October 3, 2023

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

नेपाली कांग्रेसका १४ औ महाधिवेशनमा कुन नेताले के भने ?

1 min read


यहि सरकार रहिरहेमा स्थानीय र राष्ट्रिय सरकार कांग्रेसको हुनेछ


शेर बहादुर देउवा, प्रधानमन्त्री

जुन दिन हाम्रो सरकार बन्यो त्यस अगाडि जुन डर र त्रास थियो । म प्रधानमन्त्री भएका भोलिपल्ट नै सबै जनाले मुक्ति पाएको अनूभूति भएको थियो । ओलीको शासनबाट सबैले मुक्ति पाए । त्यो अवस्था थियो । हामीले अहिले पाएको मुक्तिलाई बचाउने हो कि होइन ? त्यसका लागि महाधिवेशनले तय गर्नेछ । यो महाधिवेशनले डर त्रासबाट मुक्त समाज बनाउन र तानाशाही सरकार नआओस् भन्नका लागि तपाईहरुले नै निर्णय गर्नुपर्नेछ ।
देशभरबाट महाधिवेशनमा आउनुभएका प्रतिनिधिहरु कोहि सहमति वा निर्वाचनको प्रतिस्पर्धाबाट जसरी आए पनि आपसमा मनोमालिन्यबाट मुक्त हुनुपर्ने अवस्था छ । यसरी आगामी स्थानीय तहको निर्वाचन र राष्ट्रिय निर्वाचनमा कुनै समस्या नआओस् भनेर अघि बढाउनुपर्दछ । यहि सरकार रहिरहेमा स्थानीय सरकार कांग्रेसको हुनेछ । त्यसका लागि एक पटक मलाई जिताई दिनुहोस् । डर र त्रासबाट मुक्त समाज ल्याएर छाडिन्छ । नेपाली कांग्रेसको सरकार बनाउँछु । त्यसका लागि तपाईहरुले साथ दिनुहोस् ।


सरकारबाट हट्नुपर्छ कि भन्ने विषयमा कतिपयलाई चिन्ता होला


केपी शर्मा ओली, अध्यक्ष, नेकपा एमाले तथा पूर्व प्रधानमन्त्री

नेपाली कांग्रेस पुरानो परिवर्तनको इतिहास बोकेको पार्टी हो । नेपालको राजनीतिक र सामाजिक परिवर्तनमा गौरवपूर्ण इतिहास बोकेको पार्टी हो । नेपाली कांग्रेसले आफ्नो गौरवपूर्ण इतिहास सम्झेर आगामी दिनमा पनि अघि बढ्नेछ ।
मैले कसैको कुरामा वाद प्रतिवाद गर्न जरुरी छैन । किनकी म केबल शुभकामना दिन मात्रै आएको हुँ । मेरो राजनीतिक विचारका लागि आफ्नै मञ्चमा राख्न पाउँछु किनकी मञ्चको कुनैं कमि छैन । हामीले अहिलेसम्म महत्वपूर्ण उपलब्धी हासिल गरिसकेका छौं । हामी जहाँ थियौं त्यहि नै छौं भन्ने कुरा साँचो होइन । राणाकालमा नेपाल राजनीतिक अन्धकारमा थियो । राजनीतिक दलहरुले राणाशासनको अन्त गर्ने देखि संघीय गणतान्त्रिक व्यवस्था ल्याउनेसम्मका नागरिक स्वाभिमान कायम गर्ने सम्मका महत्वपूर्ण अभिभारा पुरा गरेका छन् । खास गरी नेपाली कांग्रेस र नेकपा एमाले जस्ता पार्टीहरुको आन्दोलनका क्रममा महत्वपूर्ण इतिहास रहँदै आएको छ । देशको राजनीति, अर्थतन्त्र, संस्कृति र सामाजिक विकासलाई सम्बद्र्धन गर्ने र अघि बढाउने बाटोमा लैजाने अभिभारा यिनै पार्टीको काँधमा छ । यस प्रकारका काममा नेपाली कांग्रेसको साथमा नेकपा एमाले पनि अघि बढ्दै आएको छ । राष्ट्रियता, लोकतन्त्र, विकास, सुशासन, स्थिरता र स्थायित्व, सामाजिक न्याय र समानताको प्रश्नहरुमा सहकार्य गर्न नेकपा एमाले तयार छ भन्ने कुरामा विश्वास दिलाउँछु ।
आज पनि नेपालका नागरिकहरुले नागरिक स्वाभिमान बिर्सेका छन् । जन्मसिद्ध जेष्ठताको सिद्धान्त बिर्सिएकोमा अचम्म लाग्दछ । जन्मसिद्ध सिद्धान्तको आधारमा शासक भएर जन्मिन्छ भनेर संयुक्त राष्ट्रसंघको मान्यता भन्दा बिपरितका सिद्धान्त, नागरिक स्वाभिमानको बिपरित सिद्धान्लाई अघि बढाउन खोजिन्छ । हरेक नेताहरु ‘चोर’ हुन्छन् । भन्ने भरखरै अध्यक्षमा छानिएका बाच्छो जस्तै अलिक बढि कुदेको जस्तो छ । दायाँ बायाँको राप र तापले अलिक समयमा ठीक ठाउँमा आउँला । राजनीति आ–आफ्ना स्वार्थमा रोटी सेकाउने र साना दलहरुसंगै जानुपर्दछ भन्दा भन्दै नेपाली कांग्रेसले भाउ दिएन भने के होला ? संगै जाने सरकारमा मात्रै हो कि देश बनाउन पनि हो ? देश बनाउने कार्यमा त नेपाली कांग्रेसको साथमा नेकपा एमाले पनि सँगै छ । हामी प्रतिपक्षमा छौं । हामी पनि संसदकै अंग होइनौं ? त्यसकारण पनि सरकारबाट हट्नुपर्छ कि भन्ने विषयमा कतिपयलाई चिन्ता होला । नेकपा एमाले एक्लै हिड्ने रहर पनि गर्दैन । नेपाली कांग्रेस सबैलाई साथमा लिएर चलोस् मेरो कुनै आपत्ति छैन । शेर बहादुरजी नेपाली कांग्रेस मात्रै होइन सरकारको नेता हुनुहोस् । अर्थपूर्ण ढंगले महाधिवेशन सफल पार्नुहुनेछ ।


