September 14, 2021

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

जुनसुकै लाइभस्टक फार्ममा काम गर्नेहरुका लागि अतिरिक्त प्रोत्साहन भत्ता दिन जरुरी छ


विशेश्वर प्रसाद यादव, कार्यालय प्रमुख, बाख्रा विकास फार्म चित्लाङ
नेपालमा प्रदेश सरकार अन्तर्गतका कैलालीको बुढीतोला र मकवानपुरको चित्लाङ गरी दुई वटा बाख्रा फार्म छन् । त्यसै गरी नार्क अन्तर्गतको तनहुँको बन्दीपुरमा अर्को एक बाख्रा फार्म रहेको छ । यी फार्महरुबाट मासु उत्पादन प्रजनन गराई बिभिन्न जातका पाठापाठी किसानको माग अनुसार विक्री वितरण गरिन्छ । यो फार्म प्रदेश सरकार अन्तर्गत सञ्चालित नाफामुलक नभई सेवामुलक रुपमा रहेको चित्लाङ स्थित बाख्रा विकास फार्मका प्रमुख विशेश्वर प्रसाद यादव बताउनुहुन्छ । तर, महालेखा जस्तो संवैधानिक अंगले हचुवाका भरमा बुझ्दै नबुझि ६० लाख वर्षेनी खर्च गरी चार लाखको प्रतिफल दिएको भन्ने झुठो प्रतिवेदन दिएको र २४ घण्टा काम गरेर रातो दिन खटिँदै आएका कर्मचारीहरुलार्ई प्रोत्साहन गर्नुुपर्नेमा उल्टै हतोत्साही बनाउन लागि परेको बताउँनुहुन्छ कार्यालय प्रमुख यादव । तीन सय पाँच रोपनीमा फैलिएको बाख्रा फार्ममा अहिले झण्डै चारसय वटा बाख्रा, पचास वटा भेडा र १६ जोडी खरायो समेत पालिएको छ । यसै विषयमा चित्लाङ स्थित बाख्रा विकास फार्म पुगेर प्रमुख विशेश्वर प्रसाद यादवसँग डायरी एक्सप्रेस साप्ताहिकका लागि नारायण प्रसाद शर्माले गरेकोे विस्तृत कुराकानीः


० तपाई थाहनगरपालिका, मकवानपुरको चित्लाङ स्थित बाख्रा फार्मको प्रमुख हुनुुहुन्छ । फार्मलाई कसरी विकास गर्नुभएको छ ?

बाख्रा विकास फार्म चित्लाङमा अहिलेको अवस्थामा सानो ठूलो गरी झण्डै चारसयको संख्यामा बाख्राहरु छन् । यसमा साना तिना गरी गणना गरिएका छन् । तथापि संख्या घटबढ पनि भइरहन्छ । बाख्राहरु ब्याउने क्रममा संख्या बढ्छ । र, बिक्री वितरण गरेपछि संख्या घट्ने गर्छ । यसरी कहिलेकाँही यो संख्या पाँचसयमा पुग्ने गर्दछ । त्यसैगरी साढे तीनसयमा पनि झर्ने गर्दछ । यस फार्ममा दुई वटा जातका बाख्राहरु रहेका छन् । तर, हामी यसलाई तीन जातका भन्ने गरेका छौं । एउटा शुद्ध सानन, जुन दुधको लागि पालिने बाख्रा हो । यसको संख्या ३०–३५ को संख्यामा छ । अर्को नेपाली स्थानीय खरी जातको हो । त्यसै गरी सानन र खरीको क्रस गरी पालिएका ७५ प्रतिशत बाख्राहरु छन् । हाम्रा किसानहरुको माग पनि क्रस जातका बाख्राहरु खरिद नै छन् ।


