1 min read 4 weeks ago E-Diary Express
आनन्द प्रसाद पोखरेल, बागमती प्रदेश अध्यक्ष, नेकपा एमाले तथा पूर्वमन्त्री
Share to TwitterShare to PinterestShare to EmailShare to Copy Link
० हातहाती भनेको महाधिवेशन नगरी अध्यक्ष र संसदीय दलको नेता बिनै प्रधानमन्त्री भन्ने हो ।
० भावी दिनमा हाम्रो वैकल्पिक नेता माधव कुमार नेपाल नै हो ।
० इश्र्याकाको कारण पार्टी बाहिर बसेर गुटगत भेला गर्ने, समानान्तर कमिटी बनाउने कामले पार्टी र आन्दोलनलाई फाइदा पुग्दैन ।
० एमालेमा बस्ने तर, छुट्टै गतिविधि गर्ने कुराको अन्त्य गर्नुपर्दछ ।
० महाधिवेशन अगाडि अध्यक्ष र आगामी निर्वाचन अघि प्रधानमन्त्री हुने कुरा दिमागबाट त्यागेको खण्डमा पार्टी एक ढिक्का भइहाल्छ ।
० एमालेलाई छिटो भन्दा छिटो समर्थन फिर्ता लिनुस् भन्ने मेरो चाहना र माग पनि हो ।
० नेपालमै नाभी गाडिएकाहरुलाई मात्रै टिकट दिनुपर्दछ ।
० प्रधानमन्त्री ओलीले सरकार टिकाउनका लागि अनुचित सम्झौता गर्दिन भन्नुभएको छ ।
० प्रचण्डलगायतका साथीहरुले कम्फर्टेबल सरकार बनाउने कसम खाएर लाग्नुभएको छ ।
वि.स.२०१६ साल फागुन २९ गते बाबु इन्द्र प्रसाद पोखरेल र आमा रन्धता पोखरेलका सन्तानको रुपमा दोलखा जिल्लाको साबिक जफे गाविस–३ मा जन्मनुभएका आनन्द प्रसाद पोखरेल अहिले नेकपा एमालेको बागमती प्रदेशका अध्यक्ष हुनुहुन्छ । विज्ञानमा बीएससी गरी अर्थशास्त्र र ग्रामिण विकासमा स्नातकोत्तरसम्मको शिक्षा प्राप्त गर्नुभएका पोखरेल वि.स.२०३४ साल देखि नै कम्युनिस्ट आन्दोलनमा आवद्ध हुनुभयो । राजनीतिका क्रममा दुई वर्ष भूमिगत जीवन बिताउनुभएका पोखरेल १६ महिना जेलसमेत पर्नुभयो । उहाँ २०७० सालको संविधानसभामा दोलखा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भई पर्यटन तथा नागरिक उड्ययनमन्त्रीसमेत बन्नुभएको थियो । अहिले नेकपा एमाले भित्र देखिएको चरम विवाद र समसामयिक विषयमा केन्द्रीत रहेर कार्यकारी सम्पादक नारायण प्रसाद शर्माले उहाँको निवासमा गरेको विशेष अन्तर्वार्ताः
० तपाई नेकपा एमालेको तर्फबाट बागमती प्रदेशको अध्यक्ष हुनुुहुन्छ । अहिले पार्टीभित्र देखिएको बिरोधलाई कसरी व्यवस्थापन गर्न लाग्नुभएको छ ?
