नागरिकतामा पर्सा जिल्ला प्रशासनको गम्भीर लापार्वाही
दोहोरो नागरिकताधारीको पक्षमा मिसिल तामेलीमा राख्दै सक्कल नागरिकता फिर्ता
काठमाडौं । इण्डियन नागरिक गणेश प्रसाद साह तेली र उनका तीन छोराहरुले झुठा विवरण देखाएर नेपालको नागरिकता लिएको विषयमा पर्सा जिल्ला प्रशासनबाट २०८० साल वैशाख १२ गते गरिएको निर्णयको सक्कल मिसिल नै मगाउने आदेश भएको छ । सर्वोच्च अदालतमा दोहोरो नागरिकताधारीहरु विरुद्ध डायरी एक्सप्रेस साप्ताहिकको तर्फबाट २०७९ साल आश्विन ६ गते उत्प्रेषणको रीट परेको थियो । रीट निवेदन परी म्याद तामेल भइसकेपछि पछि जिल्ला प्रशासन कार्यालय पर्साबाट निर्णय गरी २०८० साल वैशाख १२ मिसिल तामेलीमा राखिएको थियो । पटक पटक समाचार प्रकाशन भएपछि पनि छानविन नगरी बिभिन्न प्रलोभनमा फसेका पर्सा जिल्ला प्रशासन कार्यालयका तत्कालिन प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले अदालतलाई गुमराहमा राख्ने काम गरेका थिए । किर्ते गरी दोहोरो नागरिकता लिएको विषयमा तत्कालिन प्रमुख जिल्ला अधिकारी (सीडीओ) रेग्मीले उजुरी परी प्रहरीले पक्राउ गरीसकेपछि पनि तामेलीमा राखेर गैर जिम्मोवारपूर्ण निर्णय गरेका थिए । प्रहरीले अभियुक्तहरुलाई पक्राउ गरी प्रशासनमा पेश गरेको प्रमाण पत्रिकाकाको कार्यालयमासमेत छ । रेग्मीले पर्सा जिल्लामा सीडीओ भएर २०७९/१०/१६ देखि २०८०/०९/०३ सम्म काम गरेको जिल्ला प्रशासन कार्यालयको रेकर्डमा देखिन्छ । डायरी एक्सप्रेस साप्ताहिकको तर्फबाट उक्त रीट निवेदनमा अधिवक्ता धनञ्जय खनालले बहस गरेका थिए । न्यायाधीशद्वय डा. मनोज कुमार शर्मा र टेक प्रसाद ढुंगानाको संयुक्त इजलासको उक्त आदेशबाट विवादित निर्णयको मिसिल झिकाउने आदेश भएको हो । मुद्दाको सुरुवातमा नै न्यायाधीश ईश्वर खतिवडाको एकल इजलास २०७९ साल आश्विन ९ गते गणेश साह तेलीसहित उनका छोराहरु सन्तोष कुमार साह तेली, संजित कुमार साह तेली र राजन कुमार साह तेली, गृहमन्त्रालय, जिल्ला प्रशासन कार्यालय पर्सालाई लिखित जवाफ पेश गर्न आदेश गरेका थिए । यसरी अदालतको आदेश गईसकेपछि हत्तारमा निर्णय गरी फाइललाई तामेलीमा राखेको देखिन्छ । ‘यसमा गम्भीर कैफियत देखिन्छ’ पर्सामा कार्यक्षेत्र बनाएर काम गरेका एक जना वरिष्ठ अधिवक्ताले बताए ।
दोहोरो नागरिकताधारीहरु सिडिओका कामधेनी गाई !
