July 23, 2024

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

सुस्ताबासीको नेपाली हुँ भन्ने भावनालाई सरकारले महसुस गराउन सकिरहेको छैन

1 min read



प्रधानमन्त्री शेर बहादुर देउवा शुक्रवार देखि तीन दिने भारत भ्रमणमा छन् । तर, सुस्ताका जनताको समस्या होस वा लिपुलेक, लिम्पियाधुरा र कालापानीका जनताले भारतीय सुरक्षाकर्मीबाट भूमि अतिक्रमणमा गरेको ज्यादतीका घाउँहरुमा मल्हम लगाउन सकिरहेका छैनन् । नेपालको सीमा अतिक्रमणका बारेमा त्यस क्षेत्रका सांसद हृदयेस त्रिपाठी अहिलेसम्म एक शब्द बोलेका छैनन् । उनी छ पटक मन्त्री भए पनि एक पटक सुस्तामा टेकेका छैनन् । किनकी सुस्ता भारतीयहरुले लिपुलेक, लिम्पियाधुरा र कालापानी पछि सबैभन्दा बढि जमिन हड्पेको क्षेत्र हो । यसै विषयमा सुस्ताको अतिक्रमण भारतीय ज्यादतिका विरुद्ध आन्दोलनमा होमिदै आउनुभएका रविन्द्र जैसवालसँग नारायण प्रसाद शर्माले गरेको अन्तर्वार्ताः


० तपाई सुस्ता बचाउँ अभियानका एक जना अभियन्ता हुनुहुन्छ । अहिले पछिल्लो अवस्थामा सुस्ताको अवस्था कस्तो छ ?
सुस्ता २०७० को दोस्रो संविधानसभाको निर्वाचन पछि विकासको दृष्टिकोणले धेरै बदलिएको छ । सुस्तामा तटबन्ध बनिसकेपछि बाँकी जमिनको सुरक्षा भएको छ । १५७० मिटर लामो झोलुङ्गे पुल निर्माणधिन अवस्थामा छ । पाइपग्रिनको काम सकिएको छ । एउटा पिल्लर मात्रै उठाउन बाँकी छ । सडक सञ्जालको हिसावमा आरसीसी बाटो साढे चार किमी बनिसकेको छ । जनता आवासका लागि दुई सय भन्दा बढि घरहरु बनिरहेका छन् । बिद्युतिकरणतर्फ सोझै लाइन जोड्न नसके पनि सरकारले सोलार जडान गरिदिएको छ । खानेपानीको लागि पनि काम भएको छ ।


० नेपाली भू–भागबाटै जान सकिने झोलुङ्गे पुलको निर्माण कहिले हुन्छ ? साथै त्यहाँका जनताको नागरिकताको समस्या के भइरहेको छ ?
अहिले हामी सुस्ताको कुरा गरिरहँदा हामीले नेपालसँग जोड्न सकेका छैनौं । सुस्ताबासीको नेपाली हुँ भन्ने भावनालाई जोडेको सरकारले महसुस गराउन सकिरहेको छैन । सामान्य रुपमा एउटा झोलुङ्गे पुल समेत बनिसकेको छैन । झोलुङ्गे पुल बन्न नसक्दा सुस्ताबासी भारतको बाटो भएर घर जान बाद्य छन् । उनीहरु औषधि उपचार गराउन जाँदा समेत भारतीय सुरक्षाकर्मीको मनपरी हैकम सहनुपरेको छ । सुस्ताबासी नेपालीहरुसँग इण्डियनहरुको विवाद हुने बित्तिकै बाटो बन्द गरिदिन्छन् । हामी पटक पटक नेपाल सरकारसँग भनिरहेका छौंं सुस्ताको भूमि जोगाउने नेपालीहरुलाई नागरिकता दिऔं र भावनात्मक रुपमा जोड्नका लागि झोलुङ्गे पुलको निर्माण गरौं । सुस्ताका भूमि बचाउनेहरु नै नागरिक बन्न पाएका छैनन् ।
सुस्ता २०२२ सालमा बसेको बस्ती हो । २०२५ सालमा सुस्ता पञ्चायत भयो । नेपाल प्रहरीका जवानहरु राखियो । २०२७ सालमा नापी गरियो । त्यसै गरी २०२८ सालमा पाँच हजार छपन्न विघाको लालपुर्जा पनि बाडियो । त्यस बखत भारतीयहरुले दुःख दिए । २०३४ सालमा भिषण बाढी आयो । त्यस पछि त्यो समयको सुस्ता पञ्चायत मरुभूमि बन्यो । त्यसपछि सुस्ताबासीहरु पलायन भई ठाडीघाटमा आएर दुई महिना जत्ति बसे । त्यसपछि नेपाल सरकारले नागरिकता भएकाहरुलाई त्रिबेणी, क्यौलेनी, पर्सैयालगायतका ठाउँहरुमा जमिन दिएर व्यवस्था ग¥यो । तर, नागरिकता नभएकाहरु बाद्य भएर त्यहि मरुभूमिमा २८ घर परिवार बस्न लागे । उनीहरु खरबुजा लगायत बेचेर जिबिकोपार्जन गर्न लागेँ । त्यसपछि त्यहाँ नारायणी नदीको मलिलो माटो थुप्रिदै जादा बस्ती पनि राम्रो हुँदै गयो । त्यो २८ परिवार सुस्तामा कष्ट गरेर नबसेको भए, नेपाल भन्न पाउँदैनथ्यौं ।