नेकपा एमालेभित्र केहि असन्तुष्ट साथीहरु हुनुुहुन्छ । मैले तिनीहरुलाई समूहको रुपमा स्वीकार गर्दिन । किनकी कम्युनिस्ट पार्टीभित्र असन्तुष्टिहरु हुन्छन् । नेकपा एमालेभित्र समूहवद्धताको संस्कार सधैका लागि अन्त्य हुनुपर्दछ । पार्टीको नीति, सिद्धान्त र विचारको पक्षमा उभिने सबै साथीहरुले पार्टीको महाधिवेशनमा पारित विधि र पद्धतिका आधारमा अघि बढ्नुपर्दछ । यहि क्रममा अहिले सर्वोच्च अदालतले साबिक नेकपालाई पूर्व समूहमा फिर्ता गरिदिएपछि बागमती प्रदेश कमिटीको हैसियतले बागमती प्रदेशभित्र रहेका एमालेका सबै कार्यकर्ताहरुलाई विधि सम्मत् ढंगले जिम्मेवारी प्रदान गर्ने र जिम्मेवारीको आधारमा कामलाई अघि बढाउन लागि परेका छौं । बागमती प्रदेशमा समुहबद्धताको कारणले कुनै पनि जिल्लामा कुनै खालको समस्या रहेको छैन । सबै साथीहरु पार्टी कार्यालय आउने जाने क्रममा अघि बढिरहँनु भएको छ । बाहिर जत्ति हल्ला भए पनि बागमती प्रदेश भित्र आन्तरिक रुपमा अन्र्तसंघर्षका कारणले समस्या देखिएका छैनन् । जुन समस्याहरु छन् व्यवस्थापन गर्न सकिने खालकै छन् । त्यसैले पार्टीलाई एक ढिक्का बनाएर लाने काममा व्यस्त छु ।
० बागमती प्रदेशका मूख्यमन्त्रीका विरुद्धमा आएको अविश्वासको प्रस्तावको सम्बन्धमा अहिले के हुँदैछ ?
बागमती प्रदेशका मूख्यमन्त्रीले आगामी १८ गते संसदीय दलको बैठक बोलाउनु भएको छ । उक्त बैठकमा निर्वाचनका समयमा सूर्य चिन्ह लिएर उठेका नेकपा एमालेका सबै निर्वाचित प्रदेशसभाका सदस्यहरुको उपस्थितिमा छलफल हुनेछ । भूलबस अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नुहुने प्रदेशसभा सदस्यहरु आफ्नो हस्ताक्षरलाई फिर्ता लिएर संसदीय दललाई एकतावद्ध बनाएर अघि बढ्नुुहुनेछ भन्ने अपेक्षा गरेका छौं । भुलबस सहिगर्ने साथीहरुले आफै पनि फिर्ताका पहल गर्नुहुनेछ । त्यसपछि सरकार पुर्नगठन गरेर नयाँ ढंगले चल्ने अवस्था आउने छ । त्यहि अनुसार नै परिस्थिति अघि बढ्नेछ ।
० अहिले स्पष्टीकरणका एक पछि अर्को बाढी आइरहेका यसबाट समस्या समाधान तर्फ जाला ?
हाम्रा पार्टीका चार जना नेताहरुलाई गत चैत्र ४ गते भएको केन्द्रीय कमिटीको निर्णयले स्पष्टीकरण सोध्ने जुन परिस्थिति बनेको थियो, त्यसमा अहिले उहाँहरुको पत्र प्राप्त भइसकेको छ । मैले उहाँहरुले पठाउनुभएको पूर्ण पाठमा पत्रिकामा पढे अनुसार जुन प्रश्न राखेर स्पष्टीकारण सोधिएका थिए, त्यसको उत्तर त्यहाँ देखिदैन । र, बिगतमा नेकपाको अन्तरबिरोधका समयमा १९ पेजको जालसाझीपूर्ण आरोपपत्र प्रस्तुत गरिएको थियो, त्यसैको फोटोकपीका रुपमा प्रतिउत्तर भनेर पेश गरिएको छ । पार्टीमा गल्ति कमजोरी नै हुँदैन भन्ने होइन, त्यसमा आत्मआलोचना गरेर अघि बढ्नुपर्नेमा आरोप र प्रत्यारोप लगाउने काम भएको छ । त्यो आरोप पत्रलाई अर्को बनाएर माधव नेपालले प्रस्तुत गर्नुभएको छ । त्यसमा प्रधानमन्त्रीले ‘कारबाही योग्य छ’ भन्नुभएको छ । वास्तवमा त्यस प्रकारको प्रतिउत्तरले केपी ओली र माधव कुमार नेपालका लागि मार्ग प्रशस्त गर्दैन । त्यसमा नयाँ खालको अन्र्तविरोध गर्ने देखिन्छ ।
