October 8, 2024

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

सबैजनाले आफुलाई प्रगतिशील भनेका छन् तर, विचार चाहिँ नितान्त नै व्यक्तिवादी र गुटबादी छ


० उनीहरुले मलाई कम्युनिस्ट भन्ने ठाने, तर, म वास्तविक कम्युनिस्ट थिइँन ।
० जनताले माला लगाएर नेताहरुलाई राजा बनाए तर, धान्न सकेनन् ।
० त्यो समयमा पुष्पलालले सैनिक वा राजनीतिक जुन नेतृत्व दिए पनि तयारै छु भन्नुुहुन्थ्यो । तथापि बिपी दुबै मोर्चा दिन तयार नभई डराउँथे
० नेताहरु जिम्मेवार नबन्ने हो भने हात धोएर निक्लनुपर्दछ
० हिजोका नेताहरुले जनतासँग इमान्दारितापूर्वक गरेका कबोलहरु पुरा गर्न सकेनन् ।
० अग्रगामी, कम्युनिस्ट स्पिरिट, लोकतन्त्र र गणतन्त्रलाई स्थापित गर्ने प्रगतिशील विचार छ भने वृद्ध भएर पनि केहि हुँदैन ।

वि.स. १९९६ साल जेठ ५ गते पोखरा महानगरपालिका बैदाममा जन्मनुभएका टेकनाथ बराल नेपाली कम्युनिस्ट आन्दोलनमा एक जना इमान्दार र मुर्धन्य ब्यक्तित्वका रुपमा परिचित हुनुहुन्छ । बुवा डण्डपानी र आमा तिलोत्तमाको सन्तानका रुपमा जन्मनुभएका टेकनाथ बराल हरिकला बरालसँग वैवाहिक जीवनमा बाधिनुभयो । एक छोरा र तीन छोरीहरु क्रमश विद्या, शोभा, प्रभा र पिंगलाका पिता बराल कम्युनिस्ट पार्टीमा लागे बापत पटक पटक पञ्चायती प्रशासनबाटै पक्राउ पर्नुभयो । यसै क्रममा २०२४ साल देखि तीन वर्ष जेल जीवन समेत बिताउँनुभयो । उहाँले बि.स. २०२१ सालमा कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गर्नुभएको थियो ।
२०४६ सालको जनआन्दोलनका समयमा संयुक्त वाममोर्चाको गण्डकी अञ्चल अध्यक्षसमेत बन्नुभएका बरालले मानवअधिकार आयोग र इन्सेकबाट समेत सम्मानित हुने अवसर प्राप्त गर्नुभएको छ । चुनावी प्रक्रियाबाट झण्डै दुई तिहाई मतका साथ सरकारको नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीमा आएको बिग्रह र वर्तमान अवस्थामा जनताका अपेक्षाका विषयमा उहाँकै निवास पोखरामा पुगेर कार्यकारी सम्पादक नारायण प्रसाद शर्माले बरालसँग गरेको विशेष अन्तवार्ताः

० अहिले कम्युनिस्ट पार्टीकै नेतृत्वमा बहुमतको सरकार पनि बन्यो । तपाई सुरुका दिनमा कम्युनिस्ट पार्टी प्रति कसरी आकर्षित हुनुभयो ?
हामी कम्युनिस्ट पार्टीमा लाग्दा साच्चिकै मानविय समाजको स्थापना गर्न सकिन्छ भनेर लागेका हौं । हिजो अध्यात्म समाजमा रामराज्यको कल्पना गरिन्थ्यो, त्यो भन्दा पनि उच्च स्तरको समाज बनाउन सकिन्छ भन्ने लागेको थियो । त्यो समयमा विश्वका धेरै मुलुकहरुमा कम्युनिस्ट पार्टीको सरकार बनेको थियो । हामी कम्युनिस्ट पार्टीमा सदस्य भएपछि आज यो देशमा कम्युनिस्ट शासन सुरुभयो भनेर चर्चा गर्ने गरिन्थ्यो । हाम्रो जस्तो मुलुकमा कम्युनिस्ट शासन सत्ताको सम्भावना छ भन्ने हामीलाई लागेको थियो ।


० तपाई खास गरी कसको प्रेरणाबाट कम्युनिस्ट पार्टीको सदस्य बन्नुभयो ?
