October 2, 2023

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

प्रथम चार्टर्ड एकाउन्टेन्ट तथा पूर्वमन्त्री कुबेर प्रसाद शर्माको श्रद्धाञ्जली विशेष

1 min read



वि.स. १९९४ साल असार ५ गते बुवा राम प्रसाद उपाध्याय पोखरेल र आमा सोम कुमारी रिजाल पोखरेलका जेष्ठ सुपुत्रका रुपमा मावली घर मकवानपुरगढीमा जन्मनुभएका कुबेर प्रसाद शर्मा पोखरलको यहि फागुन १४ गते उपचारका क्रममा ८४ वर्षको उमेरमा काठमाडौंमा निधन भयो । उहाँ नेपालका प्रथम चार्टर्ड एकाउन्टेन्ट, २०४८ सालमा सप्तरी क्षेत्र नम्बर ४ बाट सांसदमा निर्वाचित हुनुभयो । पृथ्वी नारायण शाहलाई नेपालको पूर्वी क्षेत्र एकीकरणमा सहयोग गरे बापत सप्तरीको नर्घोमा पोखरेल परिवारले बिर्ता प्राप्त गरेका थिए । शर्माका बुवा राम प्रसाद उपाध्याय पञ्चायतकालमा लामो समयसम्म नर्घो गाउँ पञ्चायतका प्रधानपञ्च बन्नुभएको थियो । त्यसै कारण शर्माले २० विघा जमिन विद्यालय स्थापनाका लागि निशुल्क दान दिनुभयो । शर्मा २०४८ सालमै नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत बन्नुभएको थियो । नेपाली कांग्रेस पार्टीमा प्रधानमन्त्रीको पक्षमा चवत्तरे र सुधारको पक्षमा छत्तिसे समूहका रुपमा गम्भिर मतभेद भएपछि वि.स.२०५१ सालमा तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले संसद भंग गर्नुभएको थियो । उहाँले नेपाली कांग्रेसभित्र रहेर सुधार गर्न नसक्ने देखेपछि वि.स. २०५३ सालमा आफ्नै नेतृत्वमा हरियाली नेपाल पार्टीको स्थापना गर्नुभयो । बि.स.२०५९ साल मंसिरमा देखि २०६० जेठसम्म पर्यटन तथा नागरिक उड्यनमन्त्री समेत बन्नुभएको थियो । प्रजातन्त्र स्थापनाका लागि नेपाली कांग्रेसको आव्हानमा गरिएको वि.स. २०४२ सालको सत्याग्रहमा झण्डै एक वर्ष जेल जीवन बिताउनुभएका शर्माले दर्जनौं पुस्तक र लेख रचनाहरु प्रकाशन गर्नुभएको छ । ति मध्ये जनमत संग्रहका समयमा बहुदल कर्ता निर्दल कर्ता ?, प्रजातन्त्रको बाटोमा नेपाल, नयाँ आर्थिक कार्यक्रमको प्रारुप, नेपालको आधुनिकिकरण र विकास, विद्रोह, इतिहासका साछीहरु लगायतका छन् ।
सन् १९६४ मा भारतको मुम्बईबाट चार्टर्ड एकाउन्टेन्सीको अध्ययन सिध्याएर नेपाल आउनुभएका शर्माले नेपाल बैंकमा पहिलो सिएको रुपमा काम गरी थुप्रै सुधारका योजनाहरु प्रस्तुत गर्नुभएको थियो । नेपालको पहिलो बीमा कम्पनी राष्ट्रिय बीमा संस्थानको स्थापना गर्नुका साथै नेपालको लेखा प्रणालीलाई विश्व मापदण्डको स्तरमा पु¥याउनुभयो । प्रजातन्त्रका लागि पनि उल्लेख्य भूमिका निर्वाह गर्नु भएका शर्मा एशोसियसन अफ चार्र्टर्ड एकाउन्टेन्टन्स् अफ नेपाल (एक्यानका) संस्थापक अध्यक्ष पनि हुनुहुन्छ । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान)मा शर्माले २० लाख रुपैया अक्षय कोषको स्थापना गरी ब्याजबाट प्राप्त रकमबाट आर्थिक रुपमा कमजोर छात्रा र छात्र गरी दुई जना विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्थासमेत गर्नुभएको छ । भ्रष्टाचार विरोधी अभियन्ताका रुपमा देशका मूख्य सहर र बिभिन्न जिल्लामा गएर नेपाली जनतालाई सुसूचित गराउँदै आउनुभएका शर्माले पहिल्लो समयमा इच्छामृत्युपत्र सम्बन्धी ऐन बन्नुपर्दछ भन्दै लबिङ गरी देश दौडाहामा लाग्नुभएको थियो । डायरी एक्सप्रेस साप्ताहिकमा निरन्तर रुपमा लेख लेख्दै आउनुभएका शर्मा देखेको कुरा प्रष्टसँग राख्न सक्ने एकजना राजनीतिक विश्लेषक, निडर, योग्य र इमान्दार व्यक्तित्वका रुपमा चिनिदै आउनुभएको थियो ।

शर्माको विषयमा के भन्छन् शुभचिन्तकहरु ?

आफ्नो अडानमा अड्न सक्ने एक जना तपस्वी
कृष्ण प्रसाद भण्डारी, वरिष्ठतम् अधिवक्ता सर्वोच्च अदालत तथा पूर्व सांसद, स्नातक सिट
मैले कुबेर शर्माको बुवा राम प्रसाद उपाध्याय पोखरेललाई पनि राम्ररी चिन्दथे । उहाँ राजविराजमा बसेर नेपाली कांग्रेसको राजनीति गर्नुहुन्थ्यो । साथै उहाँ नर्घोको आजिवन नै प्रधानपञ्च भएर काम गर्नुभयो । कुबेर शर्मा नेपालको प्रथम चार्टर्ड एकाउन्टेन्ट हुनुभयो । स्थायी नोकरीका लागि कहिँ पनि प्रयास गर्नुभएन । त्यो समयमा म पनि चलन चल्तीकै वकिल थिएँ । म पनि दायाँ बायाँ नलागि वकालत मात्रै गर्दै आए । सुरुमा कुबेर शर्मा मेरो कार्यालय पुतलीसडकमा आएर भेट भएपछि अर्का बरिष्ठ अधिवक्ता कुसुम श्रेष्ठसँग पनि सम्बन्ध भयो । उहाँसँगको सल्लाहबाट हामीले मानव अधिकारबादी संस्थाको गठन गरियो । यसरी हामीहरु एम्नेष्टी इन्टरनेशनलको नेपाल च्याप्टरको गठन गर्न सफल भयौं । त्यसपछि उहाँले बहुदलीय व्यवस्था स्थापनाका लागि निर्मल पत्रिकाको प्रकाशन गर्नुभयो । त्यसको सम्पादक व्यवसायी अजय सुमार्गीका बाबु माधव राज सुमागीलाई बनाउनुभएको थियो । त्यो समयमा कुसुम श्रेष्ठले निर्मल पत्रिकामा पञ्चायत बिरोधी कडा चुनौति दिएर लेख लेख्नुभयो । कुबेर शर्मा आफ्नो अडानमा अड्न सक्ने एक जना तपसी हुनुहन्थ्यो । मन्त्री हुँदा उहाँले वीरगञ्ज चिनी कारखानालाई पुनः सञ्चालन गर्न खोज्नुभएको थियो । त्यसैले मलाई पनि बोलाउनुभयो । उहाँसँग मैले किसानमार्फत उखु उत्पादन गर्न सकिन्छ । तर, चिनी विक्री गर्न सक्तिन भनेर भने । नेपालमा धेरै योग्य र इमान्दार मानिसहरुलाई लाखा पाखा बनाइए । त्यो मध्येका एक कुबेर शर्मा पनि हुनुहुन्थ्यो ।



