April 12, 2024

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

चन्द्रागिरी नगरपालिकामा मापदण्ड बिपरितका इट्टाभट्टा हटाउन स्थानीयहरुको माग


काठमाडौं । प्रदुषण नियन्त्रणमा नागरिकहरुको भूमिका विषयमा चन्द्रगिरी नगरपालिका वडा नम्बर १० मा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । झण्डै ३ सय जना स्थानीय सरोकारवलाहरु उपस्थित रहेको कार्यक्रममा प्रमुख अतिथि संघीय संसद सदस्य अञ्जना विशंखे, विशिष्ट अतिथि प्रदेश सभाकी सदस्य रमा आले मगर, चन्द्रगिरी नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीलगायतको उपस्थिति रहेको थियो ।


सर्वोच्च अदालतले जनताको स्वास्थ्यमा असर गर्ने गरी मापदण्ड बिपरित स्थापना गरिएका इट्टाभट्टाहरु हटाउन २०६२ साल मंसिरमा आदेश दिएको हो । तर, त्यो आदेश गरेको १७ वर्षसम्म पनि मापदण्ड बिपरितका भट्टाहरु बेरोकटोक सञ्चालन भइरहेका छन् । चन्द्रगिरी नगरपालिकामा हाल सञ्चालनमा रहेका पाँचवटा इट्टाभट्टाहरु पनि वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन (इआए रिपोर्ट) समेत नगरी दर्ता गरिएका छन् ।
चन्द्रगिरी नगरपालिकामा केहि वर्ष अघि सम्म २५ वटा इट्टाभट्टाहरु थिए । तर, आज पाँच वटा इट्टाभट्टाहरु अटेर गरी मापदण्ड बिपरित चलाईरहेका छन् । ति मध्येका हिरा इट्टाभट्टाको बिभिन्न नेताहरुसँग चलखेल भएका कारण उनी निर्धक्क कानून बिपरित प्रदुषणको कुनै प्रवाह नै नगरी भट्टा सञ्चालन गरिरहेको स्थानीयहरु बताउँछन् । स्थानीय सरोकारवलाहरु ‘सबै भन्दा ठूलो धन स्वास्थ्य नै हो’ भन्दै आन्दोलनमा उत्रिएका छन् । इट्टाभट्टा जोगाउन कहिले मजदूर र कहिले उद्योगीहरुलाई उक्साएर प्रदुषण फैलाउने काममा राजनीतिक दलका नेताहरु नै लागेको सहभागिहरुले अन्र्तक्रिया कार्यक्रममा आक्रोस व्यक्त गरे । उक्त कार्यक्रममा जग्गा भाडामा दिएका जग्गा धनीहरु पनि आफ्नो जमिन कहाँ छ भनेर हालसावी गरी पुन नापी गर्नपनि नसकिने विकराल अवस्थामा रहेको बताए । तथापि उद्योग बन्द गराउन र आफ्नो जग्गा खाली गरिदिन अनुरोध गर्दासमेत सुनुवाई नभएको गुनासो पोखे । अन्तक्रिया कार्यक्रममा निवर्तमान वडाअध्यक्ष तथा नगरप्रमुख पदका उम्मेदवार उत्तम राउतले पटक पटक मापदण्ड बिपरित सञ्चालित इट्टाभट्टाहरु हटाउन आन्दोलन गर्नुपरेकोमा आफुलाई लज्जाबोध भएको भन्दै रोष प्रकट गरेका थिए ।


इट्टाभट्टा पीडित संघर्ष समितिका संयोजक मुकुन्द घिमिरेले मापदण्ड बिपरित सञ्चालित इट्टाभट्टा हटाउन लामो समय देखि संघर्षरत रहेको अन्र्तक्रिया कार्यक्रममा बताए । उनले इट्टाभट्टाकै कारण चन्द्रागिरी नगरपालिकाका आम जनताका रातो फोक्सो कालो भइसकेको र चराले पनि यो नगरपालिकामा आएर बाच्नका लागि माक्स लगाउनुपर्ने अवस्था रहेको बताए । सहभागि स्थानीयहरुले हालका नगरप्रमुख घनश्याम गिरीकै समयमा मापदण्ड बिपरितका इट्टाभट्टाहरु हटाउन आन्दोलन गर्दा जेष्ठ नागरिकहरुलाई समेत जथाभावी प्रहरीद्वारा लाठी चार्ज गरी दमन गर्न लगाएको भन्दै आक्रोस पोखे ।


