March 19, 2025

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

नाङ्गो खुट्टाले खेतमा जाने गरिबहरु, घास काट्न जाने र भुपडीमा बस्ने दीन दुःखीहरुलाई सर्पले डसेको हुन्छ

रेवती पन्त, अध्यक्ष, झलनाथ खनाल प्रतिष्ठान /एन्टी भेनम उत्पादन परियोजना


वि.स.२०२७ सालमा काभ्रे जिल्लामा जन्मनुभएका रेवती पन्त झलनाथ खनाल प्रतिष्ठानको अध्यक्ष हुनुहुन्छ । २०२० सालमा सर्लाही जिल्लाको बागमतीमा बसाई सराई गर्नुभएका पन्त वि.स. २०४० सालमा पहिलो पटक अनेरास्वबियुमा आवद्ध हुनुभयोे । औपचारिक शिक्षातर्फ स्नातक गर्नुभएका पन्त वि.स. २०५० सालमा अनेरास्वबियुको केन्दीय सदस्य हुँदै पार्टीमा स्थानीय कमिटी, जिल्ला कमिटी सदस्य, सचिव र अध्यक्ष भएर काम गर्दै हाल मधेश प्रदेशमा नेकपा एमालेको उपाध्यक्ष हुनुुहुन्छ । झलनाथ खनाल प्रतिष्ठानले नेपालमै पहिलो पटक एन्टी स्नेक भेनम उत्पादन गर्नका लागि सर्लाहीमा ७२ करोडको एक परियोजना बनाईरहेको छ । नेपालमा बर्षेनी ४ हजार जना मानिसहरु सर्पको टोकाइबाट मर्ने गर्दछन् । सन् २०२४ सम्म मात्रै न विश्व स्वास्थ्य संगठनको सिफारिसमा नेपालमा एन्टी स्नेक भेनम दिने सम्झौता भएको छ । त्यसैकारण पनि यो भेनम उत्पादन गर्ने परियोजना सफल बनाउन सकरात्मक प्रयास जरुरी छ । यसै विषयमा केन्द्रीत रहेर डायरी एक्सप्रेस साप्ताहिकका कार्यकारी सम्पादक नारायण प्रसाद शर्माले अध्यक्ष पन्तसँग गरेको छोटो कुराकानीः


० झलनाथ खनाल प्रतिष्ठानले अहिले कसरी काम गरिरहेको छ ?

यो प्रतिष्ठानले रफ्तारमा काम गरिरहेको छ । यसले नेपालमै पहिलो पटक एन्टी स्नेक भेनम उत्पादन गर्ने पहिलो काम गरिरहेको छ । नेपालमा यस्ता काम गर्न निकै कठिन हुँदो रहेछ । तथापि आफ्नो उद्देश्य पुरा गर्नका लागि गन्तब्यमा पुग्न हामी क्रियाशील नै छौं ।


० तपाईहरुको एन्टी स्नेक भेनम उत्पादनका लागि गरिएको काममा कामै नगरिएको भनिन्छ । कसरी चिर्नुभएको छ ?
यो सतिले सरापेको देश हो । राम्रो काम गर्नेहरुलाई चौतर्फि घेराबन्दी हुने गरेको छ । हामीले त्यसरी नै बुझेका छौं । चौतर्फी घेराबन्दी, आक्रमण र असहयोगका वावजुद पनि यसलाई चिर्दै सफलतापूर्वक अघि बढेका छौं ।