० यस्ता फार्महरुबाट हामीले आयात गर्ने मासु उत्पादनका लागि के योगदान रहन्छ ?
यो बाख्रा फार्म सेवा मुलक हो । यहाँबाट उत्पादन भएका बाख्राका पाठापाठीहरु गाउँबाट बाख्रा पालन गर्ने किसान दाजुभाइहरुबाट माग भए बमोजिम बीउँको रुपमा दिने गरिन्छ । समूह, समिति र व्यवसायिक फार्महरुमा यहाँबाट पाठापाठी लगि नश्ल सुधार गरी पाल्ने गर्नुहुन्छ । यहाँको सानन र खरी जस्ता बाख्राका पाठापाठीहरु लगि नश्ल सुधार गरेर पालेपछि उत्पादन गरी सरकारले अघि सारेको मासुको उत्पादनमा आत्मनिर्भर हुने लक्षका हिसावले काम गरेका छौं । यहाँ उत्पादन भएका पाठापाठीहरु लगेर पालिसकेपछि मासु उत्पादनमा हामीले ठूलो सहयोग पु¥याईरहेका छौं ।
० तपाई प्रमुख रहेको बाख्रा फार्ममा कति जनशक्ति छन् ? र, कति जनशक्तिको आवश्यक हो ?
हाम्रो फार्म लाइभस्टक फार्म भएका कारण प्राविधिक जनशक्ति भएपनि दरबन्दी अनुसारको पदपूर्ति छैन । प्राविधिक हिसावमा पशु विकास अधिकृत लगायत प्रास (नायव सुब्बा) लेबलका दुई वटा छन् । त्यसै गरी नायव पशु सेवा प्राविधिकको दरबन्दी चारवटा रहेकोमा एक जना मात्रै हुनुहुन्छ । तीनवटा चाहिँ रिक्त छ । यसको अतिरिक्त चार जना कार्यालय सहयोगी एक जना गाडी चालकसमेत गरी चौध जनाको दरबन्दी हो । यसरी अहिले चारवटा पद रिक्त छन् ।


० तपाईले दैनिक चलाउनुपर्ने आवश्यक जनशक्ति कसरी पुर्ति गरिरहँनु भएको छ ?

हाम्रो कार्यालयमा रहेको १४ जनाबाट मात्रै यो फार्म चलाउन सकिदैन । किनकी यसमा बाख्रा मात्रै नभई यो वर्ष देखि भेडाहरु पनि राख्न सुरु गरेका छौं । हामीले जुम्लाको भेडाफार्मबाट भेडा ल्याएर अहिले पाल्न सुरु गरेका हौं । त्यसको अलबा यो वर्षबाट मासुका लागि पालिने चिन्चिला, क्यालिफोर्निया र अंगोरा जातका खरायो ल्याएका छौं । अहिले खरायो पनि साना ठूला गरी ५० वटा छन् । हामी कहाँ कामहरु बढ्दै गएको छ । तथापि जनशक्ति भने एकदमै कमी हुँदै गएको छ । प्राविधिक जनशक्तिका लागि हामीले करारमा पदपुर्ति गर्न सक्तैनौं । यसका लागि लोकसेवाको सहयोग जरुरी छ । अपुग जनशक्तिका लागि हामीले माग गरेका पनि छौं । हाल प्रक्रियामा छ । सायदै आगामी आषाढ साउनसम्म पुर्ति हुनेछ । चारजना कार्यालय सहयोगीको दरबन्दीमा दुई जना स्थायी हुनुहुन्छ र दुई जना करारमा नियुक्ति गरी काम लिएका छौं ।


० यहाँको बाख्रा पालनमा दानाहरुको व्यवस्थापन कसरी गरिरहँनुभएको छ ?

वास्तवमा यो ठाउँ मकवानपुर जिल्लामा रहेको भएपनि साधान र स्रोतका हिसावमा दुर्गम जस्तै छ । केहि समय अघि सम्म विभिन्न सामाग्री खरिद गरेर दाना बनाउँदै आएका थियौं । तर, गत वर्ष देखि वर्षायाममा गाडीको असुबिधा हुने र सामाग्री ल्याउन निकै कठिनाई हुने हुँदा दानाहरु दुग्ध विकास संस्थान अन्तर्गतको दाना बनाउने कारखानाबाट केहि दाना, ढुटो र चोक्करहरु बाहिरबाट खरिद गरेर ल्याउने गरिएको छ । साथै हामीसँग जग्गा पनि पर्याप्त नै भएका कारण मकैको खेति पनि गर्दछौ । हामीले उत्पादन गरेको मकै, डीडीसीबाट उत्पादित दाना, ढुटो र चोक्कर मिलाएर त्यसमा नून र टक्सिन व्याण्डरहरु मिक्स गराएर ख्वाउने गरिएको छ ।


० यहाँको बाख्रा फार्ममा राज्यको लगानी अनुसारको प्रतिफल भएन भनेर संवैधानिक निकाय महालेखाको प्रतिवेदनमा उल्लेख छ । यस विषयमा तपाईको भनाई के छ ?