काठमाडौ. शिक्षा क्याम्पसका प्रमुख शत्रुघन प्रसाद गुप्ताले नगरपालिकामा रहेको एक मात्र आंगिक क्याम्पसमा प्रदुषणका कारण पढ्ने वातावरण नै नभएको भन्दै नगरप्रमुखले मापदण्ड बिपरित सञ्चालन भएका अदालतको आदेशबाट पनि इट्टाभट्टाहरु हटाउन नसके आफुले विद्यार्थी लगाएर कार्यन्वयन गर्न सक्ने चेतावनी दिए । कार्यक्रममा निबर्तमान वडाअध्यक्ष हरिभक्त महर्जन, किर्तिपुर नगरपालिकाका निवर्तमान वडाअध्यक्ष राजेन्द्र बानियालगायतले प्रदुषणमुक्त बनाउनका लागि आफुले लामो समय देखि आन्दोलनमा सहभागि भएको स्मरण गराए । आन्दोलनमा लाग्दा आफ्ना गाडीसमेत तोडफोड गरिएको तर, पनि पछि नहटेको आन्दोलनमा सक्रिय नेताहरुले बताए । चन्द्रगिरी नगरपालिकाका वातावरण तथा बिपद् व्यवस्थापन समितिका संयोजक गोपी सुर्खेतीले कुनै पनि हालतमा मापदण्ड बिपरितका भट्टाहरु हटाउनै पर्नेमा जोड दिए । कार्यक्रममा अतिथि नगरप्रमुख घानश्याम गिरीले दोहोरो अर्थलाग्ने कुरा गरेको भन्दै स्थनीयहरु आक्रोशित देखिएका थिए । कार्यक्रमको सञ्चालन अच्युत अधिकारीले गरेका थिए ।


स्थानीयको आरोप पछि के भन्छन् नगरप्रमुख गिरी ?
इट्टाभट्टा कहिले हट्छ ? कुन समयमा हट्छ भन्ने विषय फेरी सतहमा आएको छ । यहि नगरपालिकामा यस अघि पनि यी कार्यक्रमहरु भएका थिए । नगरपालिकाले पनि हटाउनकै लागि पत्रचार गरेको थियो । तथापि अहिलेसम्म हटाउन नसकेको हामीले स्वीकार गर्नैपर्छ । आजभन्दा २०÷२५ वर्ष अघि चन्द्रागिरी नगरपालिकामा सिमित बस्तीहरु थिए । बस्तीभन्दा बाहिर बिभिन्न उद्योगहरु सञ्चालित थिए । त्यो समयमा इट्टाभट्टाहरु बस्ती भन्दा बाहिर नै थिए । तर, कालन्तरमा नगरपालिका घोषणा हुनुभन्दा अगाडि नै यसरी तिब्र रुपमा बस्तीहरुको विकास भयो कि हरेक वर्ष एक हजार पाँचसय भन्दा बढिको संख्यामा घर बनाउनका लागि नक्सा पास नै गरियो । पाँच वर्षको अवधिमा हेर्दा हेर्दै आवासीय क्षेत्र मात्रै बन्यो ।


यो नगरपालिकाको सबै क्षेत्र गैर कृषि क्षेत्र भनेरै घोषणा गर्नुपर्ने अवस्था आयो । यसरी नगरपालिकाभित्रका बस्तीहरुमा नदी प्रदुषण भयो । किनकी कतिपय उद्योगहरुले नदीमा केमिकलहरु नै मिसाइदिए । त्यस अघि जस्तै यहाँका नदीनालामा यहाँका बासिन्दाले कपडा धुने, गाई बस्तुलाई पानी ख्वाउने जस्ता परापूर्वकालदेखि गरिएका कामहरु गर्न सक्ने अवस्था कहि पनि छैन । हिजोमा दिनमा त्यहि खोलाको पानीबाट तरकारी र खाद्यन्न बालीका लागि सिंचाईको निमित्त प्रयोग गर्दथ्यौं ।


