January 23, 2025

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

विषम परिस्थितिमा महासंघको नेतृत्वमा व्यवसायिक मानिसहरुको प्रतिनिधित्व हुन जरुरी छ

रामशरण थपलिया, एशोसिएट तर्फबाट कार्यसमिति सदस्य पदका उम्मेदवार, चन्द्र ढकाल समूह


नेपाल उद्योग वाणिज्य महासंघको ५४औ साधारण सभा तथा कार्यसमतिको निर्वाचन यहि मंसिर १३ देखि १५ गतेसम्म काठमाडौंमा हुँदैछ । चन्द्र ढकाल समूहको तर्फबाट महासंघको एशोसिएट सदस्य पदमा व्यवसायी राम शरण थपलियाले उम्मेदवारी दिनुभएको छ । यसै विषयमा डायरी एक्सप्रेस साप्ताहिकका कार्यकारी सम्पादक नारायण प्रसाद शर्माले आसन्न निर्वाचन सम्बन्धमा थपलियासँग गरिएको विशेष कुराकानीः

० तपाई नेपाल उद्योग वाणिज्य महासंघको यहि मंसिर ११ देखि १३ सम्म हुन गइरहेको साधारणसभा तथा निर्वाचनमा एशोसियट तर्फबाट कार्यसमितिको सदस्य पदमा उम्मेदवारी दिनुभएको छ । तपाईको समूहका एजेण्डाहरु के के छन् ?


अहिले नेपाल उद्योग बाणिज्य महासंघको सबै भन्दा ठूलो चुनौति भनेको व्यवसायीहरुको समस्या सम्बोधन गर्नु नै हो । जसमा पहिलो कुरा बैंकको ऋण र त्यसको ब्याज हो । साथै श्रमिकहरुको ज्याला पनि हो । कोभिड–१९ का कारण नेपालमा उत्पादन भएका सबै वस्तु तथा व्यवसायहरुको अवस्था राम्रो छैन । त्यसैमा पनि सबैभन्दा बढि प्रभावित भनेकै पर्यटन क्षेत्र हो । त्यसो त पर्यटनलगायत अन्य सबैजसो क्षेत्र नै धारासायी अवस्थामा छन् । नेपाल उद्योग वाणिज्य महासंघको चन्द्र ढकाल समूह निर्वाचित भएपछि गर्ने कामहरु भनेका व्यवसायी हक हितका निमित्त नै हो । सरकारले अर्थमन्त्रालय मार्फत सरल कर्जाका लागि बजेट बिनियोजन गरेर नेपाल राष्ट्रबैंक मार्फत जुन रुपमा कार्यन्वयन गर्नका लागि अघि पनि बढिरहेको छ । अहिले सरकारले तत्कालै गर्ने भनेको सरल कर्जा नै हो । अन्य व्यवसायमा पनि यस्ता थुप्रै समस्याहरु छन् । कृषि क्षेत्रमा सरल कर्जाका कामहरु भइरहेका छन् । त्यसै गरी अनुदान प्रदान गर्ने कुराहरु पनि भइरहेका छन् । यी व्यवसायहरु पनि नेपाल उद्योग वाणिज्य महासंघको उत्पादनको रुपमा आउँदछ । यसरी चन्द्र प्रसाद ढकालले नेतृत्व गरेको समूहमा मैले पनि एशोसियट तर्फबाट कार्यसमितिको सदस्य पदमा उम्मेदवारी दिएको छु ।


