न्याय क्षेत्रमा ग्रहण लाग्नुका साथै पैसामा विक्री भएको छ : आमरण अनसनकारी अम्बिका अधिकारी
1 min readचितवनका अम्बिका प्रसाद अधिकारी पौष १८ गते देखि माइतीघर मण्डलामा आमरण अनसनमा छन् । उनले पैसा र शक्तिको अभावमा मुद्दा हार्नुपरेको र ढिलो न्याय हुनु पनि अन्याय हो भन्दै आफ्ना माग अघि सारेका छन् । उनी मुद्दा लड्दा आफुले सारा सम्पत्ति सिध्याएको बताए । साथै छोरा छोरीले पढ्न लेख्न पनि पाएका छैनन् साथै पेट भर खानसमेत पाएका छैनन् । उनको मुद्दामा वरिष्ठ अधिवक्ता शम्भु थापाले निशुल्क रुपमा बहस गर्ने बताएका छन् । यसै विषयमा अनसनरत अधिकारीसँग डायरी एक्सप्रेस साप्ताहिकका कार्यकारी सम्पादक नारायण प्रसाद शर्माले माइतीघर मण्डलामै गरेको विशेष कुराकानीः
० तपाईको नाम के हो ?
मेरो नाम अम्बिका प्रसाद अधिकारी हो ।
० तपाई किन आमरण अनसन बस्नुभएको हो ?
विश्वभरिका न्यायपीडित जनताले न्याय पाउन् । यो देशमा पनि कानूनी क्षेत्रको सुधार होस् । न्यायमा सुधार नहुँदा लाखौं जनताले दुःख पाइरहेका छन् । कैयौंलाई झुठा मुद्दामा फसाइएको छ । जनतालाई यस किसिमका झुठा मुद्दाहरु नलागून । साचो मुद्दाका फिरादीहरुले न्याय पाउन् । सत्य नडगोस असत्य नटिकोस् । किङ मार्टिन लुथरले भन्नुभएको थियो ‘Justice delayed is justice denied’ Dr. William F. Glade, विश्व सिनेटको अध्यक्षता गरेर म आमरण अनसनमा होमिएको छु । विश्वभरमा न्याय माग्दा माग्दै कसैले मर्नुनपरोस् । यो देशमा बिगत देखि नै यो अवस्था छ । यो कानून क्षेत्रमा सुधार गर्न नितान्त आवश्यक छ । यो पीडा मलाई पनि परेर यो कानून क्षेत्र यत्तिसम्म सुधार गर्नुपर्ने रहेछ भन्ने ज्ञान भयो ।
मेरा पिता छविरमण अधिकारीका चार श्रीमतीबाट जन्मेका पाँच दाजुभाइ मध्येका भरतपुर तर्फका मिना अधिकारीले ४३ धुर घडेरी र दिनेश प्रसाद अधिकारीले क्यौरेनीतर्फको ४० कट्ठा जग्गा एक्लैले जालसाँजी गरेर खाएको हुँदा यसको विरुद्ध अदालतमा ६ वर्षसम्म मैले न्याय पाइन । चितवन जिल्लाबाट हराईदिए । त्यसपछि तत्कालिन पुनरावेदन अदालत हेटौडा इजलासबाट मानिसहरुले ब्यङ्ग गरेर भन्ने गरेका छन् ।
० नेपाल बार एशोसियसनले न्यायिक शुद्धीकरणका लागि हरिकृष्ण कार्कीको प्रतिवेदन लागू गर्न आन्दोलन गरिरहेको छ । प्रतिवेदनमा बिचौलियाको विकृति र विसंगति अन्त गर्न विकल्पहरु पनि छन् । यसबारेमा तपाईको के राय छ ?
सकरात्मक छ । त्यसको म स्वागत गर्दछु र यो मौखिक रुपमा नभई यथार्थता ने हुनुपर्दछ । यसरी आउने आवजहरु केहि समय पछि सेलाउने गर्दछन् । जसरी यहाँ न्याय क्षेत्रमा ग्रहण लागेको छ, त्यसै गरी यी आवाजमा ग्रहण लाग्ने हो कि ? यथार्थतामा पुगेर वास्ताविकतालाई धरातलमा टेकेदेखि यो देश विश्वमा उदारहणीय बन्ने थियो । मलाई चाहिँ विश्वास छैन । तथापि यो प्रतिवेदन लागू होस् भन्ने कामना गर्दछु ।
० तपाईको यो आमरण अनसनको विषयमा बुझ्न मानव अधिकारवादीहरु कोहि आउनुभएको छैन ?
पहिलो दिनमा राष्ट्रिय मानवअधिकार आयोगबाट एक जना उपसचिव आउनुभएको थियो । उहाँका साथमा अर्का एक जना पनि आउनुभएको थियो । त्यसै गरी प्रा.डा. गोविन्द केसी पनि आउनुभएको थियो । ‘उहाँले यहाँ न्याय छ तर, बिक्रीमा छ भन्नुभयो’ । मलाई पनि ठीक लाग्यो भन्नुभयो । म न्याय खोज्दै मुद्दा लड्दा बालबच्चाको कानको मुद्रा देखि श्रीमतीको मंगलशुत्रसमेत बेचेर घरबारसमेत सिध्याएर सबै सम्पत्ति सिद्धिएर डेरामा बसेको छु । मेरा बालबच्चाहरु अघाउन्जेल खाना पनि खाएका छैनन् । साथै पढ्न पनि पाएका छैनन् । त्यसैले यो आमरणमा होमिन बाद्य भएको हुँ । म बाचे भने बालबच्चाका निमित्त र मरे भने विश्वकै कानूनका निमित्त मर्ने छु भनेर यो आन्दोलनमा होमिएको हुँ । तपाईको मिडियामार्फत न्यायप्रेमी जनता, समाजसेवी, बुद्धिजिबी, वकिल, पत्रकार र राष्ट्रका जिम्मेवार नागरिक जसले राष्ट्रलाई विचलन हुनबाट जोगाउँछन्, उनीहरुको आँखामा जाओस् । मैले तपाईको मिडियामार्फत सुनाउन चाहन्छु । यहि सन्देश तपाईको मिडियामार्फत दिन चाहन्छु । यो काम गर्ने तपाईहरुको पनि धर्म र उद्दार हुनेछ । यहाँ एक जना व्यक्ति उभिएको भएपनि करोडौं मानिसहरुको समस्या लिएर उभिएको छ भन्ने कुरा तपाईहरुको मिडियाले बुझोस् । यो राष्ट्र र शासकहरुले बुभून । जो शासकहरु यो कानमा तेल हालेर बसेका छन् । जत्ति नै ठूलो दंगाभएपनि समस्या उत्पन्न भएपनि उनीहरुले सुनेका छैनन् । कानखोलिने गरी तपाईको मिडियाबाट आवाज घन्कियोस् । पट्टि लगाइएका आँखाहरु खुल्नेगरी दृश्यमा देखाइदिइओस् । यहि नै मेरो चाहना छ । यहि नै मेरो करुणा छ । मेरो न्यायको गुहार पनि छ ।