November 19, 2025

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

एमाले संकटमा छ, नेतृत्वको हिसावले पनि ओली बदनाम छन् भन्ने विद्यालाई लाग्यो

राधाकृष्ण मैनाली, झापा आन्दोलनका शिर्ष नेता

० मदनको निधनपछि माधवले काखी च्यापेर ओलीलाई नेता बनाएका हुन् ।
० मनमोहन र मदन भण्डारीको फोटो नचिन्ने एमालेका केन्द्रीय नेता बनेका छन् ।
० अहिले ओली चीन गए पनि चिनियाहरुको सम्बन्ध राम्रो बन्ने छैन ।
० अमेरिकीहरु नेपालमा टेकेर इण्डिया र चाइनाप्रति गडबडी गर्ने योजनामा छन् ।
० सुधारको बाटोमा नगएर नेताहरु अन्यौलतामा धकेलेका छन् ।
० एमालेले विद्यालाई थन्क्याउने हिसावले भित्री मनसाय राखेर राष्ट्रपति बनायो ।
० मदनले भन्थे ‘यदि कार्यकर्ताले मलाई समर्थन गरे भने पार्टीका महाअधिवेशन पछिको केन्द्रीय समितिमा म भन्दा पछिको दोस्रो नम्बरमा सिपी हुन्छन््’ ।
० जबजको चरित्र भनेको पार्टीभित्र छलफल र द्वन्द्व भएपनि मिलेर अघि बढ्ने हो ।
० विद्याले माधवलाई समर्थन गरेको भए ओली पार्टीका अध्यक्ष बन्दैनथे ।
० विद्यालाई एमाले बाहिर राखेर जाँदा २०८४ को चुनावमा बहुमत ल्याउँछु भन्ने ओलीको सपना मात्रै हुन्छ ।



साबिक फुलबारी गाउँ विकास समिति चोकपुर, ताप्लेजुङमा सेप्टेम्बर २६, १९४६मा आमा चन्द्र माया मैनाली र बाबु धनपति मैनालीको सुपुत्रको रुपमा जन्मनुभएका राधा कृष्ण (आरके) मैनाली नेपालको बाम आन्दोलन र लोकतान्त्रिक आन्दोलनका एकजना शिर्षर्थ हस्ती हुनुहुन्छ । सन् १९७० को दशकको सुरुवातमा उहाँ (आफ्ना भाइ सी.पी. मैनालीसँगै) भारतमा नक्सलवादी आन्दोलनबाट प्रेरित भएर झापा विद्रोहको नेतृत्व गर्ने कट्टरपन्थी कम्युनिस्टहरूमध्ये एक हुनुहुन्थ्यो । राजनीतिक आन्दोलनका क्रममा १४ वर्ष जेल जीवन बिताउनुभएका मैनालीलाई सन् १९७३ देखि १९८६ सम्मै जेल हालिएको थियो । रिहाइपछि उहाँले कम्युनिस्टहरूले लोकतान्त्रिक परिवर्तनको लागि आन्दोलन गर्नुपर्छ भन्ने तर्क गर्नुभयो । यस समयसम्म उहाँ नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी–लेनिनवादी) का एक अग्रणी नेता हुनुहुन्थ्यो उहाँ संयुक्त वाम मोर्चाको कार्यवाहक अध्यक्षको रूपमा वि.स. २०४६ सालको जनआन्दोलनका एक प्रमुख नेता हुनुहन्थ्यो । र अप्रिल ८, १९९० मा पहिलोपटक राष्ट्रिय टिभीमा देखा परेका चारजना जनआन्दोलनका नेताहरूमध्ये एक हुनुहुन्थ्यो । जसले लोकतन्त्रको आन्दोलन विजयी भएको घोषणा गरेका थिए ।
मैनाली नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) तर्फबाट वि.स.२०४८ र २०५१ सालको संसदीय चुनावमा झापा–५ निर्वाचन क्षेत्रबाट विजयी हुनुभयो । मनमोहन अधिकारीको नेतृत्वमा रहेको नेकपा (एमाले) अल्पमतको सरकारमा कृषि, भूमि सुधार तथा व्यवस्थापन मन्त्री बन्नुभयो । मैनाली मार्च १२, १९९७ देखि अक्टोबर ६, १९९७ सम्म लोकेन्द्र बहादुर चन्दको नेतृत्वमा रहेको गठबन्धन सरकारमा स्वास्थ्य मन्त्री बन्नुभएको थियो ।
२०५४ साल फागुन २१ गते एमालेमा विभाजन भयो । उहाँ नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी–लेनिनवादी) समाहित हुनुभयो । नेकपा एमाले र नेकपा मालेको एकीकरण पश्चात नेकपा एमालेको पोलिटब्यूरो सदस्य बन्नुभएका मैनालीे पार्टीको कार्यनीतिको आलोचना गरेको भन्दै निलम्बन हुनुभयो । फेब्रुअरी १, २००५ मा भएको शाही विद्रोह पछि, मैनाली राजा ज्ञानेन्द्रको अध्यक्षतामा गठन भएको मन्त्रीपरिषद्मा शिक्षा तथा खेलकुद मन्त्री बन्नुभयो । सेप्टेम्बर २०१० मा, एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) मा सामेल हुनुभएका मैनाली अहिले राजनीतिक रुपमा सक्रिय हुनुहुन्न । समसामयिक विषयमा डायरी एक्सप्रेस साप्ताहिकका कार्यकारी सम्पादक नारायण प्रसाद शर्माले आइतवार उहाँकै निवास सीतापाइलामा लिएको छोटो अन्र्तवार्ताः