० अहिले संस्थामा बजेटलगायत अन्य स्थिति कस्तो छ ?
हामीले सर्लाही जिल्लाको लालबन्दीमा नौ बिगाहा जग्गा खरिद गरेर ६/७ वटा भवनहरु बनाइरहेका छौं । त्यसमा अस्पताल, ल्याव, सर्प फार्मिङ, प्रशासकीय भवनलगायतका बनिरहेका छन् । जसका लागि ठेक्का लागिसकेको छ । त्यसको लागि ठेकेदारले मोबिलाइजेशन रकम पनि लगेर काम पनि गरिरहेका छन् । सम्झौता गरिएको दुई वर्ष भइसकेको छ । त्यहि बमोजिम सरकारले रकम दिएन । संघले रकम पठाएपनि प्रदेश सरकारले फ्रिज नै गरायो । जसका कारण काममा अवरुद्ध हुन पुग्यो । यसपटक संघ र प्रदेश दुबैले रकम बिनियोजन गरेका छन् । त्यहि कारण नयाँ आर्थिक वर्षको आरम्भ हुनसाथ कामले तिब्रता पाउने छ । अहिले निर्माणकै चरणमा छ । सर्पको फार्मिङ, ल्याव र अस्पतालको भवन निर्माण भइसकेपछि बिभिन्न दातृ निकायहरु भेनमसँग सम्बन्धित भारतको भेनम कम्पनी, सेरम कम्पनीलगायतसँग एक खालको सहकार्य पनि भइरहेको छ । हाम्रा भवनहरु पूर्ण रुपमा निर्माण भइसकेपछि हाम्रो सर्प फार्मिङको काम अघि बढ्नेछ । त्यसपछि अस्पतालमा उपचारको प्रक्रिया सुरु हुन्छ । अहिले त केबल संरचना निर्माणकै क्रममा छौं ।


० यो परियोजना ढिलाई हुनुमा के के कारणहरु छन् ?

ढिलाई हुनुमा सम्झौता मुताबिक तालुक निकायले रकम पठाएन, बजेटको अभाव वा कोभिड महामारीका कारण पनि हुन सक्छ । बजेट अवरुद्ध भएपछि काममा ढिलाई हुन पुग्यो ।


० यो एन्टी भनेम बनाउने परियोजनाको सोच सुरुमा कसरी बन्यो ?
झलनाथ खनाल प्रतिष्ठानको नामबाट बनाउनु भनेको उहाँको परिकल्पना भएकै कारणले हो । २०७० सालको निर्वाचनमा प्रचार गर्ने क्रममा सर्पले टोकेर एक जना बच्चा मरेको दृश्य कमरेड झलनाथ खनाल आफैले देख्नुभयो । औषधि समयमा नपाइने, समयकै अभावमा मृत्यु हुने जस्ता कुराहरुले उहाँलाई भावुक बनायो । दैनिक जसो १५/२० जनाको दरमा मर्ने गर्दछन् । त्यो दिमाग उहाँमा आयो । किनकी सबै ठाउँमा सहज र सरल तरिकाले एन्टी स्नेक भेनम उपलब्ध हुने हो भने, सर्पले टोकेर मानिस मर्दैनथे भन्ने कुराले उहाँमा पिरल्यो । उहाँले हामीलाई काम गर्ने जिम्मेवारी दिनुभयो । त्यहि कारण हामीले उत्पादन गर्नेसम्मको फेजमा ६० प्रतिशत काम सम्पन्न भएका छन् ।


० किन झलनाथ खनाल प्रतिष्ठानका नाममा ७२ करोड खर्च भन्दै प्रचार भएका छन् त ?

