‘पपुलर’भनिएका दलहरु मिडियाबाजी गरेका छन् तर, बिचार र सिद्धान्त छैन
श्रीनाथ बराल, नेता, नेपाली कम्युनिस्ट पार्टी तथा पुर्व सचिव, नेकपा एकीकृत समाजवादी
आमा रेवती बराल र बाबु प्रेम नारायण बरालको सन्तानका रुपमा २१ जुलाई सन् १९६७ मा साविक आर्वा विजय गा.ंवि.स.–५ मा जन्मनुभएका श्रीनाथ बराल नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य हुनुहुन्छ । बिए, बिएड सम्मको औपचारिक शिक्षा प्राप्त गर्नुभएका बराल २०३६ सालमा राजनीतिमा प्रवेश गर्नुभएको थियो । २०४३ सालमा पृथ्वी नारायण क्याम्पस स्वबियूको सदस्यमा निर्वाचित हुनुभयोे । पञ्चायतकालमै २०४४ सालमा केहि समय भूमिगत जिवन बिताउनुभएका बराल २०४७ सालमा प्रजातान्त्रिक राष्ट्रिय एकता मञ्चको कास्की जिल्लाको अध्यक्ष बन्नुभएको थियो । २०४७ सालमा नेकपा मालेको कास्की जिल्ला कमिटी सदस्य बन्नुभयो । वि.स. २०५४ सालमा कास्कीे जिल्ला विकास समितिको उपसभापति पदमा निर्वाचित हुनुभएका उहाँ नेकपा एमालेको बिभिन्नपदमा रहेर जिम्मेवारी निर्वाह गर्नुभयो । नेकपा एमाले र नेकपा माओवादी मिलेर एकीकरण भएको नेकपाको विभाजन पछि नेकपा एकीकृत समाजवादीको सचिव बन्नुभएका बराल हाल नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ । पञ्चायतकालको चरम निरंकुश अवस्थामा पनि बिभिन्न प्रकारका शैक्षिक मागहरु राखेर पृथ्वी नारायण क्याम्पसमा १० दिनसम्म आमरण अनसन बसेर चर्चामा आउनुभएका नेता बरालसँग आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनमा विषयमा नेपाली कम्युनिस्ट पार्टीको चुनावी रणनीति र पार्टीको भावी कार्यनीति सम्बन्धमा नारायण प्रसाद शर्माले गरेको छोटो कुराकानीः
तपाई नेपाली कम्युनिस्ट पार्टीको नेता हुुनुहुन्छ । आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुन लागिरहेको छ । तपाईको क्षेत्र गण्डकी प्रदेशमा नेपाली कम्युनिस्ट पार्टीको राजनीतिक माहोल कस्तो छ ?
तपाईलाई धन्यवाद छ । समग्र गण्डकी प्रदेश र कास्की जिल्लामा नेपाली कम्युनिस्ट पार्टी अवस्था एकदमै राम्रो र उत्साहपूर्ण छ । हाम्रो पार्टी प्रति एकदमै आकर्षण बढिरहेको छ । नवयुवाहरु जेनजी पुस्ताको माग पनि हाम्रो पार्टीले समेटेको छ । समग्र कम्युनिस्ट आन्दोलनलाई समेटेर समाजवादको दिशामा जानुका साथै संविधानको मर्म र भावनालाई सम्वोधन गरी अघि बढेकाले यो पार्टी प्रतिको आशा र भरोसा बढेको छ । हुनत नयाँ नयाँ “पपुलिस्ट”हरुको पनि चर्चा छ । तर, उनीहरु सैद्धान्तिक र वैचारिक एजेण्डा बेगरको धरातलमा उभिएका छन् । यो देशलाई कुन ठाउँमा पु¥याउने हो ? कस्तो अर्थतन्त्र बनाउने हो ? जनताको जीवनस्तर कहाँ पु¥याउने हो ? त्यस प्रकारका ठोस एजेण्डा कहिँ कतै पनि देखिँदैन । सामान्यतय विरोधका लागि विरोध मात्रै गर्ने वा सानो काम मात्रै गरेर मिडियालाई प्रयोग गरी “पपुलर” हुने काम मात्रै देखिन्छ । तर, राजनीति भनेको स्थायी रुपले कस्तो अर्थतन्त्र निर्माण गर्ने ? कुन मोडलमा देशलाई लैजाने भन्ने हुन्छ । हामी कहाँ नवउदारवादी तथा पुँजीवादी अर्थतन्त्र हावी छ । यो कुन दिशामा जाने हो प्रष्ट हुन जरुरी छ । ति एजेण्डाहरु आफुलाई पपुलर भनिएका पार्टीहरुमा छैन । नेकपा एमाले र नेपाली कांग्रेसको अवस्था त देखिसक्नुभएको छ । उहाँहरु यथास्थितिवादको वकालत गरिरहँनुभएको छ । उहाँहरुलाई दलाल नोकरशाह पुँजीबादकै चंगुलमा फस्नुभएको छ । त्यसकारण आम जनताले हाम्रो पार्टी नेपाली कम्युनिस्ट पार्टीमाथि आशा र भरोसा गरिरहेका छन् ।
गण्डकी प्रदेशका कुन कुन जिल्लामा तपाईको पार्टीका जित सहज हुन्छ भन्ने लाग्छ त ?
