कम्युनिस्ट पार्टी भनेको निम्न स्तरका जनताको समृद्धिका लागि संघर्ष गर्ने संगठन हो
० अहिलेको परिप्रेक्ष्यमा कम्युनिस्ट पार्टीहरुमा अझ परिस्कृत नेतृत्वको आवश्यकता छ ।
० पुष्पलालले मुलुकको परिवर्तन मान्छे मारेर गर्नु हुँदैन त्यो उग्रबाटो हो भन्नुहुन्थ्यो ।
० समान शिक्षाको अवधारणा निर्माण गर्नु आवश्यता छ ।
० जनताका आधारभूत समस्याहरु कम्युनिस्ट पार्टीहरुले कुशलतापूर्वक अघि बढाउन नसकेका कारण जनतामा आक्रोश घृणाका कारण जेनजी विद्रोह भएको होे ।
२००२ साल चैत्र ३ गते धुर्कोट, गुल्मीमा आमा विष्णुकला पोखरेल र बाबु बाबुराम पोखरेलको सन्तानका रुपमा जन्मनुभएका टंक प्रसाद पोखरेल नेकपा एमालेको तर्फबाट २०५१ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभयो । शोभा पोखरेलसँग विवाह बन्धनमा बाधिनुभएका उहाँका तीन छोरा र तीन छोरी हुनुहुन्छ । वि.स. २०२६ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्य हुनुभएका पोखरेल २०२८ सालमा अल इण्डिया नेपाली स्टुडेन्ट एशोसियसनको महासचिवमा निर्वाचित हुनुभयो । २०३१ साल देखि २०४६ सालसम्म पञ्चायन मावि धुर्कोटमा स्थायी शिक्षकका रुपमा कार्यरत पोखरेलले १७ वर्षपछि राजिनामा दिएर निर्वाचनमा होमिनुभयो । २०४८ सालको निर्वाचनमा गुल्मी क्षेत्र नम्बर तीनमा झिनो मतले पराजित उहाँ २०५१ सालको मध्यवधि निर्वाचनमा सानदार मतले विजयी बन्नुभएको थियो । पोखरेलसँग ध्रुविकरणतर्फ अघि बढेको नेपालको कम्युनिस्ट आन्दोलन गन्तब्यमा पुग्न सक्छ ? भन्ने विषयमा डायरी एक्सप्रेस साप्ताहिकका लागि नारायण प्रसाद शर्माले लिएको विशेष अन्तवार्ताः
तपाई आफ्नो अमूल्य जीवनको लामो समय कम्युनिस्ट पार्टीमा रहेर काम गर्नुभयो कसरी र कस्को प्रेरणाबाट कम्युनिस्ट पार्टीमा लाग्नुभएको थियो ?
म पढ्दाखेरी मोहन विक्रम सिंहका नजिकका एक जना वीर बहादुर सिंह भन्ने शिक्षक हामी कहाँ पढाउन आउनुभयो । उहाँले माक्र्सवादको अध्ययन गर्नुभएको रहेछ । उहाँको एकजना भाइ पनि संगसंगै हुनुुहुन्थ्यो । लेनिनका बारेमा बताइदिन हामीले कक्षा कोठामै बिर बहादुरलाई अनुरोध गरेका थियौं । त्यसको गहिरो छाप मलाई पर्न गयो । यसरी लेनिनले जस्तै हाम्रो देशमा पनि कसैले केहि गरिदिएको खण्डमा राम्रो हुन्थ्यो भन्ने लाग्यो । त्यसपछि इण्डियामा रुसको दुतावासमार्फत सोभियत भूमि भन्ने पत्रिका आउँथ्यो, त्यसको ग्राहक बनेर हामीले पढ्न थाल्यौं । त्यसपछि हामीले नेपालमा कम्युनिस्ट पार्टीको स्थापना पुष्पलालको नेतृत्वमा भएको र नेपालको संसदको राजाबाट विघटन पश्चात भारत प्रवासमा हुनुहुन्छ भन्ने जानकारी पायौं । पछि हामीले सम्पर्क गरी पार्टी सदस्यता लिएका हौं ।
तपाईले कति सालमा नेकपाको सदस्यता लिनुभयो ?
मैले २०२६ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएको हुँ ।
त्यसपछिको राजनीति कसरी अघि बढाउनुभयो ?
