सानो पाइला सामाजिक संस्थाद्वारा नारायणी अस्पताललाई भेन्टीलेटर प्रदान
काठमाडौं । गैर सरकारी संस्था सानो पाइलाले वीरगञ्जमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को उपचारमा सहयोग पु¥याउने उद्देश्यले ६ वटा भेन्टिलेटर नारायणी अस्पताललाई उपलब्ध गराएको छ । गैर सरकारी संस्था सानो पाइलाले नेपाल भेन्टिलेटर सर्भिससँगको सहकार्यका उक्त भेन्टिलेटर यहि साउन २४ गते सानो पाइला सामाजिक संस्थाका सभापति सुदिप कुमार लामा र नेपाल भेन्टिलेटस् सर्भिसका सहसंस्थापक डा. विशाल ढकालले हस्ताक्षर गरेका थिए । उक्त भेन्टिलेटर सेवाका लागि बुढानीलकण्ठ पूर्व विद्यार्थी समाज (सेब्स)ले आर्थिक सहयोग गरेको सानो पाइलाका बोर्ड सदस्य डा. राकेश कुमार झाले बताए ।
अहिले स्वास्थ्य सम्बद्ध ब्यक्तिहरुको भनाई अनुसार नेपालमा मात्रै १६० वटा मात्रै भेन्टिलेटरहरु छन् । त्यसैमा पनि कोरोना भाइरसको महामारीमा आक्रान्त प्रदेश –२ को अवस्था अझै जटिल छ । प्रदेश –२ मा लेबल १ का अस्पतालहरुमा ५ र लेभल २ का अस्पतालमा ५ गरी जम्मा १० वटा मात्रै भेन्टिलेटर राखिएका छन् । भारतसँग सीमा जोडिएका तराईका जिल्लाहरु अन्यत्र भन्दा कोरोना भाइरसको महामारीको पीडा झेलिरहेका छन् । खुला सीमा र अव्यवस्थित बसोबासका कारण सरकारले गरेको लकडाउन पनि प्रदेश २ मा प्रभावकारी बन्न सकेन ।
सामाजिक संस्था सानो पाइलाको पहलमा वीरगञ्जको कलवार धर्मशालामा ५० शैयाको आइसोलेसन कक्षको स्थापना गर्ने भएको छ । साथै २४ गते देखि नै वीरगन्जको रानीसति धर्मशालामा संघीय सरकारले सञ्चालन गरेका ४० शैयाको आइसोलेसन कक्षमा उपचार गरिरहेका कोभिड–१९ का संक्रमितहरुलाई नियमित रुपमा दिनको चार पटक निशुल्क रुपमा पौष्टिक खाना उपलब्ध गराउँदै आएको छ । यस अघि सरकारले घोषणा गरेको लकडाउनसँगै संस्थाले वीरगञ्ज र जनकपुरमा क्वारेन्टाइनमा रहेकाहरुलाई निशुल्क खाना ख्वाउने, स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराउनुका साथै कोभिड–१९ रोकथामका बारेमा सचेतनाका कार्यक्रमहरु गराउँदै आएको संस्थाका सञ्चालन प्रमुख जय शाहले बताए । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि स्थानीय स्तरमा सामाजिक संघ संस्थाहरुले पनि उल्लेखनीय भूमिका निर्वाह गर्र्दै आएका छन् ।