January 23, 2025

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

निर्मला कुर्मी हत्याको छानविनै नभएपछि नेपालगञ्जमा १० जना भन्दा बढिको हत्या भयो

रुबी खान, महिला अधिकारकर्मी


नेपालगञ्जबाट पैदल यात्रा गरी १४ जनाको समूह काठमाडौंमा आएर भद्र अवज्ञा गर्दे हत्या गरी बेपत्ता गरिएकी महिला निर्मला कुर्मीको विषयमा छानविन गरी सत्य तथ्य पत्ता लगाउनका लागि माग गर्दै सरकारलाई दवाव दिने, आँखामा पट्टि बाँधेर बसेको सरकारको आँखाको पट्टि खोल्ने क्रान्तिकारी महिला अधिकारकर्मीको नाम हो रुबी खान । उनै खान अहिले पनि माइतिघर मण्डलामा सरकारले दिएको आश्वासन र यस अघि गरिएका सम्झौताहरु कार्यन्वयन नभएपछि हत्या अनुसन्धान गरी सत्य तथ्य सार्वजनिक गर्ने मागसहित धर्नाका लागि आउनुभएको छ । धर्नाका लागि काठमाडौंमा रहँदा अधिकारकर्मी खानसँग निर्मला कुर्मीको हत्याका विषयमा छानविन किन ढिलाई भएको हो ? अबको आन्दोलनको खाका के हुन्छ ? यहि विषयमा केन्द्रीत रहेर डायरी एक्सप्रेसका कार्यकारी सम्पादक नारायण प्रसाद शर्माले अधिकारकर्मी खानसँग गरिएको विशेष वार्ताः


तपाई लामो समय देखि निर्मला कुर्मीको न्यायका लागि भन्दै धर्ना दिइरहँनुभएको छ । न्यायका लागि किन ढिलाई भइरहेको छ ?
न्यायका लागि किन ढिलाई भयो ? यस विषयमा त राज्यलाई नै सोध्नुपर्ला । हामीले किन न्यायपाइरहेका छैनौ बढो दुःखद् कुरा हो । हामी अहिले यहाँ धर्ना बसेको पनि नौ दिन (२२ गते शुक्रवारसम्म) भइसकेको छ । हामी सरकारसँग न्याय नपाएकै कारण यहि बसिरहेका छौं ।


० सरकारका प्रतिनिधिहरु यो घट्नाको छानविनका विषयमा के भइरहेको छ भन्छन्् ?
सरकारका प्रतिनिधिहरु र सांसदहरु पनि आइरहँनुभएको छ । गृहमन्त्री ज्यूले पनि कुरा गरिरहँनुभएको छ । तथापि काम भएको छैन । हामीसँग दुई दुई पटक सरकारले वार्ता गरिरहेको छ । हामी पीडितको पक्षमा वकालत गर्ने अधिकारकर्मीहरुसँग सरकारले पटक पटक वार्ता गरिरहेको छ । जुन महिला मारिइन्, अपहरण भयो, सम्पत्ति लुटियो । बन्दक बनाएर सारा सम्पत्ति खाइयो । फस्ने डरल हत्या गरियो । जुन मुद्दा अदालत पनि गइरहेको छैन । त्यो मुद्दा अदालत जाओस् । महिलाले न्याय पाउन । तथापि न्याय पाउन सकिएन ।