यो फार्म नाफा मुलक नभई बिल्कुलै सेवा मुलक हो । यहाँबाट उत्पादित पाठापाठीहरु सरकारी न्यून दररेटमा बेच्नुपर्दछ । यसका लागि मूल्य सरकारले नै निर्धारण गरेको हुन्छ । यसकारण यो फार्मबाट बोकाहरु बिक्री गर्दा सानन क्रस जातको बोकाको ‘लाइभवेट’ चारसय र पाठीको तीनसय रुपैया प्रति किलो पर्दछ । खरी जातको बोकाको तीन सय र पाठीको दुईसय पचास रुपैया प्रति किलो मात्रै दररेट छ । त्यसैकारण हामीले बजारभाउ अनुसारको दररेट पनि छैन । किसानहरु कहाँ बोकाको मूल्य प्रति किलो सात आठसय रुपैया सम्म छ । यहाँ सस्तो रेट भएका कारण बिक्रीबाट धेरै कम आय गर्न नसकिएको हो । दोस्रो यो फार्म नाफामुलक नभएका कारण नै प्रति वर्ष सवासयको हाराहारीमा बिक्री गरिने बोकाहरु १५ ÷१६ केजीको हुँदा नै बेच्नुपर्ने बाद्यता छ । साथै पाठीहरु पनि हामीले सस्तो दररेटमा बिक्री गर्नुपर्दछ । यदि यो फार्मलाई नाफामुलक रुपमा लैजान दिने हो भने वार्षिक रुपमा पचासवटा नै खसी बनाएर बेच्दा एक खसीको पचास हजारका दरले २५ लाख त त्यहिबाटै नाफा गर्न सकिन्थ्यो । तथापि हामी सेवामुलक काम गर्नुपर्ने सरकारको कार्यविधि भएकै कारण कम आय हुन गएको हो । हामी त सरकारले अह्राएको काम गर्ने मात्रै हो । किसानहरुलाई सर्वसुलभ दरमा कसरी सेवा दिन सकिन्छ ? त्यहि नै हाम्रो लक्ष भएकाले यो अवस्था आएको हो ।


० मोर्टालिटी (मृत्युदर)को विषयमा आएका गुनासाहरु पनि छन् नी ?

यो अत्याधिक चिसो ठाउँ हो । पुस र माघ महिनामा चिसोका कारण पाठाहरुमा निमोनिया र डिस्प्यारेन्टीका समस्याहरु हुने गर्दछन् । त्यसैकारण वर्षायाम र हिउँदका समयमा मृत्युदर बढि भएको हो । अहिले हामीले अनुभवकै कारण सिक्दै गएका छांै । यसपटक पुस माघमा बच्चा जन्माउने रोटेसन परिवर्तन गराएका छौं । पुस र माघमा नभई फागुनबाट मात्रै पाठापाठी उत्पादन गर्ने रोटेसन मिलाएका छौं । यसैकारण पनि विगतका वर्ष भन्दा यो वर्ष मोर्टालिटीको संख्या धेरै घटेको छ । हाम्रो फार्ममा मात्रै नभई किसानका बाख्राहरुमा पनि अहिले इन्टेरोटक्सिमिया भन्ने रोगको समस्या छ । त्यो रोगबाट हाम्रा फार्ममा मात्रै होइन गाउँघरका किसान दाजुभाइका बाख्राहरुमा पनि समस्या छ । तर, पनि यो रोगको निर्मुल गर्न वा नियन्त्रण गर्नका लागि भ्याक्सिन (खोप) को उपलब्धता हुनुपर्ने हो । तर, नेपालमा चाहिँ यो रोगको भ्याक्सिन पनि नबनेको र ल्याउन पनि सहज नभएको अवस्था छ । यसरी गाउँ घरका किसान दाजुभाइका कुनै आधिकारिक रेकर्ड नभएर मात्रै हो । यसरी सरकारबाट यो इन्टरेटक्सोमिया रोगको भ्याक्सिन सर्वसुलभ रुपमा उपलब्ध भयो भने, किसान दाजुभाइका बाख्राका लागि पनि धेरै राम्रो हुने थियो ।


० यो इन्टरेटक्सोमिया रोगको खोप अहिलेसम्म पनि किन उपलब्ध हुन सकेन त ?

हामी एउटा सानो इकाईमा काम गछौं । हाम्रा सम्बन्धित निकायहरु मन्त्रालय र विभागहरु छन् । यसरी त्यस खालका खोपहरु उपलब्ध गराउने काम त मन्त्रालय र विभागको हो । हामीले यहाँबाट सम्बन्धित ठाउँमा गुनासाहरु बताउने र लैजाने मात्रै हो । अर्को तर्फ हामीले सिधै ल्याउन सम्भव नै छैन ।


