राष्ट्रियता, भौगोलिक अखण्डताको रक्षा, सार्वभौमिकता र स्वाधीनताको रक्षा गर्दै छिमेकीहरुसँग सम्बन्ध स्थापित गर्न चाहन्छौं
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष ओलीको ७ गते शुक्रवारको सम्बोधन
धेरै मान्छेहरुले बिभिन्न प्रकारका हल्ला चलाएका छन् । तथापि नेकपा एमाले कागले कान लग्यो भन्दैमा आकाशतर्फ हेरेर पछि पछि कुद्ने पार्टी होइन, नेकपा एमाले त कागले कान लग्यो भनेर सुन्दैमा कुद्दैन । नेपाली जनतालाई राजतन्त्र र राणा शासनले कति वर्ष अल्मल्याएको छ ? यि सबै अलमलहरु चिरेर नेपाली जनताको ठूलो बलिदान र संघर्षबाट विजय स्वरुप संघीय लोकतान्त्रिक गणतन्त्र हासिल गरेका छन् । नेपाली जनताहरु भ्रममा पदैनन् । कसैलाई लाग्ला आफुले भ्रम फिजाएपछि सबै भ्रममा पर्दछन् । आफुले एक प्रकारको झुठको खेती गरी अराजकता मच्चाएपछि समाज पनि त्यस्तै भयो होला भन्ने कुरा कतिपयले सोचेका होलान् । तर नेपाली जनताको आफ्नै गौरवपूर्ण इतिहास र परम्परा रहेको छ । त्यसबाट दायाँ बायाँ हुँदैन । नेपाली जनता कुहिराको काग बनेर हराउने छैन । आफ्नो सभ्यता, संस्कृति र परम्पराहरुलाई कायम गर्दै विकास समृद्धि र सुशासनको बाटोमा हिड्ने छ । साथै हामी ‘समृद्ध नेपाल सःुखि नेपाली’ भन्ने आकांक्षालाई साकार पारिछाड्ने छौं ।
अहिले हल्ला चलाएका छन् । नेकपा एमाले सरकारमा छ, तथापि जागरण सभा पनि गरिरहेको छ । सुरुमा यो सरकार बन्दै बन्दैन भनियो । विश्वासको मत पाउँदैन भनियो, त्यसपछि एक महिना कट्दैन, दशैं देख्दैन भनियो, तिहार कट्दैन भनियो, मंसिर देख्दैन पनि भनियो । यो गठबन्धन २०८४ साल मंसिरसम्म नै रहन्छ । म २०८३ सालको असारसम्म नै प्रधानमन्त्री रहन्छु । त्यसपछि शेर बहादुर देउवालाई जिम्मा लगाउछु । यसरी उहाँ र मैले २०८४ साल मंसिरसम्म नै गरी १८(१८ महिना सरकार चलाउँछौं ।
त्यस प्रकारको भ्रममा नपर्न म आग्रह गर्दछु । आम जनतालाई त्यस प्रकारको भ्रममा नपरी ढुक्कले अघि बढ्न अनुरोध गर्दछु । नेकपा एमाले र नेपाली कांग्रेस पार्टी प्रतिस्पर्धि पार्टीहरु हुन् । तथापि अहिले दुबैपार्टी एकै ठाउँमा छन् । हामी बीचको प्रतिस्पर्धा भन्दा पनि ठूलो कुरा एकता नै नै हो । अहिले लोकतन्त्रलाई अप्ठे्यारो पार्न खोजिएको छ । संविधान मासेर अराजकताको परिस्थिति ल्याउन खोजिएको छ । अनेक प्रकारले अराजकता सिर्जना गरी समाजलाई भाड्न खोजिएको छ । हामीले ठूलो संघर्ष गरी ल्याएको लोकतन्त्र जहाँ जनताको सर्वोच्चता छ त्यो सार्वभौम जनताको हैसियतलाई समाप्त पार्ने एउटा षडयन्त्र भइरहेको छ ।