हामीले नेपाली कम्युनिस्ट आन्दोलनमा २०५५ फागुन २१ मा भएको बिभाजनको पीडा भोगेका छौं । नेकपा मालेमा रहँदा वि.स.२०३९ सालमा भएको पार्टीको अन्र्तविरोध भोग्यौ । त्यसैको पृष्ठभूमिमा रहेर हामीले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गरेका थियौं । जुन लामो समय टिक्न पनि सकेन । यो समयमा हिजो नेकपा एमालेमा रहेका नेता कार्यकर्ताहरु कुनै पदको स्वार्थ, आग्रह र पूर्वाग्रहको कारणले पार्टीलाई विभाजनतर्फ लैजान, पार्टीको पद्धति उलंघन गर्न, छुट्टै बैठक र भेला गर्ने जस्ता कामहरु गरेर पार्टीलाई कमजोर नबनाउन म अनुरोध गर्न चाहन्छु । पार्टीे कमजोर बनाउँदा तपाईको पुस्तामा तपाई प्रधानमन्त्री हुनुभयो, पार्टीको प्रमुख हुनुभयो । तर, नयाँ पुस्ता जो उभार लिएर आएको छ, तिनीहरुलाई विश्वस्त र आश्वस्त गर्ने गरी पार्टीलाई एकतावद्ध गराउने दिशामा लाग्नुस् भन्ने मेरो आग्रह छ । अहिले जनतामा पार्टीका श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीले जुन ढंगले दिशा निर्देश गर्नुभएको छ । यसले नयाँ ढंगले नयाँ आशाका साथ मुलुकलाई फेरी सहि दिशामा लग्नेछ । साथै भावी दिनमा एमालेकै विजय हुने अवस्था छ । त्यो अवस्थालाई सघाउन अनुरोध गर्दछु । भावी दिनमा हाम्रो वैकल्पिक नेता माधव कुमार नेपाल नै हो । आग्रह, पुर्वाग्रह वा परिचालित भएरै किन नहोस् निहुँ खोज्ने काम बन्द गरेर माधव नेपाल र अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीबीच सोहाद्रतापूर्ण रुपमा पार्टीलाई एकतावद्ध बनाएर अगाडि लैजानुपर्दछ । इश्र्याकाको कारण पार्टी बाहिर बसेर गुटगत भेला गर्ने, समानान्तर कमिटी बनाउने कामले पार्टी र आन्दोलनलाई फाइदा पुग्दैन । यत्तिबेला आत्मआलोचित भएर माधव कुमार नेपालमा प्रवाहिकरण भएर मूल नेतृत्व लिनु पर्दछ । अहिलेको अवस्थाले उहाँको राजनीतिक उचाईलाई पनि ध्वस्त बनाउन सक्तछ । तर, उहाँले अहिलेको जस्तै अवस्थामा रहनुभयो भने हामीले कम्युनिस्ट आन्दोलनलाई मर्न र मार्न दिँदैनौं । अध्यक्ष केपी ओलीको नेतृत्वमा दृढताका साथ अघि बढ्ने अठोट आम नेता तथा कार्यकर्ताले गरिसकेका छन् । यसैको परिधिमा बस्नु भयो भने वरिष्ठ नेता माधव कुमार नेपाल हाम्रो श्रद्धेय नेता हो । श्रद्धेय नेताले त्यसैको भूमिका निर्वाह गर्नुपर्दछ,भन्ने आग्रह पनि हो ।
० माधव नेपाल समूहले त आफुले पार्टीलाई विधि र पद्धतिमा लैजानका लागि विरोध गरेको हो पदका लागि हैन भनेका छन् नी ?
मलार्ई त्यस्तो लाग्दैन । विचारका लागि भएको भए, नेकपामा विभाजनको अवस्थामा हुँदा माइतीघरमा गएर अध्यक्ष पदको घोषणा गर्नुहुँदैनथ्यो । त्यसै गरी प्रचण्डले संसदीय दलको नेता दाबी गर्नुभएको थियो । दुनियालाई थाह छ माधव नेपालले जे जसरी संघर्ष गरिरहँनुभएको छ, त्यो पदको लागि थियो र हो । उहाँले हामीसँग कुरा गर्दा पनि उधारो हैन हात्ताहात्ती नै चाहिन्छ भन्नुहुन्थ्यो । हात्ताहात्ती भनेको महाधिवेशन नगरी अध्यक्ष र संसदीय दलको नेता बिनै प्रधानमन्त्री भन्ने हो । किनकी उहाँ झलनाथ खनाल संसदीय दलको नेता हुँदा नै प्रधानमन्त्री हुन पल्कनुभएको हो । माधव नेपालले विधि र पद्धतिका कुरा गर्दा मलाई पत्यार लाग्दैन । साथै दुनियाले पनि पत्याउँदैनन् भन्ने छर्लङ्ग छ ।
० पार्टीमा सानो समूह बिरोधी बने पनि निर्वाचनमा हराउन त सक्छ । त्यसैले अबको नेकपा एमालेको यात्रा कसरी अघि बढ्छ ? संस्थापनले फराकिलो छात्ती बनाएर काम गर्दा सहज हुँदैन ?