कुबेर दाईले गणेशमानजीलाई मर्सिडिज कार (ह्वाईट इलिफेन्ट) दिनुभयो ।

प्रकाशमान सिंह, पूर्व महामन्त्री, नेपाली कांगे्रस तथा सांसद काठमाडौं –१
मैले कुबेर शर्मालाई कुबेर दाई भन्थे । म खास गरी कुबेर दाईलाई श्रद्धाञ्जली र आदरणीय भाउजु र परिवारमा समवेदना प्रकट गर्दछु । मेरो पिताजी गणेशमान सिंह र माता मंगला देबी सिंहसँग कुबेर शर्माको पारिवारिक सम्बन्ध नै थियो । आस्थाकै कारण सम्बन्ध भएको म सानै उमेरको हुँदा देखि नै महसुस गरेको थिएँ । सर्वोच्च नेता गणेशमान सिंहको आव्हानमा वि.स. २०४६ सालको जनआन्दोलनका तयारीका क्रममा कुबेर शर्माजीे सक्रिय रुपमा लाग्नुभएको ताजै सम्झना छ । पञ्चायत कालमा गणेशमानजीलाई कसैले लिफ्ट दिएको अवस्थामा अराष्ट्रिय तत्वलाई समर्थन गरेको भन्दै कारबाही हुने गर्दथ्यो । तर, त्यही समयमा कुबेर शर्माले उहाँलाई मर्सिडिज कार दिनुभएको थियो । त्यसलाई गणेशमानजीले हासिक मज्जामा ह्वाईट इलिफेन्ट भन्नुहुन्थ्यो । किनकी त्यसले प्रशस्त इन्धन खपत गर्दथ्यो ।
आन्दोलनका क्रममा म काठमाडौं जिल्लाको सभापति थिएँ । २०४८ सालमा कुबेर शर्मा सप्तरीबाट संसदमा निर्वाचित भएर आउनुभयो । त्यसपछि उहाँ पार्टीलाई सुधार गर्नुपर्छ भनेर सक्रिय भएर लाग्नुभयो । नेपाली कांग्रेस जस्तो प्रजातन्त्रका लागि लडाई गरेको पार्टीभित्र पनि प्रजातान्त्रिक मूल्य र मान्यताहरु हुनुपर्दछ भन्नेमा अडिग भएको व्यक्तिका कारणले कुबेर दाईसँग पार्टीमा मेरो सम्बन्ध नजिक भएको थियो । उहाँले पछि पार्टी परित्याग गर्नुभयो । त्यसमा त नेपाली कांग्रेसमा संस्थापकहरुले समेत बिभिन्न कारणले पार्टी छाड्नु परेको थियो । तथापि हामीले के बुझ्नुपर्दछ भने संस्थाहरुको सुधार गर्नका लागि संस्थाभित्रै बसेर लडाई लडेर प्रजातान्त्रिक मूल्य र मान्यतामा हिडाउँने आँट सबैले गर्नुपर्दछ । किनकी अहिले पनि बुद्धिजीबीहरुको कुरा सुन्दा र समाचारहरु पढ्दा पृष्ठभूमि बिर्सेर सामान्य रुपमा आलोचना गर्नु आफ्नो ठाउँमा छ । दोस्रो संविधानबाट जारी संविधानका विषयमा अहिले धेरै जनाले टिप्पणी गर्दछन् र भन्छन् कस्तो खालको संविधान बनाएको हो ? शान्ति प्रक्रियाको थालनी पश्चात दोस्रो संविधानसभाबाट संविधान जारी भएपछि त्यसबेलाको परिस्थिति कति कठिन थियो ? प्रथम संविधानसभाबाट संविधान निर्माण गर्न नसकेपछि दोस्रो संविधानसभाको निर्वाचन पश्चात मात्रै संविधान जारी गरिएको कुरालाई कसैले पनि बिर्सनु हुँदैन । किनकी अहिलेको परिवर्तनमा केहि कमि कमजोरी अवस्य होलान् तर, संविधानकै कारणले होइन । विकृति र बिसंगतिहरु जुन देखापरेका छन् ।
प्रधानमन्त्री ओलीले आदर्शका ठूला ठूला कुराहरु गर्नुहुन्छ । प्रधानमन्त्री जस्तो जिम्मेदार व्यक्तिले गर्न नहुने काम गर्नुहुन्छ । गैर जिम्मेदार काम गर्नुहुन्छ । उहाँले उठाएको कदम अदालतले असंबैधानिक हो भनिसकेपछि टासिएर बस्नुभएको छ । अभ्यासका क्रममा उहाँले ख्याल गर्नुपर्छ । नेपालको राजनीतिमा सुधारका लागि नेपाली नेता र दलहरु नै मिल्नुपर्दछ ।
हाम्रो सन्त नेता कृष्ण प्रसाद भट्टराईको काठमाडौं क्षेत्र नम्बर १ को बानेश्वरमा निर्वाचनका क्रममा भएका घट्नाले पार्टीमा बिद्रोहको सुरुभयो । त्यहि क्रममा किसुनजीलाई अन्याय भयो भन्दै कुबेर दाई बिद्रोहमा लाग्नुभयो । त्यसपछि उहाँले अलग्गै पार्टी खोल्नुभयो । उहाँ प्रति हार्दिक श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना टक्राउँदछु ।



भावी पीढिका लागि लोकतान्त्रिक संस्कार र प्रणाली बचाउनु पर्छ भन्दै चिन्तित हुनुहन्थ्यो