० तपाईको यो बाख्रा विकास फार्ममा भविश्यका वृहत्तर योजनाहरु के छन् ?
हाम्रो यो फार्ममा बाख्राहरु मात्रै थिए । यो वर्षबाट सेवा बिस्तार गरी भेडा पाल्न सुरु गरेका छौं । साथै मासुका लागि खरायो पनि पालिरहेका छौं । किसान दाजुभाइहरु कहाँ खरायो र भेडाका पाठापाठीको समेत अत्याधिक माग आएका कारण सुरुवात गरेका हो ।


० तपाईहरुको मूख्य लक्ष्य नै मासु उत्पादन भन्दा पनि ब्रिडिङ (प्रजनन) गराउने मात्रै हो ?
हामीले यो फार्मलाई स्रोत केन्द्रका रुपमा मात्रै राखेका छौं । यसका लागि स्रोत र जिनहरु बचाई राख्ने पनि हो । नेपालको स्थानीय शुद्ध खरी बाख्रा जसले पाल्यो भने विदेशी बाख्राको तुलनामा उत्पादनमा कुनै कमि छैन । अरु बाख्रा हाम्रो नजरमा ठूलो र धेरै मासु देखिए पनि लगानी र समयका हिसावले यो बाख्रा अत्यन्तै लाभदायी छ । यो बाख्राको विशेषता नै दुई वर्षमा तीन पटक बच्चा जन्माउन सक्छ । बच्चाहरु राम्ररी हुर्काउने पनि गर्छ । यसको साथ–साथै हाम्रो स्थानीय हावापानी र यहाँको खाना खाएर बाच्ने गर्दछ । विदेशी ठूला बाख्राहरु हेर्दा ठूलो देखिएपनि वर्षमा एक पटक मात्रै व्याउने र एकवटा मात्रै बच्चा जन्माउने गर्दछ । एक बेत देखि अर्को बेतसम्मको अन्तर धेरै हुने भएकाले विदेशी बाख्राहरु पनि लाभदायक छैनन् । यसरी हाम्रा स्थानीय बाख्राहरुको जिन बचाएर राख्ने काम पनि यो फार्मले गरिरहेको छ ।


० चित्लाङमा रहेको यो बाख्रा फार्म जस्ता अहिलेको माग अनुसार देशमा कतिवटा फार्म आवश्यक छ ?
राम्रो प्रश्न गर्नुभयो । आवश्यकता त धेरै नै छ । हामीले वर्ष दिनमा यो फार्मबाट दुई अढाई सय पाठापाठीहरु विक्री वितरण गर्दछौं । तर, माग भने वार्षिक रुपमा दशौं हजारको हुने गर्दछ । हामी कहाँ डेड सय माग गरेको अवस्थामा बीउँका रुपमा एक दुई वटा मात्रै दिने गरेका छौं । हाम्रो यहाँ प्रदेश र देशभरबाट माग आउने गर्दछ । त्यसैले देशका सातै वटा प्रदेशहरुमा कम्तिमा पनि एकवटाका दरमा फार्म सञ्चालन हुनुपर्दछ । अहिले नेपाल सरकार अन्तर्गत कैलालीको बुढीतोला र चित्लाङको गरी दुई वटा मात्रै बाख्रा फार्म छन् । नेपाल कृषि अनुसन्धान परिषद्को तनहुँको बन्दिपुरमा एउटा बाख्रा फार्म छ । तीनवटा फार्मबाट देशभरको माग धान्न सक्तैन ।

० यो फार्म अझ बिस्तार र सुधारका लागि राज्यबाट के गर्न जरुरी छ ?
हाम्रो यो फार्ममा बाख्रा, भेडा र खरायोहरु छन् । यो श्रोतकेन्द्र पनि भएको हुँदा तालिमहरु दिने गरेका छौं । हामीकहाँ आन्तरिक तालिम पनि हुन्छ । प्रदेश मन्त्रालय र निर्देशनालयहरुमा बाख्रा सम्बन्धि तालिमहरुमा सहजिकरण पनि गर्दै आएको छ । यहाँ फार्म भएका कारण जीउँदो पशुसँग काम गर्न जनशक्ति पनि पूर्ण छैन । अन्य सरकारी कार्यालयहरु १० देखि पाँच बजेसम्म चल्छन् । उहाँहरुलाई कार्यालय समय बाहेक कुनै चिन्ता हुँदैन । तर, यो कार्यालयमा काम गर्ने जो कोहि कर्मचारीहरु २४ घण्टा खटिनुपर्दछ । उहाँहरुलाई कतिबेला रात पर्छ र कति बेला उज्यालो हुन्छ भन्ने समेत थाह हुँदैन । कुनै पशु राती बिरामी भयो वा राती बाख्रा भेडा ब्यायो भने तत्कालै उद्दारको काम