मलाई कम्युनिस्ट पार्टीको सरकार बनाउन तत्कालिन सरकारले घचेटर पठाएको हो । म एक जना राम्रो शिक्षक बन्ने अभिलाषा लिएर हिडेको मानिस थिएँ । त्यो समयमा पढ्न नपाएपछि अलि अलि पढ्दा नै तालिम लिएर पढाउने चलन थियो । त्यहि अभियानमा सरकारले अञ्चल निस्कासित ग¥यो । उनीहरुले मलाई कथित तल्लो जातका मानिसहरुलाई पढायो, छोरीहरुलाई पढायो भन्ने आरोप लगाए । उनीहरुले मलाई कम्युनिस्ट भन्ने ठाने, तर, म वास्तविक कम्युनिस्ट थिइँन । बरु मेरो संगत कांग्रेसहरुसँग थियो । त्यहि संगतको कारण २०१७ साल पौष १ गते तत्कालिन राजा महेन्द्रले गरेको कू काण्डलाई हामीले बिरोध गरेका थियौं । यसरी त्यो समयमा आन्दोलन गर्नुपर्दछ भन्दै कांग्रेसका युवाहरुसँग साथ दिएको थिएँ । मलाई त्यो समयमा कांग्रेसका युवाहरुलाई संगठित गर्ने यहि मास्टर हो भन्थे । त्यसपछि मलाई अञ्चलबाट निस्कासित गरी दैनिक रुपमा धौलागिरी अञ्चलमा हाजिर हुने आदेशसहितको पुर्जी प्रशासनले दियो । मैले त्यो समयमा बैदामको तालबराही माविमा पढाएको थिएँ । त्यसपछि म नेपालबाट अध्ययन गर्नका लागि बनारस पुगेँ । बनारसमा कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठलाई भेटेँ । म बनारसको एउटा गुफामा बसेर तपस्या गरी पढ्छु भनेर गएको थिएँ । यसरी म नेपालको आन्दोलन छाडेर बनारस पुग्दा पनि ‘बल्छीबाट फुत्केको माछो आगोको भुंग्रोमा प¥यो’ भने जस्तै भयो । त्यो समयमा म न कांग्रेस थिएँ नत कम्युनिस्ट नै थिएँ, केबल सामाजिक अभियन्ता मात्रै थिएँ । समाजमा राम्रो व्यवस्था खडा हुनुपर्दछ । प्रवुद्ध समाजको स्थापना हुनुपर्छ । हामी सबै गरिब धनीहरुले पढ्न पाउनुपर्दछ । छुवाछुतको अन्त हुनुपर्दछ भन्ने कुराको ज्ञान मलाई कसरी आयो ? मेरो घरमा लुगा सिउने दर्जीका छोरा छोरीहरुले पनि पढ्न पाउनुपर्दछ भन्ने मलाई लाग्यो । पोखराका कांग्रेस युवाहरुसँग लाग्नुको पनि त्यहि कारण थियो । २००७ सालको आन्दोलनमा म दाईहरुको लहै लहैमा लागेर झण्डा बोकेर हिडेको थिएँ । मेरो डाँडाको गुफा घरमै एक जना छद्म भेषी मानिस बसेका थिए । त्यो घरमा मेरो बाजेले तपस्या गर्नुभएको थियो । मेरो बाजे नभएको समयमा मेरा बाले जोगीहरु ल्याएर राख्ने गर्नुभएको थियो । त्यसै क्रममा एक