पहिलो कुरा त प्रधानमन्त्री तथा पार्टीका सहअध्यक्ष ओलीले पुष ५ गते पछि फागुन २३ गतेसम्म जुन ढंगका विवादहरु भए, त्यसमा म त्यति बेलाका सम्पूर्ण घट्नाहरु बिर्सिदिन्छु । अगाडि बढौं भन्नुभएको छ । माधव नेपालले फागुन २८ गतेको केन्द्रीय कमिटीको निर्णयलाई सच्चाउनुपर्दछ भन्नुभएको छ । त्यो भनेको माओवादी केन्द्र छाडेर आउने प्रभु साह, लेखराज भट्ट, टोप बहादुर रायमाझी, मणि थापा लगायतलाई समावेस गर्न जरुरी थियो । जुन स्वच्छिक ढंगले गर्नुपर्दथ्यो । त्यो भन्दा बढि केहि पनि गरिएको छैन । केहि बाधा अड्काउ फुकाउँ काम मात्रै गरिएको थियो । त्यसैलाई निहुँ बनाएर अप्ठ्यारो बनाउने काम माधव नेपालले गरिरहँनुभएको छ । उहाँको पक्षधर व्यक्तिहरुले अहिले त्यहि गरिरहेका छन् । यस्तो कार्य तत्कालै रोक्नुपर्दछ । एक नम्बरमा जुन कमिटीहरु उहाँले अहिले गठन गर्नुभएको छ त्यो रोक्नुपर्दछ । हिजो जुन कमिटीमा हुनुुहुन्थ्यो अहिले उहाँहरु त्यहि कमिटीमा हुुनुुहुन्छ । नेकपा एमाले र कमरेड केपी ओलीले युवा संघ, र विद्यार्थीहरुको छुट्टै कमिटी बनाएका होइनौं । उहाँहरुले हिजो बाहिर रहेका साथीहरुलाई खोजेर बनाउनुभएको छ । दोस्रो कुरा पार्टीले विधिसम्मत गरेका कुराहरु जुन हामीले संसदीय दलमा सबैजनालाई बोलाएका थियौं, ति निर्णय मान्नुपर्दछ । तेस्रो कुरा अहिले जे गतिविधिहरु भएका छन्, तीनलाई आत्म समिक्षा गरेर अघि बढ्न र नेतृत्वलाई हर हालतमा सहयोग गर्ने कसम खाने हो भने त्यो समाधानको दिशामा जान्छ । तर, हराउनकै लागि कसम खाएको हो भने जस्ले पनि हराउन सक्छ । हराउनकै लागि गरिएको क्रियाकलाप हो भने त्यो त प्रतिक्रियावादीकै एउटा रुप मध्येको हो । त्यस प्रकारको हर्कत नगर्न नगराउन र कम्युनिस्ट बिरोधी तत्वलाई खुशी पार्न सहयोग गर्ने काम नगर्दिन हार्दिक अनुरोध गर्दछु । उहाँहरुले एमालेबाट बाहिर जाँदैनौं पनि भन्नुभएको छ । त्यो हो भने एमालेले बनाएको विधि पद्धति अन्तर्गत नै जानुपर्दछ । एमालेमा बस्ने तर, छुट्टै गतिविधि गर्ने कुराको अन्त्य गर्नुपर्दछ । यो प्रवृतिको अन्त हुने बित्तिकै हामी सबैले स्वीकार र सम्मान नै गर्दछौं । म पार्टीको वरिष्ठ नेता हुने होइन । माधव नेपाल नै हुने हो । झलनाथ नै हो । त्यसैले महाधिवेशन अगाडि अध्यक्ष र आगामी निर्वाचन अघि प्रधानमन्त्री हुने कुरा दिमागबाट त्यागेको खण्डमा पार्टी एक ढिक्का भइहाल्छ ।
० हालको एमालेको विवादमा विदेशी चलखेल पनि भयो भन्ने आरोप छ नि ?