मेरो मुल्यांकनमा त सबै जिल्लामा जित्ने अवस्था देखेको छु । तथापि बाग्लुङ, गोरखा जस्ता जिल्लाहरु हिजो माओवादीको बढि नै प्रभाव भएको हुँदा अहिले पनि सहजै जित्न सकिने अवस्था देखिन्छ । अन्य कतिपय जिल्लाहरुमा हामी मिलेपछि बलियो बनेको अवस्था छ् । त्यसैले कास्की जिल्लासहित धेरै जिल्लामा नेपाली कम्युनिस्ट पार्टी विजयी हासिल गर्नेछ ।
कास्की जिल्लाको पोखरामा सहकारीको ठगीमा ठूलो संख्यामा पीडित छन् । तथापि त्यहि रास्वपा पार्टीसँग किन लालयित भएका हुन् ?
हाम्रा नेताहरु २०४८ साल देखि नै निर्वाचनमा लडिरहने, एउटै मान्छे प्रधानमन्त्री र मन्त्री बनिरहँने हुँदा आम मानिसले विकल्प खोजिरहेका छन् । नयाँ आउँदा अझ बढि केहि हुन्छ कि भन्ने छ । एउटा उखान छ “एक जना ब्यापारी स्वर्गमा जान्छन् अमिला अंगुर टर्रा केरा” भन्दै सबै भन्दा बढि विक्री गर्छन् । यहाँ पनि त्यस्तै हुन्छ । सधै मिठा फलफूल खाइरहेको अवस्थामा फरक स्वाद कस्तो हुन्छ भन्ने मानिसलाई लाग्छ । यो पनि त्यस्तै भएको हो ।
सहि विचार र सिद्धान्त लिएका पार्टीहरुले राम्रो काम गर्दा गर्दै पनि समयमै ठीकसँग काम नगर्दा विकल्प के हुन्छ भन्दै परीक्षण गर्ने बेला आएको हो । यथार्थमा जनताहरु जाँदैनन् । यो भन्दा अघिको निर्वाचनमा केहि आकर्षित भए पनि उनीहरु मन्त्री बनेर कसरी काम गरेका छन् । देखिसकेका छन् । अव त्यो गल्ति दोहोरिदैन । काठमाडौंको नगरप्रमुखले के गरे ? उनले मिडियाबाजी मात्रै चर्को गरेका छन् । हामीसँग विचार छ । समाजवादी शिक्षा, स्वास्थ्य, कृषिमा क्रान्ति, उद्योगधन्दाको विकास गर्ने, देशको अर्थतन्त्र र राष्ट्रियता बलियो बनाउने र गरिबी निवारण गरी गरिबीको रेखामुनि रहेका जनतालाई माथि ल्याउने कार्यक्रम हामीसँग छन् ।
हामीले २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वको सरकारमा कति राम्रा कामको सुरुवात गरेका थियौं । त्यसको निरन्तरता दिन सकेको भए पछिसम्म दिन सकेको भए कति राम्रो हुने थियो तथापि नेपाली कम्युनिस्ट पार्टीका संयोजक र सहसंयोजक प्रधानमन्त्री भएका समयमा धेरै राम्रा कामहरु भएका छन् । त्यसैले पनि नेपाल कम्युनिस्ट पार्टीलाई एक पटक बहुमत दिएर पठाउने छन् । त्यसपछि देशले खोजेको बाटोमा अघि बढ्ने भन्नेमा विश्वास छ ।
आम युवाहरुमा देशमा केहि पनि भएन भन्ने भाष्य निर्माण भएको छ । त्यसो हुनुमा तपाईहरुको पार्टी स्कूलिङ नभएर वा कमजोरी भएर पनि होला नी ?