हामीले यहि परियोजनाका लागि प्रदेश सरकारसँग ७२ करोडको सम्झौंता गरिएको थियो । त्यसलाई उछाल्ने काम गरियो । अहिले झलनाथ कमरेडको कुनै विषय आउनासाथ सर्पको माला लगाएर फोटो हालिन्छन् । हाम्रो समाजको नकरात्मक पाटो पनि हो । कुनै पनि कामलाई सकरात्मक रुपमा हेर्न छाडियो । हरेक कुराहरु नकरात्मक पाटोबाट हेरिन्छन् । काम केहि गरौं भन्नेहरुका लागि यस्ता नकरात्मक टिप्पणीबाट निरासा भन्दा पनि अझ सजग हुँदै कामलाई फत्ते गर्ने काममा केन्द्रीत हुनुपर्दछ भनेर लागेका छौं । टिप्पणी गर्नेहरु गरिरहेका छन् । तर, हामीहरु भने दृढता पूर्वक लागिरहेका छौं ।
हामीले ७२ करोड मध्ये सरकारी रकम प्राप्त गरेको केबल २० करोड मात्रै हो । अहिले रिसर्च, पीपीआर र जमिन गरी मौजाद सम्पत्तिहरु एक अर्ब भन्दा बढि छ । साढे नौ बिघा त जमिन नै छ । सरकारले खोज्ला एक अर्ब भन्दा बढि सम्पत्ति हामीसँग छ । २० करोड लिएर एक अर्बको सम्पत्ति बनाएका छौ ? कहाँ र कसरी घोटला भयो ? हामीले के खायौं ? गहिरिएर कसैले हेरिदिन र बुझिदिन मेरो आग्रह छ । बदनाम गरेर सकरात्मक कामको प्रचार गरिएको छैन । आम पत्रकारहरुले पनि सकरात्मक रुपमा बुझेर प्रचार प्रसार गर्नुपर्दथ्यो ।
वास्तवमा नेपालमा सर्पले टोकेर मर्ने भनेका निमुखा र गरिबहरु मात्रै हुन् । गाडी र ठूला भवन भएकाहरु, शहरमा बस्नेहरुलाई कहिल्यै पनि सर्पले टोक्दैन । नाङ्गो खुट्टाले खेतमा जाने गरिबहरु, घास काट्न जाने र भुपडीमा बस्ने दीन दुःखीहरु सर्पले डसेको हुन्छ । सर्पले पनि गरिबलाई नै टोक्छ । किनकी गरिबीमा नै सर्प हुन्छ । सर्पले टोकेर दैनिक उपचार नपाएर मानिस मरिरहेका छन् । राज्यले क्षतिपूर्ति पनि दिएको छैन । सर्प पनि वन्यजन्तु हो । बाघ, भालु, गैडा, हात्तीलगायतले मानिस मार्दा वन्यजन्तु ऐन अन्तर्गत क्षतिपूर्ति दिइन्छ । तर, पनि वन्य जन्तु भएपनि सर्पले टोकेर मरेकाहरुले क्षतिपूर्ति पाएका छैनन् । मिडियाले यस्ता विषय वस्तु उठाउनुपर्ने हो । नेपालमा सम्झौता अनुसार एन्टी भेनम सन् २०२४ सम्म आउँछ । अहिले एन्टीभेनम डब्लुएचओको सिफारिसमा मात्रै आएको छ । सन् २०२४ पछि भारतले एन्टीभेनम पठाएन भने सर्पले टोक्ने बित्तिकै हामी मछौं । भारतमा राम्रो क्वालिटीको एन्टीभेनम पनि छैन । यो हिम्मतका साथ सुरु गरिएको परियोजना हो । हामीले राष्ट्रिय र अन्तर्राष्ट्रिय सहयोगमा यो परियोजना तयार गरिरहेका छौं । यसलाई सहयोग गर्न, सकरात्मक प्रचार गर्ने, विज्ञहरुको समर्थन र सहयोग जुटाउने काममा पत्रकारहरु पनि लाग्न जरुरी छ । तपाईहरु पनि यसका सम्भावनाको खोजी गरी मसिना कुराहरु मात्रै नहेरौं । हामीहरु सधै माथितिर नफर्की तलतिर मात्रै हेरेका छौं । कसरी सफल बनाउनुपर्छ भन्ने होइन हरेक दिन ७२ करोड भनिन्छ । फिल्डमा गएर के काम भएको छ ? कहिल्यै पनि हेरिदैन । सम्बन्धित मान्छेसँग पनि बुझ्ने प्रयास गरिदैन । अहिलेसम्म पनि अनाआवश्यक काममा उचाल्ने मात्रै काम भएका छन् । हामीलाई ति कुराले खासै फरक त पार्दैन नै । तथापि कहिलेकाँही राम्रो काम गर्दा गर्दै यस्ता अनाआवश्यक टिप्पणीले विचलन र निरासा आउने खत्तरा रहिरहन्छ ।


