किनबेचको चुनावले राष्ट्रको आमूल परिवर्तनमा सघाउ पुग्दैन
वि.स.२०१५ साल आषाढ ७ गते गण्डकी प्रदेश अन्तर्गत पुतलीबजार नगरपालिका–१४ स्याङ्जामा बाबु डण्डपानी ढकाल र आमा रत्नदेबी ढकालको सन्तानका रुपमा जन्मनुभएका दुर्गानारायण ढकाल पत्रकारिता, वकालत र लेखन क्षेत्रमा स्थापित नाम हो । वि.स. २०३२ साल देखि नै कलिलो उमेरमा राजनीतितर्फ सक्रिय रहँदै आउनुभएका ढकाल २०३५ सालमा प्रगतिशील युनियनको सदस्य, २०३६ सालमा चौथो महाधिवेशनको एरिया कमिटी सदस्य, २०३७ सालबाट नेकपा मालेको कार्यकर्ता, २०४३ सालमा नेकपा मालेको तर्फबाट उम्मेदवार, २०४६ सालमा नजनआन्दोलन संयोजन समिति स्याङजाको सदस्य, २०५४ सालमा नेकपा एमालेमा फुट आएपछि कम्युनिस्ट बीच समन्वय अभियानमा संयोजन, २०६२÷०६३ सालको जनआन्दोलनमा संयोजक, नेकपाको जिल्ला सल्लाहकारलगायतका थुप्रै सघ संस्थाहरुमा आवद्ध हुनुहुन्छ । लामो समय पछि राजनीति र वकालत पेसामा भन्दा लेखन तथा अनुसन्धानमा सक्रिय रहँदै आउनुभएका ढकालसम्मको जम्काभेटमा गरिएको छोटो वार्ताः
० तपाई पछिल्लो अवस्थामा लामो राजनीतिक निरन्तरता र वकालत पेसामा भन्दा लेखनतर्फ रमाउनुभएको छ । त्यसको कारण के हो ?
मानिसले आफ्नो जीवनमा दुई किसिमले काम गरेको हुन्छ । पहिलो उसलाई जीउँदै हुँदा आफ्नो शरीरका लागि काम गर्छ, अर्को मरेपछि कृतिका लागि काम गर्दछ । मैले २०३२ सालबाट राजनीतिक क्षेत्रामा आवद्ध हुँदै आएँ । स्याङ्जा जिल्लामा मैले अनुभवका हिसावमा धेरै नै काम गरेको छु । त्यसैकारण आफुले देखेका र भोगेका हिजोका दुःख कष्टहरु, हिजोका सोचाईहरु अहिलेको परिस्थितिमा आकाश र जमिनको फरक अवस्थामा आए । त्यसैकारण आफ्ना अभिव्यक्तिमार्फत भावी पीढीलाई केहि सन्देश दिनकै लागि लेखन कार्यमा संलग्न भएको हुँ ।
० तपाई २०४२ सालतिर सक्रिय रहँदा कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुको जोस, जागर, इमान्दारिता र अहिलेका कम्युनिस्टबीच के फरक पाउनुहुन्छ ?
२०४२ सालमा नेकपा मसाल नै दुई समूहमा थियो । पातलो ‘स’ वला मसाल र मोटो ‘श’ वला मशाल गरी दुई चिनिन्थ्यो । मलाई उक्त समयमा नेकपा मालेले लिएको क्रान्तिकारी नीति मन परेको थियो । त्यो समयमा नेकपा मालेले पञ्चायती निर्वाचनमा उपयोगको नीति लिएको थियो । पार्टी स्वतन्त्रता भन्दा राजनीतिक स्वतन्त्रताका लागि जोड दिएर जानुपर्छ भन्ने भावले काम गरेको थियो । देशमा आमूल परिवर्तनका लागि सामाजिक रुपान्तरण आवश्यक छ भन्दै सक्रिय राजनीतिमा लागेको थिएँ । २०४६ सालपछि जब आन्दोलन सुरु भयो संयुक्त जनआन्दोलनको अगुवाई गरी काम गरेको थिएँ । त्यसो गर्दा पछि जब २०४८÷०४९ सालसम्म आउँदा हिजो आफुसँग भनेका साथीहरुले उल्टो काम गरेको देखे । त्यसपछि मलाई लाज लाग्यो । त्यसपछि वितृष्णा जागेकै कारण लेखन कार्यमा संलग्न भएको हुँ ।
० माओवादी पार्टीले जनताको जीवनमा रुपान्तरणको नारालिएर दशौं वर्ष सशस्त्र क्रान्ति ग¥यो । गणतन्त्र आउनु बाहेक जनताको जीवनस्तरमा त केहि पनि सामाजिक रुपान्तरण भएन नी ?
