November 15, 2025

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

चांगुनारायण नगरपालिकामा : बाटो नभएका ठाउँमा पक्की पुल अलपत्र

नगरपालिकाबाट बजेट बिनियोजन भईसम्मन्न गरिएको बाटो नै नभएको चानपा ९ ताथलीको पुल र नगरप्रमुख जीवन खत्री


विष्णु प्रसाद होमागाई
भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्बर नौ ताथलीको ठाडो खोलामा बाटो नभएको ठाउँमा पक्की पुल निर्माण गरिएको छ । यो पुल वडा पालिकाको कार्यालयबाट झण्डै पाँच मिनेटको पैदलयात्रामा पर्छ । यसरी राज्यकोषको दुरुपयोग गरिएको भएपनि हालसम्म कतैबाट प्रश्न उठेको छैन । नगरपालिकाले दुई पटक गरी २० लाख रुपैया बजेट बिनियोजन गरी यो पुल निर्माण गरिएको ईन्जिनियर अन्जन कुमार दुलालले बताएका छन् । चाँगुनारायण नगरपालिकाबाट विनियोजित बजेटबाट पुल निर्माण भएपनि बाटो चाहि छैन । पक्की पुलको कुरै छाडौं झोलुङ्गे पुल पनि नभएका कारण २०७८ साल साउन १५ गते दार्चुला जिल्लाको ब्यास गाउँपालिका वडा नम्बर २ स्थित मालघाटमा भारतीय पक्षले तुईन काट्दा दार्चुलाका २६ वर्षिय जय सिंह धामी महाकाली नदीमा खसेर वेपत्ता भए । अत्याआवश्यक ठाउँमा झलुङ्गे पुलसमेत हाल्ने बजेट नहुँदा नेपालका कतिपय नदीहरुमा असुरक्षित तुईनमा यात्रा गरेका कारण कैयौं नेपालीहरुले अल्पकालमा ज्यान गुमाउनुपरेको छ । अहिले वैदेशिक र आन्तरिक गरी २६ खर्ब ९ अर्ब ऋण नेपाल र नेपालीको काँधमा छ । यसरी २०७८ सालको पछिल्लो जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार चार सय ८० छ । यसरी ९२ हजार एक सय ४७ रुपैया ऋण प्रति व्यक्ति पर्न जान्छ । राज्यले कर्मचारीलाई तलब खवाउनका लागि विदेशी ऋण माग्नु पर्ने अवस्थामा बाटो नभएका ठाउँमा पुल हालेर चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले ‘कहिँ नभएको जात्रा हाडीगाउँमा’ भन्ने उखान चरितार्थ गराएका छन् । यो पुल नगरप्रमुख जीवन खत्रीको चाहनामा एमालेका स्थानीय नेता श्रीकण्ठ खड्का र नेपाली कांग्रेसका स्थानीय नेता पुस्कर खत्रीको जोडबलमा बनाइएको बुझिएको छ । उक्त पुल निर्माणका लागि एमालेका स्थानीय नेता खड्काकै अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको थियो ।
गोरखा नगरपालिका–३ नारेश्वर र सिरानचोक गाउँपालिका–५ जरेबर जोड्ने दरौदी नदीमाथि पाँच करोड रुपैयाँ भन्दा बढी लगानीमा पक्की पुल निर्माण भएको थियो । जहाँ बाटो नै थिएन । गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले विनियोजन गरेको रकमबाट सो पुल निर्माण भएको हो । गण्डकी प्रदेशका तत्कालिन भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले आफू मन्त्री हँदा सो पुलको लागि बजेट विनियोजन गरेका थिए । अहिले रकम विनियोजन गर्ने अधिकारीहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कारबाहीमा परिसकेका छन् ।


बाटो नभएको ठाउँमा बनेको पुल सम्बन्धमा के भन्छन् इन्जिनियर दाहाल
सुरुमा कल्भर्ट र वाल निर्माणका लागि रकम विनियोजन भयो । त्यहाँ बाटो थिएन । पुल निर्माण गरेपछि बाटो खोल्छौ भनेर पुल बनाउन स्थानीयले दवाव दिए । तर, बाटो हालसम्म पनि बनेन । यो त कानूनी रुपमा नै दुरुपयोग भएन भन्ने प्रश्नमा इन्जिनियर दाहालले भने ‘यो पुल मापदण्डमा त भएन । तर, हामीले दवाव थेग्न सकेनौं’ । नौ नम्बर वडाध्यक्ष गणेश त्यातका अनुसार आफुले उक्त ठाउँमा पुल निर्माण गरिनु हुँदैन भनेर विरोध गर्दा गर्दै पनि सुनुवाई नभएको गुनासो गरे । त्यात नेपाल मजदूर किसान पार्टीकातर्फबाट उम्मेदवार भएर वडाध्यक्षमा निर्वाचित भएका हुन् भने नगरप्रमुख नेपाली कांग्रेसकातर्फबाट उम्मेदवार भई निर्वाचित भएका व्यक्ति हुन् ।


