नेपालको संघीय संसदको विघटन सारा विश्वले नै राम्रो मानिरहेको छैन
वीरगञ्जका नगर प्रमुख भएर लामो समय स्थानीय जनस्तरमा चर्चित बिमल श्रीवास्तव २०७४ सालमा पर्सा क्षेत्र नम्बर दुईबाट संघीय समाजवादी पार्टीका तर्फबाट संघीय संसद सदस्य पदमा निर्वाचित हुनुभयो । त्यसपछि उहाँ प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा पनि सर्वसम्मत् रुपमा निर्वाचित हुनुभयो । जनताको नून देखि सुनसम्मका विषयमा सरोकार भएको उपभोक्ता हित समितिको सभापति भएर उहाँले अर्थमन्त्रीले कृषिका कतिपय क्षेत्रमा विदेशी लगानी ल्याएर आम जनतालाई अप्ठ्यारो पार्ने विषय अगाडि सार्दा त्यसको प्रतिपाद गर्नुभयो । उहाँकै अडानकै कारण रोकिएको विधेयक अहिले अध्यादेशका रुपमा पुनः ल्याउन लागिएको छ । संघीय संसद बिघटन गरिएको अवस्थामा गृहजिल्ला जाने व्यस्तताका बावजुद डायरी एक्सप्रेस साप्ताहिकका कार्यकारी सम्पादक नारायण प्रसाद शर्माले श्रीबास्तवसँग गरेको विशेष अन्तर्वार्ता ः
० तपाई पर्सा क्षेत्र–२ बाट संघीय संसद सदस्यका लागि प्रतिनिधित्व गर्नुभयो । अहिले हठात रुपमा प्रधानमन्त्रीले संसद विघटन गरी निर्वाचनको घोषणा गर्नुभएको छ । तपाईको भनाई के छ ?
यो कुरा राम्रो चाहिँ पक्कै होइन । आफ्नै पार्टीभित्रको आन्तरिक झगडाले गर्दा प्रतिनिधिसभाको विघटन गर्नु कुनै पनि हालतमा राम्रो मान्न सकिदैन । म मात्रै होइन यो विषय त संसारले नै नराम्रो हो भनेर भनिरहेको छ ।
० यो संवैधानिक हो कि होइन ?
यो विषय अहिले अदालतमा विचाराधिन छ । त्यसैले हामीले टिकाटिप्पणी गर्नु नै व्यर्थ हुन्छ । अहिले झट्ट हेर्दा त संविधान बिपरित नै देखिन्छ ।
० तपाई वीरगञ्ज महानगरपालिकाको मेयर भएर लामो समय काम गर्नु भयो । स्थानीय राजनीति र केन्द्रीय राजनीतिमा के फरक पाउनुभयो ?
राजनीति भनेको मुलूक भरी जहाँ गर्दा पनि एउटै जस्तो हो । क्षेत्रिय वा स्थानीय स्तरमा र केन्द्रीय स्तरमा फरक के छ भने, ‘स्थानीय स्तरमा काम गरेर देखाउने प्रशस्त ठाउँहरु छन्’ । तर, स्थानीय स्तरमा जस्तो विकास निर्माणका कामहरु हामीले गर्न सकिरहेका छैनौं । एक त केन्द्रको प्रक्रिया पनि बढि झन्झटिलो छ । बजेटको अभाव पनि छ । बिभिन्न नियम र विनियमबाट छिटो छरितो रुपमा काम गर्न रोक लगाइएको हुन्छ । त्यसैकारण विकासको दृष्टिकोणले स्थानीय स्तरमा काम गर्न सहज हुन्छ । तर, संघीय स्तरमा अलिक गाह्रो नै छ ।
० स्थानीय स्तरका जनताको माग र केन्द्रीय लेवलका नेताहरुको दृष्टिकोण कस्तो पाउनुभयो ?