अहिले नेपाली कांग्रेस र नेकपा एमालेको झण्डै दुई तिहाई सांसद रहेको सरकार बनेको छ । तथापि विदेशी चलखेल त औधि बढिरहेको छ नी ?
तपाईले समसायिक विषय उठाउनुभयो । सरकार संख्यात्मक रुपमा भन्ने हो भने झण्डै दुई तिहाईको नजिक छ । राजनीतिक रुपमा सबैभन्दा अस्थिर छ । किनकी नेपाली कांग्रेसभित्र पनि सरकारप्रति असन्तोष चर्को रुपमा छ । भरखरै डा. शेखर कोइरालाले भन्नुभएको छ, ‘जहाँ खाली छ त्यहाँ एमाले छ ।’ त्यसको अर्थ खाली ठाउँ एमालेले कब्जा गर्ने भयो, सरकार अस्थिर बन्ने भो भन्ने नै हो । शेखर कोइराला नेपाली कांग्रेसमा शेर बहादुर भन्दा तलको नेता हुन् । उहाँको असन्तुष्टि एकदमै चर्को छ । कांग्रेसका अधिकांश सांसदहरु सन्तुष्ट छैनन् । कांग्रेसका कतिपय नेताहरु भ्रष्टाचारमा पनि मुछिएका छन् । उपभापति धनराज गुरुङ सहकारी ठगिमा मुछिएका छन् । कलिङ पिरेडका विषयमा मुछिएका रामहरिले राजिनामा दिएका छन् । तथापि अवस्था शान्त भएको छैन । संसद संसद जस्तो छैन । जालसाझी जस्तो बनेको छ । अर्कोतिर संसदमा अर्कादलहरु निरन्तर रुपमा बहिस्कारमा पनि छन् । यो अवस्थाले गर्दा गणितिय बहुमतले पनि सरकार स्थिर देखिदैन ।
अहिले भरखरै प्रधानमन्त्री ओली चीन भ्रमणमा जाने भनेर समाचार आएको छ । चीन भ्रमणमा मेरो विचारमा मेला भर्न गए जस्तै हो । त्यो कुनै राजकीय भ्रमण होइन । जहाँ २०÷२२ देशका प्रतिनिधिहरु आउने हुन् । चीनसँगको दौत्य सम्बन्ध थप बलियो बन्ने होइन । चिनिया नेतासँग हाइहेल्लो मात्रै हुनेछ । राष्ट्रिय सम्बन्धमा सुधार होला जस्तो लाग्दैन । त्यति मात्रै होइन हाम्रो प्रधानमन्त्री भारत जाने भन्ने विषयमा बोधगयामा भेला हुने भनिएको छ । यसरी हेर्दा नेपालमा मात्रै नभएर विदेशी गतिविधि पनि चलायमान भइरहेका छन् । चीनको भ्रमणमा सीजीन पिङसँग पनि भेट हुने भनिएको छ । रसियाका राष्ट्रपति पुटिन चिनियाँ नेतासँग भेटघाटपछि भारत आउने भनिएको छ ।
यी सबै विषयको सेन्टर नेपाल भइरहेको छ । पहिला अमेरिका र चीनको सेन्टर ताइवान हुन्थ्यो । अहिले चीन र अमेरिकाको गतिविधिको सेन्टर नेपाल भइरहेको छ । किनकी नेपालमा अमेरिकी आँखाहरु गम्भीर रुपमा आएका छन् । अमेरिकीहरु नेपालमा टेकेर इण्डिया र चाइनाप्रति गडबडी गर्ने योजनामा छन् । अहिले यो विषयमा इण्डिया पनि सतर्क बनेको छ । इण्डियामा आन्तरिक विरोधको वातावरण चर्को छ । क्रिश्चियनहरुको क्षेत्र रहेको वेस भूमिमा विद्रोहका विभिन्न रुप देखिएका छन् । इण्डियामा माओवादीहरुको बिद्रोह पनि कायमै छ । जातिगत गतिविधि पनि तिब्र रुपमा अघि बढिरहेको छ । विदेशीले आँखा लगाउने बित्तिकै इण्डियालाई ठूलो संकट आउँछ । यो संकटमा नेपाल सरकारको इण्डिया र चीन दुबैतर्फ राम्रो सम्बन्ध छैन ।