उपेन्द्र यादव, जसपाका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री तथा सांसद, सप्तरी क्षेत्र नम्बर–१
नेपालको प्रजातान्त्रिक आन्दोलनमा लामो समय संघर्ष गर्नुभएका कुबेर शर्मा प्रति हार्दिक श्रद्धाञ्जली र परिवारप्रति समवेदना प्रकट गर्दछु । शर्माले नेपालको राजनीतिक, सामाजिक लगायतका क्षेत्रमा महत्वपूर्ण योगदान गर्नुभएको थियो । जहिले पनि प्रजातन्त्र र लोकतन्त्रको पक्षमा निरन्तर रुपमा जनताका अधिकारका लागि सदैव अघि बढेर नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो । अहिले उहाँ हामी बीच हुनुुहुन्न । निश्चित रुपमा हामीले एउटा लोकतन्त्रका सेनानी नेतृत्वकर्ता गुमाएका छौं ।
शर्मालाई सम्झिदा एउटा विचार, मूल्य, मान्यता र आदर्शमा रहँने व्यक्तित्वका रुपमा मैले सम्झेको छु । वास्तवमा अहिलेको नेपाली राजनीतिमा मूल्य, मान्यता, आदर्श, विचार र सिद्धान्त हराएर महत्वहिन भएको अवस्था छ । अहिले सम्पूर्ण मुलुक नै कता जाने भन्ने दिशाहिनता, अनिश्चितता र अन्यौलतामा छ । आज नेपालका सरकार प्रमुख भएको व्यक्तिबाटै असंवैधानिक कार्य भएको सर्वोच्च अदालतले ठहर गरिसकेको छ । यस्तो अवस्थामा राजनीतिक संस्कार, नैतिकता भएको व्यक्तिले जब सर्वोच्च अदालतले असंवैधानिक भयो भनेर ठहर गर्छ तब नैतिकताका आधारमा पदत्याग गरि आदर्श देखाउँनुपर्दथ्यो । तर, त्यो हुन सकेन । आज खास गरि विगतका संघर्ष, आन्दोलनहरुबाट जे उपलब्धिहरु प्राप्त भएका छन्, र संविधानमा जे जस्ता उपलब्धिहरु भएका छन, त्यो संघीय गणतान्त्रिक लोकतन्त्र नै धरापमा पर्ने र मुलुक नै पछाडि पार्ने प्रयास भइरहेको अवस्थामा लोकतान्त्रिक संस्कृतिलाई व्यवहारिक रुपमा मानविय प्रणालीमा रुपान्तरण गर्ने संस्थागत गरेर अगाडि बढ्नुपर्ने चुनौतिपूर्ण घडीमा हामीहरु छौं । यस घडीमा शर्मा जस्तो व्यक्तिको खाँचो छ । उहाँ बिमारी हुँदाखेरी केहि महिना अघि भेट्न गएको थिएँ । त्यो समयमा उहाँ एकदमै उर्जावान हुनुहुन्थ्यो । देश र लोकतन्त्रप्रति असाध्यै चिन्तित हुनुुहुन्थ्यो । बिमारी भए पनि उठेरै हिडिहाल्नुहुन्छ कि भन्ने उर्जा थियो । आज पनि लोकतन्त्रलाई संस्थागत गर्ने र बचाउँने काममा भावी पीढिका लागि लोकतान्त्रिक संस्कार र प्रणाली बचाउनु पर्ने कुरा महत्वपूर्ण छ । आजको युगमा नेपालको राजनीतिमा विकृतिपूर्ण संस्कारहरु हावी छन् यस्तो अवस्थामा कुबेर शर्माले धेरै कुराहरु छाडेर जानुभएको छ ।


राजनीतिमा लागेर कहिल्यै भजाउनुभएन

सुशीला कार्की, पूर्व प्रधानन्यायाधीश
पछिल्लो समयमा राजनीतिक परिदृश्यबाट यति दिक्क लागेको थियो । जसका कारण १५, २० दिन देखि नै समाचार हेरेकी थिइनँ । यसरी समाचार नहेर्दा कुबेर शर्माको निधन भएको सुन्नै पाइन । एकैचोटी उहाँका हितैषीको फोन आएर मात्रै थाह पाइयो । साथै उमेर अवस्थाका र कोरोनाका कारण घरबाट निस्कन पनि हाम्रै स्वास्थ्यको ख्याल गर्दै आएका सुपुत्रको स्वीकृति लिनुपर्ने हुँदा हामीले भेट गर्न पनि पाएनौं । मेरो श्रीमान् दुर्गा सुबेदीसँग कुबेर शर्माका नङ र मासुको जस्तो असाध्यै राम्रो सम्बन्ध थियो । हाम्रो बिराटनगरको झुप्रो घरमा उहाँ धेरै पटक पुग्नुभएको छ । सायद भाउजु समेत जानुभएको थियो । मेरो घरमा सानो ठाउँ थियो । कुर्चि ल्याउँ भन्दा पर्दैन भन्नुभयो । कालो कफी बनाएर ख्वाए । यसरी मेरा श्रीमान्सँग पहिले देखि नै निकै आउजाउँ हुन्थ्यो ।
एक पटक पार्लियामेन्ट हाउसको नजिक देखेर उहाँले एकापट्टि श्रीमान् र अर्र्कापट्टि श्रीमती भन्दै ठट्टा गर्दै जिस्काउनु भएको थियो । उहाँ निस्वार्थ रुपमा सामाजिक काम गर्नुपर्दछ भन्ने सोच भएको व्यक्ति हुनुहुन्थ्यो भन्ने मलाई थाह छ । त्यसका लागि म्याडमले पनि तराईमा गएर धेरै काम गर्नुभएको मलाई जानकारी छ । तराईमा जाँदा पनि मिजासिलो व्यवहार गरी त्यहाँका सर्वसाधारण नागरिकसँग सहज घुलमिल भएर हिड्नुहुन्थ्यो । नेपालमा राम्रो मानिसको कुनै गणना हुँदैन र ठाउँ पनि पाउँदैनन् । कुबेरजी राजनीतिमा लागेर व्यक्तिगत फाइदाका लागि कहिल्यै भजाउनुभएन, बरु आफै भजिनुभयो । उहाँ एक ओजस्वी हुनुहुन्थ्यो । पेसामा पनि उहाँको त्यत्तिकै दखल थियो । तर, सबैभन्दा दुःखको कुरा के भने मित्रता भए पनि कोरोनाका कारण भेट्न सकेनौं । त्यसैले एकजना राम्रो राजनीतिज्ञ, असल व्यक्तित्वको देहावसान भयो । उहाँका धेरै लेख र कृतिहरु छन् । उहाँको आदर्शलाई हामी सबैले पछ्यानुपर्दछ ।