० निर्मला कुर्मीको पृष्ठभूमि पनि बताइदिनुहोस् न ?
निर्मला कर्मी श्रीमान् गुमाएकी विदुवा हुन् । उनका १८ र १४ वर्षका दुई छोराहरुको रहस्यमय तरिकाले ७ देखि १० दिनभित्रमा मृत्यु भयो । त्यो समयमा कुनै महामारी रोग पनि थिएन । र उनीहरुलाई कुनै पनि समस्या थिएन । मेरा बच्चाहरुको पोष्टमार्टम गरिपाउँ भनेर जिल्ला प्रहरी कार्यालयमा अनुरोध गर्दा पनि सुनुवाई भएन । उल्टै यातना दिइयो । त्यसको विरोध गर्दा हत्या गरियो । साथै सम्पत्ति हत्याइयो । विगत तीन वर्ष देखि काठमाडौंमा भौतारिएका छौं । हामी जिल्ला प्रहरी कार्यालय र स्थानीय प्रशासनमा हामी धाइनै रहेका छौं । यो धर्ना हाम्रो तेस्रो पटकको आन्दोलन हो । पहिलो पटक आन्दोलन गर्दै हामीहरु नेपालगञ्जबाट पैदल यात्रामा काठमाडौं आयौं । त्यो समयमा हामीसँग सरकारले छानविन समिति बनाएर छानविन गछौं भन्यो । गृहमन्त्री बालकृष्ण खाँणले पनि छानविन गर्ने आश्वसन दिनुभयो । तर, अहिलेसम्म पनि सम्बन्धित निकायले त्रुटिपूर्ण अनुसन्धान गरिरहेको छ । बादशाह कुर्मीलगायतका अभियुक्तहरुलाई मुद्दाबाट बचाउने र उन्मुक्ति दिन कसरी सकिन्छ भनेर लागिरहँनुभएको छ । निर्मला कुर्मीको हत्या अभियोगमा छानविन प्रकिृया नै एकदमै फितलो भइरहेको छ । हाम्रो माग सरकारले अध्ययन गरी न्यायिक आयोग बनाओस् भन्ने हो ।


० तपाईलाई जानकारी भए अनुसार निर्मला कुर्मीको सम्पत्ति कति छ ?
निर्मला कुर्मीको सम्पत्ति मात्रै ६ विघा छ । धेरै जसो प्लटिङ भएको जग्गा हो जुन एउटा घडेरीका लागि ५० लाख खर्च गरिएको हुन्छ ।


० बादशाह कुर्मी अभियुक्त भएपनि किन निर्वाचन कार्यालयले अयोग्य ब्यक्तिका रुपमा घोषणा गर्न सकेन ?
हाम्रो राज्यको प्रणाली नै त्यहि खालको छ । सरकारले बनाएको छानविन समितिले बादशाह कुर्मिलाई दोषी ठहर गरिसकेको छ । तर, राजनीतिक पार्टीले पनि टिकट दिइएको छ । तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवाले बादशाह कुर्मीलाई संघ वा प्रदेश मध्ये कहिँको पनि टिकट दिँदैनौं भनेका थिए , तर, तुरुन्तै टिकट दिए भनेको जस्तो भएन । त्यसको साक्षीमा प्रा.डा गोबिन्द केसी, मोहना अन्सारी र अधिवक्ता ओम अर्याल हुनुहुन्थ्यो । तर पनि एउटा राजनीतिक दल आफ्नो कार्यकर्तालाई बचाउन के सम्म पनि गर्दो रहेछ ? जबकी मूख्य दोषीका रुपमा छानविन समितिले किटानी नै गरेको छ । टिकट दिएपछि जिताएर पनि छाडिएको छ । हामीले निर्वाचनमा उम्मेदवारी दिन पनि क्यान्सिल गराउने पक्षमा थियौ. । लुम्बिनी प्रदेश सरकारलाई पनि सपथ ग्रहण नगराउन हामीले दवाव दिएका थियौं । तर पनि बादशाह कुर्मीलाई सम्पत्ति हिनामिना गराउन पहल गरिएको देखिन्छ । । यहाँ न्याय भन्ने कुरा कानून बमोजिम होइन पहँचवलाको इच्छा बमोजिम दिइएको छ । हामी यो कारण पनि दुःखी छौं । यसैले न्यायका लागि माइतीघरको यो चिसोमा हामी बसिरहेका छौं ।


० अहिलेका गृहमन्त्री र प्रधानमन्त्रीबाट तपाईहरुको दवाव मूलक धर्नालाई कसरी लिइएको छ ?


