March 19, 2025

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

काजक्रिया र प्रचण्ड

त्रिलोचन ढकाल, पूर्वमन्त्री तथा नेता नेपाल कम्युनिष्ट पार्टी



वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जीवनसंगिनी सीताको मृत्युभएपछि काज क्रिया गरेनन् । यस अघि छोरा प्रकाश मर्दा पनि उनले काजक्रिया गरेका थिएनन् ।‘ अहिले यो चर्चाले व्यापकता पाइरहेको छ । यति मात्र होइन कुनै एउटा ट्याक्सी ड्राइभर आठ दिनपछि क्रियापुत्रीको भेषमा क्रिया बसेका छन् भन्ने कुरासमेत सामाजिक सञ्जालमा प्रचारित भएको छ । पुष्पकमल दाहालले काजक्रिया नगरेको हुनाले आफू क्रिया बसेको भन्छन् रे उनले ।
मेरो माओवादी पार्टी र पुष्पकमल दाहालसँग कुनै नाता सम्बन्ध बनेको छैन तापनि सबै जसो “कम्युनिष्ट” र “कम्युनिष्ट पार्टी” माक्र्सवादी दर्शन द्वन्दात्मक भौतिकवादबाट च्यूत भएको समयमा उनले काजक्रियाका सम्बन्धमा द्वन्दात्मक भौतिकवाद कार्यान्वयन गर्ने आँट गरेको हुँदा उनको यो कदमको समर्थनमा पाइला चलाएको छु ।
सही कुरा गर्ने हो भने काजक्रिया गर्ने भनेको शोक मनाउने हो । आफन्तको मृत्यु हुँदा सबै हुन्छन् शोकमग्न । पुष्पकमल पत्नी सीताको मृत्यु हुँदा सबैले भन्दा बढी शोक उनैले मानेको प्रमाणित छ । उनका छोरीहरू र बुहारीहरू शोक मनाउनमा उत्तिकै समर्पित छन् । उनीहरूले आफ्नै विधि अनुसार काजक्रिया गरेका छन् । आरोप कर्ताको विधि अनुसार किरिया गरेन भनेर लाञ्छित गर्नु घोर तानाशाही स्वभाव र चरित्र हो भनेर हामीले बुझ्नु पर्दछ ।
यहीँ नेर बुझ्नैपर्ने कुरा के छ भने मान्छे मर्ने भनेको के हो ? मान्छे मर्दा मर्ने को हो ? सीता दाहालको अवसान कहाँ भएको थियो ? त्यहाँ कसको मरण भएको थियो ? यी प्रश्नको उत्तर खोज्नको निम्ति मरणको वास्तविक धरातलमा अवतरण गर्न आवश्यक छ । सीता दाहालको मृत्यु नर्भिक अस्पतालमा भएको थियो । सबैले देखेका छन् कि नर्भिक अस्पतालमा सीताको शरीर होइन आत्मा मरेको थियो । शरीर त त्यहीं लम्पसार भएर सुतिरहेको थियो । केही घण्टापछि उनको शरीर आर्यघाटमा लगेर चितामा राखी आगोले डढाएर नष्ट गरिएको थियो ।
दुई पक्षको संयोजनबाट मानिस बन्दछ । पहिलो पक्ष हो शरीर र दोस्रो हो आत्मा वा जीवात्मा‚ जे भन्नुहोस् । आगोको स्वभाव तातो‚ पानीको स्वभाव शीतलता‚ हावाको स्वभाव शीतल स्पर्श भने जस्तै पूर्णाङ्ग शरीरको स्वभाव हो आत्मा । सक्षम मस्तिष्क‚ मुटु‚ फोक्सो‚ कलेजो‚ मृगौला‚ हाड‚ मासु‚ नसा‚ आदि अङ्गहरूको संयोजनबाट बनेको आत्मा‚ तीमध्येका महत्वपूर्ण अङ्ग असक्षम भएपछि वा मरेपछि आत्मा स्वतः मर्दछ । आत्मालाई मार्न न हतियारले काट्नापर्दछ‚ न आगोले जलाउनु पर्दछ‚ न बाढीले बढार्नु पर्दछ र न हुरीले उडाउनु पर्दछ ।