लोकतान्त्रिक आन्दोलनमा पनि लामो संलग्नता
दमन नाथ ढुंगाना, पूर्व सभामुख, प्रतिनिधिसभा
नेपालको पहिलो चार्टर्ड एकाउन्टेन्टका हैसियतमा ठूलो प्रतिष्ठा आर्जन गर्नुभएका कुबेर शर्माको हाम्रो लोकतान्त्रिक आन्दोलनमा पनि लामो संलग्नता र उल्लेख्य योगदान रहेको छ । जुन चिरस्मरणीय रहँने छ । बि.स. २०३० सालतिर एम्नेष्टी इन्टरनेशनलको स्थापना कालदेखि बुक क्लब सञ्चालन वा २०४८ सालको संसदमा सदस्य र सभामुखका हैसियतमा सहकार्य गर्दा उहाँको फरासिलो स्वाभाव, सदा सक्रियता, संसदीय प्रक्रिया प्रतिको समझदारी, तथा बौद्धिक तृष्णता समेतले गर्दा म असाध्यै प्रभावित भएको हुँ । चीरकालिन मित्र गुमाउँदा रिक्तताका साथै व्यक्तिगत रुपमा पनि ठूलो क्षति महसुस गरेको छु । सम्पूर्ण परिवारमा हार्दिक समवेदना ।

कुबेर शर्मा, दिपक ज्ञावली र डाक्टर उपेन्द्र देवकोटाको प्रभावकै कारण राजा ज्ञानेन्द्रले सहजरुपमा सत्ता छाडे
बिनोद भट्टराई,
महासचिव, कृष्ण प्रसाद भट्टराई प्रतिष्ठान
कुबेर शर्मासँग कृष्ण प्रसाद भट्टराई र गोपाल प्रसाद भट्टराईसँग केहि टाढाको नाता पनि पर्दथ्यो । उहाँको दिदी कालिका देबी भट्टराईको विवाह सप्तरीको नर्घो गाउँका पोखरेल परिवारमा भएको थियो । यसरी कृष्ण प्रसाद भट्टराईसँग उहाँको पारिवारिक सम्बन्ध पनि रहेको पाईन्छ ।
२०४८ सालमा कुबेर शर्माले सप्तरीको क्षेत्र नम्बर ४बाट प्रतिनिधि सभामा विजयी हुनुभएको थियो । तर, कुनैपनि विजयका लागि नजिकका महिलाको पनि अत्यन्तै आवश्यक्ता पर्दथ्यो । हामीहरु तराईका केहि जिल्ला र क्षेत्रमा अनुगमन गर्ने जिम्मा लिएर गएका थियौं । यसरी सप्तरीको क्षेत्र नम्बर ४ मा हामी पुग्दा कुबेर शर्मालाई धेरै कमले मात्रै चिन्दथे । तर, भाउजु कमलालाई भने सबैले चिन्थे । कमला शर्मा जीप किन्न पट्ना गएर आफै हाकेर ल्याउनुभयो । ‘अरे औरत हो के गाडी चलाती है’ भन्दै महिलाहरु पछाडि परेका मधेशका गाउँ गाउँमा भाउजुको ब्यापक चर्चा हुन था
ल्यो । एउटा महिलाले आफ्ना पतिलाई निर्वाचनमा जिताउन गाडी हाकेर प्रचारमा खटिएको देख्दा चौतर्फी छक्क परेका थिए ।
२०४८ साल पछि नेपाली कांग्रेसमा छत्तिसे र चौहत्तर गरी दुई गुटका रुपमा विभाजित थियो । त्यसमा उहाँ छत्तिसेमा सामेल हुनुभयो । त्यो समयमा उहाँसँग लामो छलफल भयो । उहाँको माक्र्सवादसँग अलिक सशदृश्यता रहेछ । त्यसैले उहाँले कुनै घट्ना घट्दा लजिकल्ली तीन चारवटा कुरा जान्छ है विनोदजी भन्नुहुन्थ्यो । जुन कुरा तथ्यमा आधारित भएकाले मैले स्वीकार गर्दर्थे । तथ्यले डिराइभ गर्छ , सत्यले भाष्यतिर डिराइभ गर्छ । भाष्य पछि सिद्धान्त त्यसपछि नीति, कार्यनीति र रणनीतिहरु आउँदछ । त्यसकारण तथ्य अलिक परिवर्तन भइरहन्छ । सामाजिक र जनसांख्यिक तथ्यहरु बारम्बार परिवर्तन भइरहन्छ । त्यसपछि माथिल्लो लेयर परिवर्तन हुन्छ भन्ने विषयमा कुबेर दाईसँग कुरा मिल्ने गर्दथ्यो । कुनै पनि कुराको विश्लेषण गर्दा सम्पूर्णतामा हेर्न चाहने गुण उहाँमा प्रचुर थियो । त्यसकारण उहाँलाई मैले छत्तिसेमा किन लाग्नु भयो भन्दा उहाँ भन्नुहुन्थ्यो ‘परिदृश्य परिवर्तन भइसक्यो, तथ्य परिवर्तन भइसकेको छ । यसलाई पार्टीमा सबैले सुन्न सकिने बनाऔं’ भन्ने उहाँको धारणा थियो ।’ त्यसपछि उहाँ विश्रखंलित हुनुभयो । पछि पार्टी नै छाड्नुभयो ।
राजा ज्ञानेन्द्रले सत्ता छाड्दा बढो सजिलै पत्रकार सम्मेलन गरी छाडे । त्यसपछि मैले कुबेर दाईसँग छलफलका लागि समय लिए । उहाँले भन्नुभयो ‘राजा ज्ञानेन्द्रका क्याबिनेटमा तीनवटा व्यक्तिहरु उग्रपंथी र सुधारबादीहरु पनि थिए । खास गरी कुबेर शर्मा, दिपक ज्ञावली र डाक्टर उपेन्द्र देवकोटाको प्रभावकै कारण उनले सजिलै कुनै प्रतिरोध बिनै सत्ता छाडेका हुन्’ । यदि तत्कालिन राजा ज्ञानेन्द्रले प्रतिरोध गरेको भए के हुन्थ्यो ? यसरी वस्तुनिस्ट तरिकाले विश्लेषण गर्ने र अरुलाई बुझाउने सक्ने खुबी कुबेर दाईमा थियो र त्यहि प्रभाव परेको हो भन्ने मैले अनुभव गरे ।
किसुनजी प्रत्येक शनिवार दाईको घर वानेश्वरमा आउनुहुन्थ्यो । उहाँ आउनु अघि लक्ष्मी दिदीको पसलमा चिया पिउने र कार्यकर्ता भेटघाटमा लाग्नुहुन्थ्यो । त्यसपछि ६०÷७० जनाको लस्कर लिएर कुबेर दाईको घरमा जानुहुन्थ्यो । कुबेर दाईले उहाँ आएपछि जेरी र स्वारी ल्याएर ख्वाउनुहुन्थ्यो । यसरी किसुनजीसँग उहाँको अत्यन्तै निकट सम्बन्ध थियो ।


