विदेशमा गरेको वचत र सिकेको सीपलाई नेपालमा लगानी गरौँ मोहम्मद जाकिर हुसैन, पूर्वमन्त्री
नेकपा माओवादी केन्द्रमा रही संविधानसभा सदस्य र महिला बालबालिका तथा समाजकल्याण राज्यमन्त्री भइसकेका सुनसरीका मोहम्मद जाकिर हुसैन नेपालमा संगठित मुस्लिम आन्दोलनका संस्थापक हुन् । उनले प्रतिपादन गरेको ’मुस्लिम समुदायको पृथक राष्ट्रिय पहिचान’ मुस्लिम आन्दोलनको भाष्यको रूपमा स्थापित भएको छ । हुसैन गत आम निर्वाचनअघि नेकपा एमाले प्रवेश गरेका छन् । उनीसँगको संक्षिप्त भलाकुसारी ।
० चुनाव लड्नुभएन ?
– गठबन्धन राजनीतिले गर्दा हामीजस्ता धेरै नेता–कार्यकर्ताहरू पोटेन्सियालिटी र सम्भावनाका बावजुद चुनावमा जान सकेनन् ।
० चुनावको मुखमा माओवादी छाडी एमालेमा जानुभयो त ।
हो, सिचुएशन हो । राजनीतिले विभिन्न मोडमा पु–याउँदो रहेछ क्यार । सिचुएशनले जहाँ पु–यायो त्यहाँ छु । जुन क्षेत्रमा मेरो जिम्मेवारी रहँदै आएको छ, त्यहाँ ठूलो सङ्ख्यामा जनताले मलाई जहाँ देख्न चाह्यो, त्यहाँ छु । राजनीति जनतामाझ न गरिन्छ ।
० के जिम्मेवारी पाउनु भएको छ ?
– पार्टीको संगठित सदस्य । म कुनै आरोप–प्रत्यारोप गरी माओवादी छोडिन र निःशर्त एमालेमा आएको हुँ । नो डिमाण्ड । हो, म काम गर्दै जान्छु । कामको मूल्याङ्कन गरेर क्षमता अनुसारको जिम्मेवारी दिनुहोला भनेको छु । यत्ति हो कुरा ।
० किन छोड्नुभयो माओवादी ?
– यसको उत्तर मैले केपी कमरेडलाई दिएको छु । कुनै दिन प्रचण्ड कमरेडसित भेट भएको बेला नसोधे पनि उहाँलाई म सुटुक्क भन्नेछु । र, माओवादी छोडे के भो र ? सारमा माओवादी र एमालेको लाइन र बुझाइ एउटै त छ । हेटौँडा महाधिवेशनको राजनीतिक प्रतिवेदन पढ्नुस् न । दुवै दलको राजनीतिक प्रतिवेदनको निचोड एउटै त छ । हिजो एक भएको कारण पनि त्यही बुझाइ र निचोड त हो नि ।
० अनि जवज ?
– एक्काइसौँ शताब्दीको समाजवाद र जवजको सार उस्तै लाग्छ मलाई ।
० समाजवाद आउँछ र ?
ढिलो गरी आउनुपर्ने त हो । तर, त्यो समाजवाद नेपाली मौलिकतामा आधारित समाजवाद हुनेछ ।
० सरकार चल्छ कि ढल्छ ?
चल्छ, चल्छ, चल्छ । कसरी ढल्छ ? धेरै हण्डर खाएर एउटै बार्दलीमा मुस्कुराएका छन् केपी–प्रचण्ड कमरेड ।
० एकता हुन्छ र ?
– हुन्छ । हुनैपर्छ । अहिले नेताहरू एक ठाउँमा आउनुलाई संयोग मात्र बुझ्ने गलती गर्नु हुँदैन । नेताहरू चेतिने स्तरमा पुगेका छन् अब । उहाँहरूसँग विकल्प नै छैन । आ–आफ्ना गलतीहरूको अनुभूति भएको छ नेताहरूलाई । र, मूलतः केपी ओली, प्रचण्ड र माधव नेपाललगायतका कम्युनिष्ट नेताहरू न मिले यी पार्टीहरू भविष्यमा झन् झन् खुम्चँदै जानेछन् । मिले चाहेजस्तो काम गर्न सकिन्छ, नमिले बर्बादीको बाटोमा जानेछ कम्युनिष्ट आन्दोलन ।
०अरू कम्युनिष्टहरू पनि त छन् नि ?
– मुलधारका कम्युनिष्ट यिनैलाई मान्दछु म । एक्काइसौँ शताब्दीमा अधिभूतवादी र जडतामा गएर कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन सकिँदैन ।
० नेपाललाई कसरी हेर्ने होला ?
