बंगलादेश भ्रमण मेरो संस्मरणमा
सत्यनारायण भगत बिन्द (निषाद) संविधानसभा सदस्य तथा पूर्वमन्त्री, नेपाल सरकार
कार्यक्रम ः– “चिया जनगोष्ठी भाषा ,संस्कृति , साहित्य महोत्सव” मौलवी बजार
मेरो विचारमा भाषा, साहित्य र संस्कृति मानव जीवनको सबैभन्दा उत्कृष्ट एवं सुन्दर पक्ष हुन् । मानव जीवनको पहिचान, चेतना, छवि, मूल्य, मान्यता, विचार, दृष्टिकोण र सामाजिक दर्शन सहित एक प्रकारको ऐना जस्तै हुन् । भाषा र साहित्य ज्ञानको स्रोत हो भने संसारलाई जोड्ने दक्ष इन्जिनियर पनि हुन् । कला, साहित्य, संस्कृति, भाषा, शिक्षा, श्रमको अथक परिश्रम, त्याग र बलिदानले रंगीन रंगहरुबाट रंगिएर जीवन्त राखिएको हुन्छ । यसलाई जीवित राख्नु प्रत्येक मानवजातिको मुख्य कर्तव्य र दायित्व हो । यसलाई सामाजिक विकासको पहिलो पाइला पनि भन्न सकिन्छ । सामाजिक एकता र राष्ट्र निर्माणको लागि सामाजिक सद्भाव सहित उत्तम कलात्मक विज्ञान पनि हो । त्यसैले भाषा, संस्कृति, साहित्यलाई सामाजिक ज्ञानको सर्वोच्च कमाण्डर पनि भन्न सकिन्छ । बंगलादेशमा राखिएको त्रिदेशिय यस्तो उत्कृष्ट र ज्ञानबर्धक कार्यक्रममा सहभागी हुन पाउँदा हामी खुशीले गदगद हुँदै नेपाली भूमिबाट स्वीकृति लिएर बंगलादेश भूमि तर्फ प्रस्थान ग¥यौं ।
बंगलादेश सी.जे.यु. नामक संस्था एवं बीन उन्यन परिषद को अध्यक्ष श्री सीताराम बिनद्वारा आयोजित त्रिदेशिय नेपाल , भारत, बंगलादेश को कार्यक्रम २०२४ मार्च ३ मा “भाषा, साहित्य, सांस्कृतिक महोत्सव” र साथै २०२४ मार्च ४ मा आयोजित “पहिलो त्रिदेशीय बीन जनजाति आदिवासी सम्मेलन बंगलादेश” को प्रमुख अतिथिको रूपमा निमन्त्रणालाई मैले प्रेमपूर्वक स्वीकार्देै मेरो नेतृत्व मा म नेपाल सरकारको नेतृत्वमा मेरो स्वकिय सचिव जितेन्द्रप्रसाद बीन साथै संचारकर्मी रेडियो नेपालका उपमहानिर्देशक, पत्रकार भीम घिमिरे, रेडियो हिमालयनको संस्थापक प्रबन्धक संचालक बुद्धि बहादुर विश्वकर्मा सहित चारजनाको हाम्रो टोली स्थलमार्ग हुदै बंगलादेश प्रस्थान गरेका थियौं । यस कार्यक्रममा भारत विहारका पूर्व कृषि निर्देशक गणेश कुमार बिन्द जी, नेपालका तर्फबाट निषाद संघका अध्यक्ष रघुनाथ साहनी, ओमसतिया गाउँपालिकाको पूर्व मेयर हिरा केवट राहुल र विहारका भाजपा नेता लभ किशोर निषाद विशेष अतिथि को रूपमा आमन्त्रित थिए । तर कुनै कारणले, तिनीहरू जान सकेनन् । हामीले स्थल मार्गबाट बस यात्रा सुरु ग¥यौं र २०२४ मार्च १ गते बिहान ९ बजे काकडभिटाबाट अध्यागमन सकेर चिया खाजा खाएपछि भारतको पश्चिम बङ्गालको पानी ट्याङ्की अध्यागमन पुग्यौं र त्यहाँवाट फुलबारी अध्यागमनबाट एक्जिट इमिग्रेसन लिएर बंगलादेश प्रवेश ग¥यौं । यसबीच, निकै रमाइलो नेपाली ड्राइभर प्रेम प्रधानले आफ्नै गाडीमा हामीलाई यात्रा गराउँदै फुलबारी सम्म हामीलाई पु¥यायो । हामीसँगेै खाना खाएर हामीलाई मुस्कानका साथ शुभकामना अभिवादन गर्दै बिदा गरे र पुनः फर्किने बेलामा ल्याउने गरी आग्रह गर्दै फर्किए ।