म शहीद र अग्रजहरुलाईहरुको स्मरण र सम्मान गर्न चाहन्छु । र, नेकपा एमालेको तर्फबाट के भन्न चाहन्छु भने हाम्रा शहीद र पुर्खाहरुले बगाएको त्याग, बलिदान र बगाएको रगत, पसिना र दुःख कष्ट खेरा जान दिइने छैन । हामीले ल्याएको स्वाधीनता, वाक र प्रेस स्वतन्त्रता छाड्न सक्तैनौं । यसमा तलमाथि पार्न दिइने छैन । संविधानको मूल मर्म तलमाथि पार्न दिइने छैन । तर, समयअनुकूल संशोधन गर्नु परेको खण्डमा आम जनताको राय र सल्लाहमा गरिने छ । देशका लागि जनता प्रमुख कुरा हुन् । जनताको भलाई, सुशासन र विकास सबै कुरा हुन् । अन्य कुरा तपशील हुन् । देश विकासका लागि नेकपा एमाले प्रयत्नरत रहिरहन्छ । अहिलेको समिकरणलाई कसैले पनि हल्लाउन सक्ने छैन ।
हामी कुनै कमिसनखोरी, भ्रष्टाचारी बन्नका लागि, सरकारमा गएको होइनौं, साथै कमाउनका लागि पनि र आफ्ना मान्छेहरुलाई पोस्नका लागि होइन । सबै ठाउँमा आफ्ना मान्छेहरु भर्ना गराई आफन्तहरुलाई अकुत सम्पत्ति जम्मा गराउने होइन ।
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्रीसँग कम्बोडियाको टेलिकम्युनिकेशनमा मा २१ हजार करोड डलर लगानी छ । स्वीस बैंकमा पनि यत्ति हजार छ भन्दै आएका छ । त्यति मात्रै होइन अमेरिकाको बैंकको आधा सम्पत्ति पनि मेरै होला ? त्यस्ता फाल्तु कुरा गरी आफन्तका नाममा सातपुस्तासम्म पुग्ने अकुत सम्पत्ति जोडिएको छ । गोरु बेचेको साइनोसम्म भएकाहरु पनि साधारण अवस्थाबाट आज करोडौंका मालिक कस्ले बनाएको छ ? बसेर छलफल गर्न चाहन्छु ।
म प्रधानमन्त्री र नेकपा एमालेको अध्यक्षको हैसियतले देशलाई सुशासन र गरिबीबाट मुक्त गर्नुछ । त्यसका लगि देशलाई विकासकै बाटोमा तिब्रताका साथ अघि बढाउनेछु । हाम्रो ध्यान त्यस प्रति छ । त्यसैले सरकारी ढिला सुस्ती, अकर्मन्यता जस्ता कुराहरु समाप्त पार्न चाहन्छौं ।
बैंकको ऋण तिर्नुपर्दैन भन्दै कराएर हिड्छन् । ऋण लिएपछि तिर्नुपर्दैन ? यो देशको अर्थतन्त्र अस्तव्यस्त बनाउन र ध्वस्त बनाउनका लागि यस्तो गरिन्छ । त्यसपछि उद्योगी खेदाउ अभियान चलाईन्छ । मारवाडी समुदायलाई खेद भनिन्छ । यो के का लागि हो ? यसरी यहाँ साम्प्रदायिक विद्धेष फैलाउने अर्थतन्त्रलाई ध्वस्त बनाउने काम गरिन्छ ।
विद्युत बक्यौता सम्बन्धमा
विद्युतको बक्यौता उठाउन छाडेर बाँकी रहेका उद्योग पनि बन्द गराइन्छ । सरकारले भनिरहेको छ बक्यौता उठाउ । विद्युत नियमन आयोगले जे भनिरहेको छ, टिओडी मिटरको बिल अनुसार रकम तुरुन्तै असुल गराउँ । लाल आयोगको प्रतिवेदन कार्यन्वयन गरी विद्युतको महसुल उठाउन भनिरहेको छ । देशको रहेका केहि उद्योग पनि बन्द गरी मजदूरहरुलाई बेरोजगार बनाइदिने, निर्यात चौपट बनाउने त्यस प्रकारका षडयन्त्रहरु भएका छन् ।
दुर्गा प्रसाईको अराजक आन्दोलन
समुदायबीचमा अनेक प्रकारका विद्धेष फैलाएर नेपालको राष्ट्रिय एकतालाई खलबलाएर अघि बढाइएको छ । अपशब्द बोल्ने, शान्तिपूर्ण भन्ने पछाडिबाट कोहि बोलेको छ भने पनि रातमा प्रहार गरी हत्या गर्ने कोशिश गर्ने गरिएको छ । ट्रकमा मान्छे थुनेर आगो लगाउने जस्ता जघन्य अपराध गर्ने जस्ता अराजकता गरिएको छ । जसलाई जे पनि बोल्ने कुरा नेपाली समाजलाई स्वीकार्य हुने छैन । यस्ता कुराको हामीले प्रोत्साहित गर्न सकिदैन ।
