May 2, 2024

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

नेताहरु विदेशीको ताल र सुरमा नाँचेका छन् । देश नै नरहे कसको भाँडा माझ्न जाने ? नानी मैया दाहाल,

नानी मैया दाहाल, तत्कालिन राष्ट्रिय पञ्चायतकी निर्वाचित सदस्य



वि.स. २००३ सालमा काठमाडौंको जोरपाटीमा जन्मनु भएकी नानी मैया दाहाल २०३८ सालमा काठमाडौंबाट अत्याधिक मत ल्याएर राष्ट्रिय पञ्चायतकी सदस्य पदमा निर्वाचित हुनुभएको थियो । हाल ७७ वर्षको उमेरमा पनि जनताको काम भन्दै सडकमा हिडिरहँनुभएको छ । उहाँले सयौं जना सुकुम्बासीहरुलाई दीर्घकालिन आवासका निमित्त ठाउँ दिलाउनु भयो । राष्ट्रिय पञ्चायतको सदस्य हुँदा पीडितले समयमा न्याय नपाएको भन्दै जनताको काम नगर्ने मन्त्री र प्रधानमन्त्री माथि नै हातपात गर्न जाई लागेका कारण उहाँ चर्चित पनि हुुनुुहुन्थ्यो । बाबु धनञ्जय दाहालको चार सय रोपनी जग्गा भएको भए पनि अहिले उहाँसँग बस्नका लागि आफ्नो नाममा घरसमेत छैन । उहाँ बहिनीको छोराको घरमा बस्ने गरेको बताउनुहुन्छ । दाहालसँग डायरी एक्सप्रेस साप्ताहिकका तर्फबाट नारायण प्रसाद शर्मा पोखरेलले वर्तमान राजनीतिक अवस्थाका बारेमा गरेको विशेष कुराकानीः


० तपाई वि.स. २०३८ सालको सालमा काठमाडौं जिल्लाबाट राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित हुनुभयो । अहिलेको राजनीतिलाई कसरी मुल्यांकन गरिरहँनुभएको छ ?
अहिले राजनीतिक ठीक लाइनमा छैन । हाम्रो देशमा जनताको काम गर्ने नेताहरु आएका छैनन् । नेताहरु पुरै ब्यक्तिगत स्वार्थमा डुबेका छन् । नेपाल हिन्दूहरुको देश हो । यहाँ जन्मन एक सय वर्ष तपस्या गर्नुपर्दछ । विश्वभरमा एक मात्र हिन्दू राष्ट्र भएको देश जहाँको पशुपति नाथको मन्दिरमा विश्वभरका हिन्दूहरु आएर शीर झुकाउने गर्दछन् । पशुपतिमा दर्शन गरेपछि सबैजनाको इच्छापुरा हुन्छ भन्ने भनाई छ । यस्तो देशमा धर्म निरपेक्ष बनाएर, देश टुक्राउने र भारतमा मिलाउन खोज्नु ठीक हो ? राजतन्त्र हटाइयो । किनकी नेपालमा राजतन्त्रको आवश्यक छ । यहाँ राजतन्त्र र हिन्दू राष्ट्र बनाउनै पर्छ । संसदमा प्रतिनिधित्व गर्ने सांसदहरु सरकारको कर खाएर पनि क्रिश्चियन धर्मको प्रचार गरेका छन् । देश रह्यो भने मात्रै हामी नेपाली भनेर रहन सक्छौं, देश नै नरहे कसको भाडा माझ्न जाने ? यी नेताहरुको खोपडीमा भगवान पशुपति नाथले किन आर्शिवाद नदिएका होलान् ?