जना जोगी त कांग्रेस पो रहेछन् । पोखरामा चैतन्य बम्हचारी भन्नेलाई चिसापानीमा बेदाङ्ग पढाउनका लागि राखिएको थियो । उनी भारतका अल्मोडाका थिए । ति पनि कांग्रेसका मानिस रहेछन् । उनी बाहिर कांग्रेस भनेर नचिनिए पनि भित्री रुपमा कांग्रेस पार्टीका प्रतिवद्ध कार्यकर्ता नै थिए । तिनले एक जना कांग्रेसी कार्यकर्ता बोलाएर हाम्रो गुफाको घरमा राखेका रहेछन् । त्यो समयमा उक्त गुफा घरमा जोगी राखेर हामीले सिदा भर्ने गर्दथ्यौं । म सिदा बोकेर त्यहाँ जाने गर्दर्थे । पोखरामा कांग्रेसको संगठन उनैले बनाएका थिए । जब २००७ सालको आन्दोलन चर्कियो तब उनी टाप कसेर बेपत्ता भए । २००७ सालको आन्दोलनमा घन शम्शेरलाई पोखराबाट निकाल्न पोखरेलीहरुले धर्ना दिए । तर, २०१७ सालको कु पछि भने मेरो कांग्रेसहरुसँग पनि सम्पर्क भयो ।
त्यो समयसम्म म शैक्षिक अभियन्ता मात्रै थिए । तर, जब गिरफ्तार गरियो, त्यसपछि भने म बनारस पुगेँ । बनारसमा पुष्पलाल श्रेष्ठ र बिपी कोइराला बस्नुभएको थियो । नेपालका कांगे्रस र कम्युनिस्टहरुको उच्च स्तरको संगठनहरु नै बनारसमा थिए । त्यो समयमा विद्यार्थी संगठन, बुद्धिजिबीहरुको संगठन, प्राज्ञिक संगठन, मजदुर संगठनहरु थिए । तै पनि म लुकेरै पढ्छु भनेर गएको थिएँ । म बनारस पुगेपछि साथीहरुको सहयोगमा बस्ने ठाउँको व्यवस्था भयो । त्यहाँ नाम चलेका मध्ये पोखराका बलराम उपाध्याय हुनुुहुन्थ्यो । मेरा लागि पढाउने मास्टर र बस्नका लागि ठाउँ खोजिदिनुभयो । तर, उहाँले एउटा शर्त राख्नुभयो । जुन शर्त थियो, ‘यहाँ विद्यार्थी संगठन छ । जसको नाम बनारस छात्र परिषद् हो । परिषद्ले पहिला धेरै राम्रा काम गरेको भएपनि ५÷७ वर्ष देखि कुनै काम गरेको छैन । विद्यार्थीहरुलाई पढ्ने र पढाउने व्यवस्था गरिन्थ्यो, त्यो पनि लामो समय देखि भएको छैन । अधिवेशन समेत हुन नसकेको अवस्था छ । अवको अधिवेशनमा तपाई पनि भाग लिनु पर्दछ ’। भनेर आग्रह गरिसके पछि मैले सहमति जनाए । त्यो भन्दा अघिल्लो दिनमा कसरी अधिवेशन सिध्याउने भन्ने कुरामा नेपाली कांग्रेसका विद्यार्थीहरुसँग छलफल भएको थियो । उक्त छलफलमा मलाई प्रगतिशील साथीहरुको प्रतिनिधित्व गर्दै बोल्न लगाइयो । त्यो समयमा मुलुकले अहिलेको विद्यार्थी