कम्युनिस्टको खोलमा बनेको नेकपा सरकारको विवाद पनि तिनै साम्राज्यवादीहरुले नै मिलाईदिन्छन् ःउपाध्याय
० अन्तर्राष्ट्रिय डिजाइन अन्तर्गत वर्तमान अवस्थामा कथित कम्युनिस्टको सरकार बनाइएको हो ।
० नेपाली जनतालाई भ्रम सिर्जना गर्नका लागि समाजवाद उन्मुख संविधान भनिएको छ ।
० प्रचण्डलाई अव दुधको झिंगा जस्तै गरी साम्राज्यवादका दलालहरुले मिल्काएर फाल्नेछन् ।
० जनताको भावनामा कसरी बजारीकरण गर्ने भन्ने कला प्रचण्डसँग छ ।
० प्रचण्डलाई युरोपियन युनियनबाटै पतन गराइदिए ।
० द्वन्द्वकालीन मुद्दाहरु देखाएर प्रचण्डलाई साइजमा ल्याउने साम्राज्यवादीहरुको सोच हो ।
० अहिले सत्तारुढ नेकपाभित्रको विवादलाई कसरी हेर्नुभएको छ ?
सरकारी डबल नेकपाको आन्तरिक विवाद अरु केहि नभएर पद, प्रतिष्ठा, मान र सम्मानका लागि मात्रै हो । सिद्धान्त, विचार र राजनैतिकसँग जोडिएर गरिएको विवाद होइन । यिनीहरुले नेपाली जनतालाई कम्युनिस्टका नाममा ठगीरहेका छन् । अरु केहि पनि होइन । भारतको पश्चिम वंगालमा ज्योति बसुलाई मूख्यमन्त्री बनादिए । वंगालमा वसु मूख्यमन्त्री भएपछि क्रान्तिकारी कम्युनिस्टहरु जति मारे । २० वर्षसम्म भारतभर कम्युनिस्टहरुको बदनाम गराएर शासन चलाए । त्यसपछि दुधको माखो जस्तो गरी फालिए । साम्राज्यवादी र पुँजीवादीहरुले कथित कम्युनिस्टको सरकार बनाएर सच्चा कम्युनिस्टहरुलाई दमन गर्ने, नक्कली विवाद खडा गराएर जनतालाई दिग्भ्रमित पार्ने, विकास र समृद्धि फलाक्ने, तर, माखो पनि नमार्ने गँदै आएका छन् । नेपाल कम्युनिस्टहरुको बाहुल्य भएको ठाउँ हो । यहाँ धेरै जना कम्युनिस्ट भएका नाताले कसरी भ्रममा पार्ने त ? कम्युनिस्टको सरकार बनाएर जनतामा गलत गतिविधि देखाएर बदनाम गराउने षडयन्त्र अनुरुप यसो गरिएको हो । अन्तर्राष्ट्रिय डिजाइन अन्तर्गत वर्तमान अवस्थामा कथित कम्युनिस्टको सरकार बनाइएको हो । सबै जना गलत छन् भन्ने होइन, यहाँ राम्रा मानिसहरु पनि छन् । तथापि राम्रा मानिसहरु न्यून मात्रमा छन् । त्यहाँ उनीहरुको केहि पनि चल्दैन । त्यसैकारण माक्र्सवादले के सिकाएको छ भने जब संशोधनवाद हाबी हुन्छ भने ‘विद्रोह गर’ । साथीहरु विद्रोह गर्न पनि सक्तैनन् । त्यसरी त त्यहि गलत विचारलाई समर्थन गरेको ठहर्छ नी ? यो दलाल र नोकरशाहीहरुको सत्ता हो । त्यसका प्रतिनिधिहरु अहिलेका सत्तासिनहरु हुन् । तर, उनीहरु कम्युनिस्टका नाममा रहेका छन् । त्यसकारण वर्तमान अवस्थामा नेपाली जनताहरु एकढिक्का भएर विद्रोह गरेर पदच्यूत गर्नुपर्दछ । र नयाँ ढंगले राज्यको पुनःसंरचना गर्नुपर्दछ ।
० अहिले कम्युनिस्ट पार्टीको नाम गरेको राजनीतिक दलको झण्डै दुई तिहाईको मतसहितको सरकार बनेको छ । कोभिड –१९ का कारण जनताहरु आक्रन्त छन् । जनताका आधारभूत आवश्यकतामा संवोधन भएन नी ?