माटो‚ पानी‚ हावा‚ वायुलगायतका तत्वहरूको संयोजन भएपछि बनेको शरीरमा आत्मा स्वत⁚ प्रकट हुन्छ । ती तत्त्वहरू कमजोर भएपछि वा मरेपछि आत्मा स्वतः नष्ट हुन्छ । पुरातत्वले गरेको अनुसन्धानको निचोड यही हो । विज्ञानको अनुसन्धानद्वारा प्राप्त परीणाम पनि यही हो । मार्क्सवादी दर्शन द्वन्द्वात्मक भौतिकवादको निष्कर्ष पनि यही हो ।
आफ्ना पिता माता आदि आफन्तको मृत्यु हुँदा सम्पूर्ण मानिसहरूले किरिया गर्दछन् । मानिसले यस सम्बन्धमा विविध विधिहरू बनाएको छ । यी विधिहरू मुख्यगरी अन्धविश्वासमा आधारित धर्मका मार्ग दर्शनमा छन् । हिन्दू धर्मावलम्बीहरूको आफ्नै विधि छ । क्रिश्चेन‚ इस्लाम बुद्ध‚ जैन‚ शिख आदि धर्महरूका पनि आ–आफ्नै विधि छन् । जात‚ जाति‚ जनजाति र भूगोलका आधारमा पनि किरियाका विधिहरूमा फरकपन देखिन्छ ।
पुष्पकमल दाहाल जस्ता अन्धविश्वासलाई अस्वीकार गर्ने तथा विज्ञान र भौतिकवादमाथि विश्वास गर्नेहरूले अन्धबिश्वासमाथि आधारित भएर काजक्रिया नगर्नु स्वाभाविक हो । आफ्नै विधिले शोक मनाउन दाजुभाइ‚ इष्टमित्र र आफन्तसहित भएर मौनधारण गरी श्रद्धाञ्जली दिदै केही समय वा केही दिन शोक मनाउनु काजक्रियाको एउटा विधि हो । नेपाल कम्युतिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल र नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाले यस्तो विधि लागु गर्ने घोषणा मात्र गरेका थिएनन् दृढतापूर्वक कार्यान्वयन पनि गरेका थिए । अरूको विधि नअपनाएर आफ्नै तरिकाले किरिया गर्नेहरूलाई ‘किरिया गरेनन्’ भनेर लाञ्छित गर्नु अज्ञानता‚ मूर्खता र तानाशाहीद्वारा सिर्जित ”नर्क“मा चुर्लुम्म डुब्नु हो ।
अन्धविश्वासको गर्भबाट जन्मेका धर्म‚ मानिसद्वारा निर्मित विभिन्न जात‚ प्रकृतिका उपज जाति जनजाति र भूगोलका आधारमा शव समाधि गर्ने विधिहरू पनि फरक फरक छन् । काजकिरिया र शबसमाधिका विधिहरूमा संसोधन गर्ने प्रयत्न भएको पनि देखिएको छ । क्रियाको अवधि सातदिन या तिनदिन बनाउनु‚ मृत्यु भएको आठौं दिनबाट मात्र किरिया सुरु गर्नु‚ विद्युत शबदाह गृहमा दाह संस्कार गर्नु‚ छोरीले पनि छोराको सट्टामा किरिया गर्नु‚ एक वर्ष दुःख बोक्नुको सट्टा छ महिना वा ४५ दिन वा अन्त्यष्टी समापनको दिन देखिनै फुकाउनु यसका केही उदाहरणहरू हुन् ।
अन्धविश्वासको जन्म कहिलेदेखि भयो ? पुरातत्व र विज्ञानले यसको अनुसन्धान गरेका छन् । यो अनुसन्धान अनुसार पृथ्वीमा मानिसको विकास आजभन्दा एक करोड विसलाख वर्षअगाडि देखि सुरु भएको हो । त्यसको लाखौं वर्षसम्म मृत्युलाई बुझ्ने मानव चेतना अरू पशुहरूकोभन्दा माथि उठेको थिएन । लाखौं वर्षपछि आफ्नो समूहको मानिसको मृत्युलाई लिएर तर्क वितर्क हुन थाल्यो । केहि बेर अगाडिसम्म खाँदै‚ हिँड्दै‚ बोल्दै र ख्यालठट्टा गर्दै गरेको मान्छे सासै नफेरीकन निष्क्रिय भएर पछारिएको छ । यसको उत्तर खोज्दा सर्वसम्मतिले के निष्कर्ष निस्कियो भने मानिसको शरीरबाहेक यसलाई सक्रिय पार्ने अरू केही पनि हुँदोरहेछ ।