म त्यता तिर धेरै नपसौ भन्ने लाग्छ । यो विवाद त्यो समयमा सुरु भयो जत्ति बेला हामीले दुई तिहाई सांसदको बहुमत सहितको सरकार बनायौं । तर, मोर्चा बन्दी गरेर विरोध गर्ने क्रम बढ्न थाल्यो ।
नम्बर एक प्रधानमन्त्री संयुक्त राष्टसंघको महासभामा बोल्दै हुनुुहुन्थ्यो । त्यो समयमा माधव नेपालले कोहि माझी देश बचाउन आइदिओस् भनेर आव्हान गर्दै हुनुुहन्थ्यो । त्यो कसका लागि हो ? विपक्षीले पनि आफ्नो नेता विदेश गए भने फर्केर नआउन्जेल विरोध गर्दैनन् । तर, माधव कुमार नेपालले चाहिँ कसको सेवाका लागि यो काम गरेका हौं ।
जब नेपालमा अतिक्रमित भूभाग लिपुलेक, लिम्पियाधुरा र कालाानी समेतिएको चुच्चो नक्सा प्रकाशित भयो । त्यहि समयमा भारतीयहरु भारतको सार्वभौमसत्तामा नेपालले हस्तक्षेप ग¥यो हटाउनु पर्दछ भन्दै थिए । त्यहि बेला हाम्रा पार्टीका नेताहरु प्रधानमन्त्री ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष पदबाट राजिनामा दिनुपर्छ भन्ने गरेका थिए । जत्ति बेला भारतको विवादस्पद रामजन्म भूमि भारतमा हैन नेपालमै छ भनेर । यो पार्टी फुटाउनका लागि हाम्रा केहि नेताहरु जानेर हो वा अन्जानबस पराई शक्तिको गोटी बनेको होकि भन्ने आशंका गर्दछन् ।
० सरकारको समर्थन माओवादी केन्द्रले फिर्ता लिने भनेर माओवादी केन्द्रले भनिरहेको छ । त्यसपछि केपी ओलीको सरकार कसरी चल्छ त ?
हाम्रो नेकपा एमालेको जम्मा एक सय एक्काइस जना सांसदहरु हुन् । हामीले सरकार बनाउनका लागि एक सय ३८ जना सांसदको आवश्यकता पर्दछ । अन्य सबै पार्टीहरु मिलेर सरकार बन्छ भने हिजो पनि स्पेश थियो, आज पनि स्पेश छ । एक नम्बरमा हामी चिन्तित छैनौं । नम्बर दुई प्रधानमन्त्रीले पटक पटक किन ढिला गरिरहँनु भएको हो भनेर भनिरहँनु भएको छ । छिट्टै समर्थन फिर्ता लिनु नयाँ सरकार बनाउनु हामी प्रतिपक्षमा बस्न तयार छौं भन्नुभएको छ । त्यसैकारण म सरकारको समर्थन फिर्ता लिन्छु भन्नु त लाज लाग्नुपर्ने हो । किनकी फागुन १२ गते नै किन समर्थन फिर्ता लिनुभएन ? किन अहिलेसम्म ढिला गरिरहेको हो ? उहाँहरुलाई के चिजले रोकिरहेको छ ? एमालेलाई छिटो भन्दा समर्थन फिर्ता लिनुस भन्ने मेरो चाहना र माग पनि हो ।
तेस्रो कुरा प्रधानमन्त्री ओलीले सरकार टिकाउनका लागि अनुचित सम्झौता गर्दिन भन्नुभएको छ । जुन कुरा केन्द्रीय कमिटीको बैठक र सार्वजनिक ठाउँहरुमा पनि भन्दै आउनुभएको छ । किन प्रचण्डले त्यो आँट गर्न सक्नुभएको छैन । उहाँको सोच के हो ?