मैले पहिल्यै नै भनिसके, ‘यो प्रगतिशील सरकार होइन, यो त प्रतिगामी सरकार हो’ । कोभिड –१९ का नाममा अन्तर्राष्ट्रिय हौवा मच्चाएर मेडिकल माफियाहरुलाई फस्टाउन दिने जुन योजना अन्तर्गत यी काम गरिएका छन् । नेपाल सरकारले त प्रष्ट रुपमा भनिसकेको पनि छ । हामीले यसको उपचार गर्न सकिदैन । जनता स्वयमले गर्नुपर्दछ । यो अवस्थामा सरकारको समर्थन गर्नेहरुलाई जे गरे पनि छुट हुने र आम जनतालाई दमन गर्ने गरिएको छ । अहिले उखु किसानहरु जाडोको समयमा पनि आन्दोलनमा छन् । कुनै सुनवाई भएकै छैन । कसरी कम्युनिस्ट सरकार हो भन्ने ?
नेपालमा हिजो भारतीय सरकारको चलखेल थियो । अहिले भारत, युरोपियन युनियन, अमेरिका चीनलगायतको चलखेलबाट नेताहरुले झनै लुट्ने सहज वातावरण मिलेको छ । त्यहि भएर उनीहरु तलदेखि माथिसम्म भ्रष्ट भएको अवस्था हो । त्यसलाई सच्चाउनका लागि राष्ट्रवादी शक्तिहरु नेकपाका अन्य घटकहरु, नेपाली कांग्रेस, राप्रपालगायतका राजनीतिक दलहरु एक जुट भएर धक्का दिनुपर्दछ । नेपाली राजनीतिक इतिहासले के सिकाएको छ भने, कुनैपनि सत्तालाई बाहिर फ्याक्नका लागि सम्पूर्ण जनताहरु एकजुट हुनैपर्दछ । हिजो राजतन्त्र हटाउँदा खेरी सम्पूर्ण नेपाली जनताहरु एक ढिक्का भएका होइनन् र ? अहिलेपनि सम्पूर्ण नेपाली जनताहरु एक जुट भएर लाग्नुपर्दछ । हामी जनयुद्ध र जनविद्रोहबाट देशमा वैज्ञानिक समाजवाद ल्याउने प्रण गरेर लागेका थियौं । नत्र विदेशीका गुलाम बन्नु बाहेक अन्य अर्थ राख्दैन ।
० तपाईहरु १० वर्षे लामो जनयुद्धमा सामेल हुनुभयो । साथै साम्राज्यवादी र पुजिँवादी शक्तिहरुलाई हायल कायल गराउनुभयो । तर, त्यो समयमा जनयुद्धको नेतृत्व गरेर विश्व हल्लाएका प्रचण्ड अहिले त ओलीलाई भेट्न बालुवाटार धाउँदैमा ठिक्क भएको छ नी ? उहाँहरु पनि परिवारवाद र व्यक्तिवादमा रमाएर बस्नुभएको छ । तपाई के भन्नुहुन्छ ?
हामीले महान जनयुद्धको सुरुवात गर्दा जनताको हामी प्रति एकदमै सकारात्मक धारणा थियो । हामीहरुले गाउँ घरमा कतै अन्याय हुन दिएका थिएनौं । तर, सत्ता कब्जा गर्ने अवस्थामा युद्धकालमा प्रचण्ड नायक थिए । हामी सबैले स्वीकार गरेकै थियौं । जनयुद्धमा क्रान्ति नायक प्रचण्ड अहिले प्रतिक्रान्तिका संसारमै नभएको नायक बने । अहिले नेपाली जनतालाई भ्रम सिर्जना गर्नका लागि समाजवाद उन्मुख संविधान भनिएको छ । प्रचण्डले झगडा बढ्दै गयो भने भोलि राजा हावी हुन्छन् भन्ने गर्दछन् । जनताको भावनामा कसरी बजारीकरण गर्ने भन्ने कला प्रचण्डसँग छ ।
