January 15, 2025

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

० बहुदलिय जनबाद भनेको ‘पेटी बुर्जुवा थिङकिङ’ होः झापा आन्दोलनका मूख्य कमाण्डर

मोहनचन्द्र अधिकारी, झापा आन्दोलनका मूख्य कमाण्डर
पश्चिम बंगालका कम्युनिस्ट नेता चारुमजुमदारको प्रेरणाबाट चर्चित झापा आन्दोलन सुरु गरिएको थियो । त्यसका मूख्य नायक हुनुहुन्थ्यो नेपालका ‘नेल्सन मण्डेला’ अर्थात मोहनचन्द्र अधिकारी । झापा आन्दोलनको नेतृत्व गरेकै कारणले उहाँ १७ वर्ष जेलजीवन बिताउँनुभयो । त्यसै गरी हालका प्रधानमन्त्री केपी शर्मा ओली त्यहि आन्दोलनमा सरिक हुँदा १४ वर्ष जेल जीवन बिताउनु भयो । बाबु नरोत्तम अधिकारी र आमा भवानी अधिकारीका सुपुत्र मोहनचन्द्र अधिकारीको जन्म २३ डिसेम्बर १९३७ मा काठमाडौंको डिल्लीबजार भएको हो । अधिकारीले २०२७ सालमा चर्चित झापा आन्दोलनको नेतृत्व गर्नुभयो । साथै उहाँ २०४९ सालको नेकपा एमालेको पाँचौं महाधिवेशनमा नौलो जनवादको नेतृत्व गर्नुभएको थियो । तर, मदन कुमार भण्डारीको जनताको बहुदलिय जनबाद महाधिवेशनबाट पारित भयो । राष्ट्रिय सभाको सांसद भएर एक कार्यकाल बिताउनुभएका अधिकारी इमान्दार, खरो र स्पष्ट विचार राख्नुहुन्छ । अधिकारीले जनताको बहुदलिय जनबादलाई ‘पेटी बुर्जुवा थिङकिङ’ भन्नुहुन्छ । झापा आन्दोलनका क्रममा लामो समय जेल जीवन बिताउनुभएका अधिकारीले २०४७ सालमा मदन पोखरा पाल्पाकी बालकुमारी खनालसँग विवाह गर्नुभयो । अहिले धर्मपत्नी बालकुमारी दुई छोराहरु डा. राघवचन्द्र अधिकारी र दिब्यचन्द्र अधिकारीका साथ काठमाडौंमा बस्नहुन्छ । अहिले नेकपाका नेताहरु बीच एक आपसमा घोचपेच र फुटको संघारमा पुगेको समाचार आइरहँदा उहाँ के भन्नुहुन्छ ? यसै विषयमा केन्द्रीत भएर डायरी एक्सप्रेस साप्ताहिकका कार्यकारी सम्पादक नारायण प्रसाद शर्माले पत्रकार श्यामराजा पाण्डेको सहयोगमा उहाँको निवास मोहनचन्द्र टोल, काठमाडौंमा गरिएको विशेष कुराकानीः

० जनताका जीवनसँग यसरी खेलवाड गर्न पाईदैन ।
० नेपालमा भ्रष्टाचार नाङ्गो अवस्थामा देखिएको छ ।
० मैले धेरै पटक यो सरकारलाई ‘बुर्जुवाहरुको सरकार’ भनेको छु ।
० माधव नेपाल र खड्क प्रसाद ओलीको हनिमुन चलेको बेलामा मलाई साठी वर्षको उमेरमा ‘बुढो’ भनेर पार्टीको जिम्मेवारीबाट हटाइयो ।
० देशमा यस्तो अवस्था आएको खास कारण नै बहुदलिय जनबाद नामको सिद्धान्तले हो ।

