निर्वाचन नभएर फेरी पनि कस्लाई प्रधानमन्त्री बनाउने हो भन्ने बहसमा लागियो भने देश अर्को भूमरीमा फस्छ
।
निरा देवी जैरु, नेता नेपाली कम्युनिस्ट पार्टी तथा डडेल्धुरा जिल्लाबाट प्रतिनिधि सभामा प्रस्तावित उम्मेदवार
वि.स. २०३३ साल माघ ६ गते अमरगढी नगरपालिका डडेल्धुरामा आमा मञ्जु देवी परियार र बाबु मोहन सिंह परियारको सन्तानका रुपमा जन्मनु भएकी निरादवी जैरु नेपाली कम्युनिस्ट पार्टीको नेता तथा आगामी फागुन २१ गते हुन गइरहेको संघीय संसद सदस्यको निर्वाचनमा उम्मेदवार प्रस्तावित हुनुभएको छ । स्नातकसम्मको अध्ययन गर्नुभएकी जैरु २०४६ सालदेखि राजनीतिमा प्रवेश गर्नुभएको थियो । नेकपा एमालेको अञ्चल कमिटी सदस्य, नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय सदस्य हुँदै राजनीतिमा सक्रिय रहनुभयो । २०७४ सालको संघीय संसद सदस्यको निर्वाचनमा नेकपा एमालेकातर्फबाट समानुपातिक संसद सदस्यमा निर्वाचित हुनुभएकी जैरु २०६२/०६३ सालको जनआन्दोलनमा अखिल नेपाल महिला संघ डडेल्धुराको सचिवको हैसियतमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । २०४८ सालको संसदीय निर्वाचन देखि हालसम्म सात पटक सांसद र सभासद तथा पाँच पटक प्रधानमन्त्री बन्नुभएका शेर बहादुर देउवालाई पनि अझै संसद बन्ने मोह जागिरहेकै अवस्था छ । जेनजी विद्रोहका क्रममा कुटपीटमासमेत पर्नुभएका वयोवृद्ध ८० वर्षिय देउवालाई सांसद बन्ने चाहनामा चुनौति दिदै विजयका लागि अग्रसर हुनुभएकी ४९ वर्षिय जैरुसँग समसामयिक विषयमा नारायण प्रसाद शर्माले गरेको विशेष अन्र्तवार्ताः
तपाई आगामी फागुन २१ गते हुन गइरहेको संसदीय निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट संघीय संसद सदस्यको उम्मेदवारको रुपमा सिफारिस हुनुभएको छ । पाँच पटक प्रधानमन्त्री र सातपटक सांसद भएका ब्यक्ति तपाईको प्रतिस्पर्धि छन् । तपाईको जितको आधार के छ ?
मुलूकमा गत भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलन पछि देशले एउटा कोर्स फेरेको छ । गत निर्वाचनमा हामीहरु गठबन्धनमा थियौं, तथापि सागर ढकाल उम्मेदवार भएर झण्डै १३ हजार भोट डडेल्धुराकै मतदाताबाट पाउनुभयो । २०४८ देखि यो क्षेत्रमा खगराज भट्ट र २०७४ को निर्वाचनमा म समानुपातिक उम्मेदवार हुँदा पनि २१ हजार भोट प्राप्त गरेका थियौं । खगराज भट्टचाहि २६ हजार भोट ल्याउनुभएको थियो । तर, २८ हजार भोटले देउवा विजयी बन्नुभयो । हिजोको भोटको प्याटर्न यस प्रकारको थियो ।
म लामो समयसम्म डडेल्धुराको दलित आन्दोलन, महिला आन्दोलन, सदूर पश्चिमको अवस्थाका बारेमा आन्दोलनमा सक्रिय रहँदै आएको थिएँ । डडेल्धुरालाई मैले बेस बनाएर काम गरेको हुँदा स्वाभाविक रुपमा जेनजी आन्दोलन पछि नेपाली कम्युनिस्ट पार्टीको उदय भएको मात्र होइन, रातो तारालाई डडेल्धुराबासीले भोट हाल्नेछन् र मलाई विजयी गराउनेछन् । स्वाभाविकै रुपमा जेनजी पुस्ताबाट उम्मेदवार हुँदा राम्रो हुने थियो । त्यसमा पनि महिला र हिजोको यथास्थिति भन्दा पनि परिवर्तन चाहने जनताले जिताउनु हुन्छ भन्ने लाग्छ ।
पुराना केहि नेताहरुमा पैसा खर्च गरेपछि निर्वाचनमा जित्न सकिन्छ भन्ने एक खालको दम्भ पनि छ । त्यो दम्भ कसरी तोड्नुुहुन्छ ?
