एकदेव आले र नेपालको कम्युनिस्ट आन्दोलन
एउटै कम्युनिस्ट पार्टीको निर्माणबारे के भन्छन् नेताहरु ?
कम्युनिस्ट क्रान्तिकारी एकदेव आलेको ५६ औं स्मृति दिवसको अवसरमा शनिवार काठमाडौंमा एक प्रवचन गोष्ठीको आयोजना गरियो । प्रवचन कार्यक्रममा नेपालमा अस्थित्वमा रहेका केहि कम्युनिस्ट घटकहरुका नेताहरुले सम्बोधन गरेका थिए । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञावली, नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष पूर्व उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम, नेकपा मालेका महासचिव सीपी मैनाली, उक्त प्रवचन गोष्ठीमा नेकपा (वहुमत) का महासचिव क. धर्मेन्द्र वास्तोला, नेकपाका सहसंयोजक हरिकृष्ण गजुरेल, नेकपा (मशाल) का संयोजक , विमल शर्मा, नयां जनवादी मोर्चाका सल्लाहकार , उदय अधिकारी र एकदेव आले प्रतिष्ठान वुटवलका अध्यक्ष रामलाल काफ्ले, एकदेव आलेकै प्रभावमा कम्युनिस्ट राजनीतिमा सक्रिय तुलसा थापा, डिबी कार्कीलगायतका नेताहरुको उपस्थिति रहेको थियो । कम्युनिस्ट नेताहरुले एकदेव आलेको नेपाली कम्युनिष्ट आन्दोलनमा अतुलनीय योगदान रहेको धारणा राख्दै दलाल संसदीय व्यवस्थाको अन्त्य गरी जनवाद हुंदै वैज्ञानिक समाजवादी राज्य व्यवस्था स्थापनामा जोड दिए । प्रतिष्ठानले सबै कम्युनिस्ट पार्टीका नेताहरुलाई एउटै मञ्चमा राखेर मोर्चागत भएपनि कम्युनिस्ट पार्टीका बीच सहकार्यको वातावरण बनाउन प्रयास गरेको देखिन्थ्यो । कार्यक्रमको सभापतित्व प्रतिष्ठिानका अध्यक्ष विष्णुभक्त सिग्देलले गरेका थिए । त्यसै गरी सचिव नेत्र रानाभाटले धन्यवाद ज्ञापन गरेका थिए ।
को थिए एकदेव आले ?
वि.स. १९८० साल असार २३ गते बुवा पहलसिंह आले तथा आमा बेधीमाया आलेको चौथो सन्तानका रुपमा तनहुँको मानङ डाडाको मगर गाउँ अर्चलथोकमा जन्मेका एक देव आले १५ वर्षको कलिलो उमेरमा बृटिश सेनामा भर्ति भएका थिए । उनले दोस्रो विश्व युद्धमा बेलायतको तर्फबाट जर्मनी, इटाली र जापानमा गएर लडेका थिए । विश्व युद्धको समाप्ती पछि फेरी बोलाउँला भन्दै बेलायती सेनाबाट आलेलाई सेवा मुक्त गराइए । नेपाल आएपछि आलेले भाग्य होइन कर्मको बलमा उभिनुपर्छ भन्ने विचारको प्रचार गरे । नेपालमा राणाशासनको विरुद्धमा जेहाद छेडेको शहीदहरु धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, दशरथ चन्द र गंगालाल श्रेष्ठको नाम सुनेर उनीहरुकै विचारबाट प्रभावित भए र त्यसपछि भारतीय स्वतन्त्रता संग्राम चलिरहेको हुँदा सुभाष चन्द्र बोसको आजाद हिन्द फौजमा संलग्न भए । त्यसपछि २००७ सालमा राणाशासनको विरुद्धमा गरिएको आन्दोलनमा तत्कालिन विद्रोही मुक्ति सेनामा कमाण्डरको भूमिकामा रहिँ वीरगञ्ज र तनहुँको बन्दिपुर कब्जा गरे ।
