देउवा समूहको बहिष्कारः कांग्रेसभित्रै अर्को कांग्रेसको ’रमिता
काठमाडौं । मुलुकको सबैभन्दा पुरानो र ठूलो लोकतान्त्रिक दल नेपाली कांग्रेसको १५औँ महाधिवेशन सम्पन्न भएको छ । काठमाडौंको खुलामञ्च र राष्ट्रिय सभागृहमा असोज १८ देखि सुरु भएको यो राजनीतिक महाकुम्भ विचार, नीति र देशको भविष्य निर्माण गर्ने थलो बन्नुपर्नेमा गुटबन्दी, पदीय हानथाप, प्राविधिक भद्रगोल र “रमिता’’ प्रदर्शन गर्ने थलोमा परिणत भएको टिप्पणी राजनीतिक विश्लेषकहरूले गरेका छन् ।
नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा गगन कुमार थापा ६ हजार ५८४ मत प्राप्त गर्दै भारी बहुमतका साथ सभापति पदमा निर्वाचित भएका छन् । उनका एकमात्र प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत मात्र प्राप्त गरे। सभापतिमा युवा नेताको उदयसँगै कांग्रेसभित्र नयाँ उत्साह थपिएको दाबी गरिए पनि महाधिवेशन अवधिभर देखिएका केही ‘अलोकतान्त्रिक र उदेकलाग्दा दृश्यहरू’ ले भने आम जनता र कार्यकर्तालाई चकित बनाएका छन् ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनका मुख्य विवाद, गल्ती–कमजोरी र आत्मालोचना गरिएका १५ बुँदाहरू यस प्रकार छन् ः
१. पार्टीभित्रको चरम गुटबन्दी र आन्तरिक विभाजनः महाधिवेशन सुरु हुनुअघि नै कांग्रेसभित्र नेतृत्वको वैधानिकतालाई लिएर ठुलो विवाद देखियो। संस्थापन पक्ष र संस्थापन इतर पक्षबिठको शक्ति संघर्ष उत्कर्षमा पुग्दा पार्टीमा मनोवैज्ञानिक विभाजन आएको विश्लेषण गरिएको छ ।
२. समानान्तर महाधिवेशनको घोषणा र फुटको अवस्र्थाः गगन थापा नेतृत्वको पक्षले काठमाडौँको खुलामञ्चमा महाधिवेशन आयोजना गरिरहँदा, पूर्वसभापति शेरबहादुर देउवा पक्षले समानान्तर महाधिवेशनको चेतावनी दिँदा पार्टीको साख र एकतामा गम्भीर धक्का लागेको टिप्पणी भयो ।
३. व्यक्तिकेन्द्रित राजनीति र गुटको स्थायीकरर्णः पार्टीभित्र विचारभन्दा व्यक्तिलाई केन्द्रमा राखेर राजनीति गर्ने प्रवृत्ति हाबी भएको स्वीकार गरिएको छ। नेताहरूले आफ्ना गुटहरूलाई स्थायी रूपमा रूपान्तरण गर्दा पार्टी कमजोर्र ः बनेको महसुस गरिएको छ ।
४. पद र अवसरको पारिवारिक÷नातावादको वितरर्णःकुनै पदलाई व्यक्तिको प्रभाव र पहुँचका आधारमा ’गोत्र’ जस्तै स्थायी बनाउने र आफ्ना निकटका मानिसहरूलाई मात्रै अवसर दिने परिपाटीलाई कांग्रेसको ठुलो कमजोरी मानिएको छ ।
५. विचार र सिद्धान्तभन्दा सत्तामुखी चरित्र्रः विगतका समयमा कांग्रेस वैचारिक रूपमा स्पष्ट हुनुभन्दा सत्ता प्राप्तिका लागि अप्राकृतिक गठबन्धनहरूमा अल्झिएको भन्दै बन्दसत्रमा आलोचना भएको थियो ।
६. व्यवस्थापकीय कमजोरी र मतदान कार्यतालिकामा ढिलाईः तयारी नपुगेको र मतपत्र छपाइमा ढिलाइ भएको कारण देखाउँदै पूर्वनिर्धारित मतदानको कार्यतालिका अन्तिम समयमा सारेर व्यवस्थापकीय कमजोरी प्रदर्शन गरियो ।
७. निर्वाचन आचारसंहिताको उल्लंघनाः प्रदर्शनी मार्ग र खुलामञ्चमा मतदान भइरहँदा र प्रचारप्रसारका क्रममा भिडभाड र आचारसंहिता विपरीतका गतिविधिहरू पूर्ण रूपमा नियन्त्रण हुन सकेनन् ।
८. तल्लो तहका कार्यकर्ता र जनभावनाको उपेक्षाःनेतृत्व चयनमा महाधिवेशन प्रतिनिधिहरूको ठेलमठेल र विवादले भुइँतहका कार्यकर्ताहरूको भावनाभन्दा शीर्ष नेताहरूको शक्ति सन्तुलनलाई बढी प्राथमिकता दिइएको गुनासो रह्यो ।
