन् । यो त सरकारले भद्धामजाक गरिरहेको छ ।
हाम्रो देशमा वादी समुदायको जन संख्या कति छ ?
दुःखको कुरा हामी अल्पसंख्यक जातिमा पर्ने अवस्थामा छौं । अल्पसंख्यक जनसंख्यामा रहेको जातिलाई यसरी होच्याएर फिल्म बनाउनु बिडम्बनाको कुरा हो । यो सरकारले बुझ्नुपर्दछ । बादी समुदायको डाटा ४० हजार थियो । तर, अहिले मात्रै १२ हजारमा आएको छ । जनसंख्यामा बढ्ने अवस्थामा अहिले किन घट्यो ? लालीबजारका निर्माताहरु जस्ता, बेचिएकाहरु, र अभियन्ताहरुका कारण जात लुकाएका कारण जनसंख्या घटेको देखिएको हो । बेचिएकाहरुले नियम कानून किन्छन् । त्यस्तो अपराध गरिरहँछन् ।
इन्टरकाष्ट म्यारिजका कारण हो ?
हैन नी बादी भन्ने नराखी नेपाली भनेर नाम राखिदिए । त्यसैकारण जनसंख्या नै घट्न पुग्यो । बादीको इतिहास गर्विलो छ । बाद्य बाधन बजाउने बेद र विधानसँग सम्बन्धित जाति हो । धर्म संस्कृतिसँग सम्बन्धित छ । यस्तो महत्वपूर्ण जातलाई पनि बुझाउन र देखाउन समाजले सकेन । मलाई नै एक्लो ठानेर समाजले हेपेको छ । लालीबजार जस्त फिल्महरुले घृणित रुपमा देखाएपछि कसरी बादी भनेर भन्न सक्छ ? म डाक्टर भएकी छु । बादी हुँ भन्दा गर्व लाग्छ । मेरा बुवा र हजुरआमाले मलाई सिकाउनुभएको छ । त्यो हिम्मतले गर्वका साथ भन्न सक्छु ।
अबका दिनमा तपाईको आन्दोलन कसरी बढ्छ ?
हामी तारिख र पेसीमा झेलिएर थाकीसकेका छौं । जसले गर्दा माइतीघर मण्डलामा २४ घण्टा धर्नामा छौं । संसदसम्म आवाज जाओस् भनेर धेरै प्रयास गरेका थियौं । भेट्ने पनि कोशिश पनि गरेका थियौं । आफ्नै समुदायकी मन्त्री सीता बादीसँग भेट्दा उहाँले फिल्म नचल्ने भन्नुभयो । तर, त्यो झुठ रहेछ । उहाँहरुले मुद्दा नहाल्दा झुठो बोल्नुभयो । अदालतमा गएको विषयमा हामी बोल्न मिल्दैन भनेर गृहमन्त्री सुधन गुरुङले भन्नुभयो अब हामीले के बुझ्ने ?
अदालतले पनि बाहिरी भिड हेरेर फैसला गर्छ भन्ने आरोप पनि छ नी ?
भीड हेरेर फैसला गरिनु हुँदैन । हामी अल्पसंख्यकमा छौं । हामी पैसा तिरेर भिड देखाउन सक्तैनौं । तथापि हाम्रा सहयोगीहरुले दुई महिनासम्म आधा आधा पेट खाना खाएर आर्थिक सहयोग गरिरहँनुभएको छ ।
अब तपाईहरुको रणनीति के हुन्छ ?
हामी फिल्मको विषयमा न्यायलयमा लडिरहेका छौं । फिल्म चलिरहँने, मुद्दा पनि चलिरहँने हो भने न्यायलयको मुल्यांकन कस्तो होला ? कि त अदालतले क्लीन चिट दिनुपर्छ, होइन भने जसरी पनि समयभित्रै फैसला हुनुपर्दथ्यो । यो कुनै पारपाचुके वा अन्य केश जस्तो विषय होइन । यसले न्यायपालिकाको कमजोरी देखिएको छ । हामी पीडित हौं । हामी पीडितहरु माथि आवाज विहिनको आवाज उठाउन हो भने यहि असार ३ गतेको पेशीमा परिणाम आउने गरी छिनोफानो हुनुपर्दछ । यस्तो संवेदनशील मुद्दाहरुमा पेशी र तारिख सार्ने काम हुनुहुँदैन । हामी पीडितहरु स्वाभाविकै रुपमा चर्को बोल्छौं । तथापि पीडा कम हुँदैन । पीडितलाई भेट्न आउने गृहमन्त्रीमा पनि धैयता हुनुपर्दछ । तब मात्रै उनीहरुसँग हामीले आफ्ना पीडा राख्न सक्छौं । मन्त्री सीता बादीको काम के हो ? आफ्नो समुदायको विषयमा पनि उनी चुइक्क बोल्न सकिरहेकी छैनन् ।