रबि लामिछानेको सहकारी ठगी सम्बन्धमा
यहाँ त कति कति सहकारीमा ठगी गरेका प्रमाणहरु छन् । अरुलाई गाली गरिन्छ । कुनै पनि प्रकारको भ्रष्टाचार, ठगी, मानव तस्करीमा जुन सुकै र जो सुकै भए पनि अहिलेको सरकारले अपराध गर्नेलाई कानून बिपरित छुट दिने छैन । कानून बिपरित हुने जुन सुकै अपराधलाई नेकपा एमाले छाड्दैन । देशमा सुशासन स्थापनाका लागि नै प्रतिस्पर्धा स्थगित गरेर देशको अर्थतन्त्र, अधोगतिलाई हेरेर यस प्रकारको समिकरण बनाइएको हो । देशको ढिकुटीमा पैसा छैन । उद्योग धन्दाहरु बन्द छन् । ब्यापार छैन । गत वर्षको राजस्व अघिल्लो वर्षको भन्दा २४ प्रतिशत कम छ । तस्करी ब्यापक छ । ३५ क्वीन्टल सुन तस्करीबाटै पास गरिएको छ । यस्तो अवस्थामा देशलाई जोगाएर सभ्य समाज जस्तो बनाउन सरकार दृढ छ । कोहि पनि निर्दोषलाई फसाउन दिइदैन । तर, कोहि पनि दोषिलाई छाडिदैन ।
चीन भ्रमण र अन्तराष्ट्रिय सम्बन्धका विषयमा
हामी राष्ट्रियता, भौगोलिक अखण्डताको रक्षा, सार्वभौमिकता र स्वाधीनताको रक्षा गर्दै छिमेकीहरुसँग सम्बन्ध स्थापित गर्न चाहन्छौं । कतिपयले केके नै व्यवसाय भट्टाए जस्तो गरी कता जानु पर्ने कता गयो भन्दै हल्ला गरिएको छ । कुन धर्मशास्त्र, संविधान, कानून वा संयुक्त राष्ट्रसंघको बडापत्रमा यो विषयमा लेखिएको छ ? यस्ता वाहियात कुरा गरिएका छन् । हामी दुबै छिमेकीलाई पारस्पारिक सम्बन्धका आधारमा व्यवहार गर्दछौं । कसैप्रति हाम्रो वैरभाव छैन । सबैप्रति हाम्रो समान ब्यवहार छ । हामी कुनैपनि प्रकारका हिंसा, द्धेष प्रति विश्वास गर्दैनौं । शान्तिको र निःशस्त्रको पक्षमा छौं । देशभित्र र बाहिर मारामार हैन, मेलमिलापको पक्षमा छौं । विश्व स्तरमा पनि हामी एकताको पक्षमा छौं । देशभित्र पनि एक प्रकारको मर्यादाभित्र रहेर स्वस्थ्य प्रतिस्पर्धा गरौं भन्ने एक प्रकारको हाम्रो नीति हो ।
१७ गतेबाट चीन भ्रमणमा
मेरो नेतृत्वमा यहि मंसिर १७ गतेबाट सरकारको टीम चीन भ्रमणमा जाँदैछ । यो भ्रमण अत्यन्तै सफल हुनेछ । चीनबाट फर्किएपछि कसरी सफल भयो ? तपाईहरुले थाह पाउनुहुनेछ । चीन घुमेर आउने भन्दै जान लागेको होइन । देशको हित र भलाईका लागि भ्रमण उदाहरणीय बन्नेछ । हामी माथि लगाएका आरोपहरु खण्डन गर्न र चर्चा गर्न लायक छैनन् । कुनै कुरा कसैले पनि पत्याउँदैनन् । आफै युट्युव खोलेर सुन्छन् र दंग पर्छन् । सबै मान्छेहरु भ्रममा परे भन्ने ठान्छन् । अहिले कसले के गरेको छ दुनियाले नै देखेका छन् ।
कम्बोडियाका लगानी सम्बन्धमा
कम्बोडिया भन्ने देशमा बैंककबाट ४५ मिनेटमा पुगिन्छ । त्यहाँको टेलिकममा कस्को कति लगानी छ ? भन्ने विषयमा थाह नपाउने कुरै भएन । यस्ता विषयमा भ्रमपूर्ण ढंगले जनतामा घृणा फैलाउने चेष्टा गरिएको छ । यस्ता भ्रममा कोहि पनि पर्दैन । यस्ता घृणा फैलाउने विरुद्धमा बिस्तारै हाम्रो सामाजिक सभ्यता अनुसार लैजान पनि कानूनी कारबाहीमा लैजानु पर्ने अवस्था छ । त्यस दिशामा सरकार जाँदैछ । ‘नाङ्लो ठटाएर हात्ती तर्साउने’ भनिन्छ । केहि मान्छेहरु हात्तीको नजिक गएर तर्साउन खोजेका छन् । नेकपा एमाले हात्तीको बथान जस्तै हो । नाङ्लो ठटाएर कोहि तर्सिनेवला छैन ।