प्रचण्डभित्रको कला सबैले सिक्न जरुरी छ । तर, उनमा अहिले देखिएको प्रतिक्रान्तिकारी कला भने अस्वीकार गर्नैपर्दछ । त्यसकारण नेपाली जनताको चाहना र इच्छा बिपरित प्रचण्ड साम्राज्यवादीका गोटी बने । त्यसपछि नै वृहत शान्ति सम्झौता भयो । शान्ति सम्झौता आफैमा गलत त होइन । कम्युनिस्टहरुले नै सिकाएको हो । साम्राज्यवादीहरु त शान्ति चाहदैनन् । क्रान्तिको बेलामा वार्ता हुन्छ साथै सम्झौता पनि हुन्छन् । जब क्रान्तिकारी भनिनेहरु दलाल नोकरशाहका प्रतिक हुन्छन्, साम्राज्यवादीहरुका गोटीका शिकार बन्छन, तब हामीले भोगे जस्तै हविगत हुन्छ ।
प्रचण्डलाई अव दुधको झिंगा जस्तै गरी साम्राज्यवादका दलालहरुले मिल्काएर फाल्नेछन् । अहिले २२ वामपंथी दलहरुले आन्दोलन गरिरहेका छन् । साथै भूमिगत नेकपा (विप्लव) पनि आन्दोलनमै छन् । कम्युनिस्टको खोलमा रहेका सरकारको विवाद पनि तिनै साम्राज्यवादीहरुले नै मिलाईदिन्छन् ।
० गणतन्त्र ल्याउने क्रममा मूख्य नायक भएपनि कार्यकर्ता र नेतालाई लगाइएका द्वन्द्वकालीन मुद्दाहरु पनि फिर्ता भएका छैनन् । कहिले तिनै कम्युनिस्ट भन्नेहरुको एनजीओ र आइएनजीओले प्रचण्डलाई हेग पठाउनुपर्दछ भनेर फलाक्ने गर्दछन् । त्यहि सुनेर प्रचण्ड डराएका हुन् ?
सुरुमा जनयुद्दकै क्रममा प्रचण्ड युरोपियन युनियनसँग जोडिए । उनका प्रतिनिधिले प्रचण्डसँग नेपाली जनयुद्धलाई हामीले अन्तराष्ट्रिकरण गछौं भन्ने प्रस्ताव ल्याए । त्यो प्रस्तावलाई प्रचण्डले स्वीकार गरे । जुन समयमा जायज पनि थियो । उनीहरुसँग नजिकिएपछि उनीहरुले बिस्तारै बिस्तारै आफ्नो पथमा हिडाए । वृहत शान्ति वार्ता पनि युरोपियन युनियनकै रोहबरमा भएको हो । संयुक्त राष्ट्रसंघबाट अनमिनलाई मध्यस्तता गराउँने काम पनि उनीहरुले नै गरेका हुन् । यसरी प्रचण्डलाई युरोपियन युनियनबाटै पतन गराइदिए । जुन हामीले प्रष्ट बुझिरहेका छौं । नकरात्मक र सकरात्मक सँग–सँगै जाँदाखेरी नकरात्मक भित्रबाट सकरात्मक अवस्था पहिल्याएर अघि बढ्नुपर्छ भन्ने हाम्रो सोच हो । सरकारी कम्युनिस्ट पार्टीबाट जसले आशा गरेको छ, त्यो असम्भव छ । किनभने उनीहरुले संसदीय व्यवस्थालाई स्वीकार गरिसकेका छन् । नेपाली जनताले आफ्नो अधिकार स्थापित गरेर शान्ति र समृद्धिको अनुभूति गर्नका लागि आन्दोलनकै कार्यनीतिहरु बनाएर अगाडि बढ्नुको विकल्प छैन ।
० केहि दिन अघि यहि साप्ताहिकसँगको अन्तर्वार्तामा झापा आन्दोलनका नायक मोहनचन्द्र अधिकारीले बहुदलीय जनवाद ‘पेटी बुजुवा थिङकिङ’ हो भन्नुभएको थियो । त्यसैमा प्रचण्ड पनि पुग्दा यो गति भएको हो ?