० निजी क्षेत्रलाई आम सर्वसाधारणको हेर्ने दृष्टिकोण नकरात्मक रहेको पाईन्छ । त्यसलाई परिवर्तन गराउने दिशामा यहाँको भूमिका कस्तो रहन्छ ?
हाम्रो निजी क्षेत्रले राज्यलाई समयमा कर तिरिरहेको छ । परेको बेलामा आवश्यक सहयोग गर्दै पनि आएको छ । निजी क्षेत्र कहिँ पनि चुकेको छैन । शान्ति र संविधानको घोषणा पछि निजी क्षेत्र अलिक बढि चलायमान हुन्छ भन्ने लागेको थियो त्यो हुन सकिरहेको छैन । राजनीतिक खिचातानीका कारण पनि हामीहरु प्रभावित बनिरहेका छौं । कोभिड–१९ को महामारीका समयमा पनि हामीहरु स्वतः स्फूर्त रुपमा सत्ता पक्ष होस् वा प्रतिपक्ष नै किन नहोस् व्यवसायी र देशका जनताको मनोबल कसरी उच्च बनाउने ? भन्ने विषयमा सोच्नु पर्ने थियो । तर, अहिले सत्तारुढ दलभित्रै राजनीतिक खिँचातानी फरक ढंगले अघि बढिरहेको छ । त्यो राम्रो होइन । हामीले कमाएको व्यवसायबाट खर्च कटाएर नाफामा कर तिरिरहेका छौं । आफ्ना कर्मचारीहरु पालिरहेका छौं । काम गरेर दुई रुपैया कमाउनु त पक्कै नराम्रो होइन । सरकारले अनुमति दिएर नै हामीले काम गरिरहेका छौं । अझै पनि सरकारले व्यवसायको प्रकृति हेरेर केहि समयका लागि सरल कर्जा दिएको खण्डमा व्यवसायीले काम गर्न सक्छन् । एक अर्बको व्यवसाय गर्नका लागि ५० करोड आफुसँग भएपनि व्यवसायीले ५० करोड बैंकबाट लगानी गराउन चाहन्छन् । किनकी अहिले व्यवसाय गर्न पक्कैपनि सहज छैन । सरकारले सहजिकरण गरिदिएको खण्डमा नागरिक र व्यवसायीहरुले सरकारलाई नराम्रो गर्ने काम पक्कै गर्ने छैनन् । यदि कसैले गलत गरेको छ भने सरकारले अनुगमन र कारबाही पनि गर्न सक्छ । त्यो अधिकार सरकारसँग सुरक्षित नै छ ।


० व्यवसायीहरु आफै पनि बैंकमा एउटा विवरण र कर कार्यालयमा अर्को विवरण बनाउनुपर्ने हाम्रो बाद्यता छ भन्नुहुन्छ नी ?

हामीले कुनै प्राइभेट कम्पनी दर्ता गरेको खण्डमा दुई वर्षको प्रोजेक्ट रिपोर्ट तयार गर्नुपर्दछ । संस्था दर्ता गरेको छ महिनामा मात्रै बैंकले ऋण प्रवाह गर्छ । त्यो समयसम्म कारोबार धेरै भइसकेको हुँदैन । अनुगमनको क्षेत्र बलियो हुनुपर्दथ्यो । तर, हामी कहाँ त्यो पनि छैन । कुनै प्रोजेक्ट बनाउँदा मैले दुई सय जना कर्मचारी राख्छु । चार अर्ब कमाउँछु भनेर भन्न पाए । प्रस्ताव पेश गर्दा त्यो गरिन्छ । तर, त्यहि बमोजिमका कर्मचारीहरु प्रयोग गरिएन, कच्चा पदार्थ प्रयोग हुने अवस्था आएन । यसरी कमाउने अवस्था आएन भने तल माथि हुन सक्छ । कसैले दुई करोडका पुँजी राखेर २० अर्बको व्यापार पनि गरेका छन् । दुई करोडको लगानीमा २० करोडको ब्यापार हुन पनि सक्छ । त्यसलाई हामीले अन्यथा मान्नु हुँदैन । त्यसरी प्रोजेक्टका कुरालाई लिएर म्याच गरेन भन्न मिल्दैन । किनकी बजार अनुसार उद्योग स्थापना गरिसकेपछि त्यसका माग कस्तो हुन्छ ? बजारमा अहिले तिब्र प्रतिस्पर्धा छ । एकलौटी ब्यापार त कहिँ पनि हुदैन । त्यसैले प्रतिस्पर्धामा जाँदा कतिपय उद्योगहरु दुई चार वर्षमै बन्द भएको अवस्था पनि छ । तर, कतिपय कम्पनीहरु वर्र्षौ देखि चलिरहेको अवस्था पनि छ । यसरी हामीले राज्यलाई झुक्याएर कर छलेका छैनौं । यो देश बन्यो भने हामी पनि बन्छौं । देशको गौरव भयो भने मात्रै व्यवसायीहरुलाई पनि गौरव हुन्छ । ति कुराहरुको हामीले मध्यनजर गरेर अघि बढ्छौं ।