० हाम्रो देशमा अहिले वार्षिक कति परिमाणमा एन्टी स्नेक भेनम खपत हुने रहेछ ? हाम्रा तराई मधेसमा सर्पले टोकेर कति जना मान्छे मर्ने गरेका छन्, तपाईको रिपोर्टमा के पाउनुहुन्छ ?
हाम्रो देशमा सर्पले टोकेर वार्षिक दुई हजार पाँच सय मानिस मर्छन् । त्यो चाहिँ सरकारी डाटा हो । तर, अस्पताल आएकाहरुको मात्रै त्यो डाटा हो । अधिकांश मान्छे अस्पताल पुग्नै पाउँदैनन् । किनकी यो उपचार जहाँकही सर्वसुलभ छैन । कि त नेपाली सेनाको क्याम्पमा छ । जहाँ सर्वसाधारणको पनि उपचार हुन्छ । त्यसै गरी जिल्ला सरकारी र प्रादेशिक अस्पतालहरुमा पनि यो सुबिधा पाइन्छ । त्यो ठाउँमा समयमा पुग्न सकिदैन । वर्षायाममा सर्पले टोक्छ । बाटोघाटोको कारण समयमा एम्बुलेन्स पाउन सकिदैन । सुतेको अवस्थामा मान्छेलाई टोकेर मर्छन्, खेतमा जाँदा टोकेर मर्दछन् । घरमा हुँदा पनि एम्बुलेन्स बोलाउँदा बोलाउँदै एक ÷डेड घण्टामै मान्छे मर्छन् । यो अस्पतालमा नै नपुगि मरेकाहरुको सरकारी डाटामा आउँदैन । त्यसैले मेरो अनुमानमा वार्षिक चार हजार मान्छे सर्पले टोकेर मर्ने गर्छ्न् ।


० यो परियोजना सम्पन्न भएपछि हाम्रो उत्पादन कति हुन्छ । कति जनालाई प्रयोग गर्न पुग्छ ?

हाम्रो उत्पादन लालबन्दी नगरपालिकामा हुन्छ । हाम्रो उत्पादन भएपछि सबै प्रदेशमा सर्पको टोकेपछि हुने उपचार गछौं । त्यसपछि भारतको सेरमलगायतका कम्पनीका मान्छेहरु आएर सञ्चालनका लागि तालिम दिन आउनुहुन्छ । सरकारी अहेव, पालिकाका स्वास्थ्य शाखाका नर्स, डाक्टर सबैजनालाई तालिम उपलब्ध गराइने छ । यसरी १८/२० महिनाको तालिमबाटै सम्पूर्ण काम हुन सक्छ । यसरी तयार भएपछि हरेक गाउँमा सर्वशुलभ ढंगले एन्टी स्नेक भेनम उपलब्ध गराउन सकियो भने मान्छेको जीवन बचाउन सकिन्छ ।


० अव यो परियोजनाबाट कति समयपछि भेनम उत्पादन गर्न सकिएला ?

संरचना निर्माणका लागि अन्य मुलूकबाट सहयोग उपलब्ध हुँदोरहेनछ । किनकी सरकारले यो विषय प्राथमिकतामा राखेको छ कि छैन भनेर हेर्ने रहेछ । जत्ति छिटो भवनहरु निर्माण गर्न सकिन्छ, त्यसपछि ‘लजिष्टक सपोर्ट’ ल्यावका उपकरण, अस्पतालका उपकरणहरु, सञ्चालनका लागि अनुभवी प्राविधिक, दक्ष डाक्टरहरु, विशेषज्ञहरुको सहयोग हामीले प्राप्त गर्न सकिन्छ । त्यसका लागि प्रदेश सरकार, संघीय सरकारले जत्ति हामीलाई सहयोग गर्छ त्यहि आधारमा सम्पन्न गर्न सकिन्छ ।


० तपाईले अन्तमा थप केहि भन्नु छ कि ?

सम्पूर्ण राजनीतिक ब्यक्तिहरु, बुद्धिजिबी, पत्रकार, नागरिक समाजलगायतलाई के अनुरोध गर्न चाहन्छु भने ‘यो परियोजना राष्ट्रको एक गेमचेञ्जर परियोजना हो’ । हामीले सञ्चालन गरेपनि यसको स्वामित्व सबै जनाको हो । सबैजनाले जिम्मा लिन आवश्यक छ । सरकारकै रकमबाट यो परियोजना सुरु भएको हो । जुन पूर्व प्रधानमन्त्री झलनाथ खनालको परिकल्पनाबाट आएको छ । चाहेको खण्डमा राज्यका निकायहरुबाट पनि यसलाई अगाडि बढाउन सकिन्छ । सकरात्मक ढंगले यो परियोजना टुङ्गोमा पु¥याउन चौतर्फि सहयोग मिलोेस् भन्ने चाहन्छु । मिडियाकर्मीहरुले पनि स्थलगत निरीक्षण गरेर यो परियोजनाको आवश्यकता कति हो ? तथ्यगत हिसावले प्रचार प्रसार गर्नका लागि आग्रह गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.