सिलाङ, आसाम र गुहाटीतिर पुष्पलालको नेतृत्वमा संगठन निर्माण गर्ने काम धमाधम अघि बढाइयो । नेपालीहरुलाई राजनीतिक चेतना भर्न सुरु गरियो । इण्डियामा धेरै बर्ष देखि बसोबास गर्दै आएका थुप्रै नेपालीहरु छन् । तिनीहरुलाई यसरी नागरिकता बिना विदेशमा आएर बस्दा बर्माकै जस्तो हालत हुन सक्छ । तपाईहरु नेपाली मूलको भारतीय भएको नागरिकताको प्रमाणपत्र लिने र नेपाली भाषालाई भारतको संविधानमा मान्यता दिलाउने गरी लाग्नुपर्दछ । यस विषयमा ध्यान दिन जरुरी छ भनेर हामीले सिकायौं । हामी नेपाल निर्माण गर्न सकिने गरी लाग्नुपर्दछ । सधैभरी विदेशमै बसेर हाम्रो भविस्य बन्दैन भनेर प्रशिक्षण दियौं । उक्त समयमा ईण्डियाका ६ वटा प्रान्तका विद्यार्थी संगठनको म महासचिव बनेको थिएँ । अल इण्डिया स्टुडेन्ट फेडेरेशसनको तेस्रो सम्मेलन १९७२ मा आयोजना गर्ने सल्लाह भएको थियो । पुर्वाञ्चल नेपाली विद्यार्थी संघ गुहाटी विश्व विद्यालयमा स्थापना भएको थियो । जहाँ पाँच वटा विश्व विद्यालयहरु थिए । जसमा आसाम, नागाल्याण्ड, त्रिपुरा, अरुणाञ्चल र मेघालयसमेतका विश्व विद्यालयमा पढेका विद्यार्थीहरु सम्मेलनमा सहभागि थिए । त्यो सम्मेलनबाट मलाई अध्यक्षमा निर्वाचित गरियो । बनारसमा आयोजना हुन गइरहेको छात्र संघको सम्मेलनमा हामीलाई आमन्त्रित गरियो । त्यो सम्मेलनबाट मोहन चापागाई अध्यक्षमा चुनिनुभयो । जो पछि राष्ट्रियसभाको सांसद पनि बन्नुभयो । म महासचिव भएँ । उपाध्यक्षमा दिल सहानी निर्वाचित हुनुभयो ।
त्यस पछि तपाई कुन कुन पदमा बसेर काम गर्नुभयो ?
म विद्यार्थी संगठनको महासचिवमा निर्वाचित भएपछि छात्र आवाज भन्ने पत्रिका प्रकाशन गरियो । त्यसपछि हामी आन्तरिक रुपमा संस्थापक पुष्पलालको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीमा संगठित भएका थियौं । त्यसमा इण्डियामा अध्ययन गरेका विद्यार्थी क्षेत्र हेर्ने र प्रवासी नेपालीहरुबीच संगठन गर्ने दुई वटा काम गरिएको थियो । यसमा पुष्पलालले अगाडि बढाउनुभएको थियो ।
उक्त समयमा काम गर्दा कतै धरपकड पर्नुभएन ?
हामी भारतमा बस्दासम्मका लागि त कतै पनि गिरफ्तार भएनौं । नेपाल आएपछि गाउँमा फर्कने परेको थियो । गाउँमा गएपछि इण्डियामा फर्कन मिलेन । घरको अवस्था र गाउँको विद्यालय पनि सरकारले खारेज गरिदिएको थियो । उक्त विद्यालयलाई पुनःस्थापना गर्नु अत्यन्तै आवश्यक थियो । तपाई बस्नुपर्छ भन्ने गाउँमा आग्रह भयो । त्यसलाई हेरेर म केहि समय भए पनि पढाउनुपर्छ भन्ने लाग्यो । त्यसैकारण क्रमशः इण्डिया फर्कन सकिन, जीवन अलमल मै बित्यो । २०३२ सालदेखि हामीले गाउँमा पञ्चायतको उपयोग गर्नुपर्छ भन्ने लाग्यो । हामी इण्डियामै हुँदा झापा आन्दोलन भएको थियो । झापा आन्दोलनका नेताहरु मोहन चन्द्र अधिकारीलगायत हामीलाई भेट गर्न इण्डियाको सिलाङ आउनुभएको थियो । उहाँहरुले हामीसँग भन्नुभयो ‘पुष्पलालले लिएको राजनीतिक लाइनबाट हामीले नेपालमा सशस्त्र क्रान्ति गर्न सक्दैनौ ।’ पुष्पलालले मुलुकको परिवर्तन मान्छे मारेर गर्नु हुँदैन त्यो उग्रबाटो हो भन्नुहुन्थ्यो । हामीेले तत्कालिन अवस्थामा संगठन र सिद्धान्तको बारेमा जनतालाई राम्ररी बुझाउनु अहिलेको आवश्यकता हुन्छ भन्नुहुन्थ्यो । पछि पुष्पलालले हामीलाई पनि शंकाको दृष्टिले हेर्नुभयो तथापि कुरा बिग्रिसकेको पनि थिएन । नेपालमा आएपछि हामीले पञ्चायतका निर्वाचनमा उपयोग गर्नुपर्छ भनेर २०३२ सालमा हामीलाई समर्थन गर्नेहरुलाई सहयोग गरियो । पछि २०३९ सालमा भएको स्थानीय निर्वाचनमा हामीले पुरै आफ्नो समर्थकलाई जितायौं । २०३८ सालपछि हाम्रो क्षेत्रमा नेकपा मालेको संगठन राम्रो बनेको थियो । सुरुमा पुष्पलाल समूह बलियो थियो । तर, पुष्पलालकै संगठनमा रहँनुभएका केशरमणि पोखरेलले चलाएको २०३० सालको ‘बचत फिर्ता आन्दोलन’ का कारण कमजोर बन्यो । आन्दोलनमा जुलुस प्रदर्शन भयो । त्यसमा ब्यापक दमन भयो । त्यसपछि त्यो संगठन उठ्न सकेन । पछि झापा आन्दोलनका साथीहरु कोअर्डिनेशन केन्द्र (कोके) गठन गरी हामीसँग भेट गर्न आउनुभयो । २०३८ साल देखि हामी पनि मालेमा संगठित भयौं ।
तपाई कुन कुन कमिटीमा रहेर काम गर्नुभयो ?
म २०३१ साल देखि शिक्षक बनेर गाउँकै पञ्चायन माविमा पढाए । त्यसपछि जिम्मेवारी बहन गर्न सम्भव थिएन । तथापि शिक्षक आन्दोलनमा सक्रिय भएँ । प्रशासनले त मलाई कम्यु्निस्ट नै हो भनेर १२÷१३ पटक हिरासतमा लिएको थियो । २०४१, २०४४ र २०४६ सालमा शिक्षक आन्दोलनका क्रममा र बिभिन्न बहानामा जेलमा परेँ ।
२०४१ सालमा ‘काठमाडौं जाउँ’ भन्ने आन्दोलनका क्रममा म शिक्षक संगठनको जिल्ला उपाध्यक्ष थिएँ । २०४३ सालमा अध्यक्ष बने । त्यहि क्रममा पनि लामो समय जेलमा बस्नु परेन । किनकी हामी जनतासँग लोकप्रिय थियौं । यसरी मैले १७ वर्ष स्थायी शिक्षक भएर २०४७ सालमा राजिनामा दिए । २०४८ सालमा म गुल्मी क्षेत्र नम्बर तीनबाट सांसद पदमा चुनाव लड्नका लागि नेकपा एमालेबाट टिकट पाए । तर, थोरै मतले पराजित भए । २०५१ सालको मध्यवधि निर्वाचनमा पार्टीले मलाई नै पुनः टिकट दियो । त्यसमा मलाई जनताले विजय गराए । चुनाव प्रचारका लागि मैले घरबाट मात्रै पाँच सय लिएको थिएँ । जुन रकम पछि फिर्ता नै गरेँ । म जिल्ला कमिटीको कार्यसमतिमा मात्रै रहेर काम गरेको थिएँ । माथिल्लो कमिटीमा रहेर काम गर्ने अभिलाषा पनि राखिन ।
२०५४ साल फागुन २१ गते महाकाली सन्धिकै विषयलाई लिएर पार्टीमा फुट आयो । महाकालीमा देश ठगिएको मलाई पनि अनुभूति भयो । जुन सच्चाउनुपर्छ भन्ने मलाई पनि लाग्यो । त्यसपछि म नेकपा मालेमा लागेर काम गरे ।
केहि उग्र कम्युनिस्ट पार्टीहरु संसदीय प्रणाली भनेको ‘खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने प्रणाली’ हो । यसले आम जनताको मुक्ति गर्दैन भन्छन् । वास्तवमा अहिले त त्यसै हो कि जस्तो छ नी ?