राणाशासनको अन्त्यपश्चात दिल्ली सम्झौताका विरोधी आले किसान आन्दोलनमा लागे । उनलाई ‘जमिन कस्को जोत्नेको, घर कस्को पोत्नेको’ भन्ने नाराले छोयो । । पश्चिमका कमाण्डर डा. के.आई. सिंहले पनि दिल्ली सम्झौताको विरोध गरेका थिए । त्यो समयमा मुक्ति सेनाको ठूलो समूह दिल्ली सम्झौताको विरोधमा थियो । रक्षा दलका जवानहरुले सरकारको नीति विरुद्धमा २००८ साल माघ १८ गते रातको १२ बजे राजधानी काठमाडौंमा विद्रोह गरे यो विद्रोहका संगठक नै आले थिए । उनले सामन्तहरुको विरुद्धमा आन्दोलनको जेहाद छेडिरहेको कारण राज्य नै खनिएर जेलमा थुन्यो । २०१८ साल माघ १८ गते पाल्पा जेल ब्रेक गरी भारतको बनारसमा निर्वासन जीवन बिताए । भारतको गोरखपुरमा प्रवासी नेपालीहरुलाई संगठित गराएर कम्युनिस्ट पार्टीको संगठन निर्माणमा अहोरात्र खटिए । आले नेपाल कम्युनिस्ट पार्टीको तेस्रो महाधिवेशनबाट केन्द्रीय कार्य समितिको सदस्यमा निर्वाचित भए । नेपालको कम्युनिस्ट आन्दोलनमा जुट्दा छोटो समयमै क्यान्सर रोगले थला पा¥यो । र २०२६ साल माघ १२ गते ४६ वर्षको उमेरमा उनको निधन भयो ।
देशभक्त कम्युनिस्टहरु मिलेर क्रान्ति गरेको खण्डमा मात्रै देशमा आमुल परिवर्तन गर्न सकिन्छ
सिपी मैनाली, पूर्व उपप्रधानमन्त्री तथा महासचिव नेकपा माले
क्रान्तिकारीहरुले स्वतन्त्रतापूर्वक गणतन्त्रमा जाने अवस्था थिएन । त्यो अवस्थामा हाम्रो क्रान्तिको बाटो के हुन सक्छ ? बल प्रयोग आफ्नो ठाउँमा छ । त्यसको निस्कर्ष के हो ? भन्ने करा हामी सोचेनौं । नेपाली क्रन्तिको विकास र विजयी भन्ने विषयमा हामीले पुस्तक प्रकाशन गरेका छौं । त्यसमा लेखिएको छ समस्त नेपाली क्रान्तिको बल प्रयोगको बाटो जनआन्दोलन, जनविद्रोह र अल्पकालिन सशस्त्र आन्दोलन हुन्छ भन्ने राखिएको छ । त्यसमा माधव नेपालसहित हामी सहमत भएर अघि सारिएको थियो । तर, हामी त्यहि बाटोमा हिड्न सकेनौं । हामी त्यो बाटोमा नहिडेका कारण स्वाभाविक रुपमा क्रान्ति प्रतिको अस्थिरता आयो । बाह्रय साम्राज्यवादी शक्तिहरुलाई ठीक ढंगले चिन्न सकेनौं ।
परिवर्तनहरु कति राम्रा र कति नराम्रा छन् भनेर छुट्टाउन सकेनौं । यसैकारण संविधान निर्माण पश्चात हामी अहिले पनि पाँचौं चरणमा छौं । त्यसो त २०४६ सालपछि हामी दलहरुले नै सत्ता चलाएका हौं । हाम्रो पालामा राष्ट्रियता, अर्थतन्त्र झनै कमजोर बन्यो । ६०÷७० लाख युवाहरु विदेश निर्यात भए । हामीले आफ्नै साधन र स्रोत खर्चेर देश विकासमा लगाउन सकेनौं । साच्चिकै भन्ने हो भने हामी दलहरुले नै राष्ट्रियतामा, अर्थतन्त्रलगायतमा प्रतिगमन ग¥यौंं । यस्ता काम किन भए ? हामीमा अधैर्यता, मनोगतवाद थिए । २०४६ र २०५३ सालका परिवर्तनलाई ठीक ढंगले विश्लेषण गरेनौं । बाटो हिड्ने क्रममा गरेका त्रुटिका कारण भद्रगोल अवस्थामा आएका छौं । यो अवस्थामा सुपर स्ट्रक्चर जनताको पक्षमा कसरी ल्याउने ? अहिले पनि हामीले राजतन्त्र जाने बित्तिकै जनअधिकारको कुरा हुन्छ भन्नु नै गलत हो । चीनमा १९११ मा नै गणतन्त्र आएको थियो । गणतन्त्र आएपछि १९२१ मा मात्रै कम्युनिस्ट पार्टीको स्थापना भयो । १९२३/२४ पछि मात्रै जनवादी क्रान्ति सुरु भयो २५ वर्ष लगाएर क्रान्ति पुरा भयो । राजतन्त्र जानु र जनवादी व्यवस्था आउनु एउटै हो भन्ने कुरालाई चीनको अनुभवले नै देखाउँछ । हिजो सामान्तवाद अघि, दलाल पुँजीवाद पछि पछि थियो । हामीले क्रान्तिका दुश्मन भनेर यिनै दुई वर्गलाई भन्ने गर्दथ्यौ । अहिले देशभित्र दलाल पुँजीवाद र सामान्तवादी प्रवृतिहरु छन् । नवपुँजीवाद र बाह्य शक्तिहरु हावी छन् । देशमा नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकारमा गएका छन् । उनीहरु मिलेको खण्डमा बाह्य शक्ति हावी हुन सक्तैनन् । तर, उनीहरु फुटाउनमा बाह्य शक्तिले बल लगाएका छन् । त्यसैले यो सरकारको पक्षमा बहुमतै भएपनि ढल्नमा पनि आइतवार कुर्नुपर्दैन । किनभने यहाँ बाह्य शक्ति हावी छ । हाम्रा विरोधी शक्तिहरु भनेकै दलाल पुँजीवाद, सामान्तवादी प्रवृति देशको विरोधी शक्तिहरु हुन् । यी शक्तिलाई माक्र्सवादीहरुले सहि तरिकाले निरुपण गरेको खण्डमा मात्रै हामीले हाम्रो क्रान्तिको बाटोलाई ठीक ढंगले अघि बढाउन सक्छौं । एकचोटी जनगणतन्त्र नत २००८ सालमा आयो ? नत २०५२ सालमा आयो ? देशभक्त कम्युनिस्टहरु मिलेर क्रान्ति गरेको खण्डमा मात्रै देशमा आमुल परिवर्तन गर्न सकिन्छ । हामी के गल्ति गरेका छौं ? कम्युनिष्टहरु बसेर छलफल गर्न जरुरी छ । हामी मनोगत शिकार भयौं । बाह्य शक्तिलाई कमजोर ठान्दा उनीहरुको शिकार भयौं । यस्ता कमजोरीलाई सच्चाएर सत्तामूखी राजनाीति र भ्रष्ट चरित्र विरोधी राजनीतिलाई साझा कार्यक्रम बनाएर सबै देशभक्त कम्युनिस्टहरु मिलेर खाडलबाट देशलाई निकाल्न सकिन्छ ।
सरकारमा हुँदा वा भूमिगत भएर राजनीतिमा लाग्दाको समयमा किन नहोस् क्रान्तिकारी आचरण हुनै पर्दछ
युवराज ज्ञावली, पूर्व मन्त्री तथा उपाध्यक्ष नेकपा एमाले