अब हामी हाम्रो टोली बंगलादेश र भारतको बोर्डरमा एक थान स्मरणीय तस्बीर लिएर बंगलादेशको भूमि अर्थात् बंगलादेशको सिमानामा रहेको अध्यागमन कार्यालय पुग्यौं र बंगलादेश भ्रमणका कागजातहरू मिलायौं । त्यहाँ जाने क्रममा बंगाली भाषा बोल्ने एकजना युवक हामी कहाँ आएर अध्यागमन, बसको टिकट आदिको बारेमा सोधपुछ गर्न थाले र इमिग्रेशनमा सहयोग ग¥यो र गोप्य रुपमा केही पैसा पनि लियो । र साथै उनी सञ्चार सम्पर्कका लागि फर्काउने सर्तमा एक थान सिमकार्ड पनि उपलब्ध गराए । यसैबीच, हामीले ढाकाबाट चिकित्सा शिक्षा पूरा गरेका धनुषावासी नेपाल कै डा. विक्रान्त महासेठसँग बंगलादेशको अध्यागमन कार्यालयमा भेट्यौं र हाम्रो चिनजान भयो । डाक्टर साहेबसँगको हाम्रो चिनजानले यात्रामा सहजता महसुस हुन थाल्यो ।
अब साँझ ६.५० बजे हाम्रो यात्रा बंगलादेशको राजधानी ढाकातर्फ सुरु भयो । सुर्यास्त र अँध्यारोको वीचमा लुकामारी गर्दै अँध्यारो हाबी हुँदै टिलिक्क टल्केको ताराहरूले स्वागत गर्दै हाम्रो गाडी अगाडि बढ्यो । करिब १३ घन्टाको लामो यात्रापछि हामी ढाका पुग्यौँ र कार्यक्रम आयोजकसँग फोनमा कुराकानी भयो, उहाँको सल्लाह अनुसार ढाकामा एउटा लज बुक गरि बास बस्यौ । दुई तीन घन्टा नबित्दै हामीलाई आयोजकबाट फेरि खबर आयो कि तपाईँहरू मौलबी बजार आजै आउनुभएको भए राम्रो हुने थियो । भोलिको कार्यक्रमको तयारीको लागि राम्रो हुन्थ्यो । त्यसपछि हामी मौलबी बजारको लागि तयार भयौं। त्यतिबेला बेलुकी ४.३० बजिसकेको थियो । डाक्टर साहबले हामीलाई छाडेर जानुभएको थियो, भाषाको अप्ठ्यारो थियो र हामी कुन स्टेशनबाट मौलवी बजार जाने हो थाहा थिएन, ढाकामा एकजना साथीले हामीलाई रिसिभ गर्ने भन्ने थियो, उनले फोनमा सम्पर्क गरे तर भेट भएन । यस अवधिमा हाम्रो मनमा धेरै उथलपुथल भयो, त्यसपछि मैले नेपाली दूतावासको राजदूतसँग फोनमा कुराकानी गरे र उनको सहयोगमा हामी सजिलैसँग मौलवी बजार सम्म पुग्ने सार्वजनिक यातायातको चौकमा पुग्यौँ र त्यहाँबाट बसको टिकट लिएर छ घण्टा को यात्रा पछि हामी गन्तब्यमा पुग्यौ । त्यहाँ आयोजक टोलीका अध्यक्ष सीताराम बीन, अगुवा नेताहरू सन्दीप यादव, सञ्जय पासी, पुरन उराव, बनानी म्याडम, बंगलादेशका वरिष्ठ पत्रकार तथा कोलोमोनिष्ट जनाव मीर अब्दुल अलीम, पश्चिम बंगाल भारत निवासी प्राध्यापक डा. प्रदिप अधिकारी सहित पचासौ जना युवाहरूले हामीलाई हार्दिकतापूर्वक स्वागत गरे र मौलवी बजारको एउटा प्रसिद्ध रेष्टुरेन्टमा खाना खुवाउन लग्यो , त्यहाँ केहीबेर हाम्रो बीच केहि कुराकानी पनि भयो, त्यसपछि खाना खाएर हामी सरकारी अतिथि गृह अर्थात् सर्किट हाउसतर्फ प्रस्थान गर्यौ ।
