September 14, 2021

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

ग्याँस उद्योेग नजिकका बस्ती कति जोखिममा ?


शिव कुमार थापा
अहिले काठमाडौं आउने मूख्य प्रवेशद्वार मानिने धादिङ जिल्लाका बिभिन्न ठाउँहरुमा काठमाडौं उपत्यकामा ग्यास बेच्ने लक्ष राखेर पृथ्वीराजमार्गको वरपर ग्याँस बोटलिङ प्लान्टहरु राखिएका छन् । यी प्लान्टहरु काठमाडौं र धादिङ जिल्लाको सीमाना पिपलामोड देखि महेश खोलाको किनार हुँदै त्रिशुलीको किनार चितवन जिल्लासम्म जोडिँदा आसपासका क्षेत्रहरुमा बिस्तारै उद्योग र कलकारखानाले भरिभराउँ हुँदैछन् । यि उद्योग मध्ये ग्याँस उद्योग (ग्याँस बोटलिङ प्लान्ट) हरु पनि ठाउँ ठाउँमा देख्न सकिन्छ । वास्तवमा यि ग्यास उद्योग नै होइनन् । यहाँ ल्याइने ग्याँसका उद्योग त भारतमा छन् । अहिले झण्डै पाँच दर्जनको संख्यामा रहेका ग्याँस उद्योगहरुका एक चौथाई बोटलिङ प्लान्ट त धादिङमा मात्रै छन् ।
नेपालमा देशभर नै गरी ४५ वटा भन्दा बढि ग्याँसले खाना पकाउने ग्यास बोटलिङ गर्दछन् । यो ग्याँस सिलिण्डर आफैमा अत्याधिक संवेदनशील र प्रज्वनशील पदार्थ हो । साथै आफैमा सहज रुपमा भित्राउन सकिने बम नै हो । यस्ता ग्याँस उद्योगहरु अनुमति लिँदा वा दिँदा मानव बस्तीबाट पाँच किमी टाढा हुनुपर्ने मापदण्डमा भनिएको छ । उद्योग स्थापना हुनु अगावै वातावरणीय प्रभाव मुल्यांकन गरेर त्यसको प्रतिवेदनका आधारमा स्वीकृत दिइनुपर्ने हुन्छ । साथै उद्योग नजिकै पानीको सुबिधा हुनुपर्ने सामान्य मापदण्डहरु छन् । तर, अहिले टड्कारो प्रश्न हामी सबैका सामु देखा परेको छ कि ग्यास उद्योगका सामु बस्ती बस्यो कि बस्तीको बीचमा आएर ग्याँस उद्योग स्थापना भयो ? यस प्रकारले स्थापना भएका ग्याँस उद्योगहरु कति सुरक्षित छन् ? उद्योगले सुरक्षाका लागि के कस्ता मापदण्ड पुरा गरेको छ ? राज्यका नियामक निकायले कत्ति संवेदनशील भएर अनुगमन गरिरहेका छन् ?
धादिङमा रहेको अधिकांश ग्याँसका बोटलिङ प्लान्टहरु बस्तीको बीचमा छन् । त्रिबेणी ग्याँस उद्योग, श्रीमाया ग्याँस उद्योग र श्री कृष्ण ग्याँस उद्योग बेनीघाट रोराङ गाउँपालिकाको बस्तीकै बीचमा रहेका छन् । गजुरी गाउँपालिका वडा नम्बर १ स्थित बीच बजारमा पनि ग्याँस उद्योग सञ्चालन गरिएको छ । त्यसै गरी गल्छी गाउँपालिकामा दुई वटा उद्योगहरु रहेका छन् । नमस्ते ग्याँस उद्योग पनि बजारकै छेउँमा छ । थाक्रे गाउँपालिका र धुनिबेशी नगरपालिका पनि ग्याँस बोटलिङ उद्योगहरु अत्यन्तै खत्तरा अवस्थामा बस्तीकै नजिक छन् । धार्के स्थित श्री र बाबा ग्याँस उद्योग तथा साल्ट ट्रेडिङ कर्पोरेशनको एसटिसी नामक ग्यास उद्योग खोलाकै किनारमा भएपनि बाक्लो बस्तीको नजिकै छ । यि दुई उद्योग पचास मिटरको दूरीमा छन् । धुनिवेशी नगरपालिकामा रहेका एचपी र सिद्धार्थ ग्याँस उद्योग करिब एक सय मिटरको दूरीमा छन् । जहाँ बस्ती एकदमै बाक्लो बस्ती पर्दछ । यहाँ ग्याँस कतै लिक भयो र आगलागी भयो भने कति मानवीय र भौतिक संरचनाको क्षति होला ? कल्पना गर्न सकिदैन । यसरी सिंगो बस्ती नै जोखिममा पारेर बस्तीका बीचमा उद्योग राखिएको छ ।
कतिपय ग्याँस उद्योगहरु भिरालो जग्गामा भूगर्विय अध्यनबिनै, कुनै परीक्षण नगरी स्थापना गरिएको देखिन्छ । त्यसै गरी काभ्रे साँगामा रहेको सगर ग्याँस उद्योग, उग्रचण्डी ग्याँस उद्योग एक ठाउँमा छन् । सूर्य ग्याँस नाला काभ्रेमा छ । शिवशंकर ग्याँस (हिमाल) बनेपा भैसेमा बस्तीको नजिकै रहेको छ । काठमाडौंमा बोटलिङ प्लान्ट रहेको नेपाल ग्याँस उद्योग बालाजु औधोगिक क्षेत्रभित्र रहेको छ ।