एकदेव आले एक जना गरिब परिवारमा जन्मिएका मानिस बृटिस सेनामा भर्ति भएर विश्वयुद्धमा लडेका हुन् । उनी नेपाल फर्किएर आएपछि सामान्त विरोधी आन्दोलनमा लाग्छन् । त्यसपछि जेल पर्छन् र जेलबाट बाहिरिनका लागि जेलमा बिद्रोह हुन्छ । हतियार उठाएर युद्ध लड्छन् । २०१५ सालको निर्वाचनमा उम्मेदवार भएर चुनाव लड्छन् । उनले निर्वाचनमा किन भाग लिए ? निर्वाचनमा भाग लिनु पनि एउटा वर्ग संघर्षको रुप हो । लडाई हो तर, त्यो ब्यालेटबाट हुन्छ । यसरी ब्यालेटको लडाईमा समाजवादले जित्छ कि अर्कोेले जित्छ भन्ने हो । लेनिन र माओत्सेत्ुङका रचनाहरु हामीले पढिसकेका छौं । त्यसैले नेपालको कम्युनिस्ट आन्दालनमा ठूलो अन्तर छैन । किनकी सबैजना चुनाव लड्नु भन्नुपर्छ । धेरै जना नेताहरु सांसद, मन्त्री, उपप्रधानमन्त्री र प्रधानमन्त्री नै भइसक्नुभएको छ । निर्वाचनलाई वर्गसंघर्ष मानिरहँनुभएको छ । बहुमत ल्याउने भन्नु हुन्छ । तथापि बाटो एउटै हो समाजवादीमा पुग्ने अलिकता मतभेद परिवारमा पनि हुन्छ । दुईजना श्रीमान् र श्रीमती बसिरहेका ठाउँमा पनि विवाद हुन्छ । त्यहाँ पनि विरोधाभास हुन्छ । अलिकति अन्तविरोध हुँर्दै छ भने पनि सानै विषयमा झगडा हुन्छ । कहिले मर्ने बाच्ने संगसंगै भनिएको छ । न सिद्धान्त न नीति न अन्य केहि ?
५० वर्ष देखि कम्युनिस्ट पार्टी लाग्दा यस्ता विषय थाह पाइएको छ । पार्टी मिलाउन सकिएन भने संयुक्त मोर्चा बनाउँ । हामीसँग धेरै उपयाहरु छन् । कम्युनिस्ट पार्टीको दुई तिहाईको सरकार बनेकै हो नि ? विश्व कम्युनिस्ट आन्दोलनमा ठूलो महत्वकाक्षा, छ । ब्यालेटको लडाईमा समाजवादले जित्छ कि पँुजिवादले भन्ने विषयमा धेरै बाजी तोडिएछन् । ब्यालेटको राजनीतिमा गएपछि बहुमत ल्याएर सबै जनाको डक्मेन्ट लिएर पढ्न थाल्ने हो भने नेपाल र विश्वमै मिल्ने नसक्ने किन हो । बुर्जुवा पार्टीहरु भन्दा कम्युनिस्ट पार्टीहरु फुट्नुका कारण हामीमा जडशुत्रबाद छ की ? मनोबादवाद हावी कि ? संगीर्णता हावी छ कि ? कहिले गला मिलाएको छ । कहिले मर्ने र बाँचे पनि संगै हो भनिएको छ । न सिद्धान्त न नीति न केहि विचार बाँकी नै छ । नेपालको कम्युनिस्ट आन्दोलनमा पुष्पलाल देखि हालसम्मका नेताहरुको चरित्र देख्दै भोग्दै आएको अवस्था छ । संगै बस्न नसक्ने, नमिल्ने वित्तिकै सारा छाड्ने काम नगरी मिल्ने जत्ति मिलाउँन । पार्टी मिलाउन नसकेको खण्डमा संयुक्त मोर्चा बनाउँ । अनेक उपयाहरु जीबितै छन् । ज्ुन सम्भव छ । त्यो काम गर्न पनि सकिन्छ । राम्रो उपलब्धि हासिल गरेपछि भत्काउँछौं । नेपाली कम्युनिस्ट आन्दोलनमा एकदेव आले, पुष्पलाल श्रेष्ठ जस्ता योद्दाहरुले संघर्षको परिणाम स्वरुप आजको उपलब्धि प्राप्त आएको हो भन्ने विषयलाई भुल्नु हुँदैन । उहाँहरुको आदर्शका कारण आजको अवस्था आएको हो । हामी कम्युनिस्टहरु मिलेको खण्डमा बहुमतको सरकार पनि बन्न सक्छ । सरकार बनाउनु नै कम्युनिस्टहरुको गल्ति भन्ने हो ? के को लागि लडाई हो त ? सरकार बनाएपछि कम्युनिस्ट पार्टीका नेताहरु बिग्रने अवस्था छ त्यसलाई सच्चाउने उपया के हो ?