मैले त्यो विश्वासलाई कसरी पुरा गर्न सक्छु भन्ने कुरा तपाईको मिडियामार्फत नै जानकारी दिलाउन चाहन्छु भने, मेरो अनुरोध छ, हाम्रा बच्चाहरु खाडी मुलूकमा छन् । हिजोको निर्वांचनमा पनि हामीले के सुनेका थियौं भने, गठबन्धनमा रहेर मत मागिरहँदा पनि हाम्रा बच्चाहरुले विदेशबाट अब भोट सागर ढकाललाई दिनुपर्छ भन्दा मात्रै १३ हजार भोट आयो । म त्यहाँको बुहारी भएर कहिले एमाले, कहिले नेकपा, कहिले नेकपा समाजवादी र अहिले आएर नेपाली कम्युनिस्ट पार्टीमा रहेर सक्रिय रुपमा काम गर्दै आएकी छु । जिल्लाका साथीहरुले उम्मेदवारका रुपमा अघि सारेपछि स्वाभाविकै रुपमा त्यहाँ रहेका मतदाताहरुले मलाई विजयी बनाउनुहुनेछ । किनकी नेपाली कम्युनिस्ट पार्टी जनताको अदालतमा पनि छ । त्यसैले जनताले पनि न्याय दिनुहुनेछ । हिजो र आजको कोर्ष फेरिएको छ । नेपाली कम्युनिस्ट पार्टीको संगठन, विश्वास र त्यहाँ परिवर्तन चाहना हुनेहरुले मलाई मत दिनुहुनेछ ।
अन्तिम समयमा आफ्नै नेताहरुले अर्को पार्टीको शिर्ष नेताहरुलाई सिट छाड्न लगाउने गरेको इतिहास पनि छ । तपाईको हकमा पनि त्यो नआउँला भन्न कसरी सकिएला ?
भाद्र २३ र २४ गतेको सन्देशलाई बुझेर शिर्ष नेतृत्व सल्लाहकारको रुपमा मात्रै बस्नुहुन्छ । म लगायत देशभरबाट आएको जो सुकै अब्बल महिलाहरुलाई अघि सार्नुहन्छ । हामी महिलाहरुलाई समानुपातिकमा बसेर निर्वाचनमा लड्न मात्रै भनिएको हैन । म अर्थात नेपाली कम्युनिस्ट पार्टीलाई सहयोगार्थ सिंगो महिला आन्दोलनको अथक योद्धालाई माया गरी अघि बढाउने ठाउँ यो सुदूर पश्चिमको हो । म उम्मेदवार भएपछि सकेसम्म शेरबहादुर देउवा उम्मेदवार नै नहोलान् जस्तो पनि लाग्छ ।
२०७४ सालको निर्वाचनमा तपाईको प्रतिपर्धिको श्रीमती जागिरको लागि विदेश पठाइदिने भनिकन आश्वासन दिनुभएको थियो । पैसा लिएर चुनावमा गएपछि अवश्य जितिन्छ भन्ने मनोविज्ञान हावी छ । के भन्नुहुन्छ ?
अहिले पनि कतिपय पार्टीका नेताहरु हारको मनस्थितिमा छन् । हाम्रो उम्मेदवारीको टुङ्गो २९ गतेको केन्द्रीय समितिको सपथग्रहण पश्चात हुनेछ । अहिले नेपाली कम्युनिस्ट पार्टी मात्रै होइन सबै पार्टीहरु राष्ट्रिय सभा र प्रतिनिधि सभाको समानुपातितर्फको परिणाम आउँछ । त्यसपछि प्रत्यक्षतर्फको उम्मेदवारीका लागि समय दिनुहुन्छ । भाद्र २३ र २४ गतेको जेनजी आन्दोलन भ्रष्टाचार र कुरितिको विरुद्धको थियो । दम्भका भरमा देश चलाउँछौं भन्दा देश सहि दिशामा पुग्दैन । देशले अहिले नयाँ, योग्य, सक्रिय र इमान्दा उम्मेदवार मागेको छ । त्यसैले पनि मेरो उम्मेदवारी अन्तिमसम्म नै रहन्छ । र नेपाली कम्युनिस्ट पार्टीले चुनावमा जित्नेछ ।
डडेल्धुराबासीका तत्कालै समाधान गर्नुपर्ने समस्याहरु के–के छन् ? तपाईले जनताका पक्षमा उठाउनुपर्ने ज्यलन्त समस्याहरु के–के हुन् ?