कम्युनिस्ट पार्टीमा लाग्ने र नेतृत्व गर्ने ब्यक्ति त्यो फन्दाबाट मुक्त भएर व्यवहारमा देखाउने प्रमुख कुरा हो । नेपालमा तत्काल सशस्त्र आन्दोलन हुनसक्ने परिस्थिति र विजय हुनसक्ने अवस्था नभइरहेकोमा थियो । २०४६ सालको अन्दोलनमा नेपालका कम्युनिस्टहरुले शान्तिपूर्ण रुपमा व्यापक सहभागिता देखाएका थिए । जुन संयुक्त आन्दोलनका गरेका कारण सफलता प्राप्त भएको थियो । पुष्पलालले पनि संयुक्त आन्दोलनको पक्षमा हुनुहुन्थ्यो । अहिले आएर कम्युनिस्ट पार्टीका नेतृत्वमा अवसरवादीता देखिएको त पक्कै पनि हो । तर, अहिलेको परिप्रेक्ष्यमा कम्युनिस्ट पार्टीहरुमा अझ परिस्कृत नेतृत्वको आवश्यकता छ । तत्कालका लागि अहिले संवैधानिक बाटो नै मूख्य हो भन्ने मलाई लाग्छ । हिजो चिनियाँ र रुसी क्रान्तिको अवस्था कस्तो थियो र किन सफल भयो ? भन्ने फरक पाटो थियो । नेपालमा व्यवहारमा नै सशस्त्र क्रान्ति गर्ने भन्ने कार्यदिशा लिएर नेकपा माओवादीले २०५२ साल फागुन १ गतेदेखि सुरु गरेको थियो । २०२८ सालमा पनि झापा आन्दोलनमा सशस्त्र रुपमा नै सञ्चालन गरिएको थिए । तथापि यी दुबै आन्दोलन टुङ्गोमा पुग्न सकेन । नेतृत्व र संगठन पैसा प्रतिको मोहबाट मुक्त गर्न सकेको खण्डमा मात्रै जनताप्रतिको मोह रहन्छ । यस्तो अवस्थामा अहिले पनि नेपालमा कम्युनिस्ट पार्टीले बहुमत ल्याउने सम्भावना प्रवल छ ।
नेपालमा कम्युनिस्ट पार्टीका धेरै समुहहरु आएका छन् । ध्रुविकरण पनि तिब्र छ ।
पछिल्लो जेनजी बिद्रोहले पनि मानसिक रुपमा फेरबदल ल्याइदिएको छ । तपाईलाई कस्तो लाग्छ ?
कम्युनिस्ट पार्टीहरुबीच एकता र बिखण्डनको क्रम जारी रह्यो । बिखण्डन पनि हुँदै आयो । मुलतः कम्युनिस्ट पार्टी भनेको निम्न स्तरका जनताको समृद्धिका लागि संघर्ष गर्ने संगठन हो । त्यस रुपमा अघि बढ्न नसकेका कारण यो अवस्था आएको हो । २००७ साल देखि यता भएका आन्दोलनहरु नितान्तै राजनीतिक आन्दोलनहरु हुन् । हरेक राजनीतिक आन्दोलन पछि आर्थिक र सामाजिक आन्दोलन अघि बढाउनुपर्दछ । त्यस हिसावले जनताका आधारभूत समस्याहरु कम्युनिस्ट पार्टीहरुले कुशलतापूर्वक अघि बढाउन नसकेका कारण जनतामा आक्रोश घृणाका कारण जेनजी विद्रोह भएको होे । जेनजी बिद्रोह त्यसैको एउटा रुप हो । अहिलेको परिवेशलाई यथार्थ रुपमा बुझेर त्यहि अनुरुप अघि बढाउन नसकेको परिणाम कम्युनिस्ट पार्टीहरु असफल सिद्ध भएका हुन् ।
आर्थिक समृद्धिका आन्दोलन अघि बढाउन जरुरी छ । अहिलेसम्मका अवस्था हेर्दा त्यो खालको कार्यक्रम निर्माण भएको देखिदैन ।
कम्युनिस्ट पार्टीका संगठनले सिद्धान्त र व्यवहारमा तालमेल मिलाउने हो भने तत्कालका लागि मूख्य मूख्य काम के गर्नुपर्दछ ?