वैद्यानिक संघर्षमा लडेको बेलामा क्रान्तिकारी हुनुपर्ने र सरकार चलाएको समयमा क्रान्तिकारी हुनुनपर्ने हुन्छ र ? हामी हरहमेशा चाहे जेलमा बसेको बेला, युद्ध लडेको बेला, सरकारमा बसेको बेला, मन्त्री प्रधानमन्त्री वा राष्ट्रपति भएको बेला किन नहोस् क्रान्तिकारी नै भइरहँनुपर्छ । क्रान्तिकारीको विचार, मूल्य मान्यता, आचरण र व्यवहार कायम गरिरहँनुपर्छ । होइन भने सर्वसाधारण जनता र कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताबिच के भिन्नता भयो र ? तपाई जहाँ पनि, जुनसुकै संघर्षमा पनि क्रान्तिकारी आचरण र नैतिकताका साथै क्रान्तिकारी आचरण र दृष्टिकोण हुनैपर्दछ । अन्यथा भाषणमात्रै गरेर नारा लगाएर केहि अर्थ रहँदैन । चाहे सरकारमा भएको बेला होस् वा भूमिगत भएर राजनीतिमा लाग्दाको समयमा किन नहोस् क्रान्तिकारी आचरण हुनै पर्दछ । त्यो च्युत भएकै कारण यो अवस्था आएको हो । खाली लेखेर, भाषण गरेर वा नारा लगाएर केहि उपलब्धि हुँदैन । समाजवादको आधार तयार गर्ने कि कार्यक्रम नै लागू गर्ने ? समाजवाद कार्यनीति हो कि रणनीति पनि हो ? यसरी नै छलफल गरेको खण्डमा निष्कर्षमा पुग्न सकिन्छ ।
संकीर्णतालाई परित्याग गर्ने हो भने कमसेकम अहिले वामपन्थीहरुको मोर्चा बनाएर अघि बढ्नुपर्छ
नारायणकाजी श्रेष्ठ, पूर्व उपप्रधानमन्त्री तथा वरिष्ठ उपाध्यक्ष ,नेकपा माओवादी केन्द्र
एकदेव आले जस्ता क्रान्तिकारी योद्दाहरुले नेपालमा कम्युनिस्ट पार्टी निर्माण र संघर्षका प्रक्रिया अगाडि बढाएर आफुलाई समर्पित गराएका कारण आज यी उपलब्धिहरु हासिल भएका छन् । उपलब्धिहरुको रक्षा गर्ने र बाँकी कार्यभार पुरा गर्न अघि बढ्न म अपील गर्दछु । हामीले आज एकदेव आले प्रति श्रद्धाञ्जली अर्पण गरिरहँदा दुईवटा मुलभूत कुराहरु भुल्नु हुँदैन । पहिलो कुरा माक्र्सवाद कुनै भिन्न सिद्धान्त होइन । यो मूलभुत रुपमा दृष्टिकोण र पद्धति हो । यो लागू गर्ने क्रममा माक्र्सवादको विकास गर्दै जानु पर्छ ।
दोस्रो क्रान्ति कहिल्यै पनि शुद्ध हुँदैन । जसले शुद्ध क्रान्तिको कल्पना गर्छ, उसले कहिल्यै पनि क्रान्ति देख्न पाउँदैन । यी दुईवटा कुरालाई आत्मसात गरेको खण्डमा हामी सहि दिशातर्फ जान सकिन्छ । एकातिर माक्र्सवादलाई जडशुत्र मान्ने अर्कोतिर आधारभूत वैज्ञानिक दृष्टिकोण नै परित्याग गर्ने अवस्था छ । अर्कोतिर क्रान्तिलाई शुद्धतामा हेर्ने, हराभरा र जीवन्ततामा, हेर्ने प्रवृति छ । त्यसबाट अहिलेको अवस्थामा क्रान्तिको चरण र हाम्रो कार्यभार बनेको छ । नयाँ जनबादी क्रान्तिलाई नै लक्ष्य बनाएर नेपालमा कम्युनिस्ट पार्टीको स्थापना भएको हो । सुरुमा जनताको जनबाद भनियो । हाम्रो रणनीतिक लक्ष्य नयाँ जनवाद देखियो । फेरी पनि नयाँ जनवादी क्रान्ति गर्नुपर्छ भनेर छलफल गर्नु एकदमै दुःखदायी अवस्था हो । नेपालमा सामान्तवाद विरोधी क्रान्ति आधारभूत रुपमा सम्पन्न भयो कि भएन ? त्यसको आदर्श मोडेल नयाँ जनवाद हो । जसको नेतृत्व कम्युनिस्ट वा सर्वहारा वर्गले गर्छ । सामान्तवाद आधरभूत रुपमा अन्त्य भएको छ तर, त्यसका अवशेषहरु बाँकी नै छन् । शान्तिपूर्ण रुपमा अघि बढ्नुपर्छ भन्नेहरुको पनि बुझाइमा समस्या छ । शान्तिपूर्ण प्रतिस्पर्धामा अघि बढ्नु भनेको बहुदलिय प्रतिस्पर्धामा सिमित हुनु भनेको हैन ।
सरकारको मोर्चा पनि सम्हालेर जान सकिने अवस्थामा आफैले संघर्ष गरी ल्याएको संविधानसभाबाट बनेको संविधान र समाजवादको आधार निर्माण गर्ने सम्भावना भएको समयमा क्रान्तिको बाटोमा कुरा गरेर साम्राज्यवादलाई काम गर्न नदिने स्थिति बनाउनु हुँदैन । अहिलेको मूल कार्यनिीति समाजवाद उन्मुख समृद्धि बनाउनुपर्छ । साथै सामाजिक न्यायसहितको समृद्धि बनाउनुपर्दछ । समाजवादी क्रान्ति सम्पन्न गर्ने, समाजवादको निर्माण गर्ने वा समाजवादतर्फ संक्रमण गर्ने जुन सम्भावना हुन्छ त्यसरी नै समाजवाद निर्माण गर्नुपर्छ । समाजवाद उन्मुख लक्ष्य हासिल गर्न सरकार, सदन र सडक गरी तीनै मोर्चामा समन्वयका साथै लक्ष्यमा केन्द्रीत होऔ, त्यसको निमित्त सबै वामपन्थी मिलौ । समाजवादको विषयमा ठूलो बहस छ तर, वामपन्थी भने पनि समाजवाद चाहिएकै छैन । जहाँ पार्टी एकीकरण गर्न सकिन्छ मिलौ, संयुक्त मोर्चा गठन गर्न सकिन्छ भने पनि मोर्चा बनाऔं वा कार्यगत एकता गर्न सकिन्छ भने पनि गरौं ।
संकीर्णतालाई परित्याग गर्ने हो भने कमसेकम अहिले वामपन्थीहरुको मोर्चा बनाएर अघि बढ्नुपर्छ । तीनवटै मोर्चामा वाम हस्तक्षेप प्रभावकारी ढंगले अघि बढाउनुपर्छ । देख्दा देख्दै अवसर बिताउने हामीहरु नै छौं । नेपालमा आफैले बनाएको संविधान छ । समाजवाद उन्मुख राज्य प्रणाली र अर्थतन्त्रको कुरा गरिन्छ । त्यस्तो संविधान लागू गरेर सामाजिक र आर्थिक रुपान्तरणलाई समाजवाद उन्मुख दिशातर्फ जाने सम्भावनालाई पक्रेर नेकपा बनाएर दुइतिहाई बनाएर अघि बढियो । त्यसपछि आफैले बुझायौं, कस्लाई दोषदिन जाने ? त्यसका निमित्त कम्तिमा वैज्ञानिक समाजवादका बारेमा बहस गर्दै जाऔं ।
जनतालाई समृद्ध र सुखी बनाउनका लागि पनि कम्युनिस्ट पार्टी नै चाहिन्छ ।
माधव कुमार नेपाल, पूर्व प्रधानमन्त्री तथा अध्यक्ष नेकपा एकीकृत समाजवादी