हामीलाई जुन तरिकाले व्यवहार गर्नुपर्दथ्यो । त्यो भएन । अहिलेका गृहमन्त्री जनताको विश्वास जितेको व्यक्ति हो । यस पटक न्याय पाउनेमा आशावादी छौं ।


तपाईहरुको धर्ना कहिलेसम्म रहन्छ ?
हामी प्रत्येक दिन कलंकीबाट माइतीघरसम्म पैदलबाटै जुलुस लिएर हामी आएका छौं । किनकी हामीले सरकारको ध्यान आकर्षण गराउनकै लागि यसो गरिएको हो । यो कष्ट गरिहेका छौं । हामी नौ बजे कलंकीबाट हिडेर १० बजे माइतीघर आउँछौं । साथै बेलुकीको पाँच बजेसम्म धर्ना दिँदै आएका छौं । यसरी हामीले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छौं । हामी यहि नै गछौं भनेका छैनौं । तर, पनि समय लम्बिदैं गइरहेको छ । त्यसैले आन्दोलनको स्वरुप बदल्न उन्मुख भइरहेका छौं ।


० तपाईहरुको धर्नालाई समर्थन गर्नका लागि को को आउनुभयो ?

मानव अधिकार कर्मीहरु, राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधिहरु, सांसदहरु, भ्रष्टाचार विरोधी अभियन्ता प्रा.डा. गोविन्द केसीलगायत महिला अधिकारकर्मीहरु पनि आएका छन् ।


० सरकारका प्रतिनिधिहरुले तपाईहरुको माग सम्बोधन गर्न किन आलटाल गरिरहेका हुन् जस्तो लाग्छ ?
हाम्रा माग पुरा गर्नका लागि खासै कठिन जस्तो लाग्दैन । तर पनि पन्छाइरहेको छ । हाम्रो पनि मानव अधिकारको हनन् भइरहेको छ । तथापि सरकारले ध्यान दिएको छैन । यो नै दुःखद् कुरा हो । हामी सरकारकै पर्खाइमा छौं ।


० हालसम्म पनि माग पुरा नभएपछि तपाईको आन्दोलनको स्वरुप कस्तो हुन्छ ?
हामी पर्खिरहेका छौं । कति समय लगाउछन् । त्यहि बमोजिम अगाडि बढ्छौं ।


० नेपालगञ्जमा निर्मला कुर्मीको घट्ना जस्ता अन्य घट्नाहरु पनि छन् ?
निर्मला कुर्मीले न्याय नपाएकै कारण थप हिंसाहरु भएका छन् । निर्मला कुर्मीको न्यायका लागि आन्दोलन गरिरहँनु पर्ने बाद्यता भइरहँदा आम सर्वसाधारण मानिसमा न्यायको आशा मरिरहेको छ । अपराधी मानसिकताका मानिसहरुमा थप आत्मबल बढेको छ । शक्ति, सत्ता र पैसा भएपछि जे पनि गर्न सकिन्छ भन्ने बुझाईको विकास भएको छ । अहिले पनि नेपालगञ्जमा निर्मला कुर्मीको हत्याको छानविनै नभएपछि १० जना भन्दा बढिको हत्या भयो । तर, प्रहरीले आत्महत्या भनेर जाहेरी नै लिएको छैन । कतिपय बढो मुश्किलले जाहेरी लिए पनि दर्ता गरिएको छैन । मृतक महिलाको टाउको फुटेको छ, पिटिएका डाम छन् तर पनि पोष्टमार्टम गरिएको छैन । आत्महत्यामै बदलिएको छ । महिलाहरु थप जोखिममा परेका छन् ।


अन्तमा केहि भन्नु छ कि ?
यस्ता घट्नामा सञ्चार माध्यमको ठूलो भूमिका छ । तपाईहरुको सहयोगका लागि धन्यवाद दिन चाहन्छु । आगामी दिनमा पनि हिंसामा परेका समूह र महिलाहरुका विषयमा कलम चलाउनुहुनेछ भन्ने आशा गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.