त्यो समयमा माओवादी पार्टीले आमुल परिवर्तनका लागि ठूलै पहल गरेको हो । हामी पनि नेकपा एमाले फुटेर नेकपा माले बनेपछि मलाई कुनै पार्टीमा पनि जान मन लागेन । तर, माओवादीको विचारले प्रभावित बनायो । त्यसैकारण जनयुद्धको पक्षपोषण पनि गरियो । अहिलेको अवस्था हेर्दा हिजो २०४६ सालपछि मालेका कार्यकर्ताहरु पार्टीका नेताहरुबाट जुन अवसरवाद भोगेका थिएँ त्यहि अवसरवादले नेकपा माओवादीका साथीहरुलाई ढाकेको छ । तर, माओवादी भित्र अलिकति क्रान्तिकारी रुझान बाँकी नै छ । त्यसैकारण म प्रगतिशील लेखक संघको सम्मेलनमा भाग लिन आएको हुँँ ।
० पछिल्लो समयमा माओवादी पार्टी पनि परिवारवाद भन्दा माथि उठ्न नसकेको आरोप छ । साथै अहिले काग्रेस नेतृत्वको सरकारमा बसेर अपवित्र गठबन्धनमा पनि सामेल छ नि ?
अहिलेको मूख्य सवाल भनेको नेपाली जनताको ठूलो त्याग र तपस्याले बनेको गणतन्त्रात्मक संविधान हो । नेपाली कांग्रेसले हिजोको नीति छाडेर गणतन्त्रको समर्थनमा आएको छ । साथै समाजवादी कार्यक्रमलाई स्वीकार गरिसकेको छ । र, नेकपा एमाले र माओवादी दुबैले आफुलाई समाजवादी भनेका छन् । तर, अहिलेको स्थितिमा समाजवादी कार्यक्रम र भावलाई जसरी समायोजन गरि लैजानुपर्दछ भनिएको छ । त्यो भावलाई अघि बढाउनका लागि क्रान्तिकारी धार समातेर अघि बढ्नुपर्दछ । कुनै पार्टी तिब्र क्रान्तिकारी भएर बिसर्जनवादतर्फ जानुभन्दा क्रान्तिकारी भावसहित उपयोग गरेर गणतन्त्रलाई संरक्षण गर्दै समाजवादमा जानुपर्दछ भन्ने मान्यता बोकेर मैले काम गरिरहेको छु ।
० स्थानीय तहको निर्वाचनमा यस अघि तपाई पुतलीबजार नगरपालिकामा प्रमुख पदको उम्मेदवार पनि हुनुुहुन्थ्यो । अहिले कसरी मुल्यांकन गर्नुभएको छ ?
अहिले स्थानीय तहको निर्वाचन नाम गरे पनि त्यो निर्वाचन होइन । यो छनौट हो । पैसा र पदका लागि मानिस जे पनि गर्न तयार छ । अहिले राजनीतिक पद किनबेचमा छ । यो किनबेचको चुनावले राष्ट्रमा आमुल परिवर्तन गर्न सघाउ पु¥याउँदैन । बिकृति र बिसंगति ल्याउने छ । यस अघिको निर्वाचनमा म निर्वाचनमा उभिएको थिए । तर, अहिले दावेदारी नै प्रस्तुत गरेको छैन । क्रान्तिकारी धार र विचारका लागि जसरी २०४३ सालमा जनपक्षिय उम्मेदवार बनाएर उपयोगको नीति लिएर अघि बढेका थियौं, त्यहि भावमा जानुपर्दछ ।
० स्थानीय तहमा निर्वाचनमा होमिनेहरु निर्वाचनमा जित्नेहरु निर्माण व्यवसायिहरु मेनपावर व्यवसायिहरु, जग्गा दलालहरु र शिक्षाका व्यवसायिहरु देखिन्छन् । शुद्धीकरणका लागि के गर्नुपर्छ भन्ने लाग्छ ?