कुबेर निस्कलंक र राष्ट्रप्रेमी चरित्र भएको व्यक्तित्व हुनुहुन्थ्यो
डिल्लीराज पोखरेल, सहअध्यक्ष पोखरेल राष्ट्रिय प्रतिष्ठान
वि.स. २०१३ सालमा कुबेर शर्मा पोखरेलले दरभंगाबाट आइकम पास गरेर त्रि चन्द्र कलेजमा बिकममा भर्ना हुनुभयो । म भने २०१६ सालमा आइकम अध्ययन गर्नका लागि भर्ना भएको थिए । त्यो समयमा कोलम्बो प्लान अन्तर्गत मुम्बईमा पढ्नका लागि दुई वटा सरकारी सिट थिए । देशमा नेपाली कांग्रेसको सरकार थियो । एकाउन्टेन्सी पढाउनका लागि सिट चाहियो भनेर मागेको सिटमा कुबेर शर्मा जानुभयो । म पनि उक्त समयमा छात्र संघको सदस्य थिएँ । उहाँलाई हामीले नै चार्टर्ड एकाउन्टेन्सी पढ्नका लागि कलेजबाट विदाइ गरेका थियौं । तर, अहिले भने यो दुःखका साथ उहाँको श्रद्धाञ्जलीका लागि भेला भएका छौं । यो समयमा म अत्यन्तै भावुक भएको छु । हरियाली पार्टीको स्थापना गरेर देश विकासमा कसरी योगदान गर्न सकिन्छ भनेर उहाँ बारम्बार लागिरहँनुुहुन्थ्यो । राजा ज्ञानेन्द्रका शासनकालमा पनि केहि काम गर्न सकिन्छ कि भनेर मन्त्री बन्नुभएको हो । यसरी उहाँले जत्ति काम गर्नुभयो प्रजातन्त्र र लोकतन्त्रका लागि गर्नुभएको थियो ।
क्रान्तिमा टेवा पु¥याउनकै लागि उहाँले विशेश्वर कोइरालालाई वाराणसीमा पुगेर भेट्नुभयो । यसरी उहाँले देश र जनताका लागि अविश्मरणीय कामहरु गर्नुभएको छ । उहाँ हामी पोखरेलहरु मध्येका नेपाल आमाका एक असल सुपुत्र हुनुहन्थ्यो । हुनत बिर्तावला राम प्रसाद उपाध्याय पोखरेलका जेष्ठ सुपुत्र र पहिलो चार्टर्ड एकाउन्टेन्ट हुनुका साथै पर्यटनमन्त्री समेत बन्नुभयो । यसरी समाज, राष्ट्र र प्रजातन्त्रका लागि पोखरेलले पु¥याउनुभएको योगदान अनुकरणीय र अविश्मरणीय छ । राजनीतिक मूल्य मान्यतामा अडिग रहेर मानव अधिकार संगठन र अन्य बिभिन्न सामाजिक संघ संगठनहरुमा उहाँले पु¥याउनु भएको योगदानको वर्णन गरी साध्य नै छैन । निस्कलंक र राष्ट्रप्रेमी चरित्र भएका पोखरेलको २०७७ साल फागुन १४ गते निधन भएको हो । यसमा हामी असाध्यै मर्माहित भएका छौं ।


सुरु देखि अन्तसम्म व्यवसाय प्रतिको निष्ठा र आफ्नो कर्मप्रतिको कर्तव्यपरार्णयतामा र खरो
मदन शर्मा,
अध्यक्ष, नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था
कुबेर शर्मा नामै यस्तो हो कि नेपालको लेखा व्यवसाय र पछि राजनीतिसँग जोडियो । यस्तो श्रद्धेय र सबैले सह्राना गर्नु नाम नै कुबेर शर्मा बन्न पुग्यो । उहाँको व्यक्तिगत जीवन देखि लिएर अहिले नेपाली ल्खा व्यवसायलाई आधुनिकिकरण गर्न र सम्पूर्ण लेखा व्यवसायलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको शिक्षा प्राप्त गर्ने अगुवा व्यक्तिका रुपमा हामी सबै नेपालीलाई त्यस मागृमा जान अभिप्रेरित गर्नुका साथै मार्गदर्शन पनि गर्नुभयो । उहाँको जीवन हाम्रा लागि योगदान र लगानी हो । त्यसैकारणले नेपालको लेखा व्यवसाय अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको छ । यहाँ राख्ने हिसाव किताव र बित्तिय विवरणहरु जुन प्रकारले गरिन्छ, त्यसका निमित्त हामीले कुबेर शर्मालाई जहिले पनि सम्झिरहँने छौं । कहिल्यै पनि बिर्सन सक्तैनौ । कुबेर शर्मा यस्ता व्यक्तित्व हुनुुहुन्थ्यो, जुन समयमा चार्टर्ड एकाउन्टेन्सी भनेर धेरै जनालाई त उच्चाहरण गर्न समेत अप्ठयारो पर्दथ्यो । यो शिक्षामा लागेर सफलतापूर्वक अध्ययन सिध्याइसकेपछि देशमा आएर उहाँले सुरु देखि अन्तसम्म पनि व्यवसाय प्रतिको निष्ठा र आफ्नो कर्मप्रतिको कर्तव्यपरार्णयतामा र खरोपन देखाउनुभयो । जुन हामी सबैका लागि मार्गदर्शन पनि हो । उहाँले देखाउनुभएको बाटो बिशेष गरी हाम्रो लेखा व्यवसाय सबैको मान्यता सिर्जना गर्नका लागि जुन प्रकारको योगदान गर्नुभयो त्यसप्रति आभार व्यक्त गर्दै श्रदेय कुबेर शर्मा प्रति श्रद्धाञ्जली अर्पण गर्दछु ।
मैले १९८६ मा चार्टर्ड एकाउन्टेन्ट पास गरेर आएको थिए । तर, म भन्दा धेरै वर्ष अघि १९६६ मा नै उहाँले पास गरेर आउनुभएको थियो । तर, म बिकम पढ्दा कुबेर एण्ड कम्पनीको नामको साइन बोर्ड देख्दा मन नै फुलेर आउथ्यो । यो शिक्षा कसरी हासिल गर्ने आफ्नै नामबाट कसरी कम्पनी राख्ने ? त्यो प्रेरणा हामी चार्टर्ड एकाउन्टेन्टहरु देशको विकासमा योगदान पु¥याउन सकिरहेका छौं । राजनीतिक र सामाजिक क्षेत्रमा पनि कुबेर शर्माले कहिल्यै निष्ठा गुमाउनुभएन । किनकी देश विकासमा निष्ठा र इमान्दारीता आवश्यकता छ । बरु बिद्रोह गर्नुभयो, तर निष्ठालाई तल पार्नुभएन । यो हाम्रा लागि ठूलो प्रेरणाको स्रोत हो । उहाँ नरहे पनि व्यवसायलाई उच्च स्थानमा राख्न गर्नुभएको योगदान र देखाउनुभएको मार्गचित्रमा सबै जना लाग्नुपर्दछ । यो संस्था स्थापनाको समय देखि नै उहाँके योगदान अमूल्य छ ।