सत्तामा पुगेपछि नेताहरु प्रतिवद्धताबाट बिचलित भएर जनताले सोचे
स्तो काम किन गर्दैनन् ?


पुष्पकमल दाहाल प्रचण्ड


भारतीय जनता पार्टीका नेता तथा पूर्वमन्त्रीले मञ्चमा आश्चर्य व्यक्त गर्नुभयो । उहाँले यत्ति धेरै पूर्वप्रधानमन्त्रीहरु एउटै मञ्चमा कहिल्यै पनि देखेको थिइन भन्नुभयो । उहाँ गइसक्नुभएको छ । मैले उहाँलाई अर्को पनि आश्चर्य सुनाउन चाहन्थे । हामी एक अर्कालाई बनाएका प्रधानमन्त्री हौं भनेर । अनौठो संस्कृति नेपालमा देखिएको छ । विचार र राजनीतिमा बेला बेलामा निकै चर्को बहस भए पनि कुनै बेला एक आपसमा हातेमालो गरेर पछि परेका पनि छैनौं ।
विचार प्रस्तुत गर्ने क्रममा एक जना वक्ताले गाउँघरमा नेताहरु आउँदा चोर आए भन्छन् भन्नुभएको छ । यो साँचो हो त ? गलत हो । जत्ति बेला लोकतन्त्र र शान्तिका लागि संघर्ष गरेका दल र नेताहरुको बदनाम गरिन्छ । त्यो समयमा तानाशाही जन्माउने षडयन्त्र हुन्छ भन्ने बुझ्न जरुरी हुन्छ ।
हामी सधै सतर्क हुन जरुरी छ । हामी समावेसी लोकतन्त्र, संघीय गणतान्त्रिक लोकतन्त्रको प्रक्रियामा छौं । यसको साइनो शान्ति प्रक्रियामा छ । मैले तपाईहरुको यो ऐतिहासिक महाधिवेशनमा दिवंगत गिरिजा प्रसाद कोइरालालाई सम्झन चाहन्छु । सात राजनीतिक दलको तर्फबाट गिरिजा प्रसाद कोइराला र नेकपा माओवादीको तर्फबाट मैले शान्ति सम्झौतामा हस्ताक्षर गरिसकेपछि लोकतान्त्रिक प्रक्रियाले गति लिएको हो । गिरिजा प्रसाद कोइरालाको निधन हुँदा नेपाली कांग्रेसका हजारौं कार्यकर्ताहरुले ‘गिरिजाको सपना शान्ति र संविधान’ भनेर नारा लगाएको स्मरण गर्न चाहन्छु । अहिले शान्ति प्रक्रिया र लोकतान्त्रिक प्रक्रियालाई पूर्णतामा लैजाने अवस्थामा छौं । त्यसका लागि लोकतान्त्रिक गन्तब्यबाट बिचलित हुनुहुँदैन भन्ने विषयमा नेपाली कांग्रेसका महाधिवेशनमा राजनीतिक एजेण्डा, मिसन, संविधान र विकासमा राष्ट्रियताको रक्षाका लागि दायाँ बायाँ हुने छैन भन्ने विश्वास व्यक्त गर्न चाहन्छु । हामीले निरंकुशता र तानाशाहीका विरुद्धको लडाईमा प्रतिक्रियावादी र प्रतिगमनकारीहरुको विरुद्धमा एकता प्रदर्शन गर्दै आएका थियौं । यसरी २०३६ सालको आन्दोलन, २०४६ सालको जनआन्दोलन (जसले पञ्चायती तानाशाहीको अन्त गरेको थियो), वा २०६२÷०६३ सालको शान्ति प्रक्रिया हुँदै १२ बुँदे समझदारी र १९ दिने संयुक्त जनआन्दोलनमा हामीले एकताको प्रदर्शन गरेका छौं । नेपाली जनताले यी आन्दोलनमा बिरताको प्रदर्शन गर्दै आएका छन् ।
हामी सबैले रोज्नुपर्ने गम्भिर विषय के हो भने हामी एकल सत्तामा जाँदा होस वा संयुक्त रुपमा सत्तामा जाँदा जनताका अगाडि जे प्रतिबद्धता गरेका हुन्छौं । त्यसलाई पुरा गरेका छैनौं । हामी सबैले आत्म समिक्षा गर्नुपर्ने विषय छ । हामी एकल वा संयुक्त सरकारमा जाँदा धर्ति नै छाडेको जस्तो अनूभूति गरेका छौं । जनताका अगाडि गरेका प्रतिवद्धताहरु निर्वाचनका बेलामा गरेका प्रतिवद्धताहरुबाट बिचलित