संगठनबाट केहि हुन्छ भनेर हेरिरहेको छ तर, अहिलेको अवस्था हेर्दा साह्रै निरास बनाएको छ । भन्दै मैले आफुलाई प्रशासनले अञ्चल निस्कासन गरेको विषयमा बोलेको थिएँ । त्यसपछि साथीहरुलाई देशभित्रको अवस्था सुनेर प्रभावित भए । वास्तवमा कांग्रेस वा कम्युनिस्ट नै नभई देशमा केहि गर्छौ भन्नेहरुको यो अवस्था देखेर नै संगठनको अधिवेशनबाट म पनि सदस्यमा उठे । त्यस अघि नेबिसंघको प्रभुत्व भएको संगठनमा जम्मै कम्युनिस्ट समर्थक अखिलले विजय हासिल गर्न पुग्यो । मैले धेरै कुरा गरेपछि आफै पनि संगठनमा आवद्ध भइयो । त्यो समयमा म भन्दा धेरै पढेका ठूला ठूला साथीहरु थिए । उनीहरुसँग मेरो आशा थियो । तर, उहाँहरु संगठनमा देखा परेपछि जागिर नपाउने डरले चिनिन चाहँदैनथे । त्यो समयमा नेतृत्वमा खेमराज पण्डित लगायतका नेताहरु थिए । उनीहरु भागे र प्रकाशनलगायतका काम जाने पनि नजाने पनि म नै संलग्न हुनुपर्ने अवस्था आयो । यसरी मैले त्यहाँका गुरु र राजनीतिज्ञहरुसँग सल्लाह लिएर बनाएको हुँदा सबैको सहयोगबाट स्तरीय प्रकाशन गरियो । संगठन पनि राम्रो बनाइयो । त्यसको राम्रो प्रभाव पर्न गयो । नेपालका धेरै क्याम्पसहरुमा हाम्रो विद्यार्थी संगठनको प्रकाशित पत्रिकाको कारण प्रभाव देखियो । त्यसपछि म नेपाल फर्किए र थुनामा परेँ ।


० राजनीतिमा लाग्दा तपाई पटक पटक गरी कति समय जेल जीवन बिताउनुभयो ?
पहिलो पटक म कष्टडीमा नै पाँच छ महिना जत्ति बसे । त्यसपछि दोस्रो पटक जेलमा तीन वर्ष बसे ।


० कम्युनिस्ट पार्टीको सदस्य कहिले हुनुभयो ?
म ई.सन् १९६४ अर्थात बि.स. २०२१ सालमा कम्युनिस्ट पार्टीको सदस्य भएको हुँु ।
० वि.स. २०३६ सालको विद्यार्थी आन्दोलनमा तपाईको भूमिका कस्तो रह्यो ?
वि.स.२०३६ सालको विद्यार्थी आन्दोलनका अगाडि पनि मैले संगठित गराउने काम गरेको थिएँ । विद्यार्थीहरुबीच आन्दोलनका विषयमा फुट आउन थाल्यो । त्यसपछि कुनै हालतमा पनि फुट्नु हुँदैन भनेर मैले जोडबल गरे । पछि पार्टीको फुटमा पनि म मसालका महामन्त्री मोहन विक्रम सिंह कहाँ पुगेर फुट्नु हुन्न भन्ने विषयमा लबिङ गरे । यसरी म सधै फुटको विरोधमा रहँदै आएको छु ।
० २०४६ सालको प्रजातान्त्रिक आन्दोलनमा तपाईको कस्तो भूमिका रह्यो ?