० कोरोना भाइरस नियन्त्रणका लागि सरकारले झण्डै चार महिना लकडाउन त्यसपछि निषेधाज्ञाको घोषणा गरेको थियो । त्यसको बढि मारमा पर्यटन व्यवसाय पनि परेको छ । यसलाई तत्काल राहत र पुनस्थापित गर्नका लागि तपाईहरुको समूहले जित हासिल गरेपछि कस्ता कार्यक्रमहरु ल्याउने छ ?
कोरोना भाइरसको महामारी यो पीढिले भोगेको थिएन । धेरै पहिला आएको रहेछ । हामीले पाँच वर्ष अगाडि बिनासकारी भूकम्पको मार खेप्यौं । अहिले कोभिड–१९ को महामारी आयो । पर्यटन क्षेत्रको हकमा अहिले सरकारले पाँच प्रतिशत व्याजदरमा सरल कर्जा दिने भनेर ५० अर्बको रकम तोकेको छ । त्यसका लागि इम्प्लिमेन्टेशनका दिशामा अघि बढिरहेको छ । अहिले अन्य उद्योग र व्यवसायमा पनि त्यहि ढंगले अघि बढ्नुपर्दछ भन्ने लाग्छ । यो कोरोना भाइरस लामो समय रहँदैन र व्यवसाय अहिले नोक्सानमा भएपनि दुई तीन वर्ष पछि अवश्य नै नाफामा आउँछ । अहिले विश्व बजारमा यसको खोप आइसकेको छ । हामी कहाँ पनि छिट्टै आउने छ । त्यसपछि व्यापार बिस्तारै चलायमान हुनेछ । त्यो अवस्था नहुन्जेल सरकारले व्यवसायीहरुलाई सहयोग गर्नुपर्दछ । हाम्रो मूख्य चुनौति भनेकै बैंकको ब्याज हो । हामी चैत्र मसान्तसम्म तिनुपर्ने व्याज अहिलेसम्म तिर्न सकेका छैनौं । यसरी बैंकले अर्को ब्याज नलगाएको खण्डमा पनि सहज हुन्छ भन्ने अवस्था छ । यसरी असोज मसान्त मात्रै होइन अहिले पुस मसान्तको समय दिइएको छ । यसैले सरकारले व्यवसायीको हितमा सरल कर्जाको व्यवस्था गर्नुपर्दछ । जबसम्म हामी व्यवसाय सूचारु गर्न सक्तैनौं त्यो समयसम्म कर्मचारीहरु पाल्न पनि बाद्यता छ । कम्पनी पनि चलाउनुपर्दछ । अहिले सरकारले भने जस्तै १० प्रतिशत मात्रै सरल कर्जा पाएर मात्रै पनि हुँदैन । त्यसबाट पुनः लगानी गर्ने कि कर्जा मात्रै तिर्ने ? किनकी कर्मचारीको तलब दिन पनि पुग्दैन । जमानत (कोल्याक्टल) राम्रो छ भने बैंकलाई ५० प्रतिशत कर्जा थप गर्न गाह्रो छैन । किनकी हिजो ऋण प्रवाह गर्दा पनि ५० प्रतिशत मात्रै ऋण प्रवाह गरिएको हुन्छ । त्यसैले ५० प्रतिशत ऋण प्रवाह गर्दा बैंकलाई अप्ठ््यारो हुँदैन । बैंक पनि पब्लिकको पैसाले नै चलेका छ । त्यसलाई पनि त बिगार्नु हुँदैन । अहिले उद्योगी व्यवसायी कसरी चलाउने ? कर्मचारीको तलव ५० प्रतिशत सरकारले दिनुप¥यो भनेर अनुरोध गर्दा सरकारले टेर पुच्छर नै लगाएन । नयाँ ठाउँमा काम गर्न जान पनि कर्मचारीले पाउने अवस्था छैन । नयाँ काम नपाउने भएपछि परिवार पाल्नका लागि स्वास्थ्य मापदण्ड पुरा गरेर काम गर्न तयार हुनुहुन्छ । तर, उद्योग चलिरहेको छैन । माग भए नै आपुर्ति हुन्छ । त्यसैले अहिले माग पनि छैन र आपुर्ति पनि छैन । यसरी विबिध कारणले गर्दा हामी समस्यामा छौं । हिजोको उद्योग बाणिज्य महासंको निर्वाचन र अहिलेको उद्योग वाणिज्य महासंघको निर्वाचन फरक भएका कारण यो विषम परिस्थितिमा व्यवसायिक मानिसहरुको प्रतिनिधित्व हुन जरुरी छ । त्यसैले उद्योगीको मर्का बुझेको मानिस प्रतिनिधित्व गरेका खण्डमा उनीहरुको हकहितमा काम गर्न सक्छन् । तब मात्रै ब्यवसाय राम्रो भएर अघि बढ्न सक्छ । नत्र हामीले पछुताउनुपर्ने अवस्था हुन सक्छ । हामीले त्यो खालको राहत पनि नपाउन सक्छौं । हामीले सरकारसँग निशुल्क रुपमा राहत मागेका पनि छैनौं । त्यसैले एकदमै न्यून ब्याजदरमा कर्जा लगानी गरिनुपर्दछ भन्ने हाम्रो माग हो ।