भएका उदाहरणहरु हामी कहाँ छन् । २०६२÷०६३ पछिका सरकार हुन् वा अन्य सरकारमा हामीले तितो अनुभव भोगेका छौं । सत्तामा पुगेपछि राजनीतिक दलका नेतृत्व पंक्तिहरु किन आफ्नो प्रतिवद्धताबाट बिचलित भएर जनताले सोचे जस्तो काम गर्दैनन् ? किन सुशासन दिन सकिदैन ? किन भ्रष्टाचार रोक्ने काम गर्न सकिदैन । आन्दोलनका क्रममा त्याग तपस्या र बलिदान गर्न सक्ने पार्टीहरु किन सत्ता लिप्साको विकृति र विसंगतिको शिकार हुन्छन् ? हामी सबैले खोजी गर्नुपर्ने विषय छ । २००७ साल देखि हामीले खोजी गर्नुपर्ने र सैद्धान्तिक रुपले निरुपण गर्नुपर्ने, राजनीतिक रुपले संश्लेषण गनुपर्ने कुरामा सबैले मन्थन गर्नुपर्ने जरुरी छ ।
२०६२/०६३ सालको जनआन्दोलन पछि गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुँदा ठूलो पार्टी भएर सत्तामा पुगेपछि कतै कतै अहंकारको दम्भ आउने र जनतासँगको सम्बन्ध कमजोर हुँदै जाने अनुभव मैलै गरेको छु ।
अहिले बिभिन्न पार्टीहरुको महाधिवेशन चलेका छन् । यसमा राजनीतिक रुपमा असहज परिस्थिति आउने पो हो कि ? हजारौं शहीदहरुले बलिदान गरेर प्राप्त गरेको लोकतान्त्रिक गणतन्त्र माथि नै आँच आउने हो कि भन्ने प्रश्नहरु खडा भएका छन् । समावेसी लोकतन्त्र र गणतन्त्र माथि नै आँच आउने हो कि ? भन्ने प्रश्नहरु खडा भएका छन् । गतसाल देखि नै हामीले संकेतहरु देखेका छौं । अहिले पनि त्यस प्रकारका बादलहरु मडाडिरहेका छन् । जो लोकतन्त्र, गणतन्त्र र शान्तिका निमित्त लडेका शेर बहादुर देउवाको इतिहास सम्झन्छु । नेपालमा शान्ति पहिलो चिठी लेखेर वार्ताको निमित्त पहिलो अपील गर्नुभएको थियो । यसरी हामीले दुनियाँलाई नै देखाउने गरी शान्ति सम्झौंतामा हस्ताक्षर गरेका थियौं । हामीले शान्ति प्रक्रियामा निकै जटिल र चुनौतिपूर्ण विषयहरु समापन गर्न सफल भयौं । यद्यपी केहि विषयहरु अझै बाँकी नै छन् ।
नेपाली काग्रेससँग माओवादी पार्टी र अध्यक्ष प्रचण्डसँग एक खालको विशिष्ट सम्बन्ध रहेको छ । हामी शान्ति सम्झौताको सन्दर्भमा मात्रै होइन, परिवर्तनलाई संस्थागत गर्न र देशलाई अग्रगति दिनका लागि पनि हाम्रो बीचमा बलियो एकता हुन जरुरी छ । कहिलेकाँही मैले सुन्ने गरेको छु । कहिलेकाँही केहि पार्टीका साथीहरु एक्लै हिड्न खोज्नुहुन्छ । एक्लै हिड्ने अहंकार कसैले पनि नगरौं । हामी मिलेर नै हिड्ने हो । हामीले एक अर्कामा प्रतिस्पर्धा गरेपनि त्यहिभित्र प्रतिस्पर्धा खोजिरहन्छौं । हामीले अहिले प्राप्त गरेको सफलता गठबन्धनबाट प्राप्त गरेको हो । यसैले जसले एक्लै हिड्ने अहंकार गर्छ त्यसको ओरालो सुरु भयो भन्ने कुरा नेपालको इतिहासले देखाएको छ । त्यसैले यो महाधिवेशनमार्फत सिंगो राष्ट्रलाई एकतावद्ध गर्ने र राष्ट्रिय लोकतान्त्रिक दलहरुबीचमा समझदारी कायम गर्न, देशलाई सुशासन र नयाँ युगतर्फ लैजान शान्ति सम्झौताको हस्ताक्षरकर्ता पार्टीको नाताले पनि उचित नीति निर्धारण गर्नेछ भन्ने कामना गर्दछु ।


