सवै अंग र तहमा मुस्लिम महिलाको प्रतिनिधित्व हुनुपर्दछ
वीरगञ्जको एउटा सम्भ्रान्त परिवारमा जन्मिए पनि प्रतिनिधिसभा सदस्य शेख चान्द ताराको शैक्षिक संघर्ष आफैंमा एउटा अनुपम संघर्ष थियो । मुस्लिम समाजमा छोरीलाई घरबाट बाहिर निस्कने परिस्थिति नभएको बेला लुकीछिपी स्कुल र कलेज जानुहुन्थ्यो उहाँ । समाजमा नानाथरिका कुरा काट्दा पनि उच्च शिक्षा हासिल गर्ने उहाँको अठोटले गर्दा उहाँले ठाकुरराम बहुमुखी क्याम्पसबाट स्नातक उत्तीर्ण गरी छाड्नुभयो । उहाँका पिता शेख आरिफ एक राजनीतिक व्यक्तित्व हुनुहुन्थ्यो । उहाँ राजपरिषद्को सदस्य हुनुहुन्थ्यो । यसले गर्दा उहाँको घरमा राजनीतिक माहौल थियो । तर, चान्द तारा राजा समर्थक बन्न सकिनन् । उनलाई राजतन्त्र कहिल्यै मन परेन । त्यो भएर मधेश केन्द्रित दलबाट राजनीतिक जीवनको प्रारम्भ गर्नुभयो । उहाँ राष्ट्रिय महिला आयोगको अध्यक्ष हुनुभयो । पछि उहाँ नेकपा माओवादी केन्द्रमा समाहित हुनुभयो । र, समानुपातिक प्रणालीअनुसार प्रतिनिधिसभा सदस्य हुनुभयो । प्रस्तुत छ निज शेख चान्द तारासँग वर्तमान राजनीतिक परिदृश्यको सन्दर्भमा भएको कुराकानीको सारसंक्षेप ।
कसरी आउनुभयो राजनीतिमा ?
– मेरो घरमा राजनीतिक माहौल थियो । बाबा राजपरिषद्सम्म भएको व्यक्ति । नेताह्रूको जमघट हुने थलो थियो मेरो घर । सानै देखि राजनीतिबारे सुनिरहन्थें । यसले राजनीतितिर आकर्षित हुँदै गएँ । अझ तराईमा मधेशी र मुस्लिम महिलाह्रूको पछौटेपन र उनीह्रूमाथि भइरहेको पितृसत्तात्मक शोषण, अत्याचार हेरिरहन सकिन मैले । महिला शोषणबिरुद्ध लड्न पनि सबभन्दा ठूलो प्लेटफर्म राजनीति नै हो भनेर मैले यस क्षेत्रलाई रोजें । महेन्द्र राय यादव नेतृत्वको पार्टीमा प्रवेश गरेर राजनीतिक जीवनको शुरुआत गरें ।
माओवादी केन्द्रलाई नै किन रोज्नुभयो ?
– मधेश केन्द्रित दलह्रू व्यवहारमा मुद्दा केन्द्रित हुन नसक्दा नै मैले जनताको विचार बोक्ने र मुलुकलाई सही निकास दिने राजनीतिक पार्टीको खोजी गरिरहेको थिएँ । पार्टीह्रूको दस्तावेज र व्यवहारह्रूको अध्ययन गर्दै जाँदा म माओवादी केन्द्रप्रति लामो समयदेखि आकर्षित भइरहेको थिएँ । माओवादी केन्द्रलाई नै जनताको वास्तविक पार्टीको रूपमा पाएको हुँदा यो पार्टीलाई नै रोजें । माओवादी केन्द्र सबै तहका नेपाली जनताको आवाज बोक्ने पार्टी हो । समाजवादी आन्दोलन हो माओवादी केन्द्र । अहिले जे परिवर्तनह्रू देखि रहनुभएको छ, ती सबै माओवादी पार्टीकै देन हुन् भन्ने कुरा हरेक जनताले बुझेका छन् । देशमा क्रान्ति यसले नै ल्याउने छ । सन्तुष्ट छु म यहाँ ।
माओवादी केन्द्र त निकै कमजोर भएको छ नि ?