हामी देशका लागि लड्नुपर्दछ, आफ्नो पेट त कुुकुरले पनि पाल्छ । हामी मर्दा पैसाले पोल्ने होइन । मलाई साह्रै दुःख लागेको कुरा के हो भने यहाँका नेताहरु कुनै देशमा गएर एमसीसी सम्झौता गरी आए । जुन देशमा फाप्दैन । देशको हितमा छैन ।
अमेरिकामा निर्वाचित भएपछि किस्चियनको बाइबल छोएर सपथ नखाइ राष्ट्रपति हुन पाइदैन । हाम्रो देशको धर्म, संस्कृति, संस्कार, परम्परालाई कसैले पनि मास्न पाइदैन । रामको पालामा सूर्यबंशी, कृष्णको पालामा चन्द्रबंशी भनेर चन्द्र र सूर्य अंकित झण्डा हाम्रो देशको राष्ट्रिय झण्डा छ । त्यसैकारण हाम्रो इतिहास पुरानो छ । अहिलेका नेताहरु इतिहास मेटाउन चाहन्छन् । जे पनि गर्छन् । व्यक्तिगत पैसा कमाउने गरिएको छ । संसारभरमा यहाँ जस्तो गठबन्धन सरकार कहिँ देखिएको छैन । सबैजना मिलेर बाँडफाँड गरी राज्य दोहोन गरिएको छ । जनता महंगीको मारमा छन् । दाल, चामल र तेल अत्याधिक महंगो छ । हातमुख जोर्न धौ धौ छ ।
नेताहरुले जब राजतन्त्रको अन्त गरे, यहाँ भयानक भूकम्प गयो । भुवानपत्ये स्वाहा भनेर भनिन्छ । भूमिको पति राजा हुन् । राजा नभई देश चल्दैन । राजतन्त्र अनिवार्य चाहिएको छ । यहाँ त जजमान गरेर खानुपर्ने नेताहरु देश टुक्राटुक्रा पारेर बेच्दैछन् । प्रदेश बनाएर देश टुक्रा टुक्रा पारिएको छ । पञ्चायतकालमा १४ अञ्चल ७५ जिल्लामा बिभाजित गरिएको थियो । हाम्रो देश कुनै बेला पट्ना, गोरखपुर देखि हाम्रै राज्य थियो ।
नेपालका पाँच हजार सैनिकले जीवन आहुती दिएर भारत स्वतन्त्र भएको हो । हाम्रा पाँच हजार सिपाही अंग्रेजको विरुद्धमा नलडेको भए भारत अहिले पनि अंग्रेजको उपनिवेश रहिरहन्थ्यो । यहाँका राणाहरुले पैसा दिएर कबाज खेलाउँथ्यो । महात्मा गान्धीले पनि नेपालीहरुकै कारण भारत स्वतन्त्र भएको हो भन्ने कुरा स्वीकार गरेका थिए ।
भारतमा लडेका सिपाहीहरुकै पेन्सन रकम खर्च गरेर पद्यकन्या कलेज स्थापना गरिएको थियो । भारतले नेपालका दास नेताहरु उचालेर नेपाली भूभाग लिन मिल्दैन । किनकी भारत स्वतन्त्रताका लागि लडेका हाम्रा पाँच हजार सैनिकहरुले सराप दिनेछन् । यसरी महात्मा गान्धीले नै नेपालीहरुको ऋण तिर्न सकिदैन भनेका थिए । तर, अहिले त्यहि भारतले हाम्रो कालापानी, लिपुलेक, लिम्पियाधुरा, सुस्ता लगायतको भूमि अतिक्रमण गरेको छ । यी ‘भुस्याहा’ नेताहरु चुप लागेर बसेका छन् । भारतले पनि यस्तो काम गर्न सुहाउँदैन