अराजकता विरुद्धमा कठोर
हाम्रो त्याग र कष्टपूर्ण गौरवमय इतिहास छ । हामी देश र जनताका पक्षमा उभिएर अघि बढेका छौं । आजको अवस्थामा देशलाई सहिबाटोमा लैजानका लागि हाम्रा सहि नीतिहरु छन् । विकासका लागि कृषिलाई कसरी व्यवसायिकीकरण गर्ने ? देशलाई आधुनिकिकरणतर्फ कसरी लैजाने ? भन्ने हो । देशलाई अराजकतातर्फ लैजाने तत्वहरुसँग डराउनु पर्दैन । उद्योग धन्दा, ब्यापार, निर्यात सहज निर्वाध रुपमा अघि बढाउन सबै जनालाई आग्रह गर्न चाहन्छु । हामी कहाँ उद्यमका लागि नयाँ स्टार्ट अपका लागि सुरु गर्न आग्रह गर्न चाहन्छु । त्यसले तपाईहरुलाई स्वरोजगार बनाउँछ । र अरुलाई पनि रोजगारी दिन्छ ।
पर्यटन उद्योग र नेपाल भ्रमणका सन्दर्भमा
पर्यटन व्यवसाय अहिले धरापमा परेको छ । बिना तयारीका कारणले पर्यटन व्यवसायमा क्षति पु¥याएको छ । तर, सधै यहि अवस्था रहँदैन । सेवाका क्षेत्रहरु होटल व्यवसाय, पर्यटन व्यवसाय सबैलाई सुचारु गर्नेछौं । म विदेशी पर्यटकलाई आग्रह गर्न चाहन्छु नेपाल भ्रमणमा आउनुस्, यहाँ शान्त वातावरण छ । प्राकृर्तिक हिसावले आनन्द लिनुहोस् । हामीले वि.स. २०२५ लाई नेपाल भ्रमण वर्ष भनेका छौं । विश्वभरिका पर्यटन सम्बन्धी संघ संस्थाहरुलाई तिब्रताका साथ तयारी गर्न आग्रह गर्दछु । उद्यमी व्यवसायी, लगानीकर्ता सबैमा सहयोगका लागि आग्रह गर्दछु ।
वैदेशिक ऋण सम्बन्धमा
हामी ऋण थुपार्ने मनस्थितिमा छैनौं । तर, हामीले आफ्ना उत्पादनहरु बढाउनु परेको छ । आशावादी भएर हामी आफैले उन्नति गर्न परेको छ । साना देशहरु त्यसै विकसित भएका होइनन् । सन् १९६५, ९ अगस्तमा मलेसियाबाट छुट्टिएको देश सिंगापुर आज दुनियाको अगाडि चमत्कार गरिरहेको छ । जसको क्षेत्रफल हाम्रो देशको सानो जिल्ला जत्ति छ । डोल्पा र हुम्ला जत्ति पनि छैन । तर, विकसित छ । स्वीजरल्याण्ड नेपाल जस्तै भूपरिबेष्टित छ । तर, विकसित छ । विदेशी मित्रहरुलाई नेपालमा लगानी गर्नका लागि म आग्रह गर्न चाहन्छु । नेपालमा मजदूरसम्बन्धी कुनै समस्या छैन । हिजो अनुकूल थिएन होला । हामीसँग प्रयाप्त विद्युत थिएन ।
भौतिक पूर्वाधारको विकास सम्बन्धमा
नेपालमा पूर्वाधारको विकास भएको छ । जिल्लामा बाटोघाटो पुगेका छन् । जिल्लाका सदरमुकाम र हवाई मैदानहरु जोडिएका छन् । काठमाडौं र भैरहवामा अन्तर्राष्ट्रिय स्तर र पोखरा जस्तो शहरमा मध्यम स्तरको हवाई मैदान उपलब्ध छ । बिराटनगर र नेपालगञ्ज बिमानस्थलको अझै बिस्तार हुँदैछ । यसरी लगानीको वातावरण र विकासका प्रचुर सम्भावना नेपालमा छ । अतः युवाहरुलाई विकासका काममा सरिक हुनका लागि आग्रह गर्न चाहन्छु । हामी केहि समय अझै असहज अवस्थामा छौं । तर, स्वास्थ्य र शिक्षाका क्षेत्रमा धेरै विकासहरु भएका छन् । के ३० वर्ष अघि यस्ता राजमार्ग बनेर सुरुङ युगमा प्रवेश गरेको थियो ? टनेलबाट पानीको सिंचाई गर्ने व्यवस्था थियो ? अहिले नेपालका ७५ वटै जिल्लामा इन्टरनेट सेवा पुगेको छ । अहिले जस्तै कलेज र विद्यार्थीहरु पढ्ने अवस्था थियो ? पक्कै थिएन ।