हो, हामीले हाम्रा राम्रा कामको प्रचार गर्न सकेनौं । भूराजनीतिक हिसावले हामीले असंलग्न परराष्ट्र नीति अवलम्बन गर्नुपर्दछ । सबै राष्ट्रसँग समान दूरी राखेर आफ्नो राष्ट्रको हित हुने कार्य गर्नुपर्दछ । केहिले यता र कहिले उता गरेको खण्डमा सन्तुलन बिग्रन पुग्छ । त्यसमा हामी संवेनदशील हुनुपर्दछ । बाह्य शक्तिहरु यसैलाई प्रयोग गरेर एक वा अर्को देशको विरुद्धमा हाम्रो भूमिलाई प्रयोग गर्न सक्छन् । त्यो काम गर्नु हुँदैन । संसारका सबै राष्ट्रहरु हाम्रा मित्र हुन् । त्यसैकारण विकासका निमित्त सबैसँग मित्रवत व्यवहार रहन्छ तर, कुनैपनि सैनिक संगठनसँग आवद्ध हुँदैनौं । हामी पञ्चशीलको आधारमा रहेको परराष्ट्रनीतिको सिद्धान्तमा टेकेर अघि बढ्नेछौं । त्यो अवस्थामा नजाँदा युक्रेन वा अन्य देशको अवस्थामा पुग्न सक्छ । त्यसैले हामी कहाँ जिम्मेवार नेताले नेतृत्व लिएर देशलाई अघि बढाउनुपर्दछ । अन्यथा पपुलिजम्हरुको कुरो सुन्दा देशले ठीक नीति लिन नसक्दा दूर्घट्ना पनि हुन सक्छ ।
अबको निर्वाचनमा पनि समानुपातिक प्रणालीकै कारण एउटै दलको बहुमत आउने अवस्था देखिदैन । आगामी निर्वाचन पश्चात नेपाली कम्युनिस्ट पार्टीको कुन दलसँग गठबन्धन बन्ने अवस्था हो ?
हाम्रो पार्टीको बहुमत नपुगेको खण्डमा हामीले यो गणतन्त्रात्मक संविधान मान्ने, समाजवादको अग्रगमन दिशामा जाने, राष्ट्रियता प्रतिको सहि अडान भएका दलसँग मिलेर सरकार बनाउने छौं । अहिलेका जेनजी नवयुवाहरुको भावनालाईसमेत प्रतिनिधित्व गरेर कार्यगत एकता गरेर अघि बढ्ने अवस्था हुन सक्तछ ।
नेपाली काग्रेस पार्टी औपचारिक रुपमै फुटेको छ । घोषित मितिमै चुनाव होला ?
पार्टीहरुको आन्तरिक विवादका कारण चुनाव रोकिनु हुँदैन । देशले वर्तमान संकटबाट निकास पाउनका लागि समयमै चुनाव हुनुपर्दछ भन्ने लाग्छ ।
घोषित मिति फागुन २१ मै हुन्छ त ?