कोर भ्यालु’ र ‘इन्टिग्रेटी’ बुझेको मानिसले राजनीति गरेको खण्डमा मात्रै देश र जनताले लाभ प्राप्त गर्न सक्छन् भन्ने उहाँको अडान थियो
आनन्द प्रसाद शर्मा वाग्ले
,अध्यक्ष, नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघ (एक्यान)
आजभन्दा ५० वर्ष अगाडि नेपालमा चार्टर्ड एकाउन्टेन्ट भन्ने शव्दलाई चिनाउनका लागि पहिलो व्यक्ति नै कुबेर शर्मा हुनुहुन्थ्यो । हामी पहिलो चार्टर्ड एकाउन्टेन्टको छत्रछायाँमा रहेर धेरै कुराहरु सिक्ने मौका प्राप्त ग¥यौं । हाम्रो चार्टर्ड एकाउन्टेन्ट संघको ४१ वर्ष अगाडि संस्थापक रुपमा कुबेर शर्मा हुनुुहन्थ्यो । उहाँ लगायत १५ जना चार्टर्ड एकाउन्टेन्टले खोलेको संघबाट नियामक निकाय पनि बनेको छ । त्यसमार्फत लाइसेन्स लिएर हामी लेखा व्यवसायीहरु समाजमा चार्टर्ड एकाउन्टेन्ट भनेर शिर उठाएर काम गर्ने मौका प्राप्त गरेका छौं । हामी संघको प्रतिनिधित्व गर्दै श्रद्धाञ्जली अर्पण गर्न पाएका छौं ।
मैले उहाँसँग भेट्दा केहि महत्वपूर्ण कुराहरु सिक्ने मौका पाएको थिएँ । “प्रोफेशनल भ्यालु (व्यवसायिक मूल्य) र इन्टिग्रेटी निष्ठा) मा विश्वास गर्ने चार्टर्ड एकाउन्टेन्टहरु हिसाव कितावमा मात्रै अड्किनु हँदैन । देशलाई पनि योगदान पु¥याउनुपर्दछ । ‘कोर भ्यालु’ र ‘इन्टिग्रेटी’ बुझेको मानिसले राजनीति गरेको खण्डमा मात्रै देश र जनताले ठूलो लाभ प्राप्त गर्न सक्छन् । हामीले आफ्ना क्षमतालाई कुण्ठित गर्नुहुँदैन । लिभिङ रोलमा काम गर्नुपर्दछ । जहाँ जहाँ चार्टर्ड एकाउन्टेन्टहरुले नेतृत्व गरेका हुन्छन् , त्यहाँ त्यहाँ विकास हुँदै जान्छ भन्ने गर्नुहुन्थ्यो । ति कुराहरुको हामीले प्रेरणाका रुपमा लिने गरेका छौं । १५ दिनको फरकमा कुबेर प्रसाद शर्मा, गोपाल प्रसाद राजबहाक र सुन्दर मान श्रेष्ठसहित तीन जना संस्थापक सदस्यहरुको निधन भएको छ । उहाँहरुले गर्न खोज्नुभएको कतिपय बाँकी कामहरु हामीले नै पुरा गर्नेछौं । अहिले भौतिक रुपमा उहाँहरु हामी सामु नभए पनि चीरकालसम्म उहाँहरुको निष्ठा र कर्म अमर रहँनेछन् ।”


शर्मा साल्ट ट्रेडिङका अभिभावक र पथप्रदर्शक
उर्मिला श्रेष्ठ
, प्रमुख कार्यकारी अधिकृत, साल्ट टे«डिङ कर्पोरेशन लिमिटेड
हामी कुबेर प्रसाद शर्माको निधनको खबरले अत्यन्तै मर्माहत भएका छौं । ब्यक्तिगत हिसावमा मैले उहाँलाई कहिले देखि चिनेको हुँ भन्ने मलाई नै थाह छैन । मेरो बुवा ईश्वरलाल श्रेष्ठ र मेरो माहिलो मुवा सुशिला श्रेष्ठ सिलु सिंहसँग उहाँहरुको प्राय भेट हुने गर्दथ्यो । हाम्रो घरमा सबै जनाले साइन्स पढ्ने सुरमा थियौं । तर, कुबेर शर्माले भन्नुभयो “तिम्रो नेचरले साइन्स होइन मेनेजमेन्ट तिर जाउँ र व्यवस्थापनमा काम गर” । त्यसैकारण म पनि व्यवस्थापनकै क्षेत्रमा लागेँ ।
बीच बीचमा साल्ट ट्रेडिङ कपोरेशनका विषयमा नकरात्मक समाचारहरु आउँदा पनि उहाँ खम्बा जस्तै उभिनु भयो । कतिपय समयमा व्यवस्थापनका अनेकौं समस्या पर्दा पनि उहाँ अडिटर भएका कारण हामीलाई सहज हुन गयो । उहाँ हाम्रा अभिभावक र पथप्रदर्शकका रुपमा सधै रहिँरहँनुभयो । अझ एक जना मेन्टर नै हुनुहुन्थ्यो । उहाँको निधनले हाम्रो संस्था साल्ट ट्रडिङ कर्पोरेशनमा भएको शुन्यतालाई पुरा गर्न हामीलाई निकै कठिन छ ।


