नेपाल राष्ट्रिय मावि पर्सामा अनियमितताका अनेक कथा र व्यथाहरु

धनराज पोखरेल
नेपाल राष्ट्रिय मावि, बहुदरमाई नगरपालिका पर्सामा भ्रष्टाचारले सीमा नै नाघेपछि त्यसलाई नियन्त्रण गर्न शिक्षक रबि भुषण रामलाई प्रधानाध्यापक बनाएर ल्याइयो । उनलाई प्रधानाध्यापक बनाएपछि भ्रष्टाचार गर्ने समूहको जालो नै तोडिने अवस्था आयो । रामको नियुक्ति संगठित रुपमा भ्रष्टाचार गरी बाँडीचुडी खाएको समूहलाई असैह्य बन्यो । यसैबीच प्रधानाध्यापक राम मोटरसाइकल दूर्घट्नामा परेर गम्भीर घाइते भए । उनको उपचार गरिरहेको अवस्थामा निमित्त प्रधानाध्यापक अजय कुमार यादवलाई शिक्षा नियमावली बिपरित दूर्घट्नामा सख्त घाइते भएको अवस्थामा बहुदरमाई नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष सुरेन्द्र यादवको सिफारिसमा निमित्त प्रधानाध्यापकमा नियुक्ति गरियो । यसरी दूर्घट्ना भएको समयमा मानवीय समवेदनालाई समेत सामान्य ख्यालै नगरी सहयोग गर्नुका सट्टा उल्टै प्रधानाध्यापकबाट हटाइएको थियो । जुन शिक्षा नियमावलीमा कहि कतै त्यस्तोे व्यवस्था गरिएको छैन । रबि भूषण राम प्रधानाध्यापक भएर आएपछि माध्यामिक दरबन्दी शिक्षकहरुले पनि ११/१२ लाई पढाउनुपर्छ र उच्च माबिका दरबन्दीहरुले पनि माध्यामिक तहमा गएर पढाउनुपर्छ भन्दै थप शिक्षक राखेर पढाउन सकिन्न भन्ने निर्णय गराए । त्यसपछि भ्रष्टाचार गर्न नपाएर छट्पटी भएकाहरुले अजय यादव लाई बलिको बोका बनाएर शिक्षकहरुले रकम हिनामिना गर्ने तानाबाना बुन्न लागे । रवि भूषण राम प्रधानाध्यापक भएर आएपछि रकम हिनामिना गर्नेहरु विरुद्धमा नियन्त्रणका लागि कडा भएर उत्रिएका थिए । रौतहटमा जन्मेका अजय कुमार यादव जनता समाजवादी पार्टी (जसपा)का सक्रिय सदस्य हुन् । त्यहि कारण वडा देखि नगर, प्रदेश, वनमन्त्री सम्म पहुँच बनाएका छन् । यसरी जसपा पार्टीबाट वनमन्त्री बनेका प्रदिप यादव र चार जना शिक्षक लाई पछाडि राखेर यादव प्रधानाध्यापकमा नियुक्ति भएको स्रोतको दाबी छ ।
शैक्षिक सामाग्री खरिदमा भ्रष्टाचार !
विज्ञान विषयमा आवश्यक शैक्षिक सामग्री खरिदका लागि प्रदेश सरकारबाट प्राप्त छ लाख पचास हजार मा २५ हजारको मात्रै शैक्षिक सामग्री खरिद गरी बाँकी दुई लाख पचास हजार रुपैया नगरपालिकाका शिक्षा शाखा प्रमुख बिदुर उप्रेतीलाई घुस दिइएको, दुई लाख रुपैया शिक्षकलाई दामासाहीले बाडेको, ५० हजार स्कूलका आफ्नो समर्थन गर्ने शिक्षकहरुलाई भोज ख्वाइएको थियो । यसरी बाँकी रकम अजय यादव आफैले हिनामिना गरेका थिए । उक्त कुरा यादवले स्कूलको स्टाफ बैठकमा बुझबुझारथ गर्दा नै बताएका थिए ।
उपाध्यायलाई हटाएर निमित्त प्रअ बनेपछि यादवले देखे कमाउँको नयाँ श्रोत !