० हाम्रो नेपाली समाज त वर्गमै विभक्त छ ।
० अहिलेको टसल पनि बहुदलिय जनवादको हो ।

० झापा आन्दोलनका सहयोद्धा केपी शर्मा ओली प्रधानमन्त्री हुनुुहन्छ । अहिलेको अवस्थामा उहाँको कार्यशैलीलाई कसरी मुल्यांकन गर्नुहुन्छ ?
अहिलेको जे भइरहेको छ त्यो नहुनुपर्दथ्यो । हामीले जनताका पक्षमा आन्दोलन गरी उठाएका सवालहरु गाँस, बास र कपासको माग गर्दा भन्दा पनि अहिले जनताको अवस्था नाजुक छ । कोरोना भाइरस (कोभिड–१९)को महामारीले गर्दा राष्ट्र नै तहसनहस पारेको स्थिति छ । यो समयमा सबै जना नेताहरु मिलेर जनतालाई गाँस, बास र कपासको व्यवस्था मिलाउनुपर्दथ्यो । झण्डै दुई तिहाई मत पाएर चलेको सरकारले पनि यसरी जनताका लागि राहत दिन सक्तैन, निम्न वर्ग (हली गोठालाहरु)लाई राहत दिन सक्तैन, मजुदुरका भोकै रहेका बालबच्चाहरुलाई सम्झना हुँदैन भने अहिलेको सत्तापक्ष होस वा सरकारको विरोध गरेका प्रति पक्ष नै किन नुहन् कुनै अर्थ रहँदैन । जनताका जीवनसँग यसरी खेलवाड गर्न पाईदैन ।
० किन यस्तो भइरहेको छ त ?
संसारभरी नै बिभिन्न संगठनहरुले कम्युनिस्ट पार्टीहरु भनेर संगठन गरिएपनि कम्युनिस्ट आचरणमा चलेका छैनन् । सत्तामा पुगेपछि क्रान्ति हैन अझै भ्रान्ति फैल्याइएको छ । सिद्धान्त बिपरित वर्ग विश्लेषण र वर्ग संघर्षको कुरा नउठाई वर्ग समन्वयको कुरा उठाएको छ । वर्ग समन्वय भनेको नै बहुदलिय जनवाद हो । अहिलेको सरकार बहुदलिय जनवादमा आधारित हो । सरकारले बहुदलिय जनबाद मार्फत नै समाजवादमा पुग्ने भन्ने गरेको समाचार सुनेको छु । मैले देखेको कुरा के हो भने जसरी भएपनि सरकार वा गैर सरकार सबै मिलेर महामारीबाट जनतालाई पार लगाउनुपर्दथ्यो । खोप आउँछ भन्ने आशा दिलाएको पनि छ । हाम्रै देशमा खोप नभएपनि बिभिन्न औषधिहरु बनाउन सकिन्थ्यो । त्यसतर्फ ध्यान नै दिइएको छैन । खाली मैले सुने अनुसार पैसा कमाउन मात्रै अल्झिएको स्थिति छ । देशमा भ्रष्टाचार बढेको छ । जुन कुरा ट्रान्सपेरेन्सी इन्टरनेशनलले प्रतिवेदन सार्वजनिक गरेको छ । तर, सरकारले मान्यता दिएको छैन । खारेज गरे भनेको छ । तथापि नेपालमा भ्रष्टाचार नाङ्गो अवस्थामा देखिएको छ । अहिले जुन अवस्थामा पु¥याइएको छ, त्यसबाट कम्युनिस्ट पार्टीको सरकार हो भनेर म भन्ने सक्तिन । मैले धेरै पटक यो सरकारलाई ‘बुर्जुवाहरुको सरकार’ भनेको छु । अहिले पनि बुर्जवाहरुको समयमा जस्तै शोषण, दमन र अत्याचार भएका छन् । यो सरकारले जुन काम गर्नुपर्दथ्यो त्यसमा ध्यान दिएको छैन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पनि त्यहि हालतमा छ । पहिला सरकार चलाएका साथीहरु पनि कम्युनिस्ट आचरण अनुरुप सरकार चलाउन सक्नुभएन । आजसम्म कम्युनिस्ट पार्टीले जसरी सरकार चलाउनुपर्दथ्यो त्यो हुँदै भएन ।
हामीले जसरी हतियार बन्द भएर झापा आन्दोलन गरेका थियौं, त्यो स्पिरिटमा कोहि पनि देखिएन । मेरो साथीहरुसँग सधै गुनासो नै रह्यो । म के चाहन्छु भने पार्टी सुध्रियोस् र साथीहरुले आत्म आलोचना गर्दै एकतावद्ध भएर जानुपर्दछ । अहिले फुटको संघारमा पार्टी छ भनेर समाचार माध्यममा आएका छन् ।
दुबै पक्षका साथीहरु प्रधानमन्त्री भइसक्नुभएको छ । अहिले पनि खड्ग ओली प्रधानमन्त्री हुनुहुन्छ । दुबै पक्षका मिलेर जनताका सेवक बन्ने काम कारबाही हुँदै भएन । सत्ता पनि त्यसरी सञ्चालन भएन । सबै जना मिलेर जनताको सेवा गर्नुपर्ने र मिलेर जानुपर्ने अवस्थामा त्यो भएकै छैन । दान दाताब्यबाटै मानिसहरुले भोकोलाई ख्वाएका छन् । सत्तामा भएका कम्युनिस्टहरु सेवा दिनबाट किन बन्चित ? मिलीजुली जनताको सेवा गरौं भन्ने म आब्हान गर्दछु ।
० अहिले नेकपा फुट्को संघारमा छ । दुबै समूहबाट एक अर्काको आलोचनाका सबै विषय छरपस्ट पारेका छन् । तपाई के भन्नुहुन्छ ?