३ मार्च २०२४ विहानै सर्किट हाउसका पदाधिकारीहरुद्वारा पुष्पगुच्छा दिएर भव्य स्वागत गरि चिया र नास्ताको अनुरोध गरियो । त्यसपछि आयोजक साथीहरुसँग सामाजिक मनोविज्ञान, भाषा, संस्कृति र सामाजिक अन्तरविरोधका विषयमा केही बेर छलफल भयो । त्यसपछि हामी कार्यक्रम स्थलतर्फ लाग्यौं, कार्यक्रम स्थलमा पुग्दा हजारौं जनताले भव्य स्वागत गरेका थिए । अब त्रिदेशीय कार्यक्रम औपचारिक रुपमा सन्जित यादव जीले सञ्चालन गरेका थिए । बंगलादेशको राष्ट्रिय धुन र गीत, भारतको राष्ट्रिय धुन र गीत, त्यसपछि नेपालको राष्ट्रिय धुन र गीत बजाएर भव्यताका साथ स्टेज कार्यक्रम सुरु भएको थियो । सुरुमा मुस्लिमहरूको ध्वनी अलजान र पछि हिन्दुहरूको मूलमन्त्र गीता पाठवाट कार्यक्रम शुभारम्भ भयो । कार्यक्रमको अध्यक्षता श्री सीताराम बीन, प्रमुख अतिथिमा म सत्यनारायण भगत बिन्द (निषाद), विशेष अतिथि, बंगलादेशका राष्ट्रिय पार्टीका सांसद मोहम्मद जिलिलु रहमान, त्यसैगरी विशेष अतिथिका रूपमा नेपाल, भारत, बंगलादेशका विभिन्न प्रतिष्ठित व्यक्तित्व, सुरक्षा अधिकारी, शिक्षाविद्, अधिकारकर्मी, साहित्यकार, कलाकार, लेखक, आतिथ्य कार्यक्रमपछि गीतकार तथा सञ्चारकर्मी हरूको विधिवत रूपले आतिथ्य आशनग्रहण पछि आयोजक द्वारा स्वागत मन्तव्य र गीत, फूलको गुच्छा र दोसल्ला ओढाएर स्वागत गरिएको थियो ।

यो उत्कृष्ट कार्यक्रममा हरेक जातिय पहिचान, साँस्कृतिक पहिचान, पहिरनको महोत्सव मनाउने कार्यक्रम थियो । आ–आफ्नै अनुपम सौन्दर्य, मनमोहक दृश्य र जातिय पहिचानले कलात्मक ढंगले सजाइएको थियो । बीसौ हजारभन्दा बढीे नागरिकको उपस्थितिले मानिसको महासागर झैँ उर्लिरहेको थियो । सञ्चारकर्मीको क्यामेराले हामीतिर पटक पटक हेरिरहेको थियो । यो साँच्चिकै एक किसिमको सौन्दर्यले भरिपूर्ण “भाषा, साहित्य, कला संस्कृतिक को मञ्च” थियो जसले बंगलादेशको भूमिबाट आफ्नो सुन्दर सभ्यता र भव्यताले आफ्नो अमिट छाप छोडेर नेपाल, भारत र बंगलादेशको छवि विश्वभर नै फैलाई रहेको थियो । आफ्नो कला, गीत, नृत्य र पहिचान सहित त्यो दृश्य हेर्दा शालीनता, सभ्यता र भव्यताले भरिएको पर्व साँच्चै नै स्मरणीय, अनुकरणीय र सामाजिक चेतनाले भरिपूर्ण थियो भन्ने लाग्छ । उक्त कार्यक्रममा मैले बंगलादेशको सम्मानित संस्था “चा जनगोष्ठि संगठन” को तर्फबाट सामाजिक राजनैतिक कार्यकर्ताको हैसियतमा एक जनाले मात्रै पाउने अवार्ड “मौलाना भसानी अन्तर्राष्ट्रिय अवार्ड २०२४” त्यो मैले पाउने सुअवसर प्राप्त गरें र आफुलाई गौरवान्वित महसुस गरे । यो मेरो सामाजिक राजनैतिक जीवनको महत्वपूर्ण एवं गौरबपूर्ण क्षणको रूपमा लिए । र साथै सम्मान पत्रबाट सम्मानित पनि भए ।मायालु स्मरण शिल्ड र दोसल्ला ओढाएर सम्मान पनि ग¥यो । म सँगै जानुभएको पत्रकार भिम घिमिरे, बुद्धि बहादुर विश्वकर्मा र जितेन्द्र प्रसाद बीनलाई पनि मायाको चिनो र दोसल्ला ओढाएर समान गरियो । त्यसपछि, बंगलादेशका वरिष्ठ पत्रकार तथा कोलोमनिष्ट फोरमको महासचिव जनाव मीर अब्दुल आलीमले मलाई मार्च ५, २०२४ मा दुइटा पत्रिकाको वार्षिकोत्सव र अर्को टेलिभिजन च्यानलको उद्घाटनका लागि दुई कार्यक्रमका लागि प्रमुख अतिथिको रूपमा मलाई आमन्त्रित गर्नुभयो ।