नेपालको वामपन्थी आन्दोलनमा एउटा गौरवशाली योगदान गर्नुभएका एकदेव आलेको प्रतिष्ठानले उच्च मुल्यांकन गरेको छ । मान्छे फरक फरक किसिमका हुन्छन् । जसले देश र समाजका निमित्त भूमिका निर्वाह गर्छन् र जीवन नै समर्पण गर्छन् त्यस्ता ब्यक्तिहरु हाम्रो मन र मस्तिकबाट बिर्सनु हुँदैन । हामीले प्रेरणा प्राप्त गर्नुपर्दछ । अधुरो सपनालाई साकार पार्नुपर्दछ । एकदेव आले जुझारु र लडाकू मान्छे हुनुहुन्थ्यो । असल कार्यका लागि देश र जनताका लागि आफुलाई सुम्पनुभयो । त्यसका निमित्त कम्युनिस्ट आन्दोलनमा समर्पण हुनुभयो । त्यसका निमित्त देशमै मर्ने चाहनालाई शरीरले साथ दिएन । यस्ता योद्धा अहिलेको समयमा कमै पाईन्छ । उहाँको योगदानलाई सम्झेर नयाँ पुस्तामा सम्प्रेषण गरौं । उहाँले देखाएको बाटोमा जाने संकल्प गरौं ।
तपस्या, त्याग र मिसन देश र जनताका निमित्त हुनुपर्दछ । अहिलेको राजनीतिमा थुप्रै विसंगतिहरु छन् । नेपालमा थुप्रै पुराना कम्युनिस्ट योद्धाहरुकै कारण कम्युनिस्टको भविश्य राम्रो छ । तर, त्यो प्रभाव कम्युनिस्ट पार्टीमा मात्रै नभएर राजनीति प्रति नै बितिष्णा पैदा भएको छ । कम्युनिस्ट पार्टीहरु एकतावद्ध भएर अघि बढेको भए, कम्युनिस्ट पार्टीले अचम्मको परिवर्तन गर्न सकिने थियो । जनताले चाहे बमोजिमको परिवर्तन हुने थियो । देश र जनताको समस्यालाई जसले सम्बोधन गर्छ जनताले उसैलाई सम्मान गर्छ । देश संकट र समस्यामा छ भने कम्युनिस्ट पार्टी चाहिन्छ । साथै देशमा परिवर्तन गर्नु छ भने पनि कम्युनिस्ट पार्टी चाहिन्छ । समाजलाई यथास्थितिमा नराखि समतामूलक र न्यायपूर्ण बनाउनका लागि पनि कम्युनिस्ट पार्टी चाहिन्छ । जनतालाई समृद्ध र सुखी बनाउनका लागि पनि कम्युनिस्ट पार्टी नै चाहिन्छ । यी उद्देश्यलाई पुरा गर्नका लागि समाजवादी आन्दोलनलाई अघि बढाउन चाहिरहेका छौं ।
कम्युनिस्ट पार्टीका उद्देश्य पुरा गर्नका लागि पुष्पलालले तीनवटा कुरा गर्नुभएको थियो । पहिलो राष्ट्रियताको जगेर्ना गर्ने । दोस्रो लोकतन्त्रको पक्षमा दृढताका साथ उभिने । तेस्रो जनताका पीरमर्कालाई सम्बोधन गरी जनजिबिकाको समस्यालाई हल गर्ने । यी तीनवटा उद्देश्यहरु पुरा भएका छन् । अहिले राष्ट्रियता माथि समय समयमा प्रश्न उठेको छ । समाजमा अहिले पनि भेदभाव, छुवाछुत, महिला हिंसा ब्याप्त छ । अनेक प्रकारका शोषण, दमन र बेरोजगारी छन् । युवाहरु विदेश पलायन भएका छन् । जनशक्तिहरु छैन । नेपालका कृषि भूमिमा उत्पादनका लागि जनशक्तिको अभाव छ । कृषि क्षेत्रमा आत्मनिर्भर हुन सकिन्थ्यो त्यसका लागि राज्यले जुनसुकै प्रकारका नीति अबलम्बन गरेर पनि हल गर्नुपर्दथ्यो । त्यसप्रति गम्भीर भएको खण्डमा मात्रै हाम्रा अग्रजले देखाएको बाटोमा पुग्न सकिन्थ्यो ।