द्वन्द्वकालीन मुद्दाहरुको टुङ्गो लगाउनकै लागि आयोग बनाइएको थियो । त्यो आयोग अहिले पनि बेबारिसे बनेको छ । द्वन्द्वकालीन मुद्दाहरु देखाएर प्रचण्डलाई साइजमा ल्याउने साम्राज्यवादीहरुको सोच हो । त्यहि सोचका आधारमा धम्की दिने र प्रचण्डलाई हायल कायल बनाउँदै आएका पनि छन् । अहिले पनि कतिपय नेता कार्यकर्ताहरुको ६÷७ हजार मुद्दाहरु जिल्ला अदालतमा छन् । अहिलेको सत्ता नेपाली जनताको त हुँदै होइन । यहाँको न्यायपालिकाले भरखरै ४५ हजार मत पाएर जनताको प्रतिनिधि बनेका संघीय सांसद रेशम चौधरीलाई जन्मकैदको फैसला गरेको छ । अबौं भ्रष्टाचार गरेका नेता, कर्मचारीहरुलाई उन्मुक्ति दिने काम गरिरहेका छन् । यसैले यिनीहरुबाट राम्रा काम होलान् भन्ने सोच कहिल्यै पनि राख्नुभएन । नेपाली जनताका लागि कम्युनिस्ट क्रान्तिकारी, वामपन्थीहरु र अन्य पार्टीहरु एकीकृत बनेर आन्दोलन गर्नु नै अहिलेको मूख्य कार्यनीति बन्नुपर्दछ । अहिले पनि घाइते, अपांग, बेपत्ता शहीद परिवारको बिल्लीबाठ भएको छ । कतिपय सेनाहरुले क्रान्तिलाई साथ दिएर जागिर छाडेका थिए । तिनीहरुको पुर्नबहाली पनि यो सरकारले गरेको छैन । किन पुर्नबहाली गरिएन त ? फेरी अर्को जनविद्रोह नेपाली जनताबाट नहोस् भन्ने नै हो । अहिले हाम्रो लडाईको प्रधान विषय नै राष्ट्रियतासँग हो । अहिले तपाईले देख्नुभयो, कालापानी, लिम्पियाधुरा र लिपुलेकहरु अहिले विदेशीले हस्तक्षेप गरेका छन् । यसलाई कुटनीतिक माध्यमद्वारा संयुक्तराष्ट्र संघ मार्फत हामीले फिर्ता गराउन सकियो भने मात्रै सम्भव छ । तर, यो सरकारले काम गरे जस्तो देखाएपनि भ्रम मात्रै छरेको छ । हामी नेपाली जनताहरु विद्रोहको सुरुवात गर्नुपर्दछ । अहिले राजावादीहरु, नेपाली कांग्रेसहरु, २२ वटा कम्युनिस्ट घटकहरु सडक आन्दोलन गरिएको छ । यो अहिलेको वस्तुगत अवस्था हो । यसको प्रयोग गर्न सक्ने नेता अहिले देखिएको छैन । हामीले वैचारिक रुपमा प्रयास गरे पनि त्यसबाट प्रयाप्त छैन । त्यसैकारण नेकपा (क्रान्तिकारी माओवादी), नेकपा विप्लव), नेकपा (माओवादी केन्द्र)लगायतका पार्टिहरु मिलेर देशका क्रान्तिकारी वामपन्थीहरु एक ढिक्का भएर अगाडि बढेको खण्डमा मात्रै नेपाली जनताको सपना पुरा हुन सक्छ ।
० तपाई जनयुद्दका क्रममा घटेका महत्वपूर्ण घट्नाको पनि उल्लेख गरिदिनुहोस् न ?
जनयुद्दका क्रममा हाम्रा योद्दा कमरेडहरु रुदा रुदै हासेका थिए । र, हास्दा हास्दै रोएका पनि थिए । त्यो समयमा हामी सबैको नयाँ नेपालको आशा र अपेक्षा थियो । जुन अहिले कुठराघात भएको छ । मैले बिभिन्न खालको अनुभूति गरेको थिएँ । त्यो समयमा प्रहरी चौकी भित्रै मलाई पचासौ जनाको उपस्थितिमा आक्रमण गरियो । तर, मेरो कुनै सुनुवाई भएन । अहिले पनि नेपाली जनताले नत न्यायको अनुभूति पाएका छन् । नत किसानले कुनै राहत पाएका छन् । अहिले पनि यहाँका युवाहरुलाई विदेशमा रोजगारीका लागि पठाइएको छ । विदेशमा मरेका युवाहरुको लास समेत सहज रुपमा ल्याउन सकिएको छैन । यो सरकारले त विदेशीको दासता स्वीकार गर्ने वातावरण बनाएको छ । म २०३० साल देखि नै कम्युनिस्ट आन्दोलनमा सरिक भएँ । बादल र प्रचण्डहरुलाई पार्टीको हेड क्वाटरमा राखेर व्यवस्थापन गर्ने मानिस म पनि हो । तर, अहिले त के छ बिनोदजी भन्नु बाहेक केहि हुँदैन ।