कार्यक्रम तीनै देशका लागि अविस्मरणीय उदाहरण बनेको छ । प्रत्येक जातजातिको गीत, संगीत, कविता र कलात्मक प्रस्तुति सहित समापन भएको थियो । त्यसपछि खाना खाएर हाम्रो समूह सर्किट हाउस पुग्यो । र केही समयपछि शमशेरगञ्ज गाउँमा बीन जातिको शुभ विवाह समारोहमा उपस्थित भई बरबधु लाई सुखी दाम्पत्य जीवनको शुभ आशीर्वाद दिने मौका पायो । त्यो वैवाहिक समारोह नेपाल वा भारत भन्दा फरक केहि देखिएन, गीतमंगल एउटै थियो, डाला, मौर, संस्कार, आनीबानी सबै उस्तै उस्तै थियो, भोजपुरी भाषा सुनेर मलाई त लाग्यो हामी बंगलादेशमा होइन, आफ्नै देश र गाँउमा भएको महसुस भयो र अनुभुति भयो । बंगलादेशमा धर्मको हिसाबले, इस्लाम (मुस्लिम), अल्पसंख्यक हिसावले हिन्दू, बौद्ध, सिख र ईसाई को पनि उपस्थिति रहेको बुझियो । हाम्रो टोली जहाँ गए पनि मिश्रित जातजाति को बसोवास हिन्दु मुस्लिम र सबै मुलका जातजातिहरू भेटियो जस्तै ः– यादव, बीन, मलाह, बनिया, तेली, कलवार, नुनिया, स्वरनकर, पासी पासवान, चमार रविदास, उराव, राजवंशी, कुर्मी, कानु, नाई, , लोहार, बढई, कहार, कोल्ह, ताजपुरिया, मोची, नेपाली, ब्राह्मण, भुमिहार, धोबी, अमात, मण्डल, खाट्बे, कुम्हार, लोधि, केवट, गंगोई, तुरहा, तात्मा, डोमी आदि जातजातिको उपस्थिति रहेको जनाइएको छ । ती मध्ये अधिकांश भारतको उत्तर प्रदेश, विहार, मध्य प्रदेश, पश्चिम बंगाल र नेपालबाट आएर बसोवास गरेका हुन् ।
२०२४ मार्च ४ मा नेपाल, भारत र बंगलादेशको पहिलो त्रिदेशीय बीन जनजाति सम्मेलन शम्सेरगंजमा दुर्गामन्दिरको प्रागणमा भव्यताका साथ, सम्मेलन, सामाजिक सद्भाव, प्रगति उन्नति, राजनैतिक पहुँच, शिक्षा, त्रिदेशीय संबन्धलाई जिवन्त निरन्तरता दिने आशा र विश्वासका साथ भव्य रूपले संम्पन्न भयो । समाजको विकास, शिक्षा, राजनीति, आपसी सहयोग र सद्भावका को नारा सहित अध्यक्ष सीताराम बीनको अध्यक्षतामा सन्दीप बीनको संचालन र नेपालका तर्फबाट मेरो प्रमुख आतिथ्यमा, पत्रकारहरूको विशिष्ट आतिथ्यमा हजारौं नागरिकको उपस्थितिमा भव्य रुपमा सम्पन्न भएको थियो । वहाँहरूले हाम्रो टीमलाई बंगलादेशको प्रतिकात्मक मायाको चिनो र हामी ले नेपाली मायाको प्रतिकात्मक चिनो एक आपसमा साटासाट गर्देै कार्यक्रम समापन भएको थियो । त्यसपछि हामी सीतारामजीको गाउँमा गएर त्यहाँको संस्कृति, भाषा र जीवनशैलीबारे अध्ययन गर्न पाएँ । केहि बेर एउटा झिलमा घुम्ने र मनमोहक चिया बगानमा आनन्दित मनले घुम्ने मौका पायौ र रात्रीको खाना खाएर हामी फेरि त्यहि सर्किट हाउसतर्फ लाग्यौँ ।