जनताले सांसदसँग धेरै अपेक्षा गरिरहेका हुन्छन् । तर, सांसदसँगसाधन स्रोतको कुनै व्यवस्था नै छैन । एक किसिमले हेर्ने हो भने सांसद त केबल कानून बनाउन मात्रै आएको जस्तो देखिन्छ । हुन त वास्तविकता त्यहि नै हो । तथापि हामीसँग जनताले धेरै अपेक्षा र आशा गरेका हुन्छन् । किनकी आम जनताहरु अशिक्षित छन् । भौतिक सुबिधाहरु पाएका छैनन् । त्यसकारण पब्लिकले त हामीले चुनेर पठाएका जनप्रतिनिधिले विकास गर्लान् भनेर अपेक्षा राखेका हुन्छन् । सांसदलाई त्यो असाध्य गाह्रो छ । कहिले चार करोड, कहिले छ करोड सांसद कोष भनिए पनि हामीले योजना मात्रै दिने हो । कार्यन्वयन गर्ने त स्थानीय निकायबाट मात्रै हो । राम्ररी गर्छ कि गर्दैन ? कतिपय सांसदको पैसा ढिलो गरेका कारण ‘ल्याप्स’ भएको पनि छ । जुन गतिमा देशको विकास हुनुपर्ने हो त्यो हुन सकिरहेको छैन । त्यसैकारणले गर्दा सांसद देखि आम जनताहरु खुशी छैनन् ।
० सरकारको काम गराईमा स्थिर सरकारको जस्तो देखिएन । कहिले संसदको अधिवेशन समापन गर्ने र अध्यादेश ल्याउने कहिले समय अगावै भंग गरिदिने अवस्था आयो । जनताको आशा र अपेक्षा कुण्ठित भएको हो ?
जनताले यो सरकारसँग धेरै अपेक्षा गरेका थिए । स्थिर सरकार भएकाले विगतका सरकारको गतिविधि भन्दा फरक होस भन्ने जनता चाहन्थे । अहिलेको कम्युनिस्ट पार्टीलाई त्यहि कारण झण्डै दुई तिहाईको मत दिएका थिए । दूर्भाग्यबस देशमा जहिले पनि दुई तिहाई होस वा बहुमत किन नहोस पाच्य हुँदो रहेनछ । त्यस प्रकारको परम्परा नै हामी कहाँ बस्यो । नेपाली कांग्रेसले पनि २०४८ र २०५६ मा दुई पटक बहुमत ल्यायो पुरा अवधि टिकाउन सकेन । अहिले कम्युनिस्ट पार्टीलाई झण्डै दुई तिहाई मत जनताले दिए, यो अवधिमा आर्थिक अवस्थाले जुन गति लिनुपर्दथ्यो । त्यो लिन सकेन । अवरोध हुन पुग्यो । नेपालमा फापेन ।
० कोरोनाका महामारीमा भ्याक्सिन पनि ल्याउन सकिरहेको छैन । निर्वाचनका लागि पैसा जुटाउन सक्ला त ?
हामी कहाँ बजेट नभएपनि निर्वाचन त होला । किनकी अहिलेसम्म हामीले अरुको सहयोग नलिई कामै गर्न सकिरहेका छैनौं । त्यसैकारण सहयोग जुटे पनि आगामी वैशाखमा निर्वाचन होला भन्ने त विश्वास गर्न पनि सकिदैन । तथापि निर्वाचन भयो भने आश्विन, कार्तिक वा मंसिरमा होला कि ? हाम्रा दाताहरु पनि छन् । साथै आन्तरिक बजेट पनि त छ नि ? अभावै होला भन्ने त लाग्दैन ।
० प्रधानमन्त्रीको कदमलाई गैर संवैधानिक भन्नेहरु नै अधिकांश छन् । तथापि समयमै किन सल्लाह सुझाव लिने काम भएनन् ? उहाँहरुको मनस्थितिलाई कसरी बुझ्नुभएको छ ?
आन्तरिक कलह भएपछि मान्छेले अघि पछि हेर्दैन । रिसको झोकमा अघि पछि नहेरेको हो भन्ने लाग्छ । किनकी आपसी द्वन्द्व निकै चर्कियो । एक अर्कालाई देखाउनकै लागि त भन्दा म के कम भनेर जसले जे पायो त्यहि हिसावमा आ–आफ्ना अधिकार प्रयोग गरेका हुन् । त्यहि झोकमा प्रधानमन्त्रीले पनि आफ्नो अधिकार प्रयोग वा दुरुपयोग गर्नुभयो । सहि हो वा गलत अदालतले छुट्टाउने नै छ । तर, यो राम्रो चाहिँ भएन ।
० तपाई पर्सा क्षेत्र–२ बाट संघीय संसद सदस्यमा निर्वाचित भएपछि जनताका पक्षमा के कस्ता कामहरु गर्नुभयो बताइदिनुहोस् न ?