अहिलेको सरकार इण्डिया र चीन दुबैका लागि कम्फर्टेबल छैन ?
एमालेकै नेताका रुपमा विद्या भण्डारीलाई चीनमा बोलाएर सम्मान गरियो । पूर्व राष्ट्रपतिलाई दिइने भन्दा ठूलो सम्मान गरियो । त्यसपछि चिनिया विदेश विभागको प्रमुखले भने ‘नेपालको बामपन्थी आन्दोलनलाई एकता गराउनमा भूमिका खेल्नुहोस् । तपाई नेपालका वामपन्थिहरुको वरिष्ठ नेता हुनसक्नुहुन्छ’ भनेर एक किसिमको सल्लाह चिनियाहरुले दिएका छन् । ओलीसँग राम्रो सम्बन्ध भएको भए त यस्ता कुरा गर्नुपर्दैनथ्यो । अहिले ओली चीन गए पनि चिनियाहरुको सम्बन्ध राम्रो बन्ने छैन । चीन भ्रमणका लागि प्रधानमन्त्री ओलीलाई आएको निमन्त्रणामा पहिला हाम्रा राष्ट्रपति रामचन्द्र पौडेललाई बोलाइएको थियो भन्ने सुन्नमा आएको छ । तर, राष्ट्रपति पौडेलले बिआरआईका विषयमा बोल्नुपर्छ र शेरबहादुर देउवा रिसाउँछन् भनेर हो वा चीन प्रतिको विकर्षणले गर्दा हो उनले इन्कार गरेछन् । त्यसैले नेपाली कांग्रेस प्रति चीनको धारणा राम्रो बनेको छैन । देशमा अस्थिरता झनै निम्तिएको छ । सुधारको बाटोमा देश जान सकेन ।


राजनीतिक सुधार भनेकै पार्टीका गन्हाएका नेताहरु जसले लामो समय सत्तामा बसेर दुरुपयोग गरिरहेका छन्, विदेशी नीतिलाई गलत ढंगले परिचालन गरेका छन् । उनीहरुमा परिवर्तन गर्नु हो । काग्रेस, एमाले र माओवादी नेतामा परिवर्तन आउन जरुरी छ । तब मात्रै गणतन्त्र सुदृढ भएर अघि जान्छ । परिवर्तनको बाटो पछ्याएनन् भने विद्रोहको बाटोमा देश जान्छ । विद्रोहको बाटोमा जाँदा विकल्प यो नै भन्ने छैन । जसरी पञ्चायत गएपछि बहुदल आउँछ, राजतन्त्र गएपछि गणतन्त्र आउँछ भन्ने विकल्प बाँकी थियो । धेरै विकल्पहरु छन् । विदेशीले के माग्छन्् वा सडकले के माग्छ ? स्थिति अन्यौलतामा गुज्रिएको छ । सुधारको बाटोमा नगएर नेताहरु अन्यौलतामा धकेलेका छन् ।
उदाहरण नै लिउँ ‘राजाले शासन आफ्नो हातमा लिनुहुँदैनथ्योे ।’ लिएपछि सुधारको बाटोमा जानुपर्दथ्यो वा वार्ता गर्नुपर्दथ्यो । वार्ता नगर्दा अन्त्यमा गणतन्त्र आयो । अहिलेका नेताहरु सुधारको बाटोमा नगएर यसरी नै अघि बढेको खण्डमा ठूलो समस्या आउन सक्छ । हिजो राजाले जस्तै नेताहरुले भोलिका दिनमा परिवर्तन आउँछ भन्ने पत्याएका छैनन् । राजनीतिक दलहरु माओवादीसँग मिलेर राजतन्त्रलाई फ्याक्छन् भन्ने कुरा राजाले पत्याएनन् । विश्वास नगर्दा राजतन्त्र गयो । त्यसै गरी हामीले ब्यापक सुधार गरेनौं भने अहिलेको सिस्टममै समस्या आउला भनेर अहिलेका नेताले पत्याएका छैनन् ।


