जनताले आफ्नो पक्षमा काम गर्न सक्ने पार्टीको जनप्रतिनिधि चुन्न सक्नुपर्दछ, उपप्रमुख, बास्तोला,
० तपाई चाँगुनारायण नगरपालिकाको उपप्रमुख पदमा निर्वाचित हुनुभएको भण्डै पाँच वर्ष पुग्न लाग्यो । यो अवधिमा तपाईले गनुभएका मूख्य–मूख्य कामहरु के के हुन् ?
हामी निर्वाचित भएको झण्डै पाँच वर्ष हुन लाग्यो, अर्थात ६० दिन जत्ति मात्रै बाँकी छ । यो अवधिमा निर्वाचित भएर आएपछि पहिलो वर्षमा संरचनाहरु नै थिएन । अहिले हाम्रो प्रशासनिक भवन बन्दैछ । नगरपालिकामा ऐन कानूनहरु बनेका थिएनन् । यसरी अहिलेसम्म हामीले ऐन, कानून र कार्यविधि गरी ८२ वटा बनाईसकेका छौं । जुन कार्यान्वयन गरीरहेका छौं । जुनसुकै काम गर्दा पनि ऐन, कानून र कार्यविधि आवश्यक पर्दछ । पहिलो वर्षको आधा महिना जत्ति हामीले केहि समय स्थानीय शासन ऐनबाट सञ्चालन गर्दै आयौं ।
हाम्रो नगरपालिकाको अधिकांश क्षेत्रमा खानेपानीको एकदमै समस्या थियो । यसै कारण निर्वाचनमा भोट माग्दा जनातासँग गरेको बाचा अनुसार सात ठाउँमा डिप बोरिङ गरायौ । अहिले सातैवटा सञ्चालनमा आउन लागेका पनि छन् । एक वटा मात्रै सञ्चालनको क्रममा छ । छायाँ डाँडामा गरिएको डिप बोरिङ माथि त्रिशुल डाँडामा पाइप बिच्छाइदै छ । जुन अन्य भन्दा अलिक ढिलाई भएको छ । तथापि दुई महिनाभित्रमा जनतालाई पानी ख्वाउन सकिन्छ । यसरी डाडाकाँडा भएका कारण काठमाडौ महानगरपालिका भन्दा पनि ठूलो क्षेत्र हाम्रो नगरपालिकाले ओगटेको छ । यो नगरपालिकामा विकास नभएको पनि होइन । बाटो घाटो, खानेपानी र पार्टी पौवाको मात्रै विकास होइन, मानवीय विकास पनि विकास हो भनेर मानवीय सचेतना फैलाउने खालका कार्यक्रमहरु पनि ल्याएका छौं । ‘बैंक खाता छोरीको, सुरक्षा जीवन भरिको’ भन्ने कार्यक्रम ल्याएर सामुदायिक विद्यालयमा पढ्ने छोरीहरुलाई खाता खोलिदिएर वर्ष नपुगेसम्म विवाह नगर्ने अवस्था बनोस् भनेर १२ कक्षा नपढुञ्जेल झिक्न पनि नपाउने गरायौ. । यसरी मेयर उद्यमशीलता कार्यक्रम भनेर तीन लाख रुपैया सम्म बिना ब्याज ऋण उपलब्ध गराउने कार्यक्रम ल्याएका छौं । यसरी आवेदन पत्र मागेर, तालिम दिई बैंक मार्फत रकम झिेकर धेरै मानिसहरुलाई उद्यमी बनाइएको छ । साथै उपमेयरसँग उद्यमशीलता भनेर लक्षित कार्यक्रम बिनियोजन गराएका छौं । जस अन्तर्गत १४÷१५ वटा कार्यक्रमहरु छन् । यसरी महिलाहरुलाई लक्षित गरी उद्यमी नै बन्नुपर्ने, बाँस र बेतका फूलहरु बनाउने, मन्दिरहरु बनाउने, नाङलाहरु बनाउने, जस्ता कामहरुको तालिम दिइएको छ । सुरु सुरुमा सिलाई बुनाई मात्रै हुन्थ्यो । तर, अहिले डोका, नाम्ला, डाला, थुन्से, ढक्कीहरु बुन्ने जस्ता कार्यक्रमहरु सञ्चालन गरेर उद्यमी बन्नुभएको छ । यसरी हामीले तीन तीन महिनाको तालिम दिएर उद्यमी बनाइएको