हचुवामा अनाआवश्यक कर्मचारी भर्ना
संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) का अनुसार कति जना कर्मचारीको नगरपालिकामा दरबन्दी हो ? र हाल कति स्थायी, करार र ज्यालादारी कर्मचारीहरु आवश्यकता छ ? त्यो विषयमा कुनै गम्भीर छलफल बिना र कुनै प्रतिवेदन बेगर नै झण्डै दुई सय कर्मचारीहरु आफ्नो कार्यकालको तीन वर्षको यो अवधिमा नगरप्रमुख खत्रीले जागिर ख्वाएका छन् । एक जना विज्ञका अनुसार खरिदार वा नासुबाट जागिर सुरु गरेका कर्मचारीहरुले झण्डै ३० वर्षको आफ्नो कार्यकालमा तीन करोड रुपैया तलब र भत्ताका लागि राज्यको व्ययभार पार्ने गरेको बताउँछन् । तथापि नगरप्रमुख खत्रीले कसरी हुन्छ आफ्ना कार्यकर्तालाई जागिर ख्वाउने एक पक्षिय योजनामा छन् । नगरपालिकामा झण्डै डेड दर्जन शिक्षकहरु बाहिर जिल्लाबाट सरुवा गरि ल्याइएका छन् ।
नेपाली कांग्रेस निकट भंगिनी संगठनमा आवद्धहरु पहिलो प्राथमिकतामा छन् । पछिल्लो समयमा करारमा कर्मचारी हुनका लागि तोकादेश मात्रै नभएर पुग्दैन तह अनुसार एक महिना र दुई महिनाको तलब कमिसन बापत दिनुपर्ने नियम जस्तै नै बनाइएको एक कर्मचारीले खुलासा गरेका छन् । नगरपालिकाको बजेटबाटै तलब खाने गरी बिभिन्न विद्यालयमा ३१ जना शिक्षक जागिरमा राखिएका छन् । जबकी विद्यार्थीको संख्याको अनुपातमा ६७ जना शिक्षक बढि भएको प्रतिवेदन दिइएको थियो । अहिले नगरपालिकामा विज्ञ देखि सल्लाहकारसम्म जागिरमा जसरी पनि नियुक्ति लिने होडबाजी नै चलिआएको छ ।


आउने नगरप्रमुखलाई फलामको चिउरा बन्दै
नगरप्रमुख खत्रीले करारमा राखेका कर्मचारीहरुका कारण आगामी कार्यकाल अति नै कठिन बन्दैछ । साधन र स्रोतबाट तलब भत्ता ख्वाएर विकास बजेट शून्यमा झर्ने अवस्थाका कारण नगरपालिकाको अवस्था दयनीय बन्न सक्ने चाँगुनारायण नगरपालिकाका बासिन्दाहरुले चिन्ता व्यक्त गरेका छन् । नेपालमा विभिन्न संघ संगठनको आवरणमा जोडिएर ज्यालादारी, करार र अस्थायीमा कार्यरत कर्मचारीहरु हटाउन फलामको चिउरा चपाउनु बराबर मानिन्छ । अहिले संघमा मात्रै २०÷२२ हजार कर्मचारीहरु दशौं वर्ष देखि करारमा जागिर खाइरहेका छन् ।