– के भयो त ? बहुदलीय प्रणालीमा पार्टीह्ररू मोटाउनु र खुम्चनु सामान्य कुरा हो । नेपालमा पार्टीह्रू निकै बलियो भएको, फेरि कमजोर भएको र फेरि निकै मजबुत बनेको इतिहास पटक पटक दोहोरिएका छन् । कुनै बेला नेपाली काँग्रेस देशको पहिलो र निकै मजबुत पार्टी थियो । अहिले त्यसको आकार सानो देखिन्छ । कुनै बेला प्रथम पार्टी भएको एमाले कुनै बेला दोस्रो र तेस्रो पार्टी बन्न पुग्यो । माओवादी पनि २०६४ मा पहिलो पार्टी थियो संसदमा अहिले सापेक्षित रूप्मा कमजोर भएर तेस्रो पार्टीको रूप्मा देखिएको छ । माओवादी केन्द्र फेरि देशको पहिलो पार्टी बन्दैछ । ढुक्क हुनुस् ।
माओवादीहरू पनि जनताको मुद्दा छाडेर सत्ता लिप्सामा डुबेका छन् नि ?
– सत्तामा त पुग्नै पर्छ । परिवर्तन, सामाजको रूपन्तरण र सुशासनको लागि सत्तामा जानै पर्छ । सत्तामा जान खोज्नु वा जानुलाई नकारात्मक रूप्मा लिने सोचको विकास भइरहेको छ । यो राम्रो होइन । परिवर्तन भन्ने चिज नीति र कार्यक्रमबाट हुने हो । यो नीति तथा कार्यक्रम सत्ताले गर्ने चिज हो । संसदमा किन छौं हामी ? परिवर्तनकै लागि होइन र ? सत्तामा जानु भनेको जनताको मुद्दालाई कार्यान्वयनमा लैजानु नै हो ।
पार्टी सरकारमा छ । मन्त्रीमण्डल बिस्तार हुँदैछ । मन्त्री बन्ने दौडमा हुनुहोला नि ?
– मन्त्री बन्ने रहर कसलाई हुँदैन र ? स्वभाविक रूप्मा मलाई पनि छ । म त झन् त्यस सीमान्तकृत समुदायको प्रतिनिधित्व गर्दछु जसको मानवीय विकास सूचकांक नेपालमा सबभन्दा दयनीय छ । नेपालमा सबभन्दा बढी बहिष्करणमा पारिएको समुदाय मुस्लिम समुदाय नै हो । यो समुदायबाट राज्यको सवै तह र अंगमा प्रतिनिधित्व गराएर हामीलाई पनि नीति निर्माण गर्ने अवसर प्राप्त हुनुपर्छ । त्यो भएर मैले पनि पार्टी नेतृत्वबाट अपेक्षा गरेको छु । तर, त्यो सजिलो छैन । नेतृत्वमाथि ठूलो दबाब होलान् । पार्टी नेतृत्वले चाहेमा र अवसर प्राप्त भएमा सबल ढंगले काम गर्न सकिन्छ । मैले महिला आयोग चलाएर अनुभव बटुलेकी छु । नीति निर्माण र कार्यशैलीको अनुभव छ मलाई । मेरो चयनले जनतामा राम्रो सन्देश जानसक्छ । म महिला, मुस्लिम र मधेशलाई पनि प्रतिनिधित्व गर्दछु नि त । हो, इच्छा व्यक्त गरेकी छु नेतृत्वलाई । कुनै पनि कुरा अनुकुलतामा हुने हो । मरिहत्ति गर्ने कुरा हुँदैन ।
माओवादी अध्यक्ष प्रचण्डकै कारण नेकपा फुटेको भन्छन् नि ?
– नेकपा फुटाउने कुनै व्यक्ति होइन । यो एउटा प्रवृत्तिले फुटाएको हो । नेपाली राजनीतिक शास्त्रमा केपी प्रवृत्तिको आबिष्कार भयो । त्यो केपी प्रवृत्तिले नेपाली बाम आन्दोलनलाई नै धराशायी बनायो । यसले बाम एकताको आगामी रणनीतिलाई ऐतिहासिक रूप्मा गाँजेको छ । केपी प्रवृत्तिको नायक एमाले अध्यक्ष केपी शर्मा ओली हुन् । उहाँलाई इतिहासले माफ गर्ने छैन ।
तपाईंअरूलाई गाली गर्न मात्र सिपालु हो होइन त ?
– गाली हामीले गरेको होइन । जनतालाई गएर सोध्नुहोस् । नेपालमा अर्काे जंगबहादुर जन्मन खोज्दा हामीले रोकेका हौं । नेपालले तानाशाह थेग्न सक्दैन भनेका हौं । केपी तानाशाहबाट हामीले देशलाई जोगायौं । प्रतिगमनका बिरुद्ध लोकतान्त्रिक शक्तिबीच हातेमालो भयो र संघीय लोकतान्त्रिक गणतन्त्र जोगियो । संबिधानबाद जोगियो । संबिधान जोगाउनु परेन ?
देउवा सरकारले काम गर्न सक्छ त ?