रत्नराज्य स्कूलको आजको अवस्थामा ल्याउनेमा कुबेर शर्माकै योगदान होे

डा. गीता खरेल सिवाकोटी, पूर्व प्रधानाध्यापक, रत्नराज्य स्कूल
उहाँको निधनबाट हामी अत्यन्तै दुःखिद र भावुक भएका छौं । गीतामा भनिएको छ “लुगा जसरी पुराना फालेर नयाँ लिन्छ फेर, त्यसरी नै बुढा देह त्यागेर नयाँ लिन्छ शरीर” । वास्तवमा हाम्रो शरीर मात्रै गएको हो भौतिक रुपमा । उहाँले गरेका सत्कार्यहरु यहाँ नै छन् । उहाँ कहिल्यै मर्नुुहँदैन । समाजमा दुई खालका मानिसहरु हुन्छन् । एक खालका प्रत्येक पाइलामा मरिरहेका हुन्छन् । जसले राम्रो काम गर्छ उनीहरु मरेर पनि बाँचिरहेका हुन्छन् । त्यसरी सधै बाँचिरहँने मध्येका एक कुबेर शर्मा हुनुहुन्छ । उहाँले हिडेको बाटोमा हिड्नुपर्दछ भन्ने अहिले धेरै जना छन् । धेरैको मनमस्तिष्क र धडकनमा उहाँ बस्नुभएको छ ।
कुबेर शर्मा साच्चिकै कुबेर नै हो भन्ने कुरा जिबित हुँदा नै मैले सुनेको थिएँ । मैले उहाँको नाम विद्यार्थी जीवन देखि नै सुनेको हुँ । जनमत संग्रहको समयमा बहुदलको पक्षमा सक्रिय भएर बहुदलीय पक्षधर नेताहरुलाई सहयोग गरेको कुराको चर्चा सुनिन्थ्यो । म दोलखाबाट आइए पढ्नका लागि काठमाडौंमा आएपछि २०३७ सालमा निर्दल कता, बहुदल कर्ता ? भन्ने पुस्तक पढ्न पाएको थिएँ । पुस्तकका लेखक कुबेर शर्मा नै हुुनुहुन्थ्यो । त्यो समयमा उहाँसँग साक्षात्कार हुन्छ भन्ने कुराको कल्पना समेत गरेको थिइँन । तर, संयोग नै हो, मैले आफ्ना अभिभावकले स्थापना गरेको दोलखाको स्कूलमा स्वयंसेवी शिक्षकको रुपमा सेवा गर्दा गर्दै त्यहि पेसा अगाल्न पुँगे । त्यहि क्रममा विवाह पश्चात काठमाडौंमा सरुवा हुने प्रयास गर्दा रत्नराज्य स्कूलका व्यवस्थापन समितिका अध्यक्ष कुबेर प्रसाद शर्मा नै हुनुुहुँदो रहेछ । सुरुमा अगाडि देख्दा डर लागे जस्तो अनुभूत भयो । महान व्यक्तिहरुको सामुन्ने बसेको जो सुकै व्यक्ति पनि क्षणभरमै लगुताभासबाट सजिलै मुक्त हुादो रहेछ । रत्न राज्य माविमा मैले झण्डै ३८ वर्ष सेवा गरेँ । उहाँ म प्रधानाध्यापक हुने बित्तिकै एउटा सभा गरियो । त्यो समयसम्म रत्न राज्य विद्यालय आफ्नो नाममा उभिन सकेको थिएन । मैले विद्यालयको लागि जग्गा किन्ने प्रस्ताव राखेँ । उहाँले तत्कालै एक लाख चन्दा दिने घोषणा गर्नुभयो । म जीवनमा कहिल्यै त्यति खुशी भएकी थिइँन । त्यसको १५ दिनभित्रै हामीले एक करोड रुपैया सहयोग जुटाउन सफल भयौं । उहाँले सुरुवात नगरेको भए अहिलेसम्म पनि रत्नराज्य स्कूल यो अवस्थामा उभिन सक्ने थिएन । रत्नराज्य स्कूलको आजको अवस्थामा ल्याउनेमा कुबेर शर्मा नै हुनुुहुन्थ्यो । यसरी उहाँले रत्न राज्य स्कूलमा मात्रै होइन, उहाँको पिताजीको सक्रियतामा सप्तरीको नर्घोमासमेत आजभन्दा ७४ वर्ष अघि नै स्थापित प्राथमिक विद्यालय अहिले उच्च माविमा परिणत भइसकेको छ । यसै गरी चार्टर्ड एकाउन्टेन्सी पढ्ने दुई जना विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था गराउँदै आउनुभएको छ । यसबाट उहाँको शिक्षा क्षेत्रमा भएको परिचायक पनि भन्न सकिन्छ । यसरी उहाँ राजनीतिक, अर्थ विश्लेषक, लेखक, समाजसेबी, पत्रकारलगायत बहुआयामिक हुनुुहन्थ्यो । यसरी उहाँको जीवनका चिन्तन नेपाली समाजको वृहत लोकतान्त्रिक समाजमा रुपान्तरणमा थियो । यसरी उहाँका जीवनका पाटाहरु नेपाली समाजको परिवर्तनका पाटाहरुमा लक्षित थिए । मानिसहरु सगर्व रुपमा समाजसेवा र राजनीतिलाई पेशा हो भन्ने गर्छन् । राजनीति पनि पेशा हुन सक्छ र ? जसको जिविकोपार्जनका लागि कुनै सीप छैन, उनीहरु राजनीति मार्फत छोटो समयमै अर्बपति भएको वर्तमान परिवेशमा कुबेर शर्मा मात्रै त्यस्तो व्यक्ति हुनुुहुन्थ्यो राजनीतिक जीवनलाई पनि निरन्तरता दिनुभयो । आफ्नो लगानीमा राजनीति गर्नुभयो । राजनीतिबाट पाउनका लागि होइन, दिनकै लागि काम गर्नुभयो । उहाँको निधनले त्यो क्षति हाम्रो समाजले व्येहोरिरहेको छ ।


सत्कर्म गर्नेहरु जीवनमा सुखि र सम्मानित हुन्छन्
मधुसुदन लामिछाने,उपप्रध्यापक वानेश्वर क्याम्पस
रत्न राज्य माध्यामिक विद्यालयको सभाकक्षमा मैले कुबेर शर्मालाई पहिलो पटक देखेँको हुँ । प्रशन्न मुद्रा, त्याग र समर्पणको भावनाले मलाई भित्रभित्रै उर्वरा शक्ति उत्पन्न भएको अनुभव गरेँ । करोडौं रुपैयाको सम्पत्ति हुनेहरु सय रुपैया दान दिनुपरेमा हजारौ नशा काटेको जस्तो हुने यो समाजमा कुबेर शर्माले रत्न राज्यका लागि त्यो समयमा एक लाख रुपैया सहजै चन्दा दिनु हाम्रा लागि एक करोड भन्दा बढि थियो । मैले उहाँलाई शिक्षाप्रेमी व्यक्तित्वका रुपमा चिन्दछु ।
पूर्विय दर्शनमा हेर्दा कुबेर रावणका बिमात्रि दाजु हुन् । रावणको दरबारमा जसरी कुबेर नअटाएर टाढा गएर बस्नु परेको थियो, त्यसै गरी नेपाली कांग्रेसमा पनि यस्ता अत्यन्तै निष्ठा र समर्पण गर्ने व्यक्तित्व अटाउन सकेनन् । सत्कर्मीहरुको मरणमा कहिल्यै पनि दुःख पाउँदैनन् । उहाँ पनि अन्तिम अवस्थामा उडेको जस्तो गरी जीवन त्याग गर्नुभयो । यसरी उहाँ बैकुण्ठमै पुग्नुभएको छ । यसरी सत्कर्म गर्नेहरु जीवनमा सुखि र सम्मानित हुन्छन् । साथै अन्तिम अवस्थामा पनि मृत्यु सहज हुन्छ । र सधैभर बाँचिरहन्छन् । कुबेर शर्मा हाम्रो समाजमा सधै नै बाचिरहँनुहुनेछ ।