म २०४६ सालतिर कुनैपनि संगठनमा आवद्ध थिइँन । किनकी फुट्नु हुन्न भन्दा भन्दै कम्युनिस्ट पार्टीलाई नौ चिरा बनाइएको थियो । त्यसैकारण कुनै पदीय जिम्मा लिने पक्षमा थिइन । तर, आन्दोलन सफल होस् भन्ने पक्षमा सधै थिए र लागिरहेँ । तत्कालिन नेकपा माले र माक्र्सवादीहरुले संयुक्त मोर्चा बनाउन थाले तथापि बनेन । एमएस थापाको अध्यक्षतामा वाममोर्चा बनाइयो । तर, पनि चल्न सकेन । सोमनाथ प्यासीको अध्यक्षतामा मोर्चा बनाउन प्रयास गर्दा पनि बनेन । त्यसपछि बाममोर्चा बनाउनुपर्छ भनेर मैले सबैलाई भेटघाट गरेपछि एकदमै उत्साही हुनुभयो । यसरी बाममोर्चा बनिसकेपछि नेपाली कांग्रेससँग पनि संयुक्त मोर्चा बन्यो । कांगे्रसका बुढाहरु को कम्युनिस्ट छ ? संयन्त्र बनाउने भनेर घमण्ड गर्दर्थे । म त कांग्रेसबाटै बिद्रोह गरी आएको हुँदा पुराना कांग्रेसहरु मिन बहादुर, प्रेम बहादुरले सहमति जनाए । काग्रेसका शुक्रराजहरु त मेरा धेरै जुनियर भाइहरु नै थिए । त्यसैकारण पोखरामा २०४६ सालको आन्दोलन एकदमै सशक्त भएको थियो । म स्वतन्त्र कम्युनिस्ट भएकै कारण त्यो अवसर प्राप्त भएको थियो । म वाममोर्चाको अध्यक्ष भएर कार्यालय स्थापना गर्ने बित्तिकै सदस्यता देउ भन्ने मानिसहरुको ताती लाग्न थाल्यो । मलाई के लाग्यो भने आम नागरिकहरु नेपालका वामपंथीहरु एक हुन भन्ने चाहना रहेछ । जनताले नेपालका वामहरु एक भएर केहि गर्छन् कि भन्ने चाहेका रहेछन् ।


० तपाई कम्युनिस्ट आन्दोलनमा लामो समय बिताउँनुभयो । कम्युनिस्ट पार्टीको स्थापनाको भएको झण्डै ७० वर्ष पछि चुनावबाटै कम्युनिस्टहरुले बहुमत ल्याए । सरकार पनि बन्यो । तर, किन टिक्न सकेन ? बिपक्षीहरुले कम्युनिस्टले शासन गर्न सक्तैनन् भन्ने ठाउँ किन दियो ?
बिपक्षीले मात्रै होइन शासन गर्न सक्तैनन् भन्ने आफैबाट प्रमाणित गराए । एकले अर्कालाई नमान्ने, कन्भिन्स गर्न नसक्ने, एकले अर्काको कुरा सुन्नै नसक्ने, एकले अर्काको मर्म बुझ्नै नसक्ने, कसरी अघि बढ्नुपर्छ भन्ने विषयमा गहराईमा पुग्नै नचाहने अवस्थाको सिर्जना भयो । आफुलाई नेता भने पनि नेता हुन सकेकी सकिएन मुल्यांकन गर्नै नचाहने अवस्था सिर्जना भयो । एक जनाले नेतृत्व दिन सकेन र सामुहिक नेतृत्व खोजेको खण्डमा सामुहिकता पनि बनाउन सक्नुपर्छ नी । एक जनाले भन्दा सामुहिक नेतृत्वको कठिन हुन्छ । सबैको राय सल्लाहले काम गर्ने क्षमताको विकास हुनुपर्छ ।


० कम्युनिस्ट पार्टीको बहुमतको सरकार बनाएर नयाँ संरचनागत रुपमा अघि बढ्ने कुनै विचार आएको छ ?