० वास्तवमा खराव मोदी हुन् कि यहाँका नेताहरु हुन् ?
मोदीले मादल बजाउँछन्, यिनीहरु नाँच्छन् । यिनीहरुले आफ्नो संस्कार, संस्कृति र राज्य हेरेका छैनन् । यिनीहरु त विदेशीका ‘कमरा’ बनेका छन् ।


० अहिले सबैभन्दा खराव नेता को लाग्छ ? शेर बहादुर, पुष्पकमल दाहाल, केपी ओली, माधव नेपाल। उपेन्द्र यादव, महन्थ ठाकुर, वा अन्य ?

यिनीहरु सबै भ्रष्ट छन् । कुनै ठीक छैनन् । शुरो समातेर पुजा गर्नुपर्ने बह्माण नेताहरुले राजनीति गरेर देश टुक्राउन मिल्छ ?


अहिले नै देश टुक्राएका त छैनन् नी ।
वल्लो प्रदेश र पल्लो प्रदेश भनेर किन नामाकरण गरिन्छ त ? १४ अञ्चल र ७५ जिल्ला किन भनिदैन ?


० तपाईको विचारमा देउवा सरकारले गरेको एमसीसी र एसपीपी जस्ता सम्झौताको विषयमा केहि भन्न खोज्नु भएको हो ?
राजाहरु पनि अमेरिका भ्रमणमा गएका थिए । कसैले निम्तो गरे भन्दैमा गएर सम्झौता गर्नुपर्छ ? यस्ता सम्झौता नत राजा महेन्द्रले गरे, नत बिपी कोइरालाले नै गरे ? बिपीले त राजतन्त्र चाहिन्छ भन्थे । अहिलेका माओवादी र खाओवादीहरु हिजो दरबारको भात खाएका थिए । तथापि उनीहरुले नै दरबार सिध्याए । किनभने बाबुराम भट्टराईलाई पहिला दरबारले नै पढाएको थियो । महेन्द्रले रुक्मागत कटवाललाई ल्याएर पढाए । उ महारथी बन्यो । त्यसपछि बिग्रियो । प्रचण्ड, बादल र देब गुरुङ राजावादी नै थिए । देव गुरुङ त दरवारभित्रका जमदार नै थिए । अहिले राष्ट्रपति, घरपति र श्रीमतीका पतिहरु हिजोका राजावादी नै हुन् । दरबारको भात खाए र उनीहरुलाई नै निकालिदिए ।
० तपाईले त राम्रो कामै गरेनन् भन्दै पञ्चायतका नेताहरु सूर्य बहादुर थापा लगायतको पनि विरोध गर्नुहुन्थ्यो नि ?
त्यो बेलामा राम्रो भयो भनेको होइन । सूर्य बहादुरले जहाँनियाँ पञ्चायत जस्तो गरी शासन गरे ।


० कम्यनिस्ट पार्टीहरुको बारेमा के भन्नुहुन्छ नी ?

कम्युनिस्ट भनेको सडकमा बस्ने र मन्त्री हुनेहरुको एउटा खाना र कपडा हुनुपर्दथ्यो । यहाँका कम्युनिस्टहरु नामका मात्रै हुन् उनीहरु त कमाउनिस्ट हुन् । यदि यहाँ कम्युनिस्ट पार्टी भएका भए गरिब जनतालाई किन हेरेनन् ? अहिले ब्यक्ति मौलाएको छ । यहाँ त नूनमा पनि प्रधानमन्त्रीको शेयर हुन्छ । तेलमा मन्त्रीहरुको शेयर हुन्छ ।


० कम्युनिस्ट देखि नेपाली कांग्रेसका नेताहरु आफुलाई समाजवादको पक्षपाती भन्छन् नी ?

समाजवादी भएरै त होला जनताहरु न्याय नपाएर, खानै नपाएर भोकभोकै हिडेका छन् । उनीहरुले आफैले बनाएको ऐन, कानून र संविधान मानेका छैनन् । दिन दहाडै लुटतन्त्र छ । ऐन, कानून भन्दा माथि को छ ? अहिले समाधानका लागि २०४७ सालको संविधान ब्युझाउनुपर्दछ । संवैधानिक राजतन्त्र र बहुदलिय प्रजातन्त्रको स्थापना गराउँनुपर्दछ । विश्वनाथ उपाध्याय जस्ता विद्धानले बनाएको संविधान एकदमै समसामयिक छ ।


० संविधान सभाका ६०१ जना सदस्यले बनाएको संविधान हो कसरी खारेज गर्न मिल्छ ?

उनीहरुले भन्दैमा हुन्छ । मनपरी ढंगले बनाएको संविधान कसले मान्छ । यो संविधानमा धर्म संस्कृति कहाँ छ ? धर्मनिरपेक्ष संविधान पनि कसैले मान्छ ?


० अबको विकल्प के छ ? संविधानसभाले बनाएको हुँदा कसरी मिल्छ त ?

यो संविधान विदेशीको इशारामा बनाइएको हो । उनीहरु मादल बजाएका छन् । यहाँका नेताहरु नाचेका हुन् । अमेरिकाले पैसा दिएर पठाउँछ । भारतीयहरु मादल बजाइदिएका छन् । यहाँका नेताहरु उनीहरुको ताल सुरमा नाचेका छन् । संस्कार, संस्कृति र देशप्रतिको माया र ममता नै भुलेका छन् । यिनीहरुले शासन गर्ने बित्तिकै भूइचालो जाने, कोरोना लाग्ने जस्ता प्रकोपहरु आएका छन् ।
यसमा मेरो भनाई छः

वरिपरि विश्व भरी तक्ला चलाउनेलाई ।
महाभारतको युद्धमा ज्यान गुमाउनेलाई ।।
चन्द्र सूर्य इशाराले उज्जवल गराउनेलाई,
भन्दिनु है भन्दिनु । ।
नेपाल आमा सिंहशान खाली छ ।
पृथ्वी हल्लिन थालिछ ।।
पहाड पर्वत हाम्फाल्न थालेछन् ।
खोला नाला दौडिन थालेछन् ।।
बिना कसूर ज्यानमार्न थालेछन् ।।


हिन्दू धर्ममा किरा पनि मार्नु हुँदैन । कोरोना लाग्यो भनिएको छ । अस्पतालमा जथाभावी लुट मच्चाइएको छ । जनताहरु महंगीको चरमचुलीमा छ । गरिबहरु भोकभोकै मनुपर्ने अवस्था आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.