० अहिलेसम्म सुस्तामा कति घर परिवार नागरिकता बिहिन छन् ?
त्यहाँ जम्मा जम्मी ३१ सय परिवार रहेका छन् । जम्मा ३६० जनाले नागरिकता पाएका छन् । यसरी बाँकी १६ वर्ष पुगेका कसैलाई जन्म दर्ता भएको आधारमा पनि नागरिकता दिइएको छैन ।
० सुस्ताको समस्या समाधानका लागि त्यहाँको राजनीतिक पार्टीहरुले किन भूमिका खेलेनन् ?
सुस्ताका विषयमा सुरु देखि नै यहि क्षेत्रबाट प्रतिनिधित्व गर्नेले चासो दिनुभएन । २०६३ मा सुस्तामा नागरिकता किन बाडिएन ? जबकी पुरै मधेशमा नागरिकता बाडियो । किन सुस्तामा मात्रै पाइएन ? सुस्ताबासीमा ठूलो षडयन्त्र भएको छ । त्यो नागरिकता टोलीलाई जम्मा ६ घण्टा त्रिबेणीमा बोलाइयो । त्यो समयमा इण्डियनहरुले सुस्ता कब्जा गर्नका लागि द्वन्द्व गरिरहेका थिए । नेपालीहरुको उखुबारीमा आएर इण्डियनहरुले आगो लगाएका थिए । त्यो समयमा छ घण्टा लगाएर नागरिकता टोली फर्कियो । सुस्तामा पाँच हजार छपन्न बिघा लालपुर्जा भएका मानिसहरुको समूह बसेको ठाउँमा गएर टोलीले नागरिकता दियो । जम्मा १५० जनालाई नागरिकता दिएर उक्त टोली फर्किएको थियो । ति डेड सयको नागरिकता उनका छोरा छोरी र श्रीमती गरी अहिले ३६० पुगेको छ ।


० २०६२/०६३ पछि धेरै गैर नेपालीहरुले पनि नागरिकता पाए । तर, सुस्ता बचाउने ति वीरहरुलाई किन नागरिकता दिइएन ? किन नदिएको होला बुझ्नुभएको छ ?
हामी सुस्तामा भारतीयले कब्जा गरेको वा गर्न लागेको नेपाली भूमि बचाउनका लागि नागरिकता पाएका र नपाएका दुबै थरी लडिरहेका छौं । सुस्ताबासीहरु नेपाली भएर बाच्न चाहेका छौं । तर, बिडम्बना नेपाल सरकारले वास्ता गरेको छैन । त्यहाँको नेपाली भूमि फिर्ताका लागि नेपाल सरकारले भारतसँग पहल गर्नुपर्छ । सुस्ताका लागि नागरिकताका जटिल समस्या बनेको छ । नेपाल सरकारले आफ्नो जमिन भनिरहेको छ । तर, त्यो भूमि बचाएर इण्डियनसँग लड्ने नेपालीलाई नागरिकता दिन मानिरहेको छैन । सुस्ताको वास्तविकता बुझेर जो नेपाली भूमिमा लडेर बसिरहेको छ । त्यो व्यक्तिलाई नेपाली नागरिकता दिनुपर्दछ । हामीलाई हासो उठिरहेको छ । नेपाल सरकारले भूमि नेपालको भन्छ तर, नागरिकता दिँदैन । अनागरिक मानिसलाई बसाएर आफ्नो भूमि दाबी गर्न मिल्छ ?
लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा नेपालीलाई प्रभावित गर्नका लागि दुई रुपैया किलो चामल बाडिरहेको छ । पिठो निःशुल्क बाडिरहेको छ । कर प्mी छ । त्यहाँ खाएर बचेको सामाग्री नेपाल तर्फ बसेका नेपालीहरुले प्रयोग गर्न ल्याईन्छ । सुस्तामा बसेका नेपालीहरुले क्रसर चलाएका छन् । नागरिकता नभएका कारण गाडीका कागजात बनाउन समस्या परेको छ । त्यहाँ नेपालीले इण्डियन टेक्टर लगाएर काम गर्नुपरेको छ । सुस्तामा नेपाली नागरिकता नभएकै कारण धेरै नेपालीले नेपाली नम्बरका टेक्टर प्रयोग गर्न पाएका छैनन् । लालपुर्जा दिन पनि नेपाल सरकारले हिम्मत गरेको छैन । गाउँपालिकाले पनि जग्गा जोतभोगको प्रमाण पुर्जा दिएको छैन । अस्थायी लालपुर्जा पनि त बाड्न सकिन्थ्यो नि ?