एक जना उद्यागीले सरकार कि बैंक रोज कि उद्योग भन्नुभएको थियो । बैंकमा पैसा प्रशस्त छ । तर, लगानी भएको छैन । किन यो अवस्था आयो ?
हामीसँग कोल्याक्टलको हकमा कुनै समस्या छैन । ऋण प्रवाह पनि भइरहेका छन् । तर, पर्यटन क्षेत्रमा काम गर्ने कर्मचारीहरु जो भारी बोकेर हिमाल चढ्न जानुुहन्छ । गाइड र पद् प्रदर्शक बनेर पर्यटकको सेवा गर्नुहुन्छ । उहाँहरुसँग कोल्याक्टल त हुँदैन । यसरी उहाँहरुलाई गाइड लाइसेन्स राखेर निश्चित रकम बैंकले कर्जा प्रवाह गर्ने भनेकोमा पनि आलटाल भइरहेको छ । त्यसका लागि कम्पनीको सञ्चालकको पनि सिफारिस चाहिने भनिएको छ । यसरी उद्योगी व्यवसायीहरुले अहिले पनि ऋण त पाइरहेका छन् । तर, हाम्रो माग चाहिँ सफ्ट लोनमा पाउनुपर्छ भन्ने हो । यसरी अहिले हामीले ८ प्रतिशत भन्दा तल झर्न गाह्रो भइरहेको अवस्था छ । तीन देखि पाँच वर्ष सम्मका लागि हामीले सफ्ट लोन (सरल कर्जा) पाउन सकेनौं भने हामी टिक्न साह्रै गाह्रो छ । किनकी हामीले अहिले लिने ऋण भनेको ऋण माथि ऋण थप्नु नै हो । जसको समयमा ब्याज बुझाउनु पनि हो । अहिले हामीले १० महिना देखि ब्याज बुझाएका छैनौं । किनकी व्यवसाय गर्ने भनेर पैसा जम्मा गरेका छैनौं । व्यवसाय गर्नेले कमाउने र तिर्ने भन्ने आफ्नै सोचहरु हुन्छन् । अहिले सबै बैंकमा रकम छ । हिजोको अवस्थामा हामीले १३ देखि १५ प्रतिशत व्याज बुझाएका थियौं । तर, अहिले ७÷८ प्रतिशतमा झरेको छ । यो त ५० प्रतिशत कमी हो । जमानत र परियोजना ठीक हुनेका लागि अहिले पनि बैंकले ऋण दिइरहेको छ । तर, बाहिरी रुपमा भन्दा हामीले कि बैंक रोज कि ब्यवसाय भन्ने हो । सरकारले नीति बनाउँदा राम्रो बनाउँ भन्ने हो । किनकी सरल कर्जा दिने भन्न साथ हाम्रा ४३ प्रतिशत व्यवसायीहरुले कोभिड–१९ भन्दा अघिको महाविनासकारी भूकम्पमा सुबिधा उपयोग गरे । ४३ प्रतिशतले मात्रै उपयोग गर्नु त भएन नी ? कम्तीमा ८० प्रतिशतले यो सुबिधा पाउनुपर्दथ्यो । यसरी सुविधा लिने कुरामा धेरै ठूलो मापदण्ड बनाईन्छ । यो अप्ठ्यो अवस्थामा त्यउो