२०२४ मार्च ५ गते बिहान ढाकाको अल रफी अस्पतालमा अस्पतालका अध्यक्ष अब्दुल अलीम सरसँग सितलोखा टी. भि., जे.जे.टी.भि. अनि धेरै पत्रकार साथीहरुबाट सम्मानपूर्वक स्वागत र सँगै चिया–नास्ता खाएपछि उनीहरु संगै रूपगंज प्रेस कलव ढाकातर्फ लागे । त्यहाँको सरकारी अधिकारीहरू ढाकाको सयौं पत्रकार हरू उपस्थित थिए । प्रहरी उपरीक्षक, समाजसेवी तथा अधिकारकर्मीहरुको उपस्थितिमा न्यानो स्वागत गरिएको थियो । त्यसपछि दुइवटा पत्रिकाको बर्थडे केक काटेर दुई प्रतिष्ठित पत्रिकाको वार्षिकोत्सव मनाउने अवसर प्राप्त भयो । दुवै पत्रिकाको सत्य, तथ्य निरन्तर सामाचारको संप्रेशनको लागि शुभकामना दिदै नेपाल र बंगलादेशबीचको मित्रता, विद्युत व्यापार, अन्य कृषि व्यापार र दुई देशबीचको आपसी सद्भावनाका विषयमा शिष्टाचारमूलक छलफल भएको थियो । र त्यहाँबाट हाम्रो समूह मिर अब्दुल आलिम सरको नेतृत्वमा एक जना सिनियर पत्रकार को पितृभोजमा सामेल भयो । केही समयपछि बंगलादेश विश्वविद्यालयका उपकुलपति प्रोफेसर समिम आरा हसन म्याडमको आयोजनामा धेरै प्राध्यापक र ऊर्जा विदहरूको उपस्थितिमा दुईटै देशको शिक्षानीति र ऊर्जा उत्पादन तथा व्यवस्थापन, व्यापार नीतिबारे चासोका साथ शिष्टाचार भेटघाट तथा छलफल भयो । त्यसपछि बंगलादेशको ढाका मै एक भव्य कार्यक्रमका बीच नयाँ लंच गर्न लागेको “खेला टिभी” को सार्वजनिकिकरण एवं उद्घाटन मैले गर्ने अवसर पाए । र त्यहाँबाट राष्ट्रिय प्रेस क्लवका संयुक्त महासचिव आयुव भुइँयानको निमन्त्रणामा हाम्रो टोली बंगलादेशको राष्ट्रिय समाचार एजेन्सीको मुख्य कार्यालय पुग्यो र बंगलादेश भ्रमणको औचित्य, भौगोलिक वातावरण, सांस्कृतिक विविधता, जातीय मनोविज्ञान, विद्युत व्यापार, बंगलादेश र नेपाल बीचको स्थलमार्गको सहजता । विषयमा सौहार्दपूर्ण छलफल भयो र साथै हामीहरू उहाँकै आयोजनामा रात्रिभोजमा उपस्थित भयौ ।
अन्त्यमा बंगलादेशको भ्रमण मेरो लागि उत्कृष्ट र अद्वितीय सम्झना भयो । किनभने एक साताको भ्रमणमा हामीले भौगोलिक परिवेश, भाषा, संस्कृति र मानिसहरूको आनीबानीलाई नजिकबाट चिन्यौं । धानबारीको हरियालीले हामीलाई स्वागत गरिरहेको थियो र चिया बगानको मुस्कानले अभिवादन गरिरहेको दृश्य साँच्चै एउटा सुनौलो पहिचान दिइ रहेको थियो, भाषा संस्कृति मनमोहक देखिन्थ्यो । हाम्रो आगमनमा बंगलादेशका साथीहरू सबैले खुशी व्यक्त गरिरहेका थिए र बिदाइ हुँदा को क्षणमा फेरि आउने आशा लिएर आँखा भरी आँसुको भाव झल्झल्ति देखिन्थ्यो मानौ छोटै बसाई र भ्रमणमा हाम्रो प्रगाढ माया बसिसकेको थियो । प्राकृतिक मुस्कान र सामाजिक सद्भावले मन आनन्दले भरिएको थियो । हर्ष र उत्साहको बीचमा हाम्रो यात्रा कठिनाइ पूर्वक भएपनि अविस्मरणीय मात्र नभएर प्रेरणाको सुन्दर उदाहरण बनेर रह्यो । जीवन र जगतलाई बुझ्ने एउटा अवसर पनि बन्यो । समग्र हाम्रो भ्रमण जीवनको यादगार पल बनेर रह्यो । धन्यवाद !!
जय नेपाल !! जय बंगलादेश
हाम्रो संबन्ध अमर रहोस !!
नमस्कार ÷ लाल सलाम ÷÷ असलमालेकुँम !!
सत्यनारायण भगत बिन्द (निषाद) संविधानसभा सदस्य तथा पूर्वमन्त्री, नेपाल सरकार