चीनसँग पारबहान सन्धि गर्ने प्रस्ताव गरेर फर्कर्ने बित्तिकै सरकारी गाडीमा झण्डा हल्लाउँदै प्रचण्डले अविश्वासको प्रस्ताव राख्नुभयो । तर, पछि सच्चिनुभयो कि भनेर एकता गरेका थियौं । हिजो हामीहरु प्रतिपक्षमै बसेर चुनाव लडेका हौं । त्यसमा वामपंथीहरुको गठबन्धन भित्र आएका हौं । त्यसमा राजनीतिक परिस्थितिलाई कसरी अघि बढाउनुपर्दछ ? भन्ने कुरामा केपी ओलीले राम्ररी बुझ्नुभएको छ । त्यसमा उहाँको चाहना सरकारमा बसिरहँनुपर्छ भन्ने बिल्कुलै होइन । आउँदो दिनमा टिकट दिने क्रममा नेपालमै नाभी गाडिएकाहरुलाई मात्रै टिकट दिनुपर्दछ । बाहिर नाभी गाडिएकाहरुलाई टिकट दिएको खण्डमा फेरी पनि देश संकटग्रस्त हुन्छ । जुन अहिले हामीहरुले भोगीरहेका छौं । हिजो हामीले नेपालमै नाभी गाडिएकाहरुलाई टिकट दिएको भए सरकार ढाल्ने र ढलाउने खेल नै हुँदैनथ्यो ।
० नेपालको राजनीतिमा बाह्रय प्रभाव भएका कारण यो अवस्था आएको हो ?
निश्चित रुपमा सुगौली सन्धि पश्चात नै नेपालमा समा्रज्यवादको प्रवेश भएको हो । राणाहरुले बेलायतलाई रिझाए । उनीहरु १०३ वर्षसम्म जहानियाँ शासन चलाए । २००७ सालको क्रान्तिसँगै ब्रिटिस पछि भारतको हातमा गयो । त्यसपछि नेपालको आन्तरिक राजनीतिमा पटक पटक बाह्य हस्तक्षेप हुन पुग्यो । त्यसैको निरन्तरता अहिले पनि हो । नयाँ नयाँ पात्रहरु आएका छन् । ती नयाँ पात्रहरुले देशभक्तिका पक्षमा आन्दोलन गर्ने र राष्ट्रवादको पक्षमा उभिने मानिसहरुलाई नेपालमा शासन गर्न नदिने अवस्था सिर्जना गरिँदै आएको छ । कुटनैतिक सम्बन्ध स्थापना पछि पनि टंक प्रसाद आचार्यलाई सहज रुपमा काम गर्न दिइएन । त्यसपछि चुच्चे नक्सा प्रकाशन गरेपछि अहिलेको अवस्था आएको हो । जसलाई ति नक्साको प्रकाशनले चित्त दुखेको छ । तिनीहरुले केपी ओलीलाई हटाउन चाहन्छन् । त्यसको स्वर मिलाएर नेपाली टोपी लगाई तिनीहरु विदेशीका स्वरमा स्वर मिलाएका छन् । नेपालमा विदेशी हस्तक्षेप छ । त्यसैकारण वर्तमान सरकारको विस्थापन गर्न खासगरी दक्षिणका छिमेकीहरु कसम खाएर बसेका छन्, त्यसलाई सहयोग पुग्ने गरी हाम्रा साथीहरुले काम गरेका छन् । कसको हातमा र इशारामा चलेको छ । त्यसको मल्यांकन आम जनता र पत्रकारको जिम्मामा छ । राष्ट्रिय स्वाधिनताको विरुद्धमा लड्नेहरुका विरुद्धमा आत्मसमर्पणवादीहरुले गरेका कुराहरु हुन् । त्यसकारण प्रचण्डलगायतका साथीहरुले कम्फर्टेबल सरकार बनाउने कसम खाएर लाग्नुभएको छ । त्यसमा किन ढिला गर्नुभएको हो ?
० प्रधानमन्त्री ओलीले जसपाका सांसद रेशम चौधरी लगायतको मुद्दा फिर्ता लिने विषयमा जसपाका नेता महन्थ ठाकुर लगायतसँग वार्ता गरी सकरात्मक रहेको भन्ने छ । सरकारको विरुद्धमा भएको धर्ना कार्यक्रममा गृहमन्त्री नै गएका छन् ? यो त नमिल्दो भएन ?