शर्माले राष्ट्र र समाजका लागि ठूलो योगदान पु¥याउनुभएको छ
Sr. Mariette,Principal
, सेन्ट मेरिज स्कूल, जावलाखेल
भगवत गीतामा मृत्यु र जीवनको बारेमा धेरै कुरा उल्लेख गरिएको छ । मानिस जन्मदा नै मृत्युको लागि निश्चित हुन्छ । सेन्टमेरी माध्यमिक विद्यालयको स्कूल व्यवस्थापन र प्रशासनको तर्फबाट, म कुबेर शर्माको परिवारका सबै सदस्यहरू र सहयोगीहरूप्रति भावपूर्ण शोक व्यक्त गर्दछु । महान वैज्ञानिक अल्बर्ट आइनस्टाइनले भनेका थिए “मानिसको मूल्य उसले कति लियो भन्ने कुराले अर्थ राख्दैन कति दियो भन्ने कुरामा भर पर्दछ” । कुबेर शर्माले राष्ट्र र समाजका लागि ठूलो योगदान पु¥याउनुभएको छ । शर्माले सन् १९७१ देखि सेन्ट मेरीज स्कूलमा अडिट गर्दै आउनुभएको हो । । आधा शताब्दी देखि नै उहाँको ज्ञान र सीपको प्रयोगबाट स्कूलको लेखा प्रणाली अहिले पनि अहिले पनि दुरुस्त छ ।


बौद्धिक हिसावले कुबेर बाबु जस्तो व्यक्तित्व सायदै नेपालमा भेटेको छैन
प्रा.डा. सुरेन्द्र केसी,
राजनीतिक विश्लेषक
बि.स. २०५३ साल पछि कुबेर बाबुले नेपाली कांग्रेससँग मतभेद राख्दै हरियाली नेपाल पार्टीको स्थापना गर्नुभयो । मेरो बासस्थान पनि नजिकै भएकाले त्यहि बाटोबाट हिड्ने गर्दर्थे । त्यो पार्टीसँग जोडिएका बद्रि प्रसाद खतिवडा र संस्थापक महासचिव चेतेन्द्र जंग हिमाली हुनुुहुन्थ्यो । उहाँहरु दुई जनालाई भेटेन नियमित जस्तै म पनि जाने गरेको थिएँ । त्यहि क्रममा मेरो कुबेर बाबुसँग सम्बन्ध भएको हो । त्यसपछि मेरो सम्बन्ध बद्रि खतिवडा र चेतेन्द्र जंग हिमालीसँग भन्दा पनि कुबेर बाबुसँग बाक्लिँदै गयो । उहाँ राजनीतिक प्राणी भएकाले राजनीतिज्ञहरुको बीचमा रम्ने मानिस सानो समूहमा आइपुग्नुभयो । सायदै त्यसमा उहाँ साह्रै प्रशन्न हुनुुहुन्नथ्यो । बौद्धिक हिसावले कुबेर बाबु जस्तो व्यक्तित्व सायदै नेपालमा भेटेको छैन जस्तो लाग्छ । बौद्धिक वर्ग प्रति अन्याय हुन जाला । त्यसैले उहाँ उत्कृष्ट बौद्धिक हुनुहुन्थ्यो । किनभने ठूलो समूहमा लागेको व्यक्ति सानो समूहमा आउँदा छटपटि हुन्छ । जुन अनुभव म आफैमा पनि छ ।
हामीले जुन राजनीतिक प्रणाली अवलम्बन ग¥यौं । त्यसले हामीलाई संकीणतातर्फ धकेल्यो । कुबेर बाबु मन्त्री भएपछि हाम्रो आवगनम अवरुद्ध नै भयो । किनकी नेपालमा पावरको अर्के किल्ला र कित्ता हुन्छ । मन्त्रीपदबाट बहिर्गमन पछि उहाँमा झनै सुन्यता भयो । म उहाँको निवासमा पनि जान थाले । कुबेर बाबुले मलाई प्रोफेसर साव गाडी लिएर आउँदैछु कफि खान जाउँ भनेर फोन गर्नुहुन्थ्यो । हामीहरु दरबारमार्गको केएफसी क्याफेमा लामो समय बस्थ्यौं । एक दिन उहाँले कोल्ड कफि खाउँ भन्नुभयो । वास्तवमा त्यो समयसम्म मैले कोल्ड कफि नै खाएको थिइँन । त्यो त मलाई सपना जस्तै लाग्थ्यो । कफि खानु परेमा म कुबेर बाबुको घरमा जान्थे । उहाँ कहाँ कोभिडको लकडाउन पछि घरमा जाँदा मलाई पनि चिन्नुभएन । मलाई एकदमै भाउन्न भए । लियो तोल्सतोयको जीवन कथा पल्टाएर एक पटक फेरी पढेँ । उनले भनेका छन् मानिसको जीवनको ठूलो नियति भनेको उसलाई कहिले मर्छु भन्ने नै थाह हुँदैन । सबै भन्दा ठूलो विषमता नै यहि हो । संसारकै धनी लेखक थिए रुसका लियो तोल्सतोय उनका तीन हजार जना कामदार थिए । त्यो पनि सेवकहरु मात्रै । जुन राजपरिवारमा समेत हुदैन । असी वर्षको उमेरमा पारिवारिक द्वन्द चर्केर उनले घर नै छाडे । एक जना छोरी भने साथै गइन् । रेलमा हिड्दा हिड्दै बिरामी परेर एक हप्तामा दिवंगत हुनुभयो । मृत्यु त्यो चिज हो । उहाँ दिवंगत हुनुभएको भन्ने कुरा मैले झापाको दमकमा सुने । जुन माया मलाई उहाँले दिनुभयो । त्यसमा म्याडम प्रति गहिरो समवेदना छ । मनिषा कोइरालाले भरखरै भन्नुभएको छ, ‘पुरुषको माया मेरो भाग्यमा छैन ’ । हामी संसार भरिका पुरुषहरु महिलालाई माया गछौं, पुरुषत्वको माया मात्र माया होइन । आफन्तको मात्रै सहानुभूति हुँदैन । रजनिसले त भन्छन् मृत्यु पनि एक प्रकारको उल्लास हो । यसलाई हामीले पीडाका रुपमा भन्दा पनि नियतिका रुपमा स्वीकार गरौं ।


राजनीतिक कारणले २५ वर्षसम्म संस्था दर्ता गर्न सकिएन
टिआर उपाध्याय
, वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट (कुबेर शर्माका भाइ)
कुबेर शर्मा नेपाल चार्टर्ड एकाउन्टेन्ट संघको संस्थापक अध्यक्ष हो । त्यो समयमा उहाँ र डाकुर नाथ शर्मालाई राजनीतिक कारणले सरकारले लक्षित गरेको रहेछ । त्यहि कारणले २५ वर्षसम्म संस्था दर्ता गर्न सकिएन । कोठाभित्र छलेर बैठक गर्नुपर्दथ्यो । पछि दर्ता पनि गरियो । हामी सबैले गरेको प्राथना र कामना दिवगंत आत्मले स्वर्गमा बास हुन्छ भन्ने ठान्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.