माधव नेपाल र खड्क ओलीको हनिमुन चलेको बेलामा मलाई साठी वर्षको उमेरमा ‘बुढो’ भनेर पार्टीको जिम्मेवारीबाट हटाइयो । मैले मेरो सवाल उठाएको होइन । अहिले पार्टी र सत्ताको जिम्मेवारी लिएका प्रायजसो साथीहरु ७० वर्ष नाघिसकेका छन् । जो सत्ता र गैर सत्तामा हुनुहुन्छ । उहाँहरुले धैर्यता पूर्वक काम गरेर बहुदलिय जनबादमा रहेको त्रुटि र कमजोरीलाई हटाएर कम्युनिस्ट अनुशासित र बर्गिय दृष्किोणले भरिपूर्ण बनाउनुपर्दथ्यो । त्यसरी आफ्नो सेवा जनतामा प्रस्तुत गर्नुपर्दथ्यो ।
० तपाईहरुको जस्तो अनुभवी आन्दोलनको कमाण्डर भएर आउनुभएका ब्यक्तित्वको नेताहरुले सुझाव लिने गर्नुभएको छैन ?
खोइ, सुझाव लिनुपर्ने आवश्यक्तै ठान्नुभएन । मेरो मत प्रति उहाँहरुले पुर्नविचार गर्नुभएन । देशमा यस्तो अवस्था आएको खास कारण नै बहुदलिय जनबाद हो । बहुदलिय जनबाद भनेको ‘पेटी बुर्जुवा थिङकिङ’ हो । पाश्चत्य मुलूकमा धनीहरुले ल्याएको पाखण्डी मानवअधिकारको कुरा हो । ओलीजीले पनि त मानवअधिकार हनन गरेको भन्दै प्रश्न उठेका छन् । हिजोको समयमा त उहाँहरुले पनि त मानव अधिकारको (क्रस डाउन) उलंघन गर्नुभएको थियो । मलाई के लाग्छ भने अहिलेको परिस्थितिमा सबैले आत्म आलोचना गरेर कति दिन ओलीजीले सुधारका निमित्त भनेर समय माग्नुहुन्छ ? दुई तिहाईको भएपनि सत्ता त सहज रुपमा चलेको छैन । यो अवस्थामा त सत्ता चलेको भन्न सकिदैन नी । जनताका पक्षमा केहि पनि भएको छैन । खाली भ्रष्टाचार मात्रै बढेको छ । ट्रान्सपेरेन्सी इन्टरनेशनलले दिएको रिपोर्ट सहि नहोला तर, भ्रष्टाचारले त डाँडा नै काटेको छ नी ?
० कम्युनिस्ट पार्टीको सरकार भनिएको छ हाम्रो देशमा आवश्यक पहिला फुड कि फ्रिडम ?
अहिले मुखले समाजबादको कुरा गर्ने तर, फुड पनि दिन नचाहने, समान अवसर पनि दिन नचाहने यो त समानताको कुरै भएन । वर्गको हिसावले हेर्नुपर्दथ्यो । सरकारले वर्गको हिसावले हेरेको छैन । हाम्रो नेपाली समाज त वर्गमै विभक्त छन् । त्यसकारण मलाई के लाग्छ भने खान नपाउनेहरुले सहज रुपमा खान पाउनुपर्दछ । र, खान सक्नेहरुले आफ्नो अभिव्यक्तिको स्वतन्त्रता पनि पाउनुपर्दछ । पहिला खाना त्यसपछि अभिव्यक्ति स्वतन्त्रता हो ।
० कम्युनिस्ट पार्टीका नेताहरु बीच एक आपसमा घोच पेच र रत्यौली चलेको छ । जनताका समस्या ज्यूका त्यू छन् । अन्तमा के भन्नुहुन्छ ?
मलाई के लाग्छ भने दुबै तर्फका साथीहरुले म मात्रै सहि छु भन्नेतर्फ नलाग्नुहोस् । यसरी कम्युनिस्ट एकता कायम गर्न सकिदैन । दुबैले एउटै रसी तानातान गरेर आगोको मुश्लो लिएर मैदानमा उत्रिँदा घर जल्छ । दुबै तर्फ संयमित हुनुहोस् । दुबै पक्षले कसरी दुई तिहाईको बहुमतिय सरकार चलाउने ? भन्ने तर्फ लाग्नुपर्दछ । हिजोका कतिपय अवस्थामा दुबै पक्षका साथीहरु एउटै सिद्धान्तमा हुनुहुन्थ्यो । सबै जनाले बिर्सेको कम्युनिस्ट आदर्शलाई पुनफर्केर जनताको सेवा गर्न आग्रह गर्दछु ।
अहिले दुबै पक्ष गम्भीर हुनुपर्दछ । फुटेर हामी कसैलाई पनि फाइदा छैन । पार्टी फुट्छ भनेर म कतै लाग्दिन, किनकी म नौलो जनवादी विचारको पक्षपोषण गर्दछु । मैले त नौलो जनबादी क्रान्तिबाट मात्रै देशमा समाजवाद आउँछ भन्ने मान्यता राख्छु । किनकी अहिलेको टसल पनि बहुदलिय जनवादको हो । अहिलेसम्मको यो दृष्टिकोण पनि सहि धरातलमा छ कि छैन ? किनकी अहिले सत्ताबाट बिमुख भएका साथीहरु हिजो सत्ता चलाउनुभएको थियो । सत्तामामा बस्दा कस्तो उन्माद आउँछ ? उहाँहरुलाई पनि अनुभव छ । जनताप्रति सेवाभाव राखेर काम गर्नुपर्दछ । अध्यक्ष कमरेड माओत्सेतुङ भन्नु भए ‘जस्तै जनताको सेवा गर’ मूख्य कुरा नै त्यहि हो ।

Copyright © All rights reserved. | Newsphere by AF themes.