मलाई हुन्छ नै भन्ने लाग्छ ।
नेकपा एमालेलगायतका कतिपय दलले निर्वाचन चाहेका छैनन् नी ? नेपाली कांग्रेसको देउवा समूह पनि संसद पुनःस्थापनाकै पक्षमा छ ।
जेनजी पुस्ताको आन्दोलनले पुरानो म्याण्डेडलाई भत्काइदिएको छ । त्यसैले पनि समयमा निर्वाचन हुनैपर्दछ । चुनावलाई मान्दा संविधान मान्ने र अग्रगमनको पक्षमा अघि बढ्ने, दलाल पुँजीवादलाई अघि बढ्न नदिने शक्तिहरुबीच एकजुट भएर अघि बढाउनुपर्दछ । त्यसका लागि नवयुवाहरुको भावनालाई बुझेर अघि बढ्न सक्ने अग्रगामी शक्तिसँग मिलेर अघि बढ्छौं ।
तपाईहरुको पार्टी झण्डै १९/२० वटा दल र घटक मिलेर बनेको छ । यो भद्रगोल अवस्थालाई ब्यवस्थित र अनुशासित बनाउन के गर्दैहुनुहुन्छ ?
हाम्रो पार्टीले कार्य विभाजन गर्दैछ । कार्य विभाजनमा प्रदेशको संयोजक, सहसंयोजक सबै तोकिन्छन् । जिल्ला र पालिकामा पनि त्यसै गरी समिति बन्छ । जनसंगठनहरु पनि व्यवस्थित बन्छन् । केन्द्रीय समिति ठूलो भएपनि केन्द्रीय कार्यसम्पादन समिति ६०१ जनाको हुनेछ । त्यस भन्दा सानो सचिवालय बन्छ । त्यसमा हरेक घटकका हिजोका पदाधिकारीहरु मिलाएर बन्नेछ । त्यसले नै दैनिक र महत्वपूर्ण निर्णयका साथै छिटो छिटो मिटिङ बस्ने विषयमा निर्णय दिनेछ । महत्वपूर्ण राजनीतिक लाइन र कार्यदिशाका लागि केन्द्रीय समिति र केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गर्नेछ । दैनिक गर्नुपर्ने कामका लागि वरिष्ठ नेताहरुको संयोजन समिति हुनेछ । त्यसै हिसावमा अघि बढ्नेछ । निर्वाचनका समयमा कसरी बढि भन्दा बढि सिट जित्न सकिन्छ भन्ने विषयमा निर्वाचन परिचालन कमिटि बनाएर अघि बढ्नेछौं । यसरी समानुपातिक र प्रत्यक्षतर्फको निर्वाचनलाई अघि बढाउनेछौं ।
कुनै समय कम्युनिस्ट पार्टीको सदस्य बन्न ठूलो मेहनत, लामो त्याग र तपस्या गर्नुपर्ने अवस्था थियो । तर, अहिले त गैर कम्युनिस्ट दलबाट प्रवेश गर्ने बित्तिकै केन्द्रीय सदस्य बन्ने अवस्था छ नी ?
हास्दै । त्यत्ति मात्रै होइन गैर कम्युनिस्ट पार्टी र कम्युनिस्ट पार्टीबीच पनि एकीकरण भयो । हाम्रा १९ वटा घटकहरु मध्ये कोहि ति पनि होलान् ।
यसले कसरी स्थायित्व पाउँला ?
देश समाजवादतर्फ उन्मुख हुँदैछ । संघीय लोकतान्त्रिक समाजमा जाने शक्तिहरुसँग मिल्नुपर्दछ । उहाँहरुलाई कम्युनिस्ट पार्टीतर्फ लेस गर्दै वैज्ञानिक समाजवादतर्फको दिशामा अघि बढाउनुपर्दछ । त्यसका लागि हामी हिजो संगठित भएका व्यक्तिहरुको संख्याले मात्रै पुग्दैन । किनकी हाम्रो सिद्धान्त र विचार राष्ट्र र जनताको हितका लागि हो । तथापि वैचारिक रुपले प्रशिक्षित गराएर गोलबन्द गर्दै लैजानुपर्दछ ।
तपाई स्थानीय तहमा बसेर नेतृत्व गर्नुभयो त्यो समयमा र अहिले के फरक पाउनुभएको छ ?