आजनि कालो बादल मडारिन खोजिरहेको छ ।


माधव कुमार नेपाल, अध्यक्ष, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)


मैले सम्झिरहेको छु आज भन्दा १६ वर्ष पहिले नेपाली कांग्रेसको राष्ट्रिय महाधिवेशनमा भाग लिने मौका पाएको थिएँ । त्यस बेलाको एजेण्डा नै राजतन्त्र कि गणतन्त्र भन्ने थियो । जुन एजेण्डामा हामीले छलफल गरेका थियौं । यसरी नेपाली कांग्रेसका दुई वटै महाधिवेशनमा म सहभागी भएको थिए । गिरिजा बाबु र शेर बहादुरजीका दुईवटा अलग पार्टीहरु बनेका थिए । नेपालका सबै दलहरुमा नेपालको लोकतन्त्रका रक्षा कसरी गर्ने ? त्यसका लागि गणतन्त्र बाहेकको कुनै उपया छैन भन्ने नै थियो । नेपालको राजनीतिक इतिहासमा आज पनि कालो बादल मडारिन खोजिरहेको छ । त्यसैकारण सावधान हुन आग्रह गर्दछु । प्रतिगमनको शीर उठाउने फेरी पनि दुःसाहस नहोस् । किनकी अहिले समय निकै अघि बढिरहेको छ । पछाडि फर्कन सक्तैन । त्यस प्रकारको दुःसाहस कसैले नगरुन् । नेपाली जनताहरु फेरी पनि ज्वालामूखी जस्तै गरी मेची देखि महाकालीसम्म बिस्फोटका रुपमा अघि बढ्नेछन् ।
अब राजा ल्याउनुपर्छ भन्ने हो भने राजाले पनि एउटा पार्टी खोले हुन्छ । होइन भने एउटा काम गरेर बसे हुन्छ । किनकी हामीलाई अहिले एउटा वंशको शासन स्वीकार्य छैन । नेपाल र नेपाली राष्ट्रियताको रक्षा हामी नेपाली जनताले नै गर्न सक्तछौं । समाजवादको यात्रामा सामाजिक न्याय, सामजिक समानता, विकास र समृद्धिको यात्रा अघि बढाउनुपर्दछ । पार्टी भित्र र राज्य सत्तामा रहेका विकृतिहरुलाई हामीले पन्छाउनुपर्दछ । विकृतिका बहाकहरुले विकृति मच्चाउँदा हामीहरु टुलुटुलु हेरेर बस्नु हुँदैन । त्यसो हुनाले भ्रष्टाचार र सत्ताको दुरुपयोग गर्ने प्रवृतिबाट मूल्य र मान्यतालाई कुल्चिएको छ । अरुको सम्मान र मर्यादालाई अवमूल्यन गर्ने प्रवृतिबाट लोकतन्त्र चाहनेहरु अघि बढ्न सक्तैनन् । हामीले सधै लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात गर्नुपर्दछ । गिरिजा प्रसाद कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेललगायतका नेताहरु मिलेर हामीले नेपालको राजनीतिक परिवर्तन गरेका थियौं । अब हाम्रो सामाजिक र आर्थिक रुपान्तरणको महत्वपूर्ण काम बाँकी नै छ । साथै सुशासनको प्रत्याभूति दिनुपर्ने काम पनि बाँकी नै छ । अहिले युवाहरुले रोजगारी पाएका छैनन् । साथै शोषण, दमन र विभेदको अन्त्य हुन सकिरहेको छैन । किसानले जुन कृषि पेसामा आफुलाई समर्पित गरेका छन् , उनीहरुको हितको रक्षा गर्नुपर्दछ । राज्यले महत्व दिनुपर्दछ । हाम्रो स्वाभिमान र संस्कृतिलाई रक्षा गर्नुपर्दछ । असल संस्कार सिक्नुपर्दछ । देशमा भएका साधन र स्रोतहरुको अधिकतम उपयोग गर्नुपर्दछ । त्यसका लागी सीप विकास र रोजगारीका बिभिन्न विकल्पमा जानुपर्दछ । विद्युत, पर्यटन जस्ता क्षेत्रमा काम गरेर जनताको विश्वास जित्नुपर्दछ । हामीले कुरा बढि गरेका छौं तर, काम भने कम गरेका छौं । त्यसैले हामीले जनताका गुनासालाई काम नै गरेर देखाएको खण्डमा मात्रै विश्वास हुन सक्तछ ।