इण्डियन नागरिक गणेश साह तेलीका नाममा इण्डियाको बिहार राज्यको पूर्वी चम्पारणमा जग्गा जमिनको विवरण, मतदाता परिचयपत्रसहित, त्यहाँको स्थानीय मुखियाले दिएको सिफारिसमा इण्डियाकै नागरिक भएको प्रष्ट देखिन्छ । उनले नेपालमा व्यवसाय गरी नेपाली नागरिकको हैसियतमा करोडौं रुपैयाको ऋण तत्कालिन नेपाल बंगलादेश बैंक (हालको नबिल बैंक लिमिटेड) बाट लिएका छन् । दोहोरो नागरिकता लिएर नेपालको नागरिकता ऐनको धज्जी उडाएको भन्दै कारबाहीका लागि परेको उजुरी परे पनि पर्सा जिल्ला प्रशासनले अलमलमै बिताएको थियो । दोहोरो नागरिकताधारीहरु गणेश प्रसाद साह तेली, उनका तीन छोराहरु क्रमश सन्तोष कुमार साह तेली, संजित कुमार साह तेली र राजन कुमार साह तेली गरी चारै जनाको नेपाली नागरिकताको प्रमाणपत्र भारतीय निर्वाचन आयोगको आइडी राखेर उनका सहोदर दाजु ब्यास प्रसाद साहले उजुरी दिएका थिए । उजुरी छानविनका लागि वयान गर्न उपस्थित नै नभएको भन्दै आएको जिल्ला प्रशासन कार्यालयमा प्रहरीले पक्राउ गरी उपस्थित गराएको तथ्यसमेत खुल्न आएको थियो । जिल्ला प्रशासन कार्यालय पर्सामा यस प्रतिनिधिसँग कुरा गर्दा आफुले प्रक्रियागत रुपमा अघि बढेको बताए पनि उपस्थित व्यक्तिहरु चारै जनालाई कुनै एक जना टेलिभिजनका पत्रकारले जिम्मा लिएर छुटाएको बुझिन आएको थियो । पर्सा जिल्ला प्रशासनमा प्रमुख जिल्ला अधिकारी आसमान तामाङको समयका मात्रै ७८ वटा दोहोरो नागरिकताका फाइल कारबाहीका क्रममा रहेको सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले डायरी एक्सप्रेस साप्ताहिकका प्रतिनिधिलाई बताएका थिए । दोहोरो नागरिकता लिएको विषयमा प्रष्ट रुपमा प्रमाण हुँदा हुँदै पनि नागरिकता खारेजीमा ढिलाई हुनु प्रशासनको गम्भीरता नभएको प्रष्ट हुन्छ । इण्डियन नागरिकले किर्ते कागजात पेश गरी नागरिकता लिएको विषयमा डायरी एक्सप्रेस साप्ताहिकमा समाचार प्रकाशन गरे पश्चात देखिने गरी कुनै ठोस परिणाम नआएपछि पत्रिकाको तर्फबाट गृहमन्त्रालयमासमेत उजुरी गरिएको थियो । तर, ती उजुरीहरुमा नियामक निकाय गम्भीर नै भएन । त्यसपछि मात्रै सर्वोच्च अदालतमा मुद्दा परेको थियो । इण्डियामा घरजग्गा, मतदाता परिचय पत्र र नेपालको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि समेत उजुरीमा प्रमाणका रुपमा राखिएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा दाजु ब्यास प्रसाद साहले २०७९ साल असार २० गते गरेको उजुरीमा दर्ता नम्बर २१८२ रहेको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालयमा उपस्थित गराइदिन भन्दै जिल्ला प्रशासन कार्यालयको मुद्दा शाखाबाट २०७९ असार २१, असार २९ र साउन १६ गते पत्र गएको देखिन्छ । पर्साको बिर्ता प्रहरीले अभियुक्त चारै जनालाई पक्राउ गरि बुझाएको पत्रबाटै प्रष्ट देखिन्छ । तर, छानविनका लागि के कति प्रगति भयो ? सरकोकारवलालाई समेत गुमराहमा राखिएको थियो ।
नेपालमा अपराध गर्ने दोहोरो नागरिकताधारी