छ । हामीले ल्याएका १४ वटा कार्यक्रम मध्ये कपाल काट्ने शैलुन तालिम, कम्प्युटर तालिम, बेत र बाँसका समान बनाउने तालिम, ब्याग बनाउने तालिमलगायत छन् । बेरोजगार नबनून भनेर हामीले छुट्टा छुट्टै काम गरेका छौ । एकल महिला समूहको पनि गठन गरिसकेको अवस्था छ । उहाँहरुलाई भरखरै गएको नारी दिवसमा पनि १२५ जना महिलालाई सभाहलमा राखेर सचेतनामूलक कार्यक्रमहरु दियौं ।
हाम्रो नगरमा बालमैत्री स्थानीय शासन घोषणा गरिएको छ । साथै खोप मुक्त क्षेत्र पनि घोषणा गरेका छौं । यो नगरपालिकामा बुद्धिजिबी व्यक्तित्वहरु कति जना हुनुहुन्छ ? भनेर हामीले विभुषण कार्यक्रम पनि सम्पन्न गराएका छौं ।
बालमैत्री स्थानीय शासन
बालमैत्री स्थानीय शासन घोषणा गरेपछि सबै बालबालिकाहरु स्कूल जान सकून भनेर हामीले एक वर्षमा नौ जना सहजकर्ता तोकेर खटिएर काम ग¥यौं । मजदुरी गर्ने काममा कोहि बालबालिका नलागून भनेर हामी सबै खटेर त्यसका ५१ सूचक पार गरियो । यसरी २८ वटा खुड्किला पार गर्दै हेल्मेट डाँडामा भब्य कार्यक्रम गरी बालमैत्री शासनको घोषणा भएको छ ।
हाम्रो नगरपालिकामा ५२ वटा इट्टाभट्टाहरु छन् । ति इट्टाभट्टामा हाम्रा बालबालिकाहरु मात्रै नभएर यहाँ काम गर्ने सबै बालबालिका स्कूल जान पाउनुपर्दछ भनेर नै इट्टा उद्योगीहरुलाई नै बोलाएर भन्यौं, ‘जहाँबाट कामदार ल्याउनुहुन्छ उनीहरुसँग बालबच्चाहरु पनि आउँछन्’ । तर, ज्याला मजदूरी काममा लगाउन पाउनुहुन्न भनेर निर्देशन दियौंैं । उहाँहरु सबै जना १४ वर्ष भन्दा कम उमेरका बालबालिकाहरुलाई काममा नराख्ने प्रतिवद्धता जाहेर गरेर जानुभएको छ । हामीले अहिले नौ जना सहजकर्तालाई इट्टाभट्टामा जानका लागि जिम्मेवारी नै दिएका छौं ।
पहुँचवला ठेकेदारको ज्यादतीको विरुद्धमा पहल
यसरी समग्रमा हामीले जनतासामु घोषणापत्रमा उल्लेख गरिएका भन्दा बढि नै काम गरीसकेको अवस्था छ । हामीले जत्ति प्रयास गर्दा पनि ठेकेदारका कारण मूल बाटो बनाउन सकिएको छैन । यो बाटो निर्माणका लागि ठेक्का लिएका शारदा प्रसाद अधिकारी नेकपा माओवादीका अध्यक्ष प्रचण्ड बसेको घरका धनी रहेछन् । उनी पहुँचकै कारण हामीसँग टेरेका छैनन् । त्यसैकारण नगरपालिकाको बजेटबाट पनि बनाउन नसकिने अवस्था छ । ठेकेदार शारदा अधिकारीलाई हामीले धेरैपटक बैठकमा बोलायौं । उहाँले हामीसँग चैत्र मसान्तसम्म बनाएर सक्छु भन्नुभएको थियो । तर, अहिलेसम्म कहिँ पनि गिट्टी बालुवा झार्नुभएको छैन । यो म्यादभित्र पनि काम भएन भने कालो सूचिमा राख्नुपर्छ भनेका छौं । तथापि समग्र रुपमा हामीले घोषणा पत्र अनुसारकै काम सम्पन्न गरिएको छ ।
० तपाई उपप्रमुख भएका नातााले न्यायिक समितिको पनि संयोजक हुनुुहुन्छ । तपाई कहाँ के कस्ता उजुरीहरु परे ? कति फस्यौट गर्नुभयो ?