अहिले जसरी माथि पुगिसकेको कम्युनिस्ट आन्दोलनको समग्र अवस्थालाई टिकाउन सकिएन । हो हामीले खोजे जस्तो अनुपम संविधान बन्ने सकेन । केहि कमजोरीहरु पक्कै पनि रहेँ । तथापि यो संविधानलाई राम्ररी लागू गर्न सकेको खण्डमा जनताका धेरै अधिकारहरु पुरा हुन सक्छन् । र, समाजमा राम्रो अवस्थाको सिर्जना हुन सक्छ । अझै पनि कम्युनिस्टहरु समझदारीमा आएर आफु कहाँ छौं भनेर विचार गर्न जरुरी छ । पुष्पलालजीको राजनीति वास्तवमा एकदमै ठीक थियो । उहाँसँग २०२१÷०२२ सालमा लामो समय बसेको थिएँ । पछि पनि सँगै बसे । बिपी र पुष्पलालसँग लामो उठबस भएका कारण मेरो विशेष श्रद्धा पनि छ ।
पुष्पलालको त्यो समयमा स्पष्ट भनाई के थियो भने सशस्त्र संघर्ष गरे पनि हामीले नेपाली कांग्रेसलाई साथ लिनैपर्दछ । हैन शान्तिपूर्ण आन्दोलन गर्ने हो भने पनि नेपाली कांग्रेसको साथ चाहिन्छ भन्ने विषयमा उहाँहरु दुबै जना कन्भिन्स हुनुुहुन्थ्यो । त्यो समयमा पुष्पलालले संयुक्त आन्दोलनका लागि सैनिक वा राजनीतिक जुन नेतृत्व दिए पनि तयारै छु भन्नुुहुन्थ्यो । तथापि बिपी दुबै मोर्चा दिन तयार नभई डराउँथे । पुष्पलालको लाइन पछि गणेशमान सिंहले पछ्याए । अहिले साच्चिकै मुलुकलाई अघि बढ्न नदिने पश्चगामी को हो ? शिक्षा, स्वास्थ्य, रोजगारी, गाँस, बास, कपास जस्ता अत्याआवश्यक आधारभूत आवश्यकताका वस्तुहरु भएको लोकतान्त्रिक विचारमा अवरोध गराउनेलाई पाखा लगाएर अन्य सम्पूर्ण एक जुट हुनुपर्दछ । नत्र देश बन्ने छैन । सबै जनाले आफुलाई प्रगतिशील भनेका छन् । तर, विचार चाहिँ नितान्त नै व्यक्तिवादी र गुटबादी छ । हामी देश बनाउनकै लागि राजनीति गरेको हो । देश बनाउने जिम्मा पनि हाम्रो हो, भनेर प्रत्येक नागरिकले प्रण गर्नुपर्दछ ।
यहि हेर्नुस् न पोखरामा तुच्छ ठाउँ भनेर चिनिएको दुबैतिरबाट खोलाले हानेका ठाउँमा स्वर्ग बनाइएको छ । नेपालमा अहिले हरेक ठाउँमा स्वर्ग छ ।


० नेकपा एमालेभित्रका दुई समूहबीच एक आपसमा तिक्तता बढेको छ । यसबाट समग्र कम्युनिस्ट आन्दोलनलाई कहाँ पु¥याउने हो ? एकिन हुन सकिरहेको छैन । यसमा तपाईको के सुझाव छ ?
उहाँहरु आफै फुट्नुभएको छ । हिजो उहाँहरुले नेपाल कम्युनिस्ट पार्टी बनाउँदा वैद्यता दिन सक्नुपर्दथ्यो । वैद्यता नै नपु¥याएकोले अदालतले पुरानै अवस्थामा फर्काइदियो । अल्पमत र बहुमतमा गएर नेता घोषित हुनुभयो । पद बाँडफाँड गर्नुभयो । अहिले आएर आफु खुशी मनलाग्दी गर्नुभएको छ । तथापि कुनै हालतमा पनि पार्टी फुट्नु हुँदैन । आफु फुट्ने र साथ दिनका लागि अन्त जाने प्रवृत्ति बढेको छ । जायज कुरा गरेको हो कि होइन ? देश बनाउने जिम्मा लिएको व्यक्तिले सुहाउने कुरा गर्नुपर्दछ । नेताहरु जिम्मेवार नबन्ने हो भने हात धोएर