एसईई परीक्षाको नतिजा सम्बन्धमा
अहिले एसईई परीक्षामा ४८ प्रतिशत विद्यार्थी मात्रै उत्तिर्ण भएका छन् । हामीले आगामी वर्ष त्यसका लागि राम्रो परिणाम ल्याउने कोशिश गर्नेछौं ।
चाहे जस्तो विकास भएन
हामीले अझै पनि चाहे जस्तो विकास हुन सकेको छैन । हिजोका दिनमा बाबुले हलो जोत्थे । छोराले पनि त्यहि सिकेका थिए । बेरोजगार थिएनन् । आज पढेलेखेका छन् । जानेबुझेका छन् । शिक्षा प्राप्ती भएपछि त्यसको प्रयोग गर्न चाहन्छन् । उत्पादन र आम्दानी गरी प्रतिफल लिन चाहन्छन् । त्यसैकारण उनीहरुमा असन्तुष्टि बढेको हो । ती जायज असन्तुष्टिहरु सम्बोधन गर्न सरकार तयार छ । सम्बोधन पनि गरिरहेको छ । निरासा फैलाउनेहरुलाई आशावादी बनाउने गरी सरकारले काम गरिरहेको छ ।
ढाँटबादलाई लोकप्रियतावाद
अहिले लोकप्रियताबादको नाममा ढाँटबाद हावी छ । मनपरी गर्ने लोकप्रियतावाद होइन । लोकप्रियताबाद भनेको दीर्घकालिन हिसावले भन्दा तत्कालै मान्छेलाई खुशी पार्ने गरी पुरै जिम्मेवार नभएर कम जिम्मेवारीका साथ काम गर्ने हो । राज्यले सम्बोधन नगरेका सुबिधा दिलाउँछु भनेर लोकप्रियता खोजिन्छ । झुठ बोलेर, अलमलमा पारेर, नभएका कुरा हो भनेर, नक्कली चिर्कटो देखाएर लोकप्रिय बन्ने गरिएको छ । त्यसको छिनोफानो हुन जरुरी छ । भ्रम फिजाएर सम्भव छैन ।
कार्यकर्तालाई एकतावद्ध हुन आग्रह
हामी नयाँ युगमा प्रवेश गरेका छौं । गुफाको जमानाबाट एआई को जमानामा आएका छौं । हामी महान बहादुर र विद्धान पुर्खाका सन्तान हौं । तर, नेपाललाई गरिब रहिरहँन नदिने गरी अघि बढ्छौं । हाम्रो प्रयाप्त खनिज तत्व, जलस्रोत, उर्वर भूमि भएको सुन्दर देश हो । यो सानो देशलाई अझ अगाडि बढाएर सुशासनयुक्त विकसित देश बनाइने छ । त्यसबाट हामी ‘समृद्ध नेपाल सुखि नेपाली’ बनाउने छौं । त्यसैले एमालेका कार्यकर्तालाई एकताबद्ध भएर लड्न आग्रह गर्न चाहन्छु । जस्तै सुकै सहि धार बोकेर अगाडि बढेपनि दुईतिर फर्केर तानातान गरियो भने लडाई जित्न सकिदैन । क्षति पुग्ने मात्रै अवस्था हुन्छ । त्यसकारण पार्टी संगठनभित्र अराजकता, अनुशासनहिनता, गटबन्दी जस्ता कुराहरु देश र आन्दोलनका लागि हानिकारक छ । देशलाई अघि बढाएर समृद्ध बनाउनु परेको छ, त्यसैले हामीले आफ्नो काँधमा आएका अभिभाराहरु पुरा गर्दै अनुशासित ढंगले सिंगो पार्टीलाई अघि बढानुपर्छ । देश भित्र र बाहिर ‘जहाँ नेपाली त्यहाँ एमाले’ भन्ने शुत्रलाई मनन गरिनुपर्छ । हामी बाहिर एक ढिक्का भएर अघि बढ्छौं । मेलमिलापका साथ अघि बढौं ।