हामीसँग डडेल्धुराको मात्रै नभएर सुदूरपश्चिमकै विषयमा मुल्यांकन गर्दा मंसिरको १२ गतेको एकतापछि नेपाली कम्युनिस्ट पार्टीको नौ जिल्लामा सन्देशसभा गरेका थियौं । विशेष गरी डडेल्धुराको पर्शुुराम र भागेश्वरको गैरी बगरमा छोटी भन्सार आजसम्म बनाउन सकिएको छैन । जो पाँच पटक प्रधानमन्त्री भएका देउवाले यो विषय उठान गरिदिनुभएन । नेपालकै पर्शुरामधाम डडेल्धुरामा छ । हामीले पूर्णागिरीबाट आएका धार्मिक भक्तजनहरु ल्याउन सकिरहेका छैनौं । उहाँहरु कञ्चनपुर पुग्नुपर्ने अवस्था छ । बझाङतर्फ हर्दा ताक्लाकोटबाट पारीपट्टि जान पनि अवस्था त्यस्तै छ । कञ्चनपुरबाट बसमा छ घण्टामा देल्ली पुग्न सकिन्छ । तर, हामीले अन्तर्राष्ट्रिय लेवलमा सुल्झाउन सकेका छैनौं । राष्ट्रिय राजनीतिमा डडेल्धुराले के फरक सन्देश दिनुपर्छ भन्दा हिजोकै जस्तो व्यक्ति मोटाउने मात्र नभएर अन्तर्राष्ट्रिय सम्बन्ध, त्यहाँको समग्र आर्थिक र सामाजिक विकास हाम्रो समुदायले खोजिरहँनुभएको छ । त्यसका निमित्त नेपाली कम्युनिस्ट पार्टीको नेतृत्व आवश्यक छ ।
डडेल्धुराको वन अग्राखलगायतका काठहरुको कारण पनि प्रसिद्धि पाएको थियो । संरक्षण र प्रयोगका लागि सरकारले ध्यानै नदिएको देखियो नी ?
कुनै समयमा डडेल्धुराका १०८ वटा सामुदायिक वनका पदाधिकारीहरुलाई वन मुद्दा लागेको थियो । जुन अझै पनि विशेष अदालतमा मुद्दाहरु चलिरहेका छन् । पुरानो वन ऐनमा ढला पढा रुखहरु झिक्न नपाउने भनिएकै कारणले डडेल्धुराको काठ प्रयोगमा समस्या आएको हो । डडेल्धुराको काठ नदीले बगाएर भारततर्फ पुगेपछि संकलन गरी बेच्न राखेको देखिन्छ । त्यसमा नेपालका बढिया काठ है भनेर लेखिएको पाइन्छ । तर, नेपालमा चाहि भारतीय र मलेशियाबाट ल्याइएका अग्राख (सालहरु) महंगो मूल्यमा बेचिन्छ । कैलाली र कञ्चनपुरबाट मान्छेहरु नैनीताल जाने गर्दछन् । पर्शुराममा त्यो खालको गर्मी छ भने अमरगढी नगरपालिकामा पुग्दा त्यहि खालको शित्तल हावापानी छ । त्यो ठाउँमा पर्यटनलगायतका आन्तरिक विकास कसरी गर्ने ? रोजगारीका विषयहरु पनि छन्, तिनलाई अघि बढाउँनु पर्ने देखिन्छ ।
कृषिलगायत अन्य क्षेत्रमा पनि डडेल्धुराबासीको उल्लेख्य योगदान होला नी ?
एनजीओ, आइएनजिओ र अन्तर्राष्ट्रिय समुदायको सहयोग बिनै सबै काम गर्न सकिन्छ भन्ने त होइन । हामी कहाँ मकै लगायतका खाद्यबाली पनि उपलब्ध छ । तर, अहिले भने डडेल्धुरामा स्थानीय बीउँ विजन पाउन पनि मुश्किल छ ।
महाभारतको लेक छ । टे«किङमार्ग खोल्न सकिएको छैन । संघीय अस्पतालमा अहिलेसम्म पनि चिकित्सक जान मानिरहेका छैनन् । त्यहाँ सामान्य डेलिभरीको अवस्था आक्ष्इपर्दा पनि सेती प्राविधिक अस्पतालमा पठाउनुपर्दछ । कुनै समयमा हात हातमा सहकारी, घरघरमा सहकारी भनिन्थ्यो । अहिले सहकारीको अवस्था खरावै भएपनि दिल्ली, बम्बईजस्ता ठाउमा पठाएरमात्रै विकास हुँदैन ।
तपाईको जिल्लाको माटो उर्वर भूमि भए पनि सिँचाईको सुबिधा नभएर सुख्खा देखिन्छ नी ?
