November 16, 2026

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

लुकाएर ल्याएको ६३६ ग्राम सुनजस्तो अर्धठोस पदार्थसहित एक ब्यक्ति पक्राउ

1 min read

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जाँचलाई छलेर अवैध रूपमा सुन भित्र्याउन खोज्ने एक चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। भन्सार छली गरी अवैध रूपमा भित्र्याउन लागिएको ६३५.९६ ग्राम सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित चीनको ग्वाङदोङ (Guangdong) स्थायी वतन भएका ४२ वर्षीय झान गुओकिङ (Zhan Guoqing) पक्राउ परेका हुन्।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचरका सह–प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) ढुण्डीराज नेउपानेका अनुसार, राहदानी नम्बर ईआर ७२८१७०१ (ER7281701) वाहक गुओकिङ वि.सं. २०८३ साल कात्तिक २९ गते बिहान अन्दाजी १०:३० बजे हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्स (Cathay Pacific Air) को उडानमार्फत काठमाडौँ ओर्लिएका थिए।

आगमन कक्षमा उनको हाउभाउ र गतिविधि शङ्कास्पद देखिएपछि विमानस्थलमा खटिएको सुरक्षा टोलीले उनलाई निगरानीमा राखी सूक्ष्म चेकजाँच गरेको थियो।प्रहरीले शरीर खानतलासी तथा विशेष जाँच गर्ने क्रममा गुओकिङले लगाएको भित्री वस्त्र (Underwear) भित्र अत्यन्तै चलाखीपूर्ण ढङ्गले प्लास्टिकमा बेरेर लुकाइछिपाई राखेको अवस्थामा पहेँलो रङको गोलाकार अर्धठोस पदार्थ फेला पारेको हो। बरामद गरिएको उक्त पदार्थ दुई थान रहेको र त्यसको कुल तौल अन्दाजी ६३५.९६ ग्राम रहेको विमानस्थल सुरक्षा कार्यालयले वि.सं. २०८३ कात्तिक ३० गते जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।पछिल्लो समय सुन तस्करहरूले विमानस्थलको एक्स–रे मेसिन र सुरक्षा जाँच छल्न ठोस सुनको सट्टा धुलो वा अर्धठोस (पेस्ट) स्वरूपमा परिणत गरी शरीरका संवेदनशील अङ्ग तथा भित्री वस्त्रमा लुकाएर ल्याउने प्रवृत्ति बढाएका छन्।

यही गिरोहको सञ्जाल र कार्यशैलीलाई निस्तेज पार्न विमानस्थल सुरक्षा कार्यालयले यात्रुहरूको निगरानी र जाँच प्रक्रियालाई थप कडाइ गरेको जनाएको छ।पक्राउ परेका चिनियाँ नागरिक गुओकिङ र बरामद गरिएको सुनजस्तो देखिने उक्त अर्धठोस पदार्थलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बरामद पदार्थको आधिकारिक परीक्षण तथा तस्करीमा संलग्न अन्य सम्भावित गिरोहको पहिचानका लागि आवश्यक कानुनी प्रक्रिया र थप अनुसन्धान भइरहेको डीएसपी नेउपानेले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.