डीडीसीका पूर्वमहाप्रबन्धक झासहित ८ जना १२ करोड भ्रष्टाचार काण्डमा पक्राउ
किसानको बिचल्ली बनाएर ब्रम्हलुट, सीआईबीद्वारा हिरासतमा
काठमाडौँ । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) भित्र संस्थागत रूपमा लामो समयदेखि चल्दै आएको ठूलो आर्थिक अनियमितता र ब्रम्हलुटको पर्दाफास भएको छ । संस्थानका तत्कालीन महाप्रबन्धक तथा उच्च तहका कर्मचारीहरूको प्रत्यक्ष संलग्नता र संगठित मिलेमतोमा गैरकानुनी रूपमा आर्थिक लाभ लिई संस्थानलाई टाट पल्टाएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तत्कालीन महाप्रबन्धक सञ्जीव झासहित ८ जना अधिकारीहरूलाई नियन्त्रणमा लिएको छ ।
किसानहरूले दिनरात रगत–पसिना बगाएर उत्पादन गरेको दूध उधारोमा लिएर करोडौँको उत्पादन बिक्री–वितरण नगरी गुपचुप राख्ने, किसानहरूको महिनौँदेखिको बक्यौता रकम भुक्तानी नगर्ने र कर्मचारी पाल्नकै लागि राज्यसँग ऋण लिने अवस्था सिर्जना हुँदा पनि संस्थानका उच्च अधिकारीहरू भने सात पुस्ता पुग्ने रकम अवैध रूपमा आर्जन गर्न व्यस्त रहेको सीआईबीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
संगठित सञ्जाल खडा गरी १२ करोड १३ लाखको हिनामिना
उजुरीको प्रारम्भिक छानबिनका आधारमा संस्थानका तत्कालीन महाप्रबन्धक झा, प्रशासनिक उच्च तहका अधिकारीहरू, विभिन्न चिस्यान केन्द्रका प्रमुखहरू र कर्मचारीहरूको पूर्व–नियोजित योजना र मिलेमतोमा संगठित सञ्जाल (ल्भतधयचप) खडा गरिएको पाइएको छ। यो समूहले संस्थानलाई प्रत्यक्ष आर्थिक हानि–नोक्सानी पु¥याई कुल रु. १२,१३,४३,५३० (बाह्र करोड तेह्र लाख त्रिचालीस हजार पाँच सय तीस रुपैयाँ) गैरकानुनी लाभ लिएको पुष्टि भएको छ ।
सीआईबीका सूचना अधिकारी तथा सह–प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) योगेन्द्रकुमार खड्काका अनुसार पक्राउ परेका अधिकारीहरूउपर मुलुकी अपराध संहिता, २०७४ को ‘अपराधिक विश्वासघात गर्न नहुने कसूर’ तथा ‘संगठित अपराध निवारण ऐन, २०७०’ अन्तर्गतको कसूरमा काठमाडौँ जिल्ला अदालत बबरमहलबाट पक्राउ अनुमति लिई नियन्त्रणमा लिइएको हो। यही कात्तिक १३ गते देशका विभिन्न स्थानबाट पक्राउ परेका तत्कालीन महाप्रबन्धक झासहितका अधिकारीहरूलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको एसपी खड्काद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
सरकारी संस्थानलाई ‘लुटको धन्दा’ बनाउँदा भवनहरू बने भूत बंगला
मधेशका राजनीतिक नेता तत्कालिन मन्त्री महिन्द्र राय यादवको चाकरी र राजनीतिक पहुँचका आधारमा डीडीसीको महाप्रबन्धक पद हत्याउन सफल भएका सञ्जीव झाको कार्यकालमा संस्थानको अवस्था यति खस्कियो कि त्यहाँका प्रशासनिक भवनहरू नै भूत बंगला जस्तै बनेका छन् । सरकारी संस्थानलाई मनमौजी तरिकाले लुटको धन्दा चलाएर घाटा मात्रै देखाउने कार्यमा लाग्दा दुग्ध विकास संस्थान अहिले पूर्ण रूपमा धाराशायी बनेको छ ।
संस्थानमा तल्लो तहमा कार्यरत कर्मचारीहरूले समेत विभिन्न प्रपञ्च रचेर आफ्ना छोराछोरीलाई त्यहीँ जागिरमा लगाउने र विभिन्न प्रकारका भ्रष्टाचारमा लिप्त हुने कार्य सामान्य जस्तै बन्दै गएको थियो । किसानको भुक्तानी रोकेर संस्थानलाई आफ्नो बपौती सम्पत्ति सम्झिने तत्कालीन महाप्रबन्धक झा अन्ततः १२ करोडभन्दा बढीको भ्रष्टाचार काण्डमा थुनामा परेसँगै ग्रामीण भेगका पीडित दुग्ध उत्पादक किसानहरूले सीआइबीको कार्यलाई प्रशंसा गर्दै न्यायको आशा गरेका छन् ।
सीआईबीको नियन्त्रणमा परेका ती ८ प्रतिवादीहरूः
१. सञ्जीव झा (तत्कालीन महाप्रबन्धक)ः बलरा नगरपालिका वडा नं. ३, सर्लाही स्थायी घर भई हाल काठमाडौँ कागेश्वरी मनोहरा न.पा. वडा नं. ६ ।
२. विजयकुमार यादव (जुनियर टेक्निकल असिस्टेन्ट)ः तत्कालीन सिम्ले चिस्यान केन्द्र इन्चार्ज, हाल काठमाडौँ दुग्ध वितरण आयोजना बालाजुमा कार्यरत (सिराहा) ।
३. मनहरी शर्मा (जुनियर टेक्निकल असिस्टेन्ट)ः तत्कालीन भुल्के चिस्यान केन्द्रको इन्चार्ज, हाल दुग्ध विकास संस्थान केन्द्रीय कार्यालय लैनचौरमा कार्यरत (पर्वत, मोदी गाउँपालिका वडा नं. ४) ।
४. रामकेवल राय (जुनियर टेक्निकल असिस्टेन्ट)ः साविक मोहनपुर गा.वि.स. वडा नं. ५, कल्याणपुर, सर्लाही।
५. जितेन्द्रकुमार यादवः (भरपाई पदका कर्मचारी) सर्लाही चन्द्रनगर गाउँपालिका वडा नं. ५ घर भई हाल चितवन भरतपुर म.न.पा. वडा नं. ५, कल्याणपुर ।
६. नवीन राय यादवः (डेरी ब्वाई पदका कर्मचारी) सर्लाही चन्द्रनगर गाउँपालिका वडा नं. २ ।
७. शिवनन्दन रायः (दैनिक पारिश्रमिक पदका कर्मचारी), सर्लाही चन्द्रनगर गाउँपालिका वडा नं. ५ घर भई हाल चितवन माडी न.पा. वडा नं. २ ।
८. विखबहादुर भण्डारी (जुनियर टेक्निकल असिस्टेन्ट)ः कालिका गा.पा. वडा नं. ७, सिन्धुपाल्चोक ।