नेतृत्व चयन गर्ने विषयमा मात्रै सिमित नरहेर राजनीतिको छवि सुधार्ने थलोको रुपमा प्रयोग गर्न सकौं


राजेन्द्र लिङ्देन, नवनिर्वाचित अध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टी


नेपालको जेठो राजनीतिक दलको १४औं महाधिवेशनको पूर्ण सफलताको कामना गर्दछु । नेपालका सबै राजनीतिक दलहरुको महाधिवेशनको प्रक्रिया अघि बढिरहेको छ । हामीले पनि भरखरै महाधिवेशन सम्पन्न गरेका छौं ।
मैले सबै राजनीतिक दलहरुलाई आग्रह गर्न चाहन्छु कि देशको राजनीति आम जनताको दृष्टिकोणमा ‘लिक’बाट बाहिरिएको जस्तो देखिन्छ । अहिले सरकार सरकार जस्तो छैन । संसद संसद जस्तो छैन । त्यसै गरी अदालत पनि अदालत जस्तो छैन । यो सबै ठीक पार्ने राजनीतिले हो । तर, त्यो राजनीति पनि ठीक छैन । राजनीतिलाई ठीक पार्ने नेताले नै हो । तर, आज नेताहरुले पूर्ण रुपले जनताको विश्वास गुमाएको अवस्था छ । पार्टीका कार्यकर्ताहरुले कुनै एक सामुदायिक भवनमा नेताहरुलाई बोलाएर कार्यक्रम गरी नेता आउँदै हुनुहुन्छ भनेर जनतालाई बोलाउँदा कुन नेता आएछ भनेर सम्झदैनन् । ‘कुन चोर आएछ’ ? भनेर भन्ने गरिन्छ । अहिले हाम्रो अवस्था यो बनेको छ । त्यसैकारण महाधिवेशन एउटा औपचारिकता र वैधानिकता पुरा गर्नुका साथै नेतृत्व चयन गर्ने विषयमा मात्रै सिमित नरहेर राजनीतिको छवि सुधार्ने थलोको रुपमा हामीले प्रयोग गर्न सकौं । मैले यहि शुभकामना दिन चाहन्छु ।
२०४७ सालपछि बनेका कुनैपनि सरकारले कार्यकाल पुरा गर्न सकेनन् । २०४७ सालपछि नफुटेको कुनैपनि पार्टी नै भएन । सबैभन्दा कान्छो विवेकशील साझा पार्टीसमेत फुट्यो । कहाँनेर हामी चुक्यौं र त्रुटि हुन पुग्यो ? यसतर्फ सबैजनाको ध्यान जान जरुरी छ । यत्ति पार्टीहरु मात्रै ठीक ठाउँमा बस्यौं भने, सबै क्षेत्रमा सुधार गर्न सकिन्छ । बिगतका हाम्रा कमि कमजोरीहरु सुधार गरी अघि बढौं । देशमा राजसंस्था र सोझै निर्वाचित प्रधानमन्त्री, समानुपातिक सांसद र निर्वाचित सांसद मन्त्री हुन नपाउने व्यवस्था कार्यन्वन गरी अघि बढौं ।


न्यायपालिकाले कार्यपालिकासँग भागवण्डा खोजेपछि कस्तो न्याय गर्ला
?