रकमान्तर गरी करोडौं रकम कोटेशनमा काम
नगरप्रमुख खत्री र उपप्रमुख बुढाथोकीको मिलेमतोमा झण्डै पाँच करोड रुपैया गत आर्थिक र्वा २०८०÷०८१ को असार तेस्रो सातामा रकमान्तर गरी पाँच र १० लाखको योजना बनाएर अग्रिम कमिसन लिई असारे विकास गरेको नगपालिकाकै एक जना कर्मचारीले खुलसा गरेका छन् । यसरी ऐन कानून बिपरित काम भइरहँदा पनि स्थानीय बुद्धिजिबीहरु चुइक्क बोलेका छैनन् ।
नगरपालिकामा एक जना वडाध्यक्ष राप्रपा अर्का नौ नम्बर वडाका अध्यक्ष नेमकिपाका अधिकांश नेपाली कांग्रेसका कार्यकर्ताहरु भएपनि उपप्रमुख रमेश बुढाथोकी र प्रमुख खत्रीबीच निर्वाचन अघि नै अधिकार शेयरिङका विषयमा सम्झौता भएको बुझिएको छ । नेकपा एमाले भक्तपुरका अध्यक्ष बचन देउजाका दाहिने हात मानिएका उपप्रमुख बुढाथोकीले पार्टीको पक्षमा भन्दा पनि नगरप्रमुखका स्वकीय सचिव गोबिन्द थापाको सल्लाहकारको रुपमा काम गर्ने गरेका छन् । गोबिन्द थापा नेपाली कांग्रेसको तर्फबाट तीन नम्बर वडामा वडाध्यक्षको उम्मेदवार बनेर पराजित भएका पात्र हुन् । त्यसैकारण नगप्रमुख खत्रीले उपप्रमुख बुढाथोकीलाई राजस्व समितिको प्रमुख पनि बनाएका छन् । नगरप्रमुख खत्री र उपप्रमुख बुढाथोकी मिलेर नै चार चार करोड रुपैया बाड्ने सम्झौता गरिएको थियो । जस अनुसार अग्रिम कमिसन रकम माग गरी कोटेशनमा योजना बनाएर पाँच लाख र १० लाखका दरमा रकम बाडिएको हो ।


डोजर आतंक भएको भन्दै उपप्रमुखको हारगुहार
उपप्रमुख बुढाथोकीले भक्तपुरको चाँगुनारायण नगरपालिकाको मुख्य चुनौती ‘डोजर आतंक’ देखिएको भन्दै पत्रकार सम्मेलनमा हार गुहार गरेका थिए । नगरपालिकामा अवैध प्लटिङ चलाउने र त्यसका लागि डोजर आतंक हुने गरेको उपप्रमुख बुढाथोकीले बताएका छन् । नगरपालिका क्षेत्रभरि माटो ओसारपसार गर्ने र अवैध रूपमा बालुवा निकासी नियन्त्रणमै बितेको उनले गुनासो गरेका थिए । नगरपालिकामा अवैध चलेका डोजर नगर प्रहरीले पक्राउ गरेपछि साँचो लिन नगरपालिका आउँदा एउटा डोजर बराबर ५० हजार जरिवाना तिर्नुपर्छ ।’ यसरी एक वर्षमा २० औ लाख जरिवाना मात्रै उठेको बताएका छन् । तर, नगरप्रहरी र प्रमुखका स्वीकयहरुमार्फत अवैद्य रुपमा चोरी तस्करी भइरहेको छ । यो कार्यबाट लाखौ रुपैया गैर कानूनी आम्दानी नगर प्रमुखको सचिवालयमा जम्मा हुने गर्दछ । त्यसैकारण केहिलाई पक्राउ गरिएको नाटक मञ्चन गरी तस्करी धन्दा नै चलाइएको स्रोतले उल्लेख गरेको छ ।


कर्मचारीहरु पनि नातागोता मात्रै
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाइँ नगरका प्रवक्ता जनक खत्रीका भाइका ससुरा हुन् । नेपाली कांग्रेस मात्रै नभएर नाता सम्बन्ध पनि भएका कारण उनको योग्यता पुगेको कारण नगरपालिकामा प्रशासकीय पदमा सरुवा गराएको बताईन्छ । नगरपालिकामा प्रशासन प्रमुख सुरज पौडेल नेपाली कांग्रेस निकट कर्मचारी युनियनका भक्तपुर जिल्लाका निवर्तमान अध्यक्ष हुन् । त्यसै गरी सूचना अधिकारी अनुप लामिछानेलगायतका अधिकांश कर्मचारीहरु नगरप्रमुख खत्रीको इशारामा नाच्ने गर्दै आएका छन् । तथापि उनी आफ्ना दाहिने हातका रुपमा रहेका स्वकीय सचिव गोबिन्द थापा र गोकर्ण पुरीकै भरमा दुनो सोझ्याउने काममा अग्रसर भएको पाइन्छ ।
नगरपालिकामा आर्थिक सहयोगका रुपमा रकम लिने कार्यकर्ताहरुकै घुइचो लाग्ने गर्दछ । पार्टीका कार्यकर्ताहरुले कार्यक्रम बनाएर आएका कारण उनीहरुलाई आर्थिक सहायता दिने गरेको नगरप्रमुख खत्रीले डायरी एक्सप्रेस साप्ताहिकलाई बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.