निक्लनुपर्दछ । जनताले कति पटक भोट दिएर नेता बनाए ? कति पटक जनताले आशा र भरोसा गरे ? उहाँहरुले आफु गए पनि सिद्धान्तलाई नै बदनाम गर्नुभएको छ । किनकी लोकतन्त्र र गणतन्त्र बदनाम गराउनुपर्ने सिद्धान्त नै होइन । यसको मूल्य र मान्यता नचिन्ने मानिसहरुले बदनाम गराए । यसको फल चिन्नै सकेनन् । गणतन्त्रको उच्च स्तरको फललाई गन्हाएर कुहिएको फल जस्तो बनाइएकोे छ । त्यसो गर्न बिल्कुलै पाइदैन । यो जस्तो उच्च स्तरको फल जनताले भोग गर्न पाउनुपर्दछ । कोपिलामै नास गर्न पाइदैन । फल पाक्नै नदिएर सम्हार गर्ने काम गर्नुभएको छ । हरेक काममा जनताको प्रतिनिधित्व गर्ने भन्नुहुन्छ तर, नेता हुने हो भने राम्रो काम गर्नुस् होइन भने तुरुन्तै हात धुनुस् । अहिलेको नेपालको अवस्था चिनेर पश्चगामीहरु बाहेक सबै एक भएर अघि बढ्नुपर्दछ ।
अहिले राजावादीहरु राजा खोज्दै हैरान छन् । अहिलेको राजा कस्तो हुने भन्ने विश्लेषण उहाँहरुमा छैन । स्वस्थानीका नवराज राजा जस्तो गल्लिमा हिड्ने मानिस पनि राजा हुन सक्दा रहेछन् । हात्तीले माला लगाएपछि जो कोहि पनि राजा हुन सक्दा रहेछन् । अहिले हात्ती भनेकै जनताहरु हुन् । जनताले माला लगाएर नेताहरुलाई राजा बनाए तर, धान्न सकेनन् । राजाबादीहरु वीरेन्द्रको नाती खोजेका छन् । अहिलेको विश्वको परिस्थिति हेरेर नेतृत्व दिनुपर्दछ । हिजो जस्तै भ्रष्टहरुले शासन गर्ने हो भने राजावादीहरु आएपनि केहि हँुदैन । दुई तिहाईको सरकार बने पनि फुटका कारण लथालिङ्ग बनाउन पाइदैन । कोहि पनि फुट्नु हुँदैन । एक अर्कामा आत्म आलोचना गरेर एक जुट हुनुपर्दछ ।


० पुराना र बरिष्ठ नेताहरुले पद हस्तान्तरण नगर्दा युवाहरु फुटको बाटो रोज्न बाद्य भएका हुन् ?
अहिले विचारमा हैन, गुटगतरुपमा फुटमा लागेका छन् । युवा भन्दैमा पनि हुँदैन । अग्रगामी, कम्युनिस्ट स्पिरिट, लोकतन्त्र र गणतन्त्रलाई स्थापित गर्ने प्रगतिशील विचार छ भने वृद्ध भएर पनि केहि हुँदैन । तर, सधै सधै जस्तै आचरण गर्ने वृद्धहरुले नयाँ उचाईमा देशलाई लैजान नसक्ने हो भने तिमीहरुले गर भनेर अघिल्लो पीढीले पछिल्लो पिढीलाई भन्न सक्नुपर्दछ । आफ्नो ज्ञान र अनुभवका साथ युवाहरुको पक्षमा माहोल बनाउनुपर्दछ । तर, युवाहरुमा पनि जोस, जाँगर, योग्यता र इमान्दारीता हुनैपर्दछ । हिजोका नेताहरुले जनतासँग इमान्दारितापूर्वक गरेका कबोलहरु पुरा गर्न सकेनन् । दोस्रो पुस्ताका नेताहरु नेतृत्व लिनका लागि तयार हुनुपर्दछ । साथै पुरानो पुस्ताले पनि विवेकका साथ नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्दछ । उनीहरुलाई हेरेर सल्लाहकार बनाएर राख्नुपर्दछ ।


० अहिले फुटको अवस्था सम्म आउनुमा विदेशी चलखेल पनि हो भनिन्छ । तपाई के भन्नुहुन्छ ?