राजनीति शुद्धीकरणका लागि अर्को नागरिक आन्दोलनको जरुरी छ । जस्तै हामीले २०६२/०६३ साल पछि मैले नेतृत्व गरेर सचिव बनाएका राजनीतिक व्यक्तिहरु नै विकृति र बिसंगति तर्फ लागे । उनीहरुले शहीद, युद्धका घाइते, द्वन्द्वपीडितहरुको स्रोतको दुरुपयोग गरे । त्यसक्रममा मलाई स्याङ्जाको चोकमै पिटे । जुन कुराको सशक्त विरोधी हुँ । त्यो भावबाट कुनै हालतमा पनि बिचलित भएको छैन । अहिलेका विकृति, बिसंगति र पैसाले जित्ने निर्वाचन विरुद्ध सशक्त संघर्ष परिचालन गर्नुपर्दछ भन्ने लाग्छ ।
० शान्ति सम्झौतालाई निस्कर्षमा पु¥याउनका लागि भरखरै एक जना अधिवक्तालाई मन्त्री बनाइएको छ । द्वन्द्वपीडितहरुले न्याय पाउन सक्छन् ?
हिजोको द्वन्द्वलाई व्यवस्थापन गर्न जनताको निमित्त व्यवस्थापन परिवर्तन भएर हुँदैन । जनताको अवस्था परिवर्तन हुनुपर्दछ । अबको नागरिकको अवस्थामा परिवर्तनका लागि राष्ट्रिय परिवेश पनि सफल होला जस्तो लाग्दैन । द्वन्द्व व्यवस्थापनमा अहिलेका कानूनमन्त्री गोविन्द कोइराला पनि सफल हुनुुहुन्छ भन्ने लाग्दैन ।
० द्वन्द्व व्यवस्थापनकाको विषयमा अहिलेको पाँच दलिय गठबन्धनले पनि टालटुल गरेर झारा टार्ने अवस्था आएको हो ?
कुनै जागरणको परिवेश पर्खनु पर्ला कि ?
० वि.स. २००७ सालमा द्वन्द्व व्यवस्थापनका लागि मुक्ति सेनालाई आममाफी दिइएको थियो । अहिले किन गरिएन ? त्यो नगरिएका कारण अहिलेसम्म शान्ति सम्झौतका मूल काम लम्बिएको हैन ?
कतिपय कुरामा सत्यता छ । २००७ सालको क्रान्तिले सफलता हासिल गर्न नपाउनुमा पनि केहि सत्यता छ । बिपीको विरुद्धमा त्यो समयमा मात्रिका प्रसाद कोइरालालाई प्रयोग गरियो । त्यसरी नै अहिले द्वन्द्वपीडित र युद्धमा होमिएर भावनात्मक रुपमा लागेका सिपाहीहरु पछि परेका छन् । अवसरवादीहरु मात्रै अघि बढेको देखिएका छन् । अब ति अवसरवादीहरुको विरुद्धमा पुनर्जागरणको आवश्कता छ ।
० पच्चिस वर्ष भन्दा तलका युवाहरु राजनीति प्रति नकरात्मक छन् । कसरी होला त शद्धीकरण ?
२०३६ सालमा निर्दल र बहुदलबीच निर्वाचन हुँदा पञ्चहरुले ठूलो काम ग¥यो भन्थे । तर, सधै त्यहि अवस्था रहेन । जनयुद्दको मर्म र भावनालाई कुल्चिएको छ । अर्को विद्रोहको तयारी नगरी सुखै छैन र राष्ट्रिय र अन्तराष्ट्रिय परिवेशको खत्तराका कारण अर्को आन्दोलनको जरुरी छ ।
० कतिपय क्रान्तिका नायकहरु युवा अवस्थामा सुरु गरेको भएपछि मात्रै सफल भएका छन् । हामीले देखेका नेताहरु हिजो क्रान्ति गरे पनि सबैजसो जेष्ठ नागरिक बनेका छन् । युवाहरु नकरात्मक छन्,कसरी सफल होला त क्रान्ति ?
अहिले युवाहरुले राजनीति प्रति प्रकट गरेको विचार वितृष्णा होइन केबल आक्रोस मात्रै हो । आम युवाहरुमा आक्रोस छ । भोलि बिद्रोहमा परिणत भएपछि त्यसले अवश्य पनि सार्थकता पाउँछ ।
० अन्तिममा केहि थप भन्नु छ कि ?
तपाई पत्रकार भएपनि हिजोका दिनमा थुप्रै आन्दोलनमा जोडिएर आउनुभएको छ । तपाईको पत्रिकामा ठाउँ दिएर मेरा विचार राख्ने अवसर प्रदान गरेकोमा हार्दिक धन्यवाद दिन चाहन्छु ।