सीपी मैनाली, महासचिव नेकपा माले


जनता र लोकतन्त्र प्रतिको जिम्मेदारीलाई अन्तहृदयमा राखेर एकताको महाधिवेशनको रुपमा रहोस भन्ने कामना गर्दछु । यो महाधिवेशनले २००७ साल देखि नेपाली कांग्रेसका नेता बिपी कोइरालाको अगुवाईमा हामीले प्रजातान्त्रिक आन्दोलनको सुरुवात ग¥यौं । तर, हामीले के पनि भुल्यौं भने प्रजातन्त्रसँगै बाहिरी हस्तक्षेपहरु पनि आए । हामीले अहिले पनि बाहिरी हस्तक्षेपलाई नियन्त्रण गर्ने कार्यमा महत्व दिएका छैनौं ।
२००७ सालको बाहिरी अवान्छित हस्तक्षेप पश्चात हामीले २०४६ सालमा अर्को बाहिरी हस्तक्षेप भयो । हाम्रो ध्यान यो तर्फ किन जाँदैन ? कांग्रेसको घोषणा पत्रमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद भन्ने गरिन्छ । तर, राष्ट्रियता प्रति हाम्रो ध्यान किन जान सकेन ? त्यसकारण हामी अहिले अत्यन्तै अप्ठ्यारो अवस्थामा छौं । अहिले देखिएका राजनीतिक ध्रुवहरुबीच भएका द्वन्दको हामी कहाँ प्रत्यक्ष प्रभाव परेको छ । हामीले अहिले सार्वभौमसत्तालाई जोगाउने प्रयत्नमा लाग्नुपर्नेछ । सन् १९४७ देखि नै कुटनीतिक सम्बन्ध कायम गरेका देशहरुमा पञ्चशीलको सिद्धान्तका आधारमा सम्बन्ध बिस्तार गर्न सकेका छैनौं । हामीले हाम्रो असंलग्न नीतिलाई कायमै राख्न सकेनौं भने ठूलो नोक्सानी भोग्नुपर्नेछ । नेपाली कांग्रेसका मूलमन्त्र नै राष्ट्रियता, प्रजातन्त्र र समाजवाद लेखिएको छ । त्यसैले राष्ट्रियता र असंलग्नता प्रति ध्यान जाओस् भन्न चाहन्छु ।
हामीले पटक पटक प्रजातन्त्र ल्यायौं तर, दूर्घट्ना हुन पुग्यो । २००७ साल, २०४६ सालमा ल्याएको प्रजातन्त्र पनि बाह्य चासोका कारण गुम्न पुग्यो । अहिले हामीले पुनः सुधारेर ल्यायौ । अहिले पनि संसदमा सयौं विधेयकहरु थाती रहेका छन् । तर, सरकारले सांसद अधिवेशन बन्द गरेर अध्यादेश ल्याएर शासन गर्छ । हाम्रा सभामुख संयोगबस एउटा जघन्य अपराधको मुद्दा खेपिरहँनुभएको छ । प्रमुख प्रतिपक्ष सभामुखले न्याय दिएनन् भन्दै संसद अवरुद्ध गरिरहेको छ । यहि २८ गते देखि सांसदको बैठक आव्हान गरिएको छ । तर, चल्ने नचल्ने निश्चित छैन । जानी जानीकनै देशको कार्यकारी प्रमुखहरु देशको हितमा सार्वभौमसत्ता, शान्तिको पक्षमा लाग्दैनन् भने कालान्तरमा त्यो भन्दा नराम्रो केहि हुँदैन । सत्तापक्ष र प्रतिपक्ष भागवण्डा गरेर शासन चलाउँछन् भने त्यो भन्दा बिडम्बना के हुन सक्छ ? अहिले न्यायपालिकामा भागवण्डा गरेर शासन चलिरहेको छ । न्यायपालिकाले कार्यपालिकासँग भागवण्डा खोजेपछि कस्तो न्याय गर्ला ? न्यायपालिकाले गर्ने न्याय निश्पक्ष होला ? त्यसैले अहिले व्यवस्था नै अप्ठ्यारोमा परेको छ ।