यसरी नपत्याउँदा सोचेभन्दा बिपरित परिणाम आउन सक्छ । यसमा नेताहरु सजग हुनुपर्छ अन्यथा देशले दूर्दशा होइन नयाँ बाटो र नयाँ पाटो बदल्न सक्छ । तर, यो सिस्टमका नेताहरु भने संकटमा पर्न सक्छन् ।


एमालेका अध्यक्ष ओलीले कानूनी र संवैधानिक हिसावले कहिँ कतै नभएपनि एमालेको राजनीतिमा आउनका निमित्त पूर्व राष्ट्रपति विद्या भण्डारीलाई रोकेका छन् । यो सहि हो ?

विद्यालाई राजनीतिमा आउन रोक्नुको अर्थ सुधारको बाटोमा नजानु हो । पार्टीको विधानले पनि विद्यालाई रोक्दैन । देशको कानूनले पनि रोक्दैन । पहिला राष्ट्रपति बनाउनुभन्दा अघिको सर्तमा पनि रोकिदैन । पार्टीका कार्यकर्ता र नेतालाई राष्ट्रपतिमा जानै रोक्ने कानून बनाएको भए हुन्थ्यो । जस्तै इण्डियाका कोहि पनि राष्ट्रपति त्यहाँबाट फर्केर राजनीतिमा आउँदैनन् । किनकी त्यहाँ सधै सामाजिक अभियन्ता वा स्वतन्त्र नागरिकलाई राष्ट्रपति बनाउँछन् । त्यसपछि उनीहरु सुबिधा लिएर बस्छन् । नेपाली कांग्रेसले पनि आफ्ना जुनियर कार्यकर्ता डा. रामबरण यादवलाई राष्ट्रपति बनायो । तर, एमालेले विद्यालाई थन्क्याउने हिसावले भित्री मनसाय राखेर राष्ट्रपति बनायो । माधवलाई सुरुमा प्रस्ताव गरिएको थियो । उनले बुझेर नै मानेनन् । विद्यालाई दुई पटक राष्ट्रपति बनाए पछि राजनीतिमा सक्रिय हुन पार्टीमा आउँदिनन् भनेर लगिएको थियो । राष्ट्रपतिबाट फर्केर आउँदा विद्याले पार्टी संकटमा रहेको देखिन् र अघि बढ्नुपर्छ भन्ने लागेर राजनीतिमा आउने निर्णय गरिन् । कानूनले उनलाई कहिँ पनि रोकेको छैन । सिस्टमबाटैै न्यूट्रल ब्यक्तिलाई राष्ट्रपति बनाएको भए यो अवस्था नै आउँदैनथ्यो । कार्यकर्तालाई बनाएपछि राजनीतिमा आउनु स्वाभाविकै हो । यस अघि पनि सभामुख बनेका, राष्ट्रिय सभामा अध्यक्ष भएकाहरुसमेत राजनीतिमा आएका छन् ।
एमाले संकटमा छ भन्ने विद्यालाई लाग्यो । नेतृत्वको हिसावले पनि ओली बदनाम छन् । पार्टी मदनको जबजको बाटोमा अघि बढेन । पाँचौ महाधिवेशनमा विवाद चर्को थियो । त्यो समयमा सिपी र झलनाथ एकातिर थिए । अन्य एकातिर थिए । तथापि मदनले भन्थे ‘यदि कार्यकर्ताले मलाई समर्थन गरे भने पार्टीका अधिवेशन पछिका केन्द्रीय समितिमा म भन्दा पछिको दोस्रो नम्बरमा सिपी हुन्छन्् ।’ साच्चिकै त्यसै गरे । त्यसको विरोधमा प्रदिप नेपाल, अष्टलक्ष्मी शाक्यले केन्द्रीय समितिमै बस्दिन भने । तर,पनि मदनले नआउँ नै भने । पछि उनीहरुले नै हार गुहार गरेपछि ल्याएका थिए ।


