बाँकेको नौबस्ता कारागार अवैध लागू औषध र जुवातासको अखडा
लागू औषध र जुवा तास खेलेको भिडिओ नै डायरी एक्सप्रेस साप्ताहिकको कार्यालयमा प्राप्त
काठमाडौं । कारागारलाई सुधार गृहका रुपमा चिनिन्छ । जहाँ कैदमा बसेपछि मान्छे सुध्रिएर पुनः सहज जीवनमा फर्किन्छ भनेर कल्पना गरिन्छ । तर, बाँकेको नौबस्ता कारागारमा लागूऔषध र जुवातास खेल्ने जस्ता अवैध कामहरुमा कैदीहरुले अखडा नै बनाएर दिन बिताएका छन् । लागू औषधमा कारागार परेका कैदीहरु उनका आफन्तहरुले सुधिने कल्पना गरेका हुन्छन् । तर, कमिसनको लोभमा परेका प्रहरी, कर्मचारी र कतिपय जेलरहरु नै मिलेर कारागारभित्रै जुवातास र लागू औषधको अखडा बनाएको पाईन्छ । लागू औषध सेवन कानूनी रुपमा कारागारभित्र र बाहिर बर्जित छ । जुवा तास खलेको र लागू औषध खाएको भिडिओ डायरी एक्सप्रेस साप्ताहिकको कार्यालयमा प्राप्त भएको छ । जुन भिडिओ झण्डै एक हप्ता अघिको भएको बताईन्छ । तर, कारागारको जेलर जालान्धर भुसालले दशैताकाको भएका बताए ।
कारागारभित्र लागू औषधको खुलेआम सेवन गर्ने र विक्री वितरण गरेको घट्नाको विरोध गरेबापत चौकिदार रामबरण गुप्तामाथि सांघातिक आक्रमण गरेको सूचना प्राप्त भएको छ । यसरी लागू औषधको धन्दा सञ्चालन गरी जुवा तास खेल्ने र खेलाउनेहरुमा कर्तब्य ज्यान र ठगी मुद्दाका दीपक केसी, लागू औषधका भविलाल पुन, लागूऔषधका राहुल थापा भन्ने रविन्द्र थापा, कर्तब्य ज्यानका हिमाल भन्ने खिम बहादुर डाँगी, ज्यानमार्ने उद्योगका प्रकाश थापा, लागूऔषधका मुद्दाका दिपेस सोनाम, विकास केसी, जगत केसी र डम्बर थापा छन् ।
जेलमा यस प्रकारको बिथितिगराउनु हुन्न भन्दै सुधारका लागि आवाज उठाउँदै आएका चौकिदार रामवरण गुप्ता, नाइकेहरु माधव परियार, रिजवान अहमद साई, जीवन श्रेष्ठ हुन् । तर, उनीहरु अहिले तारो बनिरहेका छन् । झडपमा अर्को पक्षले आक्रमण गरिरहेको छ । त्यसपछि अहिले उनीहरुलाई कारागारको अर्को ब्लकमा सारिएको छ । त्यसै गरी अखडा जमाएर लागू औषध सेवन गर्नेहरु विरुद्धमा बोल्नेहरु अफ्तर अलि, मोहम्मद हुसेन सेख, रज्जत अली साई, मन्कु भन्ने रज्जव अलि, फिरोज मन्ता लगायत भएको बुझिन्छ ।
यस अघि कैलाली कारागारको जुवा अखडा र लागू औषध कारोबारका विषयमा पनि डायरी एक्सप्रेस साप्ताहिकले समाचार प्रकाशन गरेपछि तत्कालिन प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले छानविन समिति बनाएर अनुसन्धान गरेका थिए । उक्त समयमा ३९ वटा मोबाइल कारागारभित्र गैरकानूनी तरिकाले प्रयोग गरेको भेटिएको थियो । जेलर महेन्द्रबहादुर खड्का र चौकीदार रोहित पालिवाल अग्रवालले अवैधानिक र गैर कानूनी काम गरी मासिक ४० औं लाख कमाउँ धन्दा नै चलाएका थिए । पालिवाल भरतपुर क्यान्सर अस्पतालका निर्देशक डा.भक्तमान श्रेष्ठलाई अपहरण गरी पाँच केजी सुन फिरौति लिएका चर्चित अपराधी हुन् । उनले मासिक ४० लाख रुपैया अवैद्य रुपमा कमाउने गरेको चर्चा हुन्थ्यो । आइफोन मोबाइल चलाएर प्याकिङ खाना खाने गरेका पालिवाल सुत्नका लागि भिन्नै पलङ प्रयोग गर्दथे ।
लागू औषध कारागार भित्र लैजाने क्रम चाहि नयाँ होइन । २०७९ साल कार्तिकमा कैलाली कारागारका अपील भाट नामका सहायक हवल्दार लागू औषध कारोबारीका रुपमा काम गरेको भन्दै पक्राउ गरेको थियो ।
नौबस्ता कारागारमा कैदी बन्दीहरुले अवैद्य लागू औषधको सेवन र कारोबार गरेको विषयमा कारागार व्यवस्थापन विभागका सूचना अधिकारी बालकृष्ण कटवालसँग प्रतिक्रियाका लागि सम्पर्क गर्दा उनले भने यस बारेमा हामीले बुझ्नै पर्दछ । नौबस्ता कारागारमा भएका लागू औषध र जुवातासको अखडाको विषयमा जेलर जालन्धार भुसालसँग प्रतिक्रिया माग्दा उनले भने “हामीले पनि सबै कुरा जानाकारी राख्न सकिदैन । भिडिओ पठाउने देखि खानेसम्मका सबै ठीक हुन् भन्न सकिदैन । यो भिडिओ खिचिएको दशैताका भनिएको छ ।” तर, जेलर भुसालले त्यो लागू औषध खाएको र जुवातास खेलेको भिडिओ सत्य नै भएको स्वीकार गरे ।
देशका अधिकांश ठूला कारागारमा चौकिदार नियुक्ति गर्दासमेत गृहमन्त्रीका निजी सचिव, गृहहसचिव र कारागार व्यवस्था विभागका महानिर्देशकहरुले हस्तक्षेप गरी कमिसन भागवण्डा गर्ने गरेको समाचार सुन्न पाइन्छ । एक जना कैदी बन्दीका अनुसार एक हजार भन्दा बढि कैदीहरु बसेको कारागारमा मासिक ४० लाख सम्मको अवैद्य आम्दानी हुने गर्दछ । त्यसैको लोभमा चौकिदार नियुक्ति गरे भागवण्डा गरिने बताए । चीन जस्ता देशमा कैदीहरुलाई श्रम शिविरमा राखिन्छ । तर, यहाँ कर्मचारी र राजनीतिज्ञका लागि कमाउँ धन्दा सञ्चालन गर्ने माध्ययम बनाउँदा बारम्बार झडप र दूर्घट्ना हुने गरेको छ । कञ्चनपुर कारागारमा पनि झडप भएपछि अहिले छानविन समिति नै बनाउनु परेको छ ।