डायरी एक्सप्रेस साप्ताहिकले तत्कालिन प्रधानाध्यापक सुधाकर उपाध्यायले बिभिन्न शिर्षकमा भ्रष्टाचार गरेको समाचार प्रकाशन गरेपछि त्यसैको आधारमा उनलाई वीरगञ्जको राम नगर माविमा सरुवा गरिएको थियो । त्यसपछि राम नगर माविकै प्रधानाध्यापक रबि भूषण राम नेपाल राष्ट्रिय माविको प्रधानाध्यापक बनेका थिए । जब निमित्त प्रधानाध्यापक यादव निमित्त प्रधानाध्यापकबाट बाहिरिन पुगे उनलाई कमाउँ धन्दाको मात छाड्न सकेनन् । जसका कारण रबि भूषण रामलाई लामो समय हाजिर गर्न नदिएर विद्यार्थीहरुलाई आन्दोलनमा उतारियो । प्रधानाध्यापक बन्नका लागि रविभूषण रार्म नगरप्रमुख नितेन्द्र साह तेलीलाई १५ लाख घुस दिएर सरुवा भएको भन्ने अफवाह अजय यादवले फैलाएका थिए । त्यसैकारण लामो समय विद्यालयमा पठन पाठन नै बन्द भयो । त्यसपछि पर्साका प्रमुख जिल्ला अधिकारीले नै हस्तक्षेप गरी विद्यार्थीले तोडफोड गरिएका समानको जिम्मेवारी लिन अजय यादवलाई एक रात हिरासतमा राख्न आदेश दिएका थिए । हिरासतमा परेका अजय यादवलाई जसपाका नेता हालका वनमन्त्री प्रदीप यादवले हिरासतबाट छुटाउन जमानी बसेका थिए । सिडिओ कार्यालयमा भएको सहमति अनुसारै रविराम भूषणलाई नै प्रधानाध्यापक बनाउने निर्णय भएको थियो ।
विद्यार्थी संख्या बढि देखाएर लुट !
नेपाल राष्ट्रिय माविमा विद्यार्थीहरुलाई किताव खरिद गरी बाड्नका लागि दुई हजार पाँच सय विद्यार्थीको विवरण देखाएर सात लाख रुपैया लिइएको थियो । तर, दुई सय पचास जना विद्यार्थीलाई मात्रै किताव बाडियो । बाँकी रकम प्रधानाध्यापक र लेखापालको मिलेमतोमा खाएका थिए ।
दिवा खाजामा भ्रष्टाचार !
विद्यालयमा दिवा खाजाका लागि प्रति विद्यार्थी दैनिक १५ रुपैयाका दरले भुक्तानी गरिन्छ । तर, कोरोनामा समयमा विद्यालय बन्द भएको अवस्थामा पनि सात लाख खाजाका लागि रकम प्राप्त भएकोमा दुई लाख मात्रै खर्च गरिएको छ । बाँकी रकम मिलेमतोमै सकिएको छ ।
कोरोना नियन्त्रणका लागि आएको खर्चमा पनि अनियमितता !
कोभिड–१९ को रोकथामका लागि विद्यालयमा आएको रकम पाँच लाख रकम मध्ये एक लाख मात्रै खर्च गरिएको थियो । यसरी विद्यालयका लागि खरिद गरिएका स्वास्थ्य सामग्रीहरु कतिपय शिक्षकहरुले आफ्नो घरमा समेत लगेर दुरुपयोग गरेका थिए भने कतिपयले नजिकका क्लिनिकमा लगेर बेच्ने गर्दथे ।
वडा अध्यक्षले नै कुल्चिए शिक्षा नियमावलीलाई !