अहिले प्रदुषणको अर्को अवस्था हो ध्वनी प्रदुषण । यहाँको वरीपरीका बस्तीहरुमा सुत्नै नसकिने अवस्था गुनासोहरु आइरहेका छन् । यी मध्ये इट्टाभट्टाको प्रदुषण पनि एक हो । बायु प्रदुषणमा पनि इट्टाको धुलोले असाध्यै असर पार्दो रहेछ । यी सबै प्रदुषणहरुको नियन्त्रण गर्न जरुरी छ । यसका लागि चन्द्रागिरी नगरपालिका वडा नम्बर दुईमा इट्टभट्टा हटाउनका लागि अनसन नै बस्नुपर्ने अवस्था आयो ।
इट्टाभट्टाको प्रदुषण जनतालाई मात्रै हो कि कहिले हट्छ ? भन्ने विषयमा म केहि बताउन चाहन्छु । अहिले मापदण्ड बिपरितका इट्टाभट्टा हटाउनकै लागि कार्यविधि पनि तयार भइसकेको छ । बिपद् व्यवस्थापन समितिले निर्णय गरेर पठाईसकेको छ । अर्को हप्ता हामी कार्यपालिकाको बैठक बसेपछि कार्यन्वयन कसरी गर्ने विषयमा निक्यौल निकाल्ने छौं । त्यसका निमित्त कानूनी प्रक्रियाका थालनी गर्नेछौं । भोलि नै यहाँका इट्टाभट्टा मैले बन्द गर्छु भनेको खण्डमा सबैले ताली बजाउनुहुन्छ । तर, नगरपालिकाका प्रमुखको हैसियतमा हेर्नुपर्दा निश्चितै ढंगले कानूनी प्रक्रियालाई अबलम्बन गरेर अगाडि बढ्नुपर्ने अवस्था छ । बालेनको कुरा यहाँ उठिरहेको छ । उहाँले नक्सा पास नगरी बनाइएका संरचनाहरु भत्काउनुभएको छ । पार्किङ भनिएको छ, पाकिङका लागि ठाउँ नै राखिएको छैन । पेटी भनिएको छ । पेटी नै राखिएको छैन । नगरपालिका नहुँदै सम्बन्धित ठाउँबाट अनुमति लिएर नक्सासमेत पास गरी आएका उद्योगहरुलाई अब बन्द गरिन्छ है भनेर कार्यपालिकाको बैठकमा पेश गरिनेछ । बहुमत अल्पमतको कारण यो काम कार्यन्वयनका लागि ढिलाई भएको हैन । मैले अस्ति भरखरै सहि गरी दिएको छ । शुक्रवार मात्रै मैले राजपत्रमा पेश गरेको छु । म कहिल्यै पनि जनताको कामबाट भागेको छैन ।


चन्द्रगिरी नगरपालिकामा एकपक्ष भट्टा बन्द गराउनुपर्छ भन्दै आउँछन् । अर्कोतर्फ कहाँ बन्द गर्नुहुन्छ भन्दै डेलिगेशन आउनेगर्छ । त्यो अवस्था नहोस् भन्न चाहन्छु । अहिले जग्गावलाको अवस्था थाह भयो । स्थानीयहरु कसरी जागरुक भएका छन् ? भन्ने उदाहरण पनि हो । सतुंगल र बोसिगाउँबासीहरुबाट आन्दोलनको सुरुवात भइसकेको छ । नगरकार्यपालिकाले गरेका निर्णयहरु राजपत्रमा प्रकाशित भएपछि कार्यन्वयनको तहमा आउँछ । नगरपालिकाले निर्णय गरेको काममा हामी कार्यन्वयनमा गएर भत्काउन तयार छौं । तथापि आउँदा दिनमा मजदुर, उद्योगी र पीडित स्थानीय बासिन्दाहरुको छुट्टाछुट्टै जुलुस चाहिँ नहोस् भन्न चाहन्छु । दुई पक्षको ज्ञापन पत्र बझेपछि कस्को आदेश कार्यन्वयन गर्ने हो भन्ने दुविधा नहोस् भन्न चाहन्छु । नगरपालिकामा अहिले पारित गरिए बमोजिम भएन भने हामी सुरुमा पत्रचार गर्नेछौं त्यसपछि जनताको सहयोगको अपेक्षा गर्दै इट्टाभट्टा कुनै पनि हालतमा भत्काईने छ । चन्द्रगिरी नगरपालिका यो मापदण्ड बिपरितको इट्टाभट्टालाई जसरी पनि हटाउनपर्ने विषयमा तत्पर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.