संसारमा कहिँ पनि कसैले सबैलाई आफ्नै पक्षमा राखिरहँन चाहन्छन् । तपाई नै कोहि राम्रो मान्छे राम्रो छ भने पनि आफ्नै काबुमा राख्न चाहन्छ । यदि नराम्रो छ भने पनि गुटबन्दीका लागि पनि संगत खोज्छ । त्यसैले अर्काले के भने ? के गरे भन्ने होइन ? चिनियाँहरु आएर हाम्रो राम्रो काम गर्छन् भने ठीकै छ । हाम्रो देशले के के स्वीकार गर्न सक्छ ? के के देशमा ग्राह्य छ ? भारतीयको पनि राम्रा कुराहरु छन् भने हामीले लिनुपर्दछ । उनीहरु आफ्नो स्वार्थमा आएका हुन्छन् । हामीले नचिनेर दिने हो भने त देश पुरै खत्तम हुन्छ नि ? हिजो सामन्तहरु कसैको राम्रो खेत वा गोरु नै देखे भने पनि हत्याउने प्रयास गर्दर्थे । विदेशीहरु त स्वाभाविकै रुपमा फाइदा खोज्छन् । हाम्रो देशमा खनिजहरु छन् कि छैनन् ? सम्भाब्यताहरु के के छन् ? अझै बुझि नसकेको अवस्थामा त्यहि कुराको अध्ययन गरेर बुझिसकेको देशले त क्षणभरमै टप्प टिपेर लैजान सक्छ नि । यसरी हाम्रो चिज कहाँ नेर के छ भनिकन जोगाउँदै उन्नति र प्रगति गर्नका लागि उनीहरुसँग भएका प्रविधि खोजि गरेर प्रयोग गर्ने चिन्तनतर्फ लाग्नुपर्दछ । तर आउँ भनेर सुम्पेर भित्र पस्ने हो भने खल्तिमा हालेर लैजान्छन् । बाहिरी देशतर्फ देखाउने प्रवृति नै हाम्रो कमजोर दिमागका कारण हो । नत्र भने बाहिरी देशले केहि गर्न सक्तैन । हाम्रो देशलाई उनीहरुले कसरी हेरेका छन् ? अनुभवका आधारलाई समेत लिएर आफ्नो वस्तुलाई पहिचान गरी बलियो बनाएर राख्नुपर्दछ । विदेशसँग कुनै आर्थिक सम्झौता गर्दा ध्यान दिइएन भने हाम्रो अधिकार खुस्किन्छ । कोहि पनि विदेशी हाम्रा मायाले आउँदैनन् । मठ, मन्दिर, चर्च र मस्जिदहरु अहिले विकृतिका चाङहरु बनेका छन् । त्यसैले हामी पहिले नै होशियार हुनुपर्दछ । विदेशीलाई दोष दिने तर, आफ्ना कमिकमजोरीहरु नहेर्ने पक्षमा म चाहिँ पटक्कै छैन ।
० अब पनि कम्युनिस्टहरु बीच एकता हुन्छ र चुनाव जितेर नै सरकारको नेतृत्व गर्छ भन्ने लाग्छ ?
त्यो नभई सुःखै छैन । देशलाई ध्वंश बनाएर विश्वका अन्य गरिब माग्नेहरु भएको देश जस्तै बनाए भने मात्रै नत्र फेरी पनि एक हुन जरुरी छ । म एक जनाले मात्रै केहि गर्न सकिदैन । आखिरी उपयोग गर्न पनि त साथ चाहिन्छ । हामी बुझ पचाएर हैन खुला र पारदर्शी भएर अघि बढ्नुपर्दछ ।


० अन्तमा केहि भन्नु छ कि ?
नेपालले विश्वलाई उदाहरण दिन सक्छ । नेपालसँग यति धेरै सुन्दरता छ कि वयान गरी साध्यै छैन । जनताहरु पनि प्रगतिशील छन् । नेपालीहरु अन्य देशमा गएर बिभिन्न खालका विशिष्ट खालका कामहरु गरिरहेका छन् । त्यो जनशक्तिलाई नेपालमै राखेर देश बनाउनुपर्दछ । आखिरमा कम्युनिस्टहरु त मिल्नै पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.