स्थानीय तहमा भ्रष्टाचार बढेका छन् । विगतमा देशभरमा एकाध जनप्रतिनिधिहरु खराव थिए । अधिकांशले पदबाट हटेपछि आर्थिक रुपमा गुमाएका हुन्थे । तर, आज चाहँ धेरै ठाउँमा ब्यापक भ्रष्टाचार छ । त्यसैले पहिलो नम्बरमा सेबक हुँ र सेवा गर्न जाँदैछु भन्ने भावनाको कमि छ । देश र जनताका लागि निस्वार्थ रुपमा समाजसेवा गरी त्याग गर्न जाँदैछु भन्ने भावना हुनुपर्दछ ।
दोस्रो नियम कानूनले पनि ‘लुपहोल्स’ हरुमा कडाई हुनुप¥यो । तेस्रो म पदमा पुगेपछि ठूलो मान्छे भएँ भन्ने भावना छ । राष्ट्रको यो स्टाटसमा पुगेको मान्छे सिनियर छु भन्ने ह्याररर्किजम छ जुन गलत हो । जनप्रतिनिधि भनेको जनताको सेवक हो । हामी भन्दा ठूलो त जनता नै हुन् । हाम्रो संविधानले नै सार्वभौमसत्ता जनतामा निहित हुनेछ भनेको छ । उहाँहरुनै पाँच वर्षका लागि जनप्रतिनिधि छान्नुहुन्छ । जनप्रतिनिधि त वारेस मात्रै हो । यो कुरा जनप्रतिनिधि साथीहरुले बुझ्नुपर्दछ । राजनीतिक दलका नेताहरुले बुझाउनुपर्दछ । हामी सबै जनतासरहका हौं भन्ने भावना हुनुपर्दछ । अहिले आइटीको प्रयोगले जनताहरु सचेत छन् । छिटो छरितो रुपमा काम गर्न सक्ने जनप्रतिनिधिहरु पनि छन् ।
नेपाली कम्युनिस्ट पार्टीका कार्यकर्ता र सुभेच्छुक जनतालाई आगामी निर्वाचनका सन्दर्भमा के सन्देश दिन चाहनुहुन्छ ?
सबै जना नेता कार्यकर्ताहरु जनताको घर दैलोमा जानुप¥यो । नेपाली कम्युनिस्ट पार्टीका कार्यक्रम, नीति, विचार र घोषणा पत्र जनतालाई प्रष्ट रुपमा बुझाउनु प¥यो । ब्यक्तिगतरुपमा नेता तथा कार्यकर्ताहरुको आचरण, वर र व्यवहार विगतका कमि कमजोरीलाई आत्मआलोचना गरी जनताको सेवक हुँँ भन्ने भावनाले अघि बढ्नुपर्दछ । जनताका सुझाव र गुनासालाई राम्ररी सुन्नुपर्दछ । दुःख कष्टहरु बुझनुपर्दछ । त्यो ठाउँमा जनताका सेवक हुँ भनेर उपस्थिति हुनुपर्दछ । संगठन नबनाउने, पार्टी वरपर नेताहरु भेटेर बस्ने, बिहान एउटा, दिनमा अर्को र बेलुकी झनै अर्को नेता भेटेर बस्नेलाई नै मुल्यांकनको आधार बनाउने चलन गलत हो । त्यसको अन्त्य गर्नुपर्दछ । त्यसैले नेता र कार्यकर्ताका बीचमा पव्लिक हेयरिङ (सार्वजनिक सुनुवाई) हुनुपर्दछ । आफ्ना आचरणहरु पनि पारदर्शी हुनुपर्दछ । नेता, कार्यकर्ताहरुको आचरण, हिडडुलमा चरित्रहरु कस्ता छन् अनुशासित र जनमैत्री हुनुपर्दछ ।
अन्त्यमा केहि थप भन्नु छ कि ?
तपाईको पत्रिका डायरी एक्सप्रेस साप्ताहिकमा मेरा विचारहरु प्रस्तुत गर्ने मौका प्रदान गर्नुभयो, त्यसका लागि तपाईको पत्रिका र तपाईको प्रगतिको कामना गर्दछु । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनमा सहि निर्णय गरी आफ्नो भविश्ष्य बनाउनुहुन अनुरोध गर्दछु । कुनै उत्तेजना र बहकाउमा नगई सहि र सन्तुलित निर्णय गर्नका लागि हार्दिक अपील गर्दछु ।

