मेलम्चीको पानीले काठमाडौंबासीमा हर्षबढाई
शारदा देवी सापकोटा
काठमाडौँ । देशको राजधानी काठमाडौँ उपत्यकामा मेलम्ची नदीको पानी भित्रिएको छ । यो आयोजना २६.५ किमी लामो सुरुङ खनेर ल्याइएको हो । जसले गर्दा वर्षौदेखि विकाराल रूपमा रहेको पानीको समस्या समाधान हुने भएको छ । मेलम्ची परियोजनाको अवधारणा आएको २२ वर्षअघि काठमाडौँ उपत्यकाबासीका घरघरमा खानेपानी धारामा मेलम्चीको पानी खस्न थालेको छ ।
मेलम्ची परियोजना २०५५ सालमा पूर्व प्रधानमन्त्री स्व।कृष्णप्रसाद भट्टराईद्वारा देखिएको सपना हो, तर यसको सम्पन्न २०७७ साल चैत्रमा प्रधानमन्त्री केपी शर्मा ओली र खानेपानी मन्त्रीमा मणिचन्द्र थापा नियुक्ति भएपछि २२ वर्षमा मात्रै सम्पन्न भयो । मेलम्ची परियोजना हाम्रो देशको गौरवको आयोजना मध्येको एक प्रमुख आयोजना हो । यो आयोजना सम्पन्न हुँदा हामी सबै नेपालीहरूलाई अत्यन्तै खुशीको अनुभव भएको छ । र, हुनु पनि स्वभाविक नै हो । किनकी बढ्दो राजधानी केन्द्रीत व्यक्तिहरुको सोच रहेको कारण मानिसहरू बढी नै मात्रमा काठमाडौँमा बसोबास गरिरहेका छन् । शिक्षा आर्जन, व्यापार व्यवसाय र रोजगारीका लागि देशका ७७ वटै जिल्लाका मानिसहरु राजधानी आउने क्रम बढ्दो छ । घना बस्ती बढ्दै गएको अवस्थामा मेलम्चीको खानेपानी उपभोग गर्ने सबैले पाउने भएका छन् । त्यसैले मेलम्ची खानेपानी सबै नेपालीहरूको साझा चासो र सरोकारका विषय बनेको छ । कुनै पनि काम सम्पन्न गर्दा चुनौति रहनु भनेको स्वभाविक नै मानिन्छ । चुनौति विनाको कार्य परिकल्पना गर्न सकिंदैन, ताकि मेलम्ची आयोजना सम्पन्न गर्नका लागि पनि चुनौतीका पहाडै पहाड थिए । तापनि निरन्तरको प्रयास र मेहनतले गर्दा आज देश नयाँ विश्व सामु मेलम्ची खानेपानी आयोजना एक सफल आयोजनाको रूपमा सम्पन्न भएको छ । यो आयोजनाको सफलतामा देशमा १९ जना प्रधानमन्त्री, २५ जना मन्त्री र २९ जना आयोजना प्रमुखहरू प्रत्यक्ष रूपमा जोडिएका छन् । जब मेलम्चीको पानी काठमाडौँवासीले उपभोग गर्ने पाए तब उनीहरूको मुहारमा रंगिन चमक छाएको छ । सबै खुसीले गद्गद् भएका छन् । उमंगित देखिएका छन् । रातभरि उठेर विहान हेर्दा पानी ट्याङ्कीमा नहुने समस्या अब सधैंको लागि हटेर गएको छ । ट्याङकर र जारका पानीमा भरपर्नुपर्ने अवस्थाको अन्त हुने भएको छ । आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार पहिलो चरणमा केही सीमित स्थानमा पानी परीक्षणको लागि पठाइएको र पछि सबै ठाउँमा पठाइने भनिएको छ । कतिपय ठाउँमा पानीका पाइप विस्तार कार्य नै सकिएको छैन, भने कति ठाउँमा विस्तारित पाइपहरू पनि क्षतविक्षत भएको कारण सबै ठाउँमा पानी पठाउन समय लाग्ने आयोजनाका कर्मचारीहरुले बताएका छन् । पानी वितरणमा सुरुमा चक्रपथ भित्रलाई महत्व दिइएको छ । त्यसपछि चक्रपथ बाहिर पनि वितरण गर्ने योजना रहेको बताइन्छ । मेलम्ची आयोजनाबाट दैनिक १७ करोड लिटर पानी वितरण गर्ने सक्ने क्षमता रहेको छ ।
जनतामा महंगीको त्रास
दाताहरुको ऋण सहयोगमा यो आयोजना सम्पन्न गएिको छ । आयोजनाको मुख्य लगानीकर्ता एसियाली विकास बैंक एडीबी हो । एडीबीकोे १३ करोड ७० लाख, जापान अन्तराष्ट्रिय सहयोग नियोग ९जाइका०को १ करोड ८० लाख, जापानकै अन्तराष्ट्रिय सहयोग बैंकले ४ करोड ७५ लाख, तेल निर्यातक राष्ट्रहरुको संगठन ९ओकेप० को १ करोड ३६ ला, नर्डिक विकास फन्डको १ करोड ४ लाख र नेपाल सरकारको ९ करोड ६ लाख ४० हजार अमेरीकी डलर लगानी रहेको छ ।
दाताहरुले लगानीकै समयमा पानीको मूल्य बढाउन पाउनुपर्ने, जमिन मुनिको पानी निकाल्नका लागि अनुमति लिनुपर्नेलगायतका केहि शर्तहरु राखेका भन्ने सुनेका काठमाडौंबासीहरु मेलम्ची आयोजनाको सफलता पश्चात कतै पानीको बिल तिर्नै नसक्ने अवस्था आउने त होइन भन्ने त्रासमा पनि छन् ।
मणि थापा मन्त्री हुँदा आयोजना सम्पन्न
खानेपानी मन्त्रीलाई पानी ट्याङकर व्यवसायी र पानीका मोटर बिक्रेताहरुले कमिसन दिएर आयोजनालाई केहि समय पर धकेल्ने प्रयास गर्दै आएको गुनासो सुनिँदै आएको थियो । तर, सास्कृतिक फाँटमा राजनीतिक जीवन बिताएका मन्त्री थापाले सहजै रुपमा आयोजनालाई सम्पन्न गराएर देखाइदिए । जुन कार्यका लागि उनी प्रशंसाको पात्र बनेका छन् ।