– सक्छ । काम गर्न दिनु प¥यो नि । १५–१६ महिनाभित्र स्थानीय, प्रदेश र संघको निर्वाचन गराउनु छ । कोभिडलाई थेग्नु छ । जनतालाई कोभिडबाट बचाउँदै अर्थतन्त्रलाई पनि धान्नु छ । दुई तिहाईको बहुमत सरकारले गर्न नसकेका कामह्रू गर्नुछ । अन्तर्राष्ट्रिय परिस्थिति अनुकुल छैन । निकै चुनौतिह्रूका बीच काम गर्नुपर्छ यो गठबन्धन सरकारले । र, काम हुन्छ । काम गर्ने इच्छाशक्तिमा भर पर्छ । सरकार छिटो बिस्तार भएर काम थालिहाल्नु पर्छ ।
महिलाहरूको समस्यालाई कसरी लिनुभएको छ ?
– हेर्नुस् यो परम्परागत सवाल हो । नेपालमा महिलाह्रूले अझ धेरै अधिकार पाउनुपर्छ भन्ने कुरा आफ्नो ठाउँमा छ । तर, संबिधानतः नेपाली महिलाह्रूले जे अधिकार प्राप्त गरेका छन् तिनको मात्र पनि सही कार्यान्वयन र सदुपयोग भयो भने नेपाली महिलाह्रूको अबस्था दक्षिण एसिसयन देशह्रूमा सबभन्दा राम्रो हुनसक्छ । कार्यान्वयन फितलो छ । पितृसत्तात्मक सोच आज पनि उत्तिकै हाबी छ । राजनीतिक रूप्मै लिंदा पनि कुन कुन पार्टीले महिलालाई उच्च नेतृत्वमा लगेको छ ? कुन पार्टीको अध्यक्ष र महासचिव महिला छिन् ? प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कति महिलालाई प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बनाइन्छ ? स्थानीय तहको निर्वाचनमा कुन कुन पार्टीले प्रमुख र अध्यक्षमा महिलालाई उम्मेदवार बनायो ? के महिलाह्रू उपप्रमुख र उपाध्यक्ष बन्नलाई मात्र फिट छन् ? महिलाई ‘उप’ किन ? प्रमुख वा अध्यक्षमा कुन कुन पार्टीले कतिजना महिलालाई उम्मेदवार बनाए ? आगामी निर्वाचनमा पनि यो सिनारियो देखिएला नि ? राज्यका सवै अंग र निकायको स्थिति यस्तै छ । समावेशी भनेको अंगमा मात्र होइन तहमा पनि हुनुपर्छ । र, मूलतः हिजोको पितृसत्तात्मक सोचमा परिवर्तन आउनुपर्छ । पुरुषहरूमा आज पनि सुपेरिअरिटी कम्प्लेक्स छ नि । र, महिलामा पनि कमजोर जुन मनस्थिति छ, इन्फेरिअरिटी कम्प्लेक्स, त्यसको अन्त हुनुपर्छ ।
. मुस्लिम समुदायबारे केही भन्नु छ ?
– संबिधानमा मुस्लिम समुदायलाई एउटा राष्ट्रिय समुदायको रूप्मा स्थापित गरी समावेशी नीतिमा हिस्साको हकदार बनाइएको छ । तर, तीन वर्षमा बनिसक्नुपर्ने कानूनह्रू ६ वर्ष बितिसक्दा पनि बनेका छैनन् । कसरी मुस्लिम समुदायले आफ्नो संवैधानिक अधिकारको प्रयोग गर्ने ? ठूलो सवाल खडा छ । राजनीतिक दलह्रू गम्भीर छैनन् । एकजना प्रचण्ड कमरेड हो जसको मुखमा मुस्लिम शब्द झुण्डिएको छ । अरू कुनै नेता वा पार्टीको मुस्लिम समुदाको अबस्थामाथि ध्यान नै छैन । भोट बैंक मात्र ठान्दछन् सबैले मुसलमानलाई । कर्मचारी ऐन किन पास गर्दैन संसदले ? सैनिक ऐन, प्रहरी ऐन, शिक्षा सेवा आयोग ऐन, स्वास्थ्य ऐन इत्यादि सवैमा संविधानतः समावेशी नीति लागू हुनुपर्छ । भएको छैन । संबिधानको कार्यान्वयन भएन भने संबिधानसभाबाट संबिधान बनेको, बनाएको नारा लगाएको के अर्थ भन्या । मुस्लिम समुदायको प्रमुख मुद्दा वर्तमानमा यही हो । प्राप्त उपलब्धिको सदुपयोग गर्न दिनुपर्छ मुस्लिम समुदायलाई ।