यो पनि आफ्नो चश्माकै कारणले प्रश्न उठिरहेको छ । यो निर्वाचन प्रणालीभित्रैबाट रेशम चौधरी उठे र चुनाव जिते । उनी माननीय भए । चुनाव जिताउने पनि जनताको ठूलो हिस्सा छ । उनी सदनमा हुनुपर्दथ्यो । अदालतको फैसलाले उनी विरुद्ध फैसला गरेका कारण अहिले जेलमा छन् । प्रधानमन्त्रीले सरकार बनाउन र टिकाउनका लागि कसैसँग अनुचित सम्झौता गर्दिन भनिरहँनु भएको छ । तर, यहाँ अन्य मुद्दा लागेका जनयुद्दका मानिसहरु छुट्दाखेरी कोहि यता कोहि उता भनेर प्रश्न उठाउँछन् । सत्ता र सोचमा पनि असमान भएको बाहिर चर्चा छ । म त यस्तो भन्दिन । रेशम चौधरीलाई भोट हाल्ने मानिसहरुले उनी छुट्नुपर्दछ भन्नेमा अन्यथा पनि मान्नु हुँदैन । अनसन बसेर मानिस मर्न लाग्दा लोकतान्त्रिक सरकारले वार्ता गर्नु स्वाभाविकै हो । साथै कानूनको प्रतिकुल नहुने गरी माग पुरागर्नु कर्तब्य पनि हो । जसपाका नेताहरुले रेशम चौधरीलाई छोड्नुपर्छ भनेर वार्ता गर्दा अरुलाई किन चिलाउँछ ? किन आतंकित हुन्छन् हाम्रा साथीहरु ? मुलुक आखिर चुनावमा नै जाँदैछ ? सहि दिशामा गएका प्रधानमन्त्रीलाई तलमाथि गर्नुहुँदैन भन्दा किन चिच्याहट गर्नुहुन्छ ? केपी ओलीको विकल्प खोज्ने हाम्रा साथीहरु जनताकाबीचमा गएर मत माग्न किन किन डराईरहँनुभएको छ ? प्रतिगमनकारी भन्दै किन नयाँ परिभाषा खोजिरहँनुभएको छ ?
० २००७ साल देखि नै नेपालको राजनीतिमा सरकार ढाल्नका लागि त्यहि पार्टीभित्रैबाट बिभिन्न व्यक्तिहरु प्रयोग गरिँदै आइएको छ । अहिले पनि बिरोधको चर्को रुप भइरहँदा अझै पनि मिल्न सक्छ ?
हाम्रो नेकपा एमालेका बरिष्ठ नेता देखि कार्यकर्ताहरुसम्म जो आम उद्देश्य पुरा गर्न लागेको क्याडर फोर्स हो । यसमा कुनै छुट्टै समूह छैन । पार्टी कार्यकर्ता र नेताहरुका के समस्याहरु हुन् ? छलफलबाटै समाधान हुन्छ । तर, समूहवद्धताका नाममा अराजनीतिक, उछृङखल र बिभाजनकारी क्रियाकलापमा छुट दिइदैन भन्ने कुरा प्रधानमन्त्रीले नै नै भनिसक्नुभएको छ । संयमतापूर्वक, फुटपरस्त र बिभाजनकारी गतिविधि त्यागेर एकतावद्ध भई नेकपा एमालेलाई अघि बढाउने, सरकारले अघि सारेको राष्ट्रिय स्वाधिनता र आत्मसम्मानको आन्दोलनलाई रक्षा गर्ने, सरकारले अघि सारेको विकास र समृद्धिको नारालाई बढाउने, कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले अघि बढाउने, जनताको बहुदलिय जनबादको सिद्धान्तलाई आम सिद्धान्तका रुपमा नीति र कार्यक्रमलाई अघि बढाउन सक्यौं भने अहिले एककाइसौं शदाब्दीमा आएको चुनौतिलाई सामाना गर्ने गरी अघि बढ्यौं भने कुनै समस्या हुँदैन । अब समूहवद्धताका नाममा गरिएको घेराबन्दीमा कसैलाई पनि छुट हुन्छ भन्ने मलाई लाग्दैन ।
० अन्तमा केहि भन्नु छ कि ?
डायरी एक्सप्रेस साप्ताहिक, इडायरीएक्सप्रेस अनलाईन र युट्ववलाई मेरा विचार राख्ने मौका दिनुभएकोमा धन्यवादका साथै उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।