राष्ट्रियताका मुद्दा, जनताका इच्छा र आकांक्षाहरुलाई मध्येनजर गर्दै सहि सम्बाद र बहसबाट यो महाधिवेशनले मार्ग प्रशस्त गर्नेछ भन्ने आशा छ ।


दुर्गा पौडेल, उपाध्यक्ष, राष्ट्रिय जनमोर्चा नेपाल


महत्वपूर्ण समयमा नेपाली कांग्रेस पार्टीको महाधिवेशन हुन लागिरहेको छ । यसैसँग गम्भीर प्रकारका राष्ट्रियताका सवालहरु पनि उठेका छन् । तीसँगै नेपाली कांग्रेस ऐतिहासिक कालका प्रजातान्त्रिक आन्दोलनमा पनि भूमिका खेल्दै आएको छ । यसैकारण २०४६ र २०६२÷०६३ को जनआन्दोलनमा हामीहरु सहकार्य गर्दै आएका हौं । यसरी लोकतन्त्र, धमनिरपेक्षता, समावेसिता, समानुपातिक, लैंगिक अधिकार जस्ता जनताका अधिकारलाई सुनिश्चित गर्ने कार्यमा मिलेर अघि बढेका छौं ।
पछिल्लो प्रतिगमन विरुद्धको आन्दोलनमा पनि राष्ट्रिय जनमोर्चाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । अहिलेपनि बिभिन्न कोणबाट प्रतिगमनका अवशेषहरु चल्बलाईरहेका छन् । राष्ट्रियताका मुद्दा, जनताका इच्छा र आकांक्षाहरुलाई मध्येनजर गर्दै सहि सम्बाद र बहसबाट यो महाधिवेशनले मार्ग प्रशस्त गर्नेछ भन्ने आशा छ । निर्वाचित केन्द्रीय समितिले जोस र होससँगै महत्वपूर्ण निर्णय लिनका निमित्त भूमिका खेल्ने नै छ भन्ने पूर्ण आशाका साथ नेपाली कांग्रेसको १४औं महाधिवेशन सफल रहोस् भन्ने चाहन्छु ।



सबै समुदायहरुको वास्तविक पहिचानलाई सुरक्षित बनाएर मात्रै नेपालको विशिष्ट पहिचान सुरक्षित हुनेछ ।


उपेन्द्र यादव अध्यक्ष, जनता समाजवादी पार्टी

नपाली कांग्रेसको १४ औ महाधिवेशन सफल र सार्थक होस् । संघीय लोकतान्त्रिक व्यवस्थालाई संस्थागत रुपमा सदृढ तुल्याउन र उर्जा दिन समर्थ रहोस् । शासकीय पद्धतिलाई व्यवहारमा समाविष्ट गराउन लोकतान्त्रिक गणतान्त्रिक राज्यमा सबै निकायहरुमा जनताको सेवामा समर्पित हुने संस्कृति हुर्काउन सक्षम होस् । नेपाली जनतामा रहेको असमानता, गरिबी र बेरोजगारीको अन्त्य गर्दै मधेसी, आदीबासी जनजाती, दलित, थारु, अल्पसंख्यक जनसमुदायलाई समानता, स्वतन्त्रता, आर्थिक तथा सामाजिक न्यायको निमित्त शान्ति र सबै खाले शोषण उत्पीडन, विभेद र असमानतालाई अन्त्य गर्दै सबै अंगहरुमा समुदाय र जनसंख्याको आधारमा समानुपातिक समानुपातिक प्रतिनिधित्वले नै लोकतन्त्रलाई बलियो र सार्थक तुल्याउँछ । यो विधिबाट मात्रै लोकतन्त्रलाई जीवन पद्धतिमा रुपान्तरण गर्न सकिन्छ । सुशासन र आर्थिक समृद्धिको मूलढोका कोर्न सकिन्छ । यसैका निमित्त नेपाली जनताले पुनः आन्दोलन गर्न नपर्ने अवस्था कायम हुन सक्छ । त्यसका लागि मधेश लगायत बिभिन्न समयमा भएका आन्दोलनलाई सम्बोधन गर्ने गरी संविधानलाई संशोधन एवं परिमार्जन गर्नुपर्दछ । शासकीय स्वरुप र नागरिकताको समस्या समाधान गर्नुपर्दछ । विगतका विभिन्न आन्दोलनहरुमा भएका सहमति र सम्झौताहरु कार्यन्वयन गर्नमा ढिलाई गर्नुहुँदैन । मधेसी र सबै समुदायको पहिचान समान रुपमा महत्व राख्नुपर्दछ । वास्तवमा सबै समुदायहरुको वास्तविक पहिचानलाई सुरक्षित बनाएर मात्रै नेपालको विशिष्ट पहिचान सुरक्षित हुनेछ । त्यसलाई व्यवहारमा लागू गर्ने दायित्व हामी सबै राजनैतिक कार्यकर्ताहरुको हो । विगतमा भए गरेका कमि कमजोरीहरु हटाएर राजनीतिक अस्थिरता, दिशाहिनताको अन्त्य गर्नुपर्दछ । संवैधानिक अंगहरुलाई निष्पक्ष, क्रियाशील बनाउनुपर्दछ । संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने कार्यमा पनि यो महाधिवेशन सार्थक सिद्ध होस् । देशको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसको संघर्षशील त्यागले यो महाधिवेशन सफल होस् ।