खास कुरा त नेपालमा नेपाली जनताका आधारभूत आवश्यकताहरु के के के हुन् ? टुङ्गो लगाउनुपर्दछ । त्यसको निस्कर्ष निकाल्नुपर्दछ । मूल रुपमा हाम्रा चारवटा समस्याहरु छन् ।
पहिलो ः नेपालमा दुई प्रकारको शिक्षा हुनु नै एउटा समस्या हो । सामान्य जनताका लागि एक खालको शिक्षा र हुनेखाने सम्पन्न व्यक्तिहरुका लागि अर्को शिक्षा छ । यसमा सामन्य जनताका लागि र सभ्रान्तका लागि भन्ने नभएर समान शिक्षाको अवधारणा निर्माण गर्नु आवश्यता छ ।
दोस्रोः नेपालमा गरिबहरु नेपालमै स्वास्थ्य उपचार गर्न नसकेर मनुपर्ने अवस्था छ । कतिपय रोगको उपचारका लागि दशौं र बिसौं लाख खर्च हुने अवस्था छ । सम्पन्नहरु देशकै सम्पन्न अस्पतालमा उपचार गराउँछन् । त्यसले पनि नभएर विदेश जान्छन् । तर, सामान्य मानिसहरु आर्थिक समस्याका कारण त्यो पहुँच राख्दैनन् । त्यसैले उपचारमा समान सेवा उपलब्ध हुनुपर्दछ ।
तेस्रोः प्रशासनिक भ्रष्टाचारको निर्मुल गर्नुपर्दछ । जत्ताततै भ्रष्टाचार व्यप्त छ । त्यसको निर्मुल पार्नुपर्दछ ।
चौथोः ेरोजगारीको समस्या छ । रोजगारीका लागि पचासौं लाख युवाहरु खाडी, मलेशिया, दक्षिण कोरिया, इजरायल, जापानलगायतका देशमा पसिना बगाएका छन् । हामीले शिक्षा र स्वास्थ्यको समस्या हल गरेको खण्डमा ५० प्रतिशत भ्रष्टाचार आफै निवारण हुन्छ । यी समस्या समाधान गर्नुपर्दछ ।
पहिलो नम्बरमा अहिले आत्मनिर्भर बनाउन र बेरोजगारी समस्या हल गर्नका लागि कृषिलाई आध्ुनिकिकरण गरेको खण्डमा लाखौको रोजगारी सिर्जना हुन सक्तछ ।
दोस्रो कृषिमा आधारित र गैर कृषिमा आधारित उद्योगको स्थापना गर्नुपर्दछ ।
तेस्रो ः डिजिटल सेवालाई सहज र उन्नत गराउने कुरा पनि पर्दछ । यसबाट धेरै जनालाई रोजगारी मिल्न सक्छ ।
चौथोः पर्यटनको सम्भावना पनि ब्यापक छ । यसबाट पनि लाखौं युवाहरुलाई रोजगारी दिन सकिन्छ ।
अहिलेसम्म नेतृत्वमा रहेका कुनै पनि सरकारले यस विषयमा गम्भीर प्रकारले छलफल नै गरेको देखिदैन । विकास तब हुन्छ जब देशको ठूलो जनशक्ति त्यसतर्फ लाग्छ । अहिले हाम्रो विकास भनेको दक्ष र युवा जनशक्ति बाहिर पठाउने कामको मात्रै विकास भइरहेको छ । ५०/६० लाख युवाहरु विदेशमा काम गर्दा विकास कहाँ भएको छ । प्रमाणित हुन्छ ।
अन्त्यमा केहि भन्नु छ की ?
अहिले देशमा चौतर्फि असन्तुष्टि छ । नेपालमा लगानीको पनि ठूलो अभाव देखिदैन । पुज्ािँको अवस्था पनि तत्कालका लागि राम्रै देखिन्छ । यी सबै विषयमा ध्यान दिएर स्वास्थ्य, शिक्षामा भ्रष्टाचारको अन्त्य नै गरेर आम जनतालाई रोजगारी दिलाउनका लागि योग्य र इमान्दार नेतृत्वको विकास हुनुपर्दछ । २०७२ को संविधानमा व्यवस्था गरेबमोजिमको कार्यरुप दिने विषयले पनि हामी एक हदसम्म अघि बढ्न सकिन्छ । त्यसका लागि नेपालका सबै राजनीतिक पार्टीहरुलाई संयुक्त रुपमा एकीकृत गराएर अघि बढ्ने इमान्दार नेताको खाँचो छ । माथिका चारवटा विषयमा ध्यान दिएर समाधान खोजेको देखिदैन । अबका युवाहरु यहि विषयमा खोज गरेर अघि बढ्न जरुरी छ ।