हामीले कृषिमा मात्रै प्राथमिकता दियौं । अजयमेरु गाउँपालिकामा हेरेको खण्डमा थाह हुन्छ । डडेल्धुरामा आलुका निमित्त प्रधानमन्त्रीसँग नाम जोडेर विशेष प्याकेज नै बनाइएको छ । जोगबुढा जस्ता चुरे क्षेत्रमा पनि माटो सुहाउँदो कुन खेती गर्दा हुन्छ अहिलेसम्म पनि थालनी गरिरहेका छैनौं । सिँचाईका निमित्त लिफ्टिङलगायतका विषयमा अझै ध्यान पुग्न सकिरहेको छैन । आलीताल देखि बुर्डरको क्षेत्रसम्म लिफ्टबाट पानी ल्याएर सिंचाई गर्न सकिन्छ । नवदुर्गाको तल्लो भागमा जुन सुख्खा क्षेत्र छन् अहिले पनि प्रदेश सरकार वा संघीय सरकारले नै सिँचाईको व्यवस्था मिलाएको खण्डमा पहाडका सात र तराईका जिल्लामा खाद्यन्न र फलफूल पु¥याउन सकिने सम्भावना देखिन्छ ।
फागुन २१ गते प्रतिनिधिसभाको चुनाव होला ?
निर्वाचन आयोगले पूर्ण तयारी गरिरहेको छ । निर्वाचन समयमै गर्नुपर्दछ । देशलाई निकास दिन जरुरी छ । जेनजी पुस्ताले पनि निर्वाचन चाहेका छन् । निर्वाचन नभएर फेरी पनि कस्लाई प्रधानमन्त्री बनाउने हो भन्ने बहसमा लगियो भने देश अर्को भूमरीमा फस्छ । त्यसै त नेपाल दुई देशबीचको तलको रुपमा रहेकै छ । निर्वाचन फेस गरी देशमा निकास दिनुपर्छ ।
नेपालको राजनीतिमा अहिले झनै विदेशी हस्तक्षेप बढिरहेको छ । यसबारेमा तपाईको धारणा के छ ?
हाम्रै कमिकमजोरीका कारण पनि विदेशी हस्तक्षेप भएका हुन् । हाम्रा विदेश नीति र सम्बन्धमा एक रुपता नआएका कारण पनि यो अवस्था आएको हो । हाम्रो खुला सीमा भएकै कारण र सामाजिक कारणले नै प्रत्येक नेपालको घरमा मसिनो गरी छिरिसकेपछि यो उलटपुलट भएको होे । दलहरु पनि चुकेको अवस्था छ । त्यसमा सच्याउन जरुरी छ ।
अन्त्यमा केहि भन्नु छ कि ?
डडेल्धुराबासी जनतासँग मेरो बिनम्र अनुरोध छ । स्वाभाविकै रुपमा फागुन २१ मा निर्वाचन गराउन प्रधानमन्त्री देखि हालका ठूला दलका नेताहरु सहमत हुनुपर्दछ । अन्यथा नेपाल जस्तो देश कसैले पनि स्वच्छाले चलाउन सक्ने भयो भने देश रहन्छ कि रहदैन ? फागुन २१ मा हुन गइरहेको निर्वाचनलाई राजनीतिक दल, मिडियाकर्मीहरु, बुद्धिजिवीवर्गहरु, सुरक्षाकर्मीलगायतले सक्रियतापूर्वक साथ दिन जरुरी छ । हिजोको दिन भाद्र २३ र २४ मा नेपालको जासुस यन्त्रले आन्दोलनको यो अवस्था हुँदैछ भन्ने सामान्य जानकारी नेतृत्वलाई नदिएपछि भिषण क्षति हुन पुग्यो । अबका दलले वारीपारी कतैबाट पनि के हुँदैछ भन्ने जानकारी प्राप्त गर्न सकियोस् । नेपाल प्रहरीको मनोबल पनि नखस्कियोस् । उच्च मनोबलका साथ निर्वाचन प्रक्रियामा सहयोग होस् भन्न चाहन्छु ।