सोचाई हुनुहुँदैन । बैंकले सुरक्षा हेर्ने हो । पहिलो कुरा त व्यवसायबाट तिर्न सक्छ भनिकन प्रोजेक्ट हेर्छ । यदि ब्यवसाय नै भएन भने मात्रै जमानतले कभर गर्न सक्छ कि सक्दैन भनेर अनुमान गर्ने हो । यी कुराहरु हेरेर ऋण थप्न गाह्रो छैन । तथापि व्यवसायीले ऋण मात्रै कहिलेसम्म थप्ने ?
हाम्रो अबको बिकल्प भनेको कोरोना भाइरस एकतिर हिड्छ हामी अर्कोतिर हिड्ने हो । पहिलो पटकको १२० दिनको लकडाउन गलत साबित भएको छ । त्यो नभएको भए अहिले धेरै राम्रो हुने थियो । यो आर्थिक वर्ष पछि भएको भए हामीलाई केहि सहज हुने थियो । अहिलेको परिस्थितिमा जुन मौद्रिक नीति आएको छ । त्यहि ढंगले काम होला । भइपनि रहेको छ । अहिले बढि मारमा अन्तर्राष्ट्रिय पर्यटक आउने व्यवसाय नै परेको छ । तथापि स्थानीय बजारमा पनि यसको असर छ । नेपालको पर्यटन भनेको यहाँ कच्चा पदार्थ बाहिरबाट आयात गर्नु पर्देन । हाम्रा कच्चा पदार्थ हाम्रै बजारमा छ । हाम्रो सुन्दरता नै त्यहि हो । पहिलो गन्तब्यका रुपमा पर्यटकहरु नेपाल छिरेपछि त्यहिको खानपिन र भेषभुषाहरु नै हुन् । हाम्रा स्थानीय उत्पादनमा त्यहि कारणले कमि आएको छ । अहिले होटल रेष्टुरन्ट, हर्स राइडिङ, टे«किङ जस्ता कम्पनीहरु समस्यामा छन् । त्यसैले यो महामारीमा राज्यले बचाउँन जरुरी छ । अहिले नेकपाको झण्डै दुई तिहाईको सरकार छ । यसले व्यवसायीको हक हितमा काम गर्नुपर्दछ । तर, सुनुवाई कम भइरहेको छ । त्यसैले चन्द्र प्रसाद ढकालको नेतृत्वमा रहेको समूहले व्यवसायीलाई राहत दिने काम गर्ने छ । साथै व्यवसायहरुलाई सहयोग गर्ने छ । त्यसका लागि हामीले ब्यापक रुपमा लबिङ गर्नेछौं ।


० अन्तमा केहि भन्नु छ कि ?

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा सम्पूर्ण उद्योगी व्यवसायी, मतदाता, दाजुभाइ दिदी बहिनीमा चन्द्रप्रसाद ढकाल समूहलाई अत्याधिक मतले विजयी गराउनका लागि म पनि एशोसियट सदस्यको उम्मेदवार भएका नाताले हार्दिक अनुरोध गर्न चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.