अहिले नेपालमा दोहोरो नागरिकता लिएका इण्डियन नागरिकहरुकै कारण अपराध बढिरहेको छ । उनीहरुले नेपालका बैंकहरुबाट धितो मुल्यांकनमा अनाआवश्यक लालच, प्रलोभन र घुस दिएर अबौं रकम ऋण लिएका छन् । गणेश साह तेलीका परिवारले नेपाल बंगलादेश बैंक (हालको नबिल बैंक) सँग झण्डै ३० करोड ऋण लिएको बताईन्छ । भारतीय नागरिकलाइ ऋण दिन मिल्छ भन्ने प्रश्नमा तत्कालिन नेपाल बंगलादेश बैंकका सिइओ ज्ञानेन्द्र ढुंगानाले त्यस विषयमा सिडिओलाई सोध्नु भन्ने रुखो जवाफ दिएका थिए ।
दोहोरो नागरिकताधारीहरु नेपालमा ब्यवसाय दिवालिया भएको देखाएर विदेशमा भाग्ने गर्दछन् । इण्डियन नागरिक अमित अग्रवालले काठमाडौंको दरबारमार्गमा मदिराको थोक ब्यापार गरी झण्डै छ अर्ब रुपैया बैंक ठगेर भागेपछि इण्डियाबाटै पक्राउ गरी ल्याइएको थियो । इण्डियन नागरिक रोहित पालिवाल अग्रवालले बिपी कोइराला क्यान्सर अस्पताल भरतपुरका कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठलाई अपहरण गरे । उनका जीवन रक्षाका लागि इण्डियाको गोरखपुरमै पुगेर फिरौतिबापतको पाँच किलो सुन बुझाए पछि अपराधिक समूहले मुक्त गरेको थियो । यसरी अपराध बढिरहँदा राज्य भने त्यसमा बेखबर बनिरहेको छ । आलटाल गराउनकै लागि चलखेल दोहोरो नागरिकताधारीहरुलाई कारबाहीको दायरामा ल्याउने कार्यमा ढिलाईले नेपालको प्रशासन कमजोर रहेको पुष्टि गरिरहेकोे छ । इण्डियन प्रशासन पनि नेपालकै व्युरोक्रेसी जस्तै नेपालबाट पठाएका पत्रहरुको समयमा जवाफ नदिई झुलाएर राख्ने गर्दछ । त्यसकारण दोहोरो नागरिकताधारीहरु उत्साहित हुँदै आएका छन् । अमित अग्रवाल र रोहित पालिवाल अग्रवाल त प्रतिनिधि पात्र मात्रै हुन् । कहाँको नागरिकता लिएका थिए गणेश साह तेलीले ? दोहोरो नागरिकताधारी तेलीले साविक मधुवन गाउँ पञ्चायत वडा नम्बर ४ बाट नागरिकता प्रमाणपत्र नम्बर ५८९४१४०७ को नेपालको जन्मसिद्ध नागरिकता लिएका थिए । उनकी श्रीमतीको अहिले पनि भारतीय आइडी छ । त्यसै गरी उनका छोराहरु सन्तोष कुमार साहको उहि ठेगानाबाट ५३८२३६ प्रमाणपत्र नम्बरको बंसजको नागरिकता, सन्जित कुमार साहको ३४–०१–६९ ००७२१ को बंसजको नागरिकता र कान्छा छोरा राजन कुमार साह तेलीको १५८४१६२० नम्बरको बंसजको नागरिकता लिएका छन् । उनीहरु सबै जनाको नाममा भारतको बिहार राज्यको मोतिहारी जिल्लाको पूर्वी चम्पाहरण संग्रामपुर पञ्चायत इजरा गाउँ मठिया वडा नम्बर ४ मा जग्गा जमिन छ । साथै भारतीय परिचय पत्र समेत रहेको छ ।
के भन्छन् तत्कालिन सिडिओ हिरालाल रेग्मी ?
नागरिकता छानविनका क्रममा अभियुक्तलाई प्रहरीले पक्राउ गरी बुझाउँदा पनि वास्तै नगरेका जिल्ला प्रशासन कार्यालय पर्साका अधिकारीहरुले किर्ते नागरिकताको विषयमा मुद्दा परिसकेपछि तामेलीमा राखी सक्कल नागरिकता फिर्ता दिए । अभियुक्तहरुले अहिले प्रशासनलाई २२ लाख रुपैया दिएर नागरिकता फिर्ता लिएको भन्ने प्रचार गरिरहेका छन् । यस विषयमा पर्सा जिल्लाका तत्कालिन सिडिओ (हाल कैलाली जिल्लामा कार्यरत) हिरालाल रेग्मीसँग प्रश्न गर्दा हास्दै भने ‘त्यस्तो पनि कहाँ हुन्छ’ । तपाईले मुद्दा परिसकेपछि कारबाही नगरी मिसिल तामेलीमा किन राखियो भन्ने प्रश्नमा उनले भने ‘मुद्दा परिसकेपछि मिसिल तामेलीमा राखिन्छ । नागरिकता फिर्ता पनि दिइदैन’ । तर, तपाईले त फिर्ता दिनुभएछ नी भन्ने भन्ने प्रश्नमा उनले भने ‘पुरानो प¥यो थाह भएन ।’