ग्याँस उद्योगमा आगलागी भएको खण्डमा नियन्त्रण गर्ने आधुनिक प्रविधि नेपालमै नभएको विज्ञहरु बताउँछन् । नेपालमा ग्याँसको प्रचलन सुरु भएको झण्डै ४५ वर्ष भइसकेको छ । यो अवधिमा १५ धेरै जनाकोे दूर्घट्नामा मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ मा रहेको सुपर ग्याँस उद्योगमा २०७४ पुस ५ गते बिहानै ६ बजेको समयमा ग्याँस लिक भएर भिषण आगलागी भयो । या भिषण आगलागी नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी तीनैवटा सुरक्षा निकायहरु खटिए । तथापि आगो नियन्त्रणका लागि मकवानपुरको हेटौडाबाट समेत दमकल मगाउनु परेको थियो । आगो नियन्त्रण गर्ने क्रममा एउटा दमकल जलेर खरानी नै भयो । दुई जना कामदारको पनि जलेर मृत्यु हुन पुग्यो । स्थानीय प्रशासनले चार पाँच किलामिटर परसम्मको बस्ती खाली नै गरायो । झण्डै आधा दर्जन कामदारहरु सख्त घाइते भए । हजारौं ग्याँसका सिलिण्डरहरु दिपावलीमा पटका पट्के जस्तै गरी पड्किए । यो आगो नियन्त्रणमा आउन नसकेपछि भारतको रक्सौलबाट केमिकल प्राविधिकसहित उपकरणहरु ल्याएपछि नियन्त्रणमा आयो । आगो नियन्त्रणमा आउँदासम्म उद्योग जलेर पुरै खरानी भइसकेको थियो । यसरी सिलिण्डर, बुलेट र अन्य भौतिक संरचनाहरु जलेर पुरै नष्ट भए । उद्योग पूर्ण रुपमा सञ्चालनमा आउन तीन वर्ष भन्दा बढि समय लाग्यो ।
वीरगन्जको सुपर ग्याँस उद्योेगमा आगलागी भएपछि सरकारले सुरक्षाका लागि विभिन्न मापदण्ड बनायो । ग्याँस उद्योगी शिव प्रसाद घिमिरेको संयोजकत्वमा बनाइएको छानविन प्रतिवेदन पनि सरकार समक्ष पेश गरियो । तथापि प्रतिवेदन कार्यन्वयन नभई सरकार मौन मात्रै बस्ने गरेको छ । जबसम्म अर्को दूर्घट्ना हुँदैन तबसम्म सरकार कुम्भकर्ण जस्तै अवस्थामा बस्ने नेपालको पुरानै प्रवृति चलिरहेको छ ।
ग्याँस विक्रेता महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र थापा भन्छन् ‘हाल बजारमा करोडको हाराहारीमा सिलिण्डरहरु छन् । शहर बजारको एउटा घरमा २० वटासम्म ग्यास सिलिण्डर रहेका छन् । एउटा उद्योगमा आगलागी हुँदा पाँच किमीसम्म असर गर्दछ भने एउटा घरमा आगलागी भएर २० वटासम्म सिलिण्डर पड्किदा कस्तो अवस्था होला ?’ उपभोक्तालाई जनचेतनाका लागि ग्याँस विक्रेता महासंघले सचेतनामूलक कार्यक्रमहरु गर्दै आएको छ । तथापि प्रयाप्त छैन थापाले भने । त्यसैले पनि ग्याँसका खुद्रा विक्रेताहरुलाई बेला बेलामा प्रयोग र यसबाट हुने जाखिम न्यूनिकरणका लागि सचेतना सम्बन्धी तालिम दिन जरुरी छ ।
बालाजुको नेपाल ग्याँस, धुनीबेशी नगरपालिकामा रहेका एचपी ग्याँस, एसटीसी ग्याँस वीरगञ्जको सुपर ग्याँस जस्तो दूर्घट्ना भएको खण्डमा परिस्थिति कस्तो होला ? उद्योग स्थापना भएका क्षेत्रमा सुरुको स्थापनाकालमा वातावरणीय प्रभाव मुल्यांकन गर्दा स्थानीयहरुलाई समय समयमा निशुल्क स्वास्थ्य परीक्षण गरिदिने, शिक्षाका लागि आवश्यक सहयोग गर्ने, स्थानीयहरुलाई रोजगारीका लागि उच्च प्राथमिकतामा राख्ने जस्ता आश्वाशन बाड्ने गरेका हुन्छन् । तर, जब उद्योग चलाउन सुरु गरिन्छ, स्थानीयहरुको पहुँच बाहिर हुन जान्छ । धुनिबेशी नगरपालिकामा रहेका एक ग्याँस उद्योग नजिकै घर भएका स्थानीय कोइराला थरका बासिन्दाले ग्याँस उद्योगीले स्थापना पूर्व दिएको झुठो आश्वासन सम्झदै यो पक्तिकारलाई बताएका थिए ।
नियमन निकायहरु वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभाग, नापतौल तथा गुणस्तर विभाग, जिल्ला प्रशासन कार्यालयहरु भने अनुगमन गरेको नक्कली बिल भर्पाई देखाएर भत्ता मात्रै जोड्ने काम गरिरहेका छन् । समस्याहरु चाहिँ ज्यूका त्यु छन् ।

Copyright © All rights reserved. | Newsphere by AF themes.