मानिस मर्दा त्यो के भयो भन्ने बारेमा भने विवाद भयो । एउटा पक्षले त्यो मर्यो भन्यो र त्यहीँ आँखाको अगाडि मरेको देखायो । अर्को पक्षले त्यो मरेको छैन स्वर्ग या नरकादि सुख–दुख उपभोग गर्न परलोकमा गयो भन्यो । त्यही दिनदेखि अन्धविश्वासको जन्म भयो । त्यसको लाखभन्दा बढी वर्षमा त्यसले धर्ममा विकास गर्यो । अन्धविश्वासको जन्म हुँदाको दिनदेखि मानव शरीर सञ्चालन गर्ने तत्व मरेको होइन परलोक गएकोछ भन्नेहरूले प्रमाणित गर्न अनुसन्धानमा लागे भने त्यो आफ्नै अगाडि मरेको भन्नेहरू पनि अनुसन्धानमा केन्द्रीत भए । आजसम्म स्वर्ग‚ नर्क‚ परलोक‚ अरूलोकहरु केहि पनि भेटिएका छैनन् । भएको भए पो भेटिन्थे । पहिला विश्व मानव समुदायले स्वीकार गरेको एउटै धर्म ‘सनातन धर्म’ थियो । चारहजार वर्ष अगाडिदेखि भारतमा आएर खसआर्य हरूले वेदको रचना गर्न थालेपछि वेद अश्विकार गर्नेहरूले आआफ्ना सम्प्रदायहरू बनाए । वेदको रचना गर्नेहरूले त्यसको हजार वर्षभन्दा पछि हिन्दुधर्मको प्रारूप खडा गरे । अरूले जैन‚ इस्लाम‚ बुद्ध आदि धर्मको स्थापना गरे । कुनै पनि धर्म अस्वीकार गर्नेहरूले चार्वाक दर्शनलाई जारी गरे । यही दर्शनको प्रकाशमा युरोपमा मार्क्सवादी दर्शनको विकास भयो ।
के काजकिरिया गर्नु पर्दैन ?
जगतमा पृथ्वी‚ जल‚ अग्नि‚ वायुआदि परमतत्व छन् । यिनकै समन्वयबाट शरीर बन्दछ । त्यस्ता तत्व संयोजित भएपछि बनेको देहमा चैतन्य स्वतः प्राप्त हुन्छ । ती तत्वमध्ये सबैमा वा कुनैमा कमजोरी आयो वा मरे भने मानिस मर्दछ । मानिसको मृत्यु हुनु भनेको आत्मा मर्नु हो । मरिसकेको आत्मा प्रेत कसरी हुनु ? हुँदै नभएको प्रेतलाई प्रेतत्वबाट मुक्त गर्न भनेर ‘काजकृया’ गरी सम्पत्ति र सुख किन नष्ट गर्नु र गर्न लगाउनु ?
यसको मतलब आफन्तहरूको मृत्यु हुँदा क्रिया गर्नु पर्दैन भन्ने होइन । आफन्तकोमृत्यु भइसकेपछि शोक उत्पन्न हुनु स्वाभाविक हो । शोक गर्नु नै क्रिया गर्नु हो । आफन्तका परिवार वा समाजप्रति मरेकाले दिएको योगदानको स्मरण गर्नु‚ उनले सुरु गरेका समाजोपयोगी कामहरू पूरा गर्ने प्रतिज्ञा गर्नु‚ उनको सम्झनामा दुखि गरिबहरूलाई दान दिनु‚ गच्छे अनुसार विद्यार्थी‚ सिर्जनाकार तथा रचनाकारहरूको सम्मान गर्नु‚ सम्पन्न हरूले मृत्यु वरण गरेकाहरूको नाममा विद्यालय तथा अस्पताल आदिको स्थापना तथा संचालन गर्नु काजकृया हो । शोकसभा गर्नु पनि एक किसिमको किरिया नै हो । तर “आत्मा” प्रेत भएको छ भन्ने गलत कुरामाथि विश्वास गरेर पिण्ड दानादि अन्धविश्वासी प्रक्रिया अपनाउने किरिया आवश्यक छैन । यस्ता किरिया त पुरेतहरूको लुट र यजमानको दरिद्रता वृद्धि गर्ने अन्धविश्वासी काममात्र भएका छन् । यस्ता किरियाको कुनै प्रयोजन छैन ।