९. व्यक्तिकेन्द्रित राजनीति गर्ने प्रवृत्तिः विचारलाई केन्द्रमा राख्ने तर विचारको केन्द्रमा व्यक्तिलाई राखेर राजनीति नगर्ने।
१०. स्थायी गुटबन्दीः फरक विचारलाई स्वीकार गर्ने तर त्यसलाई स्थायी गुटमा रूपान्तरण नगर्ने।
११. पदको स्थायीकरण (सिन्डिकेट)ः कुनै पद वा अवसरलाई व्यक्तिको प्रभावका आधारमा स्थायी बनाउने प्रवृत्ति अन्त्य गर्ने।
१२. लोकतन्त्रको आन्तरिक क्षयीकरणः पार्टीभित्र आन्तरिक लोकतन्त्र कमजोर हुन नदिने।
१३. भ्रष्टाचार र सुशासनमा उदासीनताः भ्रष्टाचार जन्य क्रियाकलाप र सुशासन विरोधी कदमलाई प्रश्रय नदिने।
१४. समावेशिताको नारामा मात्रै सीमितताः वडादेखि केन्द्रसम्म महिला तथा लक्षित वर्गको वास्तविक सहभागिता बढाउने।
१५. युवा पुस्ता र विज्ञताको उपेक्षाः राजनीतिमा लामो समय बिताएका मात्र नभई नयाँ विज्ञहरूलाई ’ल्याटरल इन्ट्री’ मार्फत ठाउँ दिने र युवाको भरोसा कायम राख्ने ।
राजनीतिक वृत्तमा यस महाधिवेशनलाई नीति र नेतृत्व परिवर्तनको नयाँ सुरुवात भनिए तापनि आन्तरिक वैधानिकताको विवाद, व्यवस्थापकीय ढिलासुस्ती र गुटबन्दी नै यसका मुख्य कमजोरीका रूपमा औंल्याइएका छन् ।
१. देउवा समूहको बहिष्कारः कांग्रेसभित्रै अर्को कांग्रेसको ’रमिता’
१५औँ महाधिवेशनको सबैभन्दा ठूलो र अचम्मको रमिता उद्घाटन सत्रदेखि नै सुरु भयो । संस्थापन इतर समूहले महाधिवेशन डाकेपछि पार्टीका पूर्वसभापति एवं वरिष्ठ नेता शेरबहादुर देउवा समूहले यो महाधिवेशनलाई पूर्ण रूपमा बहिष्कार ग¥यो । संस्थापन पक्षले महाधिवेशन वैधानिक आधारमा भइरहेको दाबी गरिरहँदा देउवा पक्षले भने यसलाई समानान्तर गतिविधि भन्दै छुट्टै महाधिवेशन गर्ने घोषणा ग¥यो ।
एउटै चुनाव चिन्ह ’रुख’ बोकेर हिँड्ने दलका शीर्ष नेताहरू नै दुई कित्तामा बाँडिएर देशव्यापी रूपमा कार्यकर्ता विभाजित गरेको दृश्य कुनै रमिताभन्दा कम थिएन । एउटा समूह खुलामञ्चमा आमसभा गरिरहँदा अर्को समूह भने चण्डोल र संस्थापन पक्षका कार्यालयहरूमा रणनीति बुन्न र अदालतको ढोका ढकढक्याउन व्यस्त देखिन्थ्यो । यसले तल्लो तहका आम कार्यकर्तामा ठूलो मनोवैज्ञानिक विभाजन ल्याएको कांग्रेसकी उपसभापति तथा संविधानसभा सदस्य अधिवक्ता पुष्पा भुसालले समेत स्वीकार गरेकी छन् ।
२. मौसमको कहर र नेतृत्वको लार्पाबाही
असोजको महिना, जतिबेला मौसम सधैँ स्थिर रहँदैन, त्यस्तो बेला खुला आकाशमुनि बन्दसत्र र मनोनयनका कार्यक्रमहरू तय गरिए । मनोनयन दर्ता र दाबी विरोध गर्ने समय चलिरहँदा एक्कासि ठूलो वर्षा भयो । पानी परेपछि बन्दसत्रका लागि आएका प्रतिनिधि र निर्वाचन समितिका कर्मचारीहरू ओत खोज्दै यताउता दौडिए ।
महत्वपूर्ण दस्तावेज र प्रतिवेदनहरू पारित गर्नुपर्ने बन्दसत्रको कार्यक्रम पानीका कारण बिथोलियो र प्रतिनिधिहरू तितरबितर भए । निर्वाचन समितिले दाबी विरोधको समय थप्नुप¥यो । प्रविधिको युगमा पनि एउटा ठूलो पार्टीले राष्ट्रिय स्तरको कार्यक्रम गर्दा मौसमको सामान्य पूर्वानुमान समेत नगरेर खुलामञ्चमा भद्रगोल मच्चाउनु महाधिवेशनको अर्को टिठलाग्दो रमिता थियो ।
३. भोट हाल्न आधा घण्टाः प्राविधिक भद्रगोलको पराकाष्ठा
सबैभन्दा ठूलो रमिता त असोज २३ गते (शुक्रबार) भएको मतदानका क्रममा देखियो । यसपटक कांग्रेसले समावेशी र विभिन्न क्लस्टर मिलाउने भन्दै पदाधिकारीको संख्या २५ र केन्द्रीय कार्यसमितिको आकार २९७ सदस्यीय बनाएको थियो । ठूलो कमिटी बनाउनु त राम्रो होला, तर मतदानका लागि कुल २३ वटा छुट्टाछुट्टै मतपत्र तयार पारिएका थिए ।
एउटा मतदाताले २३ वटा मतपत्रमा स्वस्तिक छाप लगाउन कम्तीमा ३० देखि ४० मिनेटको समय खर्चिनुप¥यो । ७ हजारभन्दा बढी महाधिवेशन प्रतिनिधिहरू लाइनमा बस्दा मतदानको समय सकिने छाँटकाँट नदेखेपछि निर्वाचन समितिले हतार–हतार दुई पटकसम्म समय थप गरी राति १० बजेसम्म मतदान लम्ब्याउनुपरेको थियो । आधुनिक डिजिटल युगमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्नुको साटो कागजका २३ वटा थान भिराएर वृद्ध प्रतिनिधिहरूलाई घण्टौँ उभ्याउनु व्यवस्थापकीय कमजोरीको रमिता थियो ।
४. नीति हरायो, नेता मात्रै ब्युँतिए
महाधिवेशन भनेको कुनै पनि राजनीतिक दलको आगामी पाँच वर्षको नीति, देशको आर्थिक मार्गचित्र र वैचारिक दिशा तय गर्ने मुख्य थलो हो । तर, कांग्रेसको यस १५औँ महाधिवेशनमा देशको बेरोजगारी समस्या, आर्थिक मन्दी, संघीयताको सबलीकरण वा परराष्ट्र नीतिका बारेमा कुनै गम्भीर बहस भएन ।
उद्घाटनदेखि मतदानसम्मका ५ दिन केवल “को कुन गुटको ?’’, “गगन थापाले जित्लान कि नजित्लान?’’, “कसले कसलाई धोका दियो?“ भन्ने गफमै सीमित भयो । बन्दसत्रमा प्रस्तुत गरिएका नीतिगत प्रतिवेदनहरूमाथि पर्याप्त छलफल नै नगरी हुटिङ र तालीका भरमा पारित गरियो । विचार र नीतिको खडेरी परेर केवल पदीय कुर्सीका लागि भएको यो छिनाझपटीले कांग्रेस अझै पनि परम्परागत गुटबन्दीकै रमितामा रुमल्लिरहेको प्रष्ट पार्छ ।
५. सीसी क्यामेराको निगरानी र ’अविश्वास’ को रमिता
लोकतन्त्रको पाठ सिकाउने नेपाली कांग्रेस पार्टीभित्र आफ्नै साथी र निर्वाचन समितिमाथि कतिसम्म अविश्वास रहेछ भन्ने कुराको प्रमाण मतगणना स्थलमा देखियो । मतपेटिकाहरू सानेपास्थित केन्द्रीय कार्यालयमा राखिएपछि मतगणना पारदर्शी बनाउन सीसी क्यामेरा जडान गरियो । आफ्नै पार्टीका नेताहरूले मतपत्र च्यात्ने वा धाँधली गर्ने डरले उम्मेदवारका प्रतिनिधिहरूले मतपेटिका कुरेर रातभर जाग्राम बस्नुपर्ने स्थिति आयो । पार्टीभित्र मौलाएको यो चरम अविश्वासको वातावरण आफैँमा एउटा गम्भीर तर तितो रमिता हो ।
निष्कर्षः रमिता सकियो, चुनौती सुरु
नेपाली कांग्रेसको १५औँ महाधिवेशनले गगन कुमार थापालाई नयाँ सभापति त दिएको छ, तर महाधिवेशनका क्रममा देखिएका यी रमिताहरूले पार्टीको आन्तरिक लोकतन्त्र र व्यवस्थापकीय क्षमतामाथि ठूलो प्रश्नचिह्न खडा गरिदिएका छन् । बहिष्कार गरेको देउवा पक्षलाई समेटेर पार्टीलाई विभाजनबाट जोगाउनु, देशभरका नेता–कार्यकर्ताको मनोवैज्ञानिक दुरी कम गर्नु र आगामी आम निर्वाचनमा कांग्रेसलाई देशको बलियो शक्तिका रूपमा उभ्याउनु नवनिर्वाचित सभापति थापाका लागि फलामको चिउरा चपाउनु सरह हुनेछ । काठमाडौंको खुलामञ्च र सानेपाको मतगणना स्थलमा देखिएका यी रमिताहरूबाट पाठ नसिक्ने हो भने, आगामी दिनमा कांग्रेसले जनताका माझ अर्को ठूलो राजनीतिक मूल्य चुकाउनुपर्ने निश्चित छ ।