– नेपाल एउटा सार्वभौमसत्ता सम्पन्न राज्य हो । अति विशिष्ट र संवेदनशील भूराजनीतिक बनौट रहेको नेपाल प्रचुर पर्यटकीय र प्राकृतिक तथा सांस्कृतिक सम्भावना भएको विकासोन्मुख मुलुक हो । राष्ट्रिय स्वाधिनताको रक्षा गर्दै समाजवादतर्फको यात्रामा इमानदारितासाथ अगाडि बढ्नसके, यहाँ भएका सम्भावनाहरूको उच्च प्रयोग गर्नसके देश समृद्ध हुन्छ ।
० नयाँ नयाँ अनुहारहरूको बारेमा के भन्नुहुन्छ ?
– पपुलिष्टहरू विश्वभरि छन् । नेपाल मात्र होइन भारत, पाकिस्तान, चीन र अमेरिकामासमेत पपुलिष्ट शैलीमा नेताहरूले उपलब्धी हासिल गरेका छन् । अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति, चीनमा सी जिङपिङ राष्ट्रपति, भारतमा नरेन्द्र मोदी प्रधानमन्त्री र पाकिस्तानमा क्रिकेटर इमरान खान प्रधानमन्त्री भए । यसमा यही पपुलिष्ट विचारधाराको देन रहेको छ ।
केही समययता प्रधानमन्त्रीसमेत रहिसकेका विद्वान् नेता बाबुराम भट्टराई, बीबीसी रेडियोमा लामो समयसम्म काम गरी अन्तर्राष्ट्रिय पहिचान बनाएका रविन्द्र मिश्र, पछिल्लो राप्रपा महाधिवेशनबाट अध्यक्ष भएका राजेन्द्र लिङदेन, वैज्ञानिक पृष्ठभूमिबाट राजनीतिमा पदार्पण गरेर मधेशमा लोकप्रियता कमाएका सिके राउत, बेथितिको मुद्दा उठाई लोकप्रिय बनेका युवा नेताहरू रवि लामिछाने, ज्ञानेन्द्र शाही, बालेन्द्र शाह, हर्क साम्पाङ, पपुलर सेलेब्रेटी रेखा थापा, खुश्बू ओली, करिष्मा मानन्धर लगायतले पपुलिष्ट राजनीतिलाई टेवा दिन खोजेका छन् । र, कुनै न कुनै रूपमा पूर्व राजा ज्ञानेन्द्र शाहले पनि पपुलिष्ट आन्दोलनलाई नै हतियार बनाएर छद्मभेषी भूमिका निर्वाह गरिरहेका छन् ।
निषेधको नीति लिनु हुँदैन । सवैलाई काम गर्ने अवसर मिल्नुपर्छ । पपुलिष्टहरू पपुलर बनेर मास आकर्षित गरी राज्यसत्तामा पदार्पण गर्न खोज्छन् । उनीहरूले राज्यमा देखा परेका बेथिति र जनगुनासाहरूलाई उत्खनन गरेर बाहिर ल्याई पपुलर हुन खोज्छन् । कतिपय अवस्थामा उनीहरू सफल हुन्छन् भने कतिपय अवस्थामा पपुलिष्टहरू सकिन्छन् । पपुलिष्टहरू राजनीतिक चिन्तनको आधारमा राजनीतिमा हुँदैेनन्; तत्कालिक एजेण्डालाई हथियार बनाउँछन् उनीहरू जसले उनीहरूलाई लोकप्रिय बनाओस् । रविन्द्र मिश्र आउनुभयो । केही समयपछि भन्नुभयो– विचारभन्दा माथि देश । यो राजनीतिक चिन्तन नै होइन । यो जनतालाई रिझाउने शैली चाहिँ हो । देश बनाउन विचार चाहिन्छ । यी दुईबीच अन्योन्याश्रित सम्बन्ध हुन्छ ।
० तपाईं मुस्लिम समाजमा सर्वाधिक लोकप्रिय र वैचारिक नेताको रूपमा चिनिनुहुन्छ । मुस्लिमको बारेमा केही भन्नुस् न ।
– जसरी कम्युनिष्ट पार्टीहरूले दीर्घकालीन समाजवादी आन्दोलनको रूपमा आफ्नो एक्जिस्टेण्टलाई परिभाषित गरेर निरन्तर उपस्थिति देखाएका छन्, त्यसरी नै मुस्लिम समुदायले निरन्तर आन्दोलनको रूपमा आफ्नो अधिकार र हकहितको शान्तिपूर्ण संघर्ष गरिरहनुपर्छ । मुस्लिम समुदायको आन्दोलनको भाष्यको रूपमा ’मुस्लिम समुदायको पृथक राष्ट्रिय पहिचान’ स्थापित भएर आएकोले अब समुदायले यस भाष्यलाई विकास गर्दै अगाडि बढ्नुपर्दछ । यो जरुरी छ । किनभने नेपाली मुस्लिम समुदाय राष्ट्रवादी भए पनि उसको बारेमा समाजमा स्थापित पर्सेप्सन राम्रो छैन । ऊ आज पनि विभेदको शिकार रहेको छ । उसका अधिकारहरूलाई कुण्ठित गरिएको छ । उदाहरणकोलागि भर्खरै मधेशी आयोगले मुस्लिमलाई मधेशी जातिको सूचिबाट हटाउने सिफारिश ग–यो जबकि मधेशी–दलित र मधेशी–जनजातिलाई हटाइएन। २०६८ को जनगणना अनुसार ९६–९७ प्रतिसत मुस्लिम मधेशमा बसोवास गर्छन् । मधेश टेरिटरी र संस्कृति हो । त्यहाँ राष्ट्रिय स्तरमा पहिचान पाएका मधेशी मुलका थारू, मुस्लिम, दलित, जनजातिहरूको पनि बसोवास छ । उनीहरूको पहिचान मधेशी पनि त हो ।
० मुस्लिम समुदायका आधारभूत समस्याहरु के के हुन् ?