बहुदरमाई नगरपालिका–४ का वडाअध्यक्ष सुरेन्द्र यादवले शिक्षा नियमावली बिपरित विद्यालयका प्रधानाध्यापक रबि भुषण राम दूर्घट्नामा घाइते भएर अस्पताल बसेको मौका छोपेर प्रधानाध्यापकका लागि विद्यालयमा गएर आफ्नै अध्यक्षतामा बैठक बसी निर्णय नै गराए । यसरी वडा अध्यक्ष यादवले निमित्त प्रधानाध्यापक अजय यादवलाई प्रधानाध्यापकका लागि सिफारिस गरेका थिए । त्यहि सिफारिसका आधारमा नगरपालिकाबाट उनलाई प्रधानाध्यापक पदमा नियुक्ति गरिएको थियो । जुन शिक्षा नियमावलीमा नगरप्रमुखले पनि प्रधानाध्यापक नियुक्ति गर्ने अधिकार छैन । सुरेन्द्र यादव नेकपा एमालेको तर्फबाट वडा अध्यक्षमा विजयी भएका हुन् । तथापि उनले गम्भीर गल्ती गरेको एक जना जनप्रतिनिधिले डायरी एक्सप्रेस साप्ताहिकलाई बताए ।
छात्रवृत्ति रकममा पनि भ्रष्टाचार !
विद्यार्थीहरुका निमित्त प्राप्त छात्रवृत्तिको रकम विद्यालयले तीन लाख बुझेको थियो । त्यसमा एक लाख रुपैयाको छात्रवत्ति बाडियो । दुई लाख रुपैया शिक्षकहरुको लागि कोट पाइन्ट र दारुको भोज गरी फच्चे गरिएको थियो । बहुदरमाई नगरपालिका ४ का वडा अध्यक्षको समेत मिलोमतोमा शिक्षक सरुवा, बढुवा, नियुक्ति र थमौति गर्ने काम गरिँदै आएको छ । यसरी कसलाई प्रधानाध्यापक बनाउने भन्ने विषयमा वडाअध्यक्षले हस्तक्षेप गर्ने गरेका छन् । वडा अध्यक्षले कसलाई प्रधानाध्यापक बनाउने भन्ने बिषयमा आफै उपस्थित भएर बैठक बोलाएर माइन्युट तयार गरेका थिए । यसरी वडाकै सिफारिसमा अजय यादवलाई प्रधानाध्यापक बनाइएको हो ।
विद्यालयमा एउटा प्रधानाध्यापक हुँदा हुादै पनि अर्को प्रधानाध्यापक राख्न दिएर बिद्यालयको आर्थिक कोष चलाउनु भनेको सरासर गलत भएको छ ! बिद्यालय व्यवस्थापन समिति हालसम्म पनि गठन नगर्नुको कारण यहि नै थियो । यसरी प्रधानाध्यापक र लेखापाल मिलेर भ्रष्टाचार गर्ने गरेको खुलासा भएको छ ।
पुस्तकालयका लागि आएको रकम समेत झ्वाम् !
विद्यालयमा लाइब्रेरी राख्नका लागि आएको १० लाख रुपैया मध्ये दुई लाख रुपैया शिक्षा शाखाका प्रमुखलाई नै घुस बापत दिइएको श्रोतको दाबी छ । नगरपालिकालाई दुई लाख, एक लाखको दराज, ५० हजारको किताब खरिद गरियो । २० हजारको भोज र बाँकी रकम लेखापाल र प्रधानाध्यापक मिलेर बाँडी चुडी गरिएको थियो । अहिले विद्यालयको लाईबे्ररी नाम मात्रको छ ।
हाजिर नगरी तलब बुझ्छन् शिक्षकहरु !
बैशाख देखि उच्च माबि राहतका शिक्षकद्वय नगिना शाह कानु र राम किशोर यादबले हाजिर नै नगरि तलब बुझेका छन् । नेपाली काग्रेस शिक्षक संघका सदस्यसमेत रहेका शिव चन्द्र पटेलले हाजिर गरे पनि कक्षा कोठामा पढाउन नगई तलव बुझेका छन् । राजेश ठाकुर आधारभूत विद्यालयका शिक्षक भए पनि माध्यामिक कक्षामा पठाउने गरेका छन् । भगत प्रसाद यादब, मोतिलाल प्रसाद यादब बिद्यालयमा गयल भएपनि अजय यादवको समर्थक भएका कारण उनको हाजिरी रजिष्ट्ररमा कहिल्यै पनि रातो लागेको छैन । उनले अजय यादवलाई भागशान्ति रकम खानका लागि सहयोग पु¥याएका छन् । शिवचन्द्र पटेलले रबि भूषण रामलाई हटाउनुपर्छ भन्दै पुरानो दुष्मनीका कारण खुलेर लागेका छन् । उनका बाबु र रवि भूषण रामबीच मुद्दा नै परेको थियो । जुन मुद्दामा रविले जितेका थिए । अजय यादवका समर्थकहरुले बिदा लिएर बसे पनि बिदा लेखिएको छैन । विद्यालयमा आएर नपढाए पनि बिदा भनेर लेखिदैन ।
अजय यादवले खरिद गरे अनाआवश्यक सामग्री बढि बिलमा
विद्यालयमा अजय यादब प्रधानाध्यापक बनेपछि शिक्षकको लागि दराज, बोर्ड प्रोजक्टर, बिद्यालयका लागि टेबुल कुर्सी खरिद गरेका छन् । यसको बिल ५ लाखको बनेको छ । तर, सामान भने दुई लाख रुपैयाको भन्दा कम छ । ! शिक्षकको लागि खरिद गरिएका दराज पनि अजय यादबको समर्थन गर्ने शिक्षकहरुलाई मात्रै प्रयोग गर्न दिइएको छ । अन्य शिक्षकहरुलाई दराज पनि छैन ।
यस अघि बिद्यालयमा पढन नआउने तर छात्रवृत्तिको रकम चै बुझ्न आउने छात्रवृत्तिको रकम बाडेर १८ जना शिक्षकलाई कोट, पाइन्ट, र सट सिलाइएको थियो । साथै २० हजारको दारु सहितको भोज खाएर पनि एक लाख बचेको थियो । अहिले न त भोज न त शिक्षक लाई कोट सबै प्रधानाध्यापक अजय यादवले खाएको एक जना शिक्षकले डायरी एक्सप्रेस साप्ताहिकका प्रतिनिधिसँग गुनासो गरेका छन् ।
लेखापालको अकुत सम्पत्ति !
बिद्यालयका लेखापाल शैलेस कुमार रौनियारले अहिले करोडौं रुपैयाको बंगला बिरगंज बजारमा खरिद गरेका छन् । उनको अन्य आम्दानीको स्रोत कहिँ कतै पनि छैन । उनका भाइलाई केहि वर्ष अघि मात्रै कास्की जिल्लामा घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको थियो ।
राहत कोटाका शिक्षक नै बुझ्छन् सबैभन्दा बढि तलब !
नेपाल राष्ट्रिय माविमा ११÷१२ जना विद्यार्थी पढाउनका लागि दुई जना शिक्षक राहत कोटामा छन् । उनीहरु दुबै जनाले सबै भन्दा बढि तलब भत्ता बुझ्ने गरेका छन् । ११÷१२ का विद्यार्थीबाट भर्ना शुल्क र मासिक शुल्क पनि उनीहरु दूई जनाले नै बुझने गरेका छन् । परीक्षा शुल्क पनि उनैले बुझेका छन् । साथै त्यहि ठाउँमा कक्षा संचालन गर्न भनेर राखेको जग्गाको भाडा पनि बुझेका छन् । बेला बेलामा शिक्षकलाई तलब दिएकोे भनेर भ्रष्टाचार गरेको २÷४लाख रुपैया रकम पनि वर्षेनी बुझेका थिए । तर, रबि भुषण राम प्रधानाध्यापक बनेपछि यि सबै स्रोत सुकेको थियो । त्यसै कारण बढि रुष्ट भएका एक जना शिक्षकले बताए ।
नगरपालिकामा बिदुरको रजाई !
नगरपालिकाका स्वास्थ्य अधिकृत बिदुर उप्रेतीले शिक्षा शाखाको प्रमुख भएर चलाएका छन् । नगरपालिकाभित्र २२ वटा विद्यालयहरु छन् । उनले नगरपालिकामै बसेर वीरगञ्जमा बिशाल महल र हालै एउटा पार्टी प्यालेसमा पनि लगानी गरेको नगरपालिका स्रोतले डायरी एक्सप्रेस साप्ताहिकलाई बतायो । उनले पत्र नलेखेका कारण नेपाल राष्ट्रिय माबिका प्रधानाध्यापक रवि भूषण रामको चार वर्षको झण्डै १८ लाख रुपैया तलब रोकिएको छ । यसका लागि लागि उप्रेतीले तीन लाख घुस मागेको स्रोतको दाबी छ ।