सुस्तामा अहिलेसम्म इण्डियाले कति हजार हेक्टर नेपाली भूमि कब्जामा लिएको छ ?
पुरानो सुस्ताको जम्मा क्षेत्रफल ४० हजार नौ सय ८० हेक्टर हो । जसमध्ये १४ हजार पाँचसय हेक्टर जमिन अतिक्रमण गरिएको छ । यो जग्गामा जोत भोग गरी सडक बाटो निर्माण गरिएको छ । एसएसबी क्याम्प लगाएका छन् । १९ हजार चार सय असी नेपाली लालपुर्जा भएको भूभागलाई भारतले विवादित भनेको छ । अहिले केबल सात हजार हेक्टर भूभाग जोतभोगमा छ । तथापि त्यसको लागि पनि स्थानीय तहलेसमेत चासो देखाएको छैन । सुस्तामा नेपालीहरुलाई अस्थायी लालपुर्जा बाड्नुपर्दछ ।


० तपाईहरुले समस्या उठाउँदा सुने जस्तो गरिन्छ । तर, किन सम्बोधन हुँदैन ?
सुस्ताबासी नागरिकहरु कहिलेसम्म नागरिकताबिहिन भएर बस्ने ? पटक पटक आन्दोलन गर्नुपर्ने अवस्था किन आइरहेको छ ? नागरिकताकै कारण वि.स.२०४० सालमा भारतीय एसएसबीको गोली खाएर मारिएका परिवारलाई आवास बनाइदिन सकेका छैनौं । नागरिकता नहुँदा त कुनै सुबिधा लिनै सकिदैन नी ?


कतिपय मूख्य राजनीतिक पार्टीका नेताहरु किन यहाँका गम्भीर समस्यामा केन्द्रीत रहेर गर्नुपर्ने सम्बोधन प्रति उदास हुन्छन् ?
यो क्षेत्रको पटक पटक चुनाव जितेर सांसद र मन्त्री बन्ने व्यक्ति हृदयेस त्रिपाठी हुनुहुन्छ । उहाँ मधेस र नागरिकताका विषयमा चर्को आवाज उठाउनुहुन्छ । सदन र मिडियामा पनि समय समयमा आउने गर्नुहुँन्छ । तर, दूर्भाग्य सुस्ताका विषयमा अहिलेसम्म एक शब्द पनि बोल्नुभएको छैन । पाँच कार्यकाल सांसदमा निर्वाचित भएर पनि एक पटक सुस्तामा टेक्नुभएको छैन । हामीले कस्तो नेता पाएका छौं । त्रिपाठीले स्वास्थ्य, भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला, उद्योग वाणिज्य तथा आपुर्तिलगायतका मन्त्रालयमा मन्त्री बन्नुभएको थियो । त्रिपाठीले सुस्ताबासीले चाहेबमोजिम काम गर्नुभएन । उहाँले कि त सुस्ता नेपाल होइन भनेर सदनमै बोल्नुहोस् । हैन भने सुस्ताबासीको विषयमा बोल्नु जनप्रतिनिधिको पनि कर्तब्य हो । २०७० सालको दोस्रो संविधानसभामा देव प्रसाद कलवार भारी मतले हृदयेस त्रिपाठीलाई हराएर निर्वाचित हुनुभयो । त्यसपछि मात्रै सुस्ताबासीका दिन फर्किए । कलवारकै कार्यकालमा नदीमा तटबन्धको योजना अघि सारियो र सुस्तामा जान झोलुङ्गे पुलको लागि बजेट विनियोजन गरियो । यसरी १० वर्ष अघिको सुस्ता र अहिलेको सुस्तामा धेरै परिवर्तन आएको छ ।


० नेपाली भूभाग सुस्तालाई जोड्ने झोलुङ्गे पुल कहिले पूर्ण हुन्छ त ?
नेपालसँग जोडिने झोलुङ्गे पुलका लागि श्याम लामा भन्ने ठेकेदारले काम गर्नुभएको छ । पटक पटक कुरा भइरहन्छ । तर, पालिङको काम सकिएपछि एक वर्षमा माथिको काम सकिन्छ भन्नुभएको छ । अर्को सालमा पुल तयार हुन्छ भन्नुभएको छ ।

https://studio.youtube.com/video/lbQqqPkDWH8/edit

https://studio.youtube.com/video/lbQqqPkDWH8/edit

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.