जबजको चरित्र भनेको पार्टीभित्र छलफल र द्वन्द्व भएपनि मिलेर अघि बढ्ने हो । अहिले ओलीले भीम रावल पार्टीको अध्यक्षमा उठेपछि लखेटिए । व्यापारीले डेड अर्बको जग्गा दिएर पार्टीमा प्रभाव पारे भन्दा बिन्दा पाण्डे र उषा किरण तिमिल्सिना निलम्बन भए । यसले के देखायो भने जबज नै संकटमा आयो । मदनको लिगेसी, पारिवारिक मात्रै नभएर वैचारिक नाताकै हिसावले विद्या दुई पटक राष्ट्रपति भइन् । ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री बनाउन पनि विद्या नै लागेर हो । यदि विद्याले माधवलाई समर्थन गरेको भए ओली पार्टीका अध्यक्ष बन्दैनथे । अहिले देशलाई संकटमा लैजाने र सडक तताउने अभियानमा ओली छन् । विद्यालाई एमाले बाहिर राखेर जाँदा २०८४ को चुनावमा बहुमत ल्याउँछु भन्ने ओलीको सपना मात्रै हुन्छ ।


अहिले जबजको व्याख्याता राप्रपाको केन्द्रीय सदस्य भएको एकै वर्षमा एमालेको केन्द्रीय सदस्य बनेकी कोमल ओली, बाँकेका कर्णाली बैंक घोटला काण्डका एमाले केन्द्रीय सदस्य पशुपति दयाल मिश्र, झापाकै दुर्गा प्रसाई, तनहुँका पूर्व आइजी सर्वेन्द्र खनालहरु बने ? काग्रेसका बिनोद चौधरी, उमेश श्रेष्ठहरु समाजवादको अब्बल ब्याख्याता बनेका छन् । त्यहि कारण निरासा जाग्यो हैन ?
हो जताततै निरासा छ । बिपीको फोटो नचिन्ने नेपाली कांग्रेसका नेता छन् । त्यसै गरी मनमोहन र मदन भण्डारीको फोटो नचिन्ने एमालेका केन्द्रीय नेता बनेका छन् । जबजका ब्याख्याको नजिकै नपरेका अहिले नेत ाबनेका छन् । ओलीले मदन भण्डारीका चारवटी श्रीमती थिए भनेर बेइज्यति नै गरेका छन् । ओलीले मात्रै त्यो हल्ला कसरी सुने ? हामीसँगै उनी जेलबाट छुटेका थिए । त्यो हल्ला नत विद्यालाई थाह थियो, नत कसैले चर्चा गरेका छन् । मैले पनि त सुन्नुपर्दथ्यो । ओलीले मदन भण्डारी फाउन्डेशनको बारेमा विविध चर्चा गरेका छन् । उनले विद्याको भूमिकाको प्रश्न उठाएका छन् । महाकाली सन्धि अघि उनको के भूमिका थियो ? झापा आन्दोलन, २०४६ साल, २०६३ साल कुनै आन्दोलनमा पनि उनको भूमिका थिएन । उनले २०६३ सालको आन्दोलनमा त बयलगाडामा चढेर अमेरिका पुग्न सकिदैन भनेर चर्चा गरेका थिए । मदनको निधनपछि माधवले काखी च्यापेर ओलीलाई नेता बनाएका हुन् । ओलीलाई जस्ले गुन गरेको छ उसैको कुदिन आउँछ । उनलाई हिजो सघाउनेहरु रामनाथ दाहाल, आरके मैनालीलगायतका नेताहरुको उछितो काडेर नभएर अहिले विद्याको उछितो काडेका छन् । अहिले सबैभन्दा नजिक विष्णु रिमाल छन् । उनलाई पनि कुन दिन शहिद बनाउँछन् । ओली यस्ता खुराफाती दिमागका मान्छे हुन् ।


अन्त्यमा केहि भन्नु छ कि ?
मेरा विचारहरु आम जनसमुदाय माझ लैजाने जमर्को गर्नुभएकोमा धन्यवाद दिन चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.