कार्यपालिका र व्यवस्थापिकाको विषयमा विवाद छिनोफानो गर्ने अदालत नै अहिले चरम विवादमा छ


महन्थ ठाकुर, अध्यक्ष, लोकतान्त्रिक समाजवादी पार्टी

नेपाली कांग्रेस नेपालमा प्रजातन्त्र स्थापनाका लागि संघर्षशील पार्टी हो । यो पार्टीमा बिपी कोइराला, सुवर्ण शम्शेर जबरा, गणेशमान सिंह, महेन्द्र नारायण निधी, राम नारायण मिश्र जस्ता नेताहरु हुनुुहुन्थ्यो । उहाँहरुले यो देशमा नेतृत्व दिनुभएका कारण हामीलाई पनि जनताका लागि केहि गर्ने प्रेरणा प्रदान गर्नुभयो ।
जसरी देवी देवताहरु समुन्द्र मन्थन गरेर योजनाहरु बनाउँछन् । त्यसै गरी तपाईहरु पनि यहाँ जनमन्थन गर्दै उर्जा प्राप्त गरी शक्तिशाली बनेर यहाँ आउनुभएको छ । तपाईहरुबाट हाम्रो ठूलो आशा छ । संसारमा कुनै पनि चिज स्थायी हुँदैन । पार्टीले सरकार बनाउँछ । तर, राजनीतिक पार्टीमा स्थिरता नभएको खण्डमा कहि पनि स्थिरता हुँदैन । संसारमा कुनै पनि चिज स्थायी हुँदैन । सबै चिज परिवर्तनशील छ । तर, सरकारमा स्थिरता नहुँदा सरकारका अंगहरु पनि प्रभावित भएका हुन्छन् । अहिले संसद राम्ररी चल्न सकेको छैन । संसदका बैठकहरु बसेका छैनन् । सर्वोच्च अदालत पनि यहि अवस्थामा छ । जनताले पाउनुपर्ने सेवाहरु अदालतबाट पाउन सकेका छैनन् । जनतालाई न्याय दिने अदालत आफ्नै कारण विवादमा फसेको छ । कार्यपालिका र व्यवस्थापिकाको विषयमा विवाद छिनोफानो गर्ने अदालत नै अहिले चरम विवादमा छ । न्यायपालिका स्वतन्त्र हुन्छ । अरुले हस्तक्षेप गर्न मिल्दैन ।
हाम्रो असन्तुष्टि हाम्रो संविधानसँग छ । संविधानमा थरुहट र मधेशमा गरी देखिएका असन्तुष्टिहरुका कारण अन्तमा आन्दोलनको रुप लिएको थियो । थरुहट आन्दोलनमा सरकारकातर्फबाट ज्यादती हुँदा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा समर्थनमा जुट्यौ । पुरै थरुहट मधेशमा हामीले शान्तिपूर्ण रुपमा आन्दोलन गरेका थियौं । तथापि हाम्रो आन्दोलनलाई गोली र लाठी बर्साएर दवाइयो । जसले ठूलो धनजनको नोक्सानी भएको छ । अहिलेसम्म पनि भारी मतले संघीय संसद सदस्यमा विजयी रेशम चौधरी पनि जेलमै छन् । यसरी टिकापुरको घट्ना सर्वोच्च अदालतमा चलिरहेको छ । महोत्तरीमा पनि त्यहि प्रकारको घट्ना दोहोरिएको छ । त्यहाँ पनि ९६ जना विरुद्ध मुद्दा चलेको थियो । तीन जना अहिले पनि जेलमै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.