यस सम्बन्धमा महान पूर्वीय दार्शनिक माधवाचार्यले ’सर्वदर्शनसङ्ग्रह‘मा लेख्नुभएको छ–
”त्यसकारण मरेकाको निम्ति गरिने भनेका प्रेत कार्यादि पुरेतहरूले आफ्नो जीवीकाको उपाय बनाएका हुन् । योभन्दा बढता कुनै फल छैन ।“
“ततश्च जीवनोपायो ब्रामणैर्विहितस्तिह ।
मृतानं प्रेतकार्य्याणि न त्वन्यद्वियते क्वचित् ।।” (माधवाचार्य‚ सर्वदर्शनसङ्ग्रह–खेमराज कृष्णदास प्रकाशन बम्बई–४ पेज ११ श्लोक २४)
हिन्दू कर्मकाण्ड अनुसार माता पिता र आफन्तको मृत्यु भएको बेलामा काजक्रियाा गर्ने चलन छ । त्यति बेला तर्पण र पिण्ड दान गरेर प्रेतको खाना र शरीर निर्माणको प्रबन्ध गर्ने भनिन्छ । के दिएको पिण्ड तर्पण प्रेतले प्राप्त गर्न सक्छन् ? पिण्ड पानी पाउने कुनै सम्भावना छैन । यो त यजमानलाई उल्लु बनाएर कर्मकाण्डीहरूले लुटको धन कमाउने उपाय मात्र हो ।
पहिलो कुरा आत्मा मानिस को मृत्यु हुँदा मर्दछ । मरिसकेको आत्मा कसरी प्रेत हुन्छ ? पूर्णाङ्ग मानव शरीरबाहेक आत्मा बस्ने अरू कुनै ठाउँ छैन । हुँदै नभएको आत्मारूपी प्रेतले कहाँबाट खानु पिण्ड पानी ? अर्को कुरा प्रेत बस्ने भनेको प्रेतलोक र परलोकको अस्तित्व छैन । कहाँ बसेर किरियाको भाग खानु ।
प्रेतले‚ घरमा बसेर दिएको पिण्ड पानी खान पाउने भए एउटा पक्षमा निकै सुविधा हुने थियो । यात्रामा जानेहरूले खर्च बोक्नु पर्ने थिएन । खाना र बासका निम्ति होटल‚ रेष्टुरा र लजहरूको व्यवस्था गर्न पर्ने पनि थिएन । घरमा बस्नेले यात्रारत व्यक्तिको नाममा पिण्ड पानी दिएपछि यात्रारत व्यक्तिले जहाँ पुगेका ‚छन् त्यहीँ चाहना अनुसारको सामग्री पाउने थिए । अचेल रोजगारीका निम्ति विदेश जाने चलन व्यापक छ । विदेशबाट यहाँ घरमा पैसा पठाउन निकै अप्ठ्यारो छ । पिण्ड पानी दिँदा प्रेतले पाउने भए विदेशबाट बा ∕ आमा ∕ पति ∕ पत्नीका नाममा पिण्ड दान दिँदा पैसा यहाँ पाइनु पर्ने । यस्तो सम्भव भएको देखिएको छ ? छैन । त्यसकारण मर्नेको खानपानको निम्ति भनेर किरिया गर्नु अनुपयुक्त छ । यो पनि कर्मकाण्डीहरूको लुटलाई प्रोत्साहन गर्ने साधन मात्र बनेको छ । यसले जीवित मातापिताको सेवा गर्नबाट सन्तानहरूलाई हतोत्साहित गरेको छ । सन्तानले जीवित छँदा पिता माताको सेवा नगर्ने र मृत्युपछि पिण्ड तर्पण गरेर कर्तब्य पूरा गरेको ठान्ने गलत नजिर बसालेको छ ।
यदि आत्मा छ र लोकान्तरको भ्रमणमा गएको हो भने पितामाता‚ पति ∕ पत्नी र बालबच्चा आदिका मायाले ऊ फर्केर आउँथ्यो । विधवा पति ∕ पत्नी‚ टुहुरा सन्तान र पीडामा भएका आफन्तले आफ्नो अनुपस्थितिमा दुख पाएको कसरी सहन गर्न सक्नु ? तर कोही पनि आएका छैनन् । भए पो आउनू ।
२०८० । ४ । ११

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.