– नेपाली मुस्लिम समुदाय शिक्षामा कमजोर छ । उच्च शिक्षामा उनीहरूको न्यून सहभागिता छ । शिक्षा क्षेत्रमा ठूलो ड्रपआउट छ । इस्लाम धर्मसँग जोडिएको मद्रसा शिक्षा अन्यौलग्रस्त अवस्थामा रहेको छ । उनीहरूको ठूलो हिस्सा आर्थिक बिपन्नता झेलिरहेको छ । राजनीतिक रूपमा पनि उनीहरू पछौटेपनको शिकार छ । उनीहरूको आफ्नै साँस्कृतिक तथा धार्मिक उत्थानका समस्याहरू पनि छन् । राज्यद्वारा लामो समयदेखि भएको दोहनको पनि यो समुदाय शिकार भएको छ । आज पनि नीतिगत र संरचनागत विभेक कायमै छ ।
० मुस्लिम समुदायको विकास र उन्नति कसरी होला त ?
– राज्य र समुदायबीच अधिकार र कर्तव्यको सन्दर्भमा सामञ्जस्य हुनुपर्छ । समुदायले अधिकार मात्र खोज्ने तर कर्तव्य निर्वाह नगर्ने अवस्थाको अन्त हुनुपर्छ । राज्य जनताप्रति उत्तरदायी हुनुपर्छ । मुस्लिम समुदायले पहिले सत्प्रतिसत बालबालिकालाई विद्यालय र कलेज पठाउनु प–यो । मद्रसा शिक्षा प्रणालीमा सुधार ल्याउन इच्छाशक्ति देखाउनुप–यो । शिक्षित र अशिक्षित दुवै ’सक्रिय श्रम–उमेर समूह’ का मुस्लिमहरूको क्षमता अभिवृद्धि गरेर उनीहरूलाई उत्पादन र रोजगारसँग जोड्नुप–यो । सहकारिताको माध्यमले खेर गएको महिला र बेरोजगार युवाहरूको समयलाई उत्पादनशील तथा स्वरोजगारका कामहरूमा लगाउनु प–यो । मुस्लिम समुदायको सांस्कृतिक समस्याहरूलाई समुदाय स्तरमा समाधान गर्न वैज्ञानिक परिपाटिको विकास गर्नुप–यो । राज्यले मुस्लिम समुदायको गरीबी निवारण सम्बन्धी विशेष प्याकेज कार्यक्रमको व्यवस्था गर्नुप–यो ।
० के सन्देश दिनुहुन्छ युवाहरूलाई ?
– युवा पुस्ता, पहिले शिक्षा पूरा गर्नुस् । उच्च शिक्षा हासिल गर्नुस् । अझ रोजगारसँग जोडिएको शिक्षालाई प्राथमिकतामा राख्नुस् । १८ वर्ष उमेर पुग्यो, राहदानी बनायो, विदेशतिर हानियो; हो, यो परिपाटिलाई ढाल्नुस् । स्वदेशमै रोजगार हुने प्रयत्न गर्नुस् । विदेश जानैपर्ने बाध्यताको अवस्थामा नेपाल फर्केपछि त्यहाँ सिकेको सीप र ज्ञानलाई र त्यहाँ गरेको बचतलाई स्वदेशमा लगानी गरेर देश बनाउने काममा लाग्नुस् ।