तपाईलाई धेरै धेरै धन्यवाद । म न्यायिक समितिको संयोजक हुँ । हामीले महिला हिंसाका कुराहरु, खान लाउन नपाउने विषयहरु, सासु ससुरा र बुहारीका कुराहरु आउँलान भन्ने लागेको थियो । त्यस प्रकारका उजुरीहरु हामी कहाँ कम नै आए । तर, जग्गाका मुद्दाहरु मात्रै बढि आएका छन् । व्यक्तिले जग्गा मिचेको, प्लानिङले जग्गा मिचेको, चार आना जग्गा नयाँ बस्तीमा किन्दा पुरानो बस्तीले मिचेको जस्ता दुई सयको हाराहारीमा मुद्दाहरु आएका छन् । ति मध्ये मेलमिलापको माध्यमद्धारा नापीको रिपोर्ट बमोजिम जग्गा विवाद पनि टुङ्गो लगायौं । तथापि कतिपय हामीकहाँ पनि नमिलेपछि अदालत पठाएका छौं । अहिलेसम्म चार÷पाँच वटा मुघाहरु फैसला पनि भएका छन् । यसरी हामी कहाँ बाँकी १० वटा मुद्दाहरु छन् । जुन दैनिक रुपमा बैठक राखेर भए पनि दुई महिनाको अवधिमा टुङ्ग्याउने पक्षमा छु ।
यसरी हामीले फौजदारी मुद्दाहरु नहेरी केबल देवानी मुद्दाहरु मात्रै हेर्न पाइने अधिकार हुँदा यी मुद्दाहरु मेलमिलापमार्फत समझदारी गराउँन सकिने रहेछ । ‘तपाईहरु हाम्रो कुरा मान्नुहुन्छ भने दुबै जनाको जित हुन्छ, मान्नुहुन्न भने अदालत जान सक्नुहुन्छ भनेर म आफै सुरु गर्दछु’ । हामी न्यायिक समितिमा मात्रै तीन जना हुन्छौं, कसैको पनि पक्ष लिएर काम गर्दैनौं । यसरी हामी आफ्ना नातागोताको उजुरीमा आफु बहस पनि गर्दैनौं । यहाँ दिएका उजुरीकर्ताहरुलाई अहिलेसम्म हासीखुशी हात मिलाएर पठाउँने गरेका छौ ।
० सामुदायिक र सरकारी विद्यालयमा शिक्षामा सुधारका लागि के के पहल भएका छन् ?
शिक्षा क्षेत्रमा सुधारः
हाम्रा सामुदायिक विद्यालयहरु हामी निर्वाचित भएर आउँदा लथालिंग नै थिए । अहिलेसम्म सबै विद्यालयमा गणना गर्दा १२ सय विद्यार्थीहरु बढेका छन् । शिक्षा र कृषि क्षेत्रमा हाम्रो ठूलो लगानी छ ।
कृषि क्षेत्रमा सुधार
कृषिका क्षेत्रमा धान, मकैका बीउँ, तोरी, सागलगायतका बीउँ वितरणमा ५० प्रतिशत अनुदान दिएका छौ । त्यसै गरी बाख्रा पालन गरिने क्षेत्रमा एक वडामा एक वटा बयर बोकाहरु पनि अनुदानमा दिएका छौं । यसरी शिक्षासँगै कृषि, पशुपालन, स्वास्थ्य क्षेत्रमा भरपुर लगानी गरिएको छ ।
स्वास्थ्य क्षेत्रमा सुधार
हामीले कोभिड–१९ महामारी रोकथामका लागि धेरै रकम खर्च गर्नुपरेको छ । यो नगरपालिकामा ११ वटा एम्बुलेन्सहरु छन् । नगर अस्पताल बनिसकेको छ । अक्सिजन प्लान्ट राखिसकेका छौ । हाम्रो नगरपालिकामा नौ वटा स्वास्थ्य चौकी राखिएको छ । हामी विकास भनेको बाटोघाटोको निर्माण मात्रै ठानेका थियौं, त्यो होइन रहेछ भनिकन सचेतना कार्यक्रम ल्याएका छौ । बाटो घाटो पनि पाँचै वर्षमा पूर्ण गराउन सकिने रहेनछ । हामी सकेसम्म टुक्रा बजेट ल्याउने पक्षमा छैनौं ।
० निकट समय अर्थात वैशाख ३० गते नै स्थानीय तहमा निर्वाचन हुँदैछ । तपाईको कुन पदमा निर्वाचनमा लड्ने आकांक्षा राख्नुभएको छ ?
म उपमेयर त भइसकेको छु पार्टीले टिकट दिएको खण्डमा मेयर पदमा उठ्ने इच्छा छ ।
० अन्तमा केहि भन्नु छ कि ?
निर्वाचन आइसकेको छ । जनताका चाहना एकैपटक होस् मेरो घर अगाडि राम्रो बाटो बनोस्, खानेपानी र ढलहरु निकासको व्यवस्था होस् भन्ने चाहना हुन्छ नै । त्यो चाहना हामीले कति पुरा गरेका छौं । र कति पुरा गर्न सकेनौं । यो क्षेत्र कस्तो छ ? अब आउने निर्वाचनमा पनि जनताले आफ्नो पक्षमा काम गर्न सक्ने राम्रो प्रतिनिधि चुन्न सक्नुपर्दछ । यो बीचमा कसरी काम भयो ? जनतालाई थाह छ । यो पार्टीको जनप्रतिनिधिलाई चुनेर जिताउँदा जनताको पक्षमा काम हुन्छ भनेर चुन्न म आम चाँगुनारायणबासीमा हार्दिक अनुरोध गर्दछु ।