म पाल्पा आक्रमणमा सामेल भएको थिएँ । बुटवलको आक्रमणमा हामीले गाडी लिएर घाइतेहरुलाई बोकेर अस्पताल पु¥यायौं । त्यो समयमा सुनवलमा आक्रमण गरेर जनमुक्ति सेनाले कब्जा नै गरेको थियो । एक दिन पाल्पामा हामी बसिरहेका थियौं । तल फाँटमा लडाई सुरुभयो । राती हामीहरु हिड्ने तरखरमा थियौं । म पानी खाएर हिडौला भन्दै थिएँ । त्यसपछि हामी जंगलतर्फ गयौं । जंगलमा जाँदा अहिले विप्लव समूहमा हुने वीरजंगले मलाई १० लाख रुपैया दिनुभयो । त्यसपछि त्यो रकम मैले एक जना महिला कमरेडको हातमा दिए । पछि थाह पाए ति महिलालाई पार्टीबाट कारबाही भएको रहेछ । अर्को महिलाले किन दिनुभयो ? भन्नुभयो मलाई लाग्यो हामी जंगलमा गइरहेको छौं कहाँ भाग्छन् त ? सबैमा इमान्दारीता थियो ।
हामीलाई जनताले ठूलो सहयोग गर्दर्थे । हामीले पैसा ब्याजमा लगाएर खाने कुरा हुँदैनथ्यो । त्यो समयमा जब पहाड तिरका साथीहरु शहीद हुन्थे, मधेसतिरका साथीहरु रुने गर्दर्थे, मधेस तिरका साथीहरु शहीद हुँदा पहाडतिरका साथीहरु रुने गर्दर्थे । किनकी त्यो समयमा मधेस र पहाडबीचको भावानात्मक सम्बन्ध थियो ।
जनमुक्ति सेनाकै लडाईले गर्दा प्रहरीमा अहिले महिलाहरु भर्ना गरिएको छ । धेरै ठाउँमा समावेसी र समानुपातिक प्रणाली लागू भएको छ । सेनामा महिला भर्ना गरिएको छ । देशमा केहि बदल्नका लागि आमूल परिवर्तनको जरुरी छ । त्यसका लागि वैज्ञानिक समाजवाद नै प्रमुख कुरा हो । विद्रोहबाट मात्रै अधिकार प्राप्त हुन्छ । राजनीतिक रुपमा सबै एकजुट भएर लड्नुपर्दछ । वर्तमान सरकारले सोच्नु र बुझनुपर्दछ । यहि प्रकारले नेपाली जनताको समृद्धि हुँदैन । अहिलेसम्मको तीन वर्ष सरकारले जसरी बिताएको छ । त्यही अवस्था रहेमा आगामी निर्वाचनमा पक्कै नतिजा देख्ने नै छन् । तथापि जाँड रक्सी खाएर रमाउने, मतदाता किन्ने अवस्थाको विरुद्धमा क्रान्तिकारी कम्युनिस्टहरुले चिर्न जरुरी छ ।
० अन्तमा ……?
अहिले गणतन्त्र स्थापना भएको भनिएपनि सारमा सामन्तवाद नै हावी छ । जुन देशमा उत्पादन र त्यससँगको सम्बन्ध हुँदैन, त्यहाँ विकासको सम्भावना हुँदैन । त्यसकारण गणतन्त्र आएपनि सम्बन्ध चाहिँ पुरानै अवस्थामा छ । त्यसैले पनि यहाँ केहि हुन सकिरहेको छैन । त्यसैकारण उत्पादनसँग सम्बन्ध नजोडिकन केहि पनि हुँदैन । त्यसैकारण नेपालमा संविधान घोषणाका दिन आधा धर्ति रोयो । तर, आधा धर्ति चाहिँ हास्यो । यो संविधानमा के त्रुटि छ ? कम्युनिस्टहरु बहुदलीय प्रणाली स्वीकार गर्छौं भने राष्ट्रपतीय प्रणाली किन स्वीकार नगर्ने ? आधारभूत जनताहरु कसरी सत्तामा पुग्छन् ? यहि प्रणाली रहेसम्म कोहि गरिब किसान, मजदुर जनताहरु सत्तामा जान सक्तैनन् । त्यसैले मजदूर, किसान, र बिपन्न जनताका प्रतिनिधिहरुलाई सत्तामा पुग्न दिनका लागि प्रणालीमा नै परिवर्तन गरिनुपर्दछ ।