पाकिस्तानी दुतावसले मनायो ७८औं स्वतन्त्रता दिवस
काठमाडौं । पाकिस्तानको ७८औँ स्वतन्त्रता दिवसको शुभ अवसरमा १४ अगस्तमा चान्सेरीमा झण्डा फहराइएको थियो । पाकिस्तानका राजदूत अबरार एच हाश्मीले चान्सरीमा राष्ट्रिय झण्डा फहराएका थिए । कार्यक्रममा दूतावासका अधिकारी, पाकिस्तानी समुदाय र नेपाली शुभेच्छुकहरुको परिवारसहितको उपस्थिति रहेको थियो ।
साँझमा पाकिस्तानी दूतावासले नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक संघ (एनपीएफसीए) को सहकार्यमा काठमाडौंको हिल्टन होटलमा स्वतन्त्रता दिवस स्वागत समारोह आयोजना गरेको थियो ।
उक्त कार्यक्रममा गणतन्त्र नेपालका उपराष्ट्रपति डा राम सहाय प्रसाद यादव प्रमुख अतिथिका रुपमा आमन्त्रित थिए । विशेष अतिथिहरुमा प्रतिनिधिसाकी उपसभामुख इन्दिरा रानामगर, पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, पूर्व उपप्रधानमन्त्री तथा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, पूर्व उपप्रधानमन्त्री तथा नेकपा मालेका महासचिव सीपी मैनाली, पूर्वपरराष्ट्रमन्त्री तथा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञावली, सांसद रेखा यादवलगायतको सहभागी रहेको थियो । । विदशी राजदूत, संयुक्त राष्ट्र संघ र निकायका प्रमुखहरू, कूटनीतिज्ञहरू, राजनीतिक व्यक्तित्वहरू, सरकारी अधिकारीहरू, व्यापारीहरू, रक्षा सहचारीहरू, पत्रकारहरू साथै पाकिस्तानी समुदाय सहित अतिथिहरूको उपस्थिति रहेको थियो ।
सो अवसरमा बोल्दै राजदूत हाश्मीले नेपालको निरन्तर सहयोग र मित्रताका लागि हार्दिक धन्यवाद ज्ञापन गरे । उपराष्ट्रपति यादवले हाम्रा सभ्यताको समानता, समान क्षेत्रीय गतिशीलता, सांस्कृतिक र भाषिक समानताका साथै साझा विकास र पर्यावरणीय चुनौतीले हामीलाई बहुआयामिक साझेदार बनाएको बताए ।