हामी कहाँ जत्ति बजेट उपलब्ध छ, त्यहि बमोजिमका पिच सडकहरु बनाएका छांै । ठाउँ ठाउँमा खानेपानीका धाराहरु जडान गरेर जनताको पहुँचमा पु¥याएका छौं । विधुतिकरणहरु पनि गरेका छौ । त्यहि हिसावले स्कूलहरुमा कक्षा कोठाहरु थप्ने जस्ता काम गरेका छौं । धार्मिक मठ, मन्दिर, मस्जिद निर्माणमा पनि ध्यान दियौं । यसरी जे जत्ति सकियो त्यहि बमोजिम कामहरु भए । अझ दूरगामी योजनाहरु पनि सम्पन्न गरियो । कतिपय दूर्गम ठाउँहरुमा बाटो घाटो र पुल निर्माणका लागि पहल गरिएको छ । त्यसै गरी शैक्षिक क्षेत्रमा विद्यालयहरुको भौतिक सामाग्रीहरुको अभाव भएका ठाउँहरुमा पनि व्यवस्था गरिएको छ । यहि प्रकारले सांसद कोषको भरपुर प्रयोग गरी जनताका काम गरिएको छ । हाम्रो निर्वाचन क्षेत्र पनि विशाल छ । भारतको सीमा देखि लिएर पथलैयासम्म छ । अझ मेरो निर्वाचन क्षेत्र त पिछडिएको क्षेत्रमा पर्दछ । त्यसकारण जे जत्ति उपलब्धता छ, त्यसैमा जे जत्ति सकिन्छ त्यति नै गर्नुपर्ने हुन्छ ।
० तपाईको क्षेत्रमा नेपालकै सबै भन्दा पहिला कोरोना भाइरसको महामारीले आक्रान्त बनायो । नियन्त्रणका निमित्त तपाईहरुको भूमिका कस्तो रह्यो ।
हामीले सांसद कोषबाट झण्डै एक करोड रुपैया अन्य शिर्षकबाट झिकेर भए पनि कोरोना कोषमा जम्मा गर्ने काम ग¥यौं । यो पटक वीरगञ्जका अस्पतालहरुमा अक्सिजन प्लान्ट नभएका हुँदा आफ्नै साँसद कोषबाट दुई करोड रुपैया नारायणी अञ्चल अस्पताललाई हस्तान्तरण गरेका छौं । यसरी अक्सिजन प्लान्ट बन्दैछ । साथै कोरोना भाइरसबाट मृत्यु हुनेहरुको लागि दाहसंस्कार गर्नका निमित्त पनि अप्ठ्यारो भएको हुँदा शमशान घाट बनाउनका लागि पनि एक करोड रुपैया खर्च गरी वीरगञ्जमै व्यवस्था गर्न लागिएको छ । त्यसमा बिधुतीय शवदाह गृहको निर्माण हुने छ । यसरी कोरोना भाइरसको नियन्त्रणमा स्थानीय स्तरमा प िसहयोग पुगोस भन्नाका खातिर बिभिन्न योजनाहरु तयार गरेका छौं । त्यसैको फलस्वरुप प्रदेश नम्बर दुईको वीरगञ्ज क्षेत्रमा कोरोना भाइरस नियन्त्रण हुन लागिरहेको छ । अहिले भारतको सीमा नजिक भएपनि वीरगञ्जमा कोरोना भाइरसको प्रभाव अत्यन्तै न्यून छ । स्थानीय स्तरमा स्वास्थ्यकर्मी, प्रशासन, पत्रकार, राजनीतिक दल, स्थानीय तहहरु उद्योगी व्यापारी सबै जना मिलेर कोरोना भाइरसको नियन्त्रण गरिएको छ । यसमा हामीले सफलता हासिल गरेका छौं ।
० कोरोना भाइरसको नियन्त्रणका लागि गरिएको बन्दाबन्दीको समयमा पीडित जनतालाई राहतको व्यवस्थापन गर्ने क्रममा तपाईको भूमिका कस्तो रह्यो ?
सुरुमा जुन सुकै काम गर्दा पनि त्रुटि हुनु स्वाभाविकै हो । हामी सबै डराएका थियौं । कतिपय स्वास्थ्यकर्मी, राजनीतिककर्मी, प्रशासकहरु पनि डराएका थिए । यो रोगबाट कसरी बच्ने भन्ने चिन्तामा फ्रन्टलाइनमा आउन गाह्रो मान्ने गर्दर्थे । तर, पछि पछि भने सबै जना बिस्तारै अगाडि आए । त्यसपछि राम्रो अवस्थामा आयो ।
० तपाई संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित नामक महत्वपूर्ण समितिको सभापतिको भूमिका निभाउनुभयो । जनताका हितमा काम गर्ने क्रममा के कस्ता उजुरीहरु आए ?
वास्तवमा यो समितिमा धेरै उजुरीहरु परे । समिति नै कस्तो हो भने यसको नामैमा उपभोक्ता हित समिति भएको हुँदा नून देखि सुनसम्म, खाद्यन्न, यातायात सम्म सबै क्षेत्र समेट्नु प¥यो । कुनै कुराको मूल्य वृद्धि हुँदा पनि यहि समितिमा गुहार्नुपर्ने अवस्था आयो । बजारमा कुनै चिजको अभाव भएको खण्डमा पनि यहि समितिलाई गुहार्ने अवस्था आयो । एकातर्फ उपभोक्ताका अधिकारहरु हेर्नुपर्ने जस्तो जटिलताहरु थिए । अर्को तर्फ श्रम समितिमा वैदेशिक रोजगारीमा जानेहरुका लागि कोरोना भाइरसको महामारीका कारण पनि ब्यापक समस्याहरु आए । त्यसै गरी महिला कामदारका पनि समस्याहरु आइरहेँ । तर, समितिले छोटै समयमा सबै जनाको सहयोग लिएर मजदुर, आम उपभोक्ता, उद्योगी, व्यापारी लगायत सबैलाई समेटेर सन्तुलित रुपमा काम गरेको थियो जसका कारण सबै जना आशावादी पनि भए । सबैले विश्वास पनि गरे । तथापि छोटो समयमा कोरोना भाइरसका कारण विदेशबाट श्रमिकहरु ल्याउनुपर्ने बाद्यता पनि आइपर्न गयो । हामी कहाँ साधन स्रोतको अभाव पनि मूख्य समस्या देखियो । अर्कातर्फ कानूनी र गैर कानूनी रुपमा काम गर्न गएकाहरुको व्यवस्थापन झनै जटिल रह्यो । यसरी समस्या धेरै समय थोरै भयो । साथै साधन र स्रोतको कमि भयो । तथापि समितिले पाएको जिम्मेवारी समितिका सबै जनाले जिम्मेवारी पूर्वक आ–आफ्नो स्थानबाट सम्पन्न गरेका छन् । यसरी हामीले गरेका काम प्रति सन्तुष्ट नै छौं ।
० तपाई फेरी सांसदमा निर्वाचित भएपछि उक्त क्षेत्रका जनतालाई के आश्वासन दिनुहुन्छ ?
वास्तवमा हामी अधुरो अवस्थामा रह्यो । मुलूकको अवस्थालाई हेरेर सबै जनामा धैर्य रहन आग्रह गर्दछु । हामीले एक अर्का प्रति वैरभाव नराखी निर्वाचनका समयमा शान्तिपूर्वक जनताका पक्षमा काम गर्ने जनप्रतिनिधिहरुलाई छानौं । तर, अहिलेको अवस्थामा कोरोना महामारीको विरुद्धमा लड्नु बाहेक विकल्प छैन । संयोग के भने एक ठाउँ वा एक मुलूक मात्रै नभएर विश्वभरकै समस्या भएका कारण आ–आफ्नो स्थानबाट स्थानीय तह र सरकारलाई सहयोग गरेर बिजय हासिल गर्ने वातावरण तयार गरौं । धैर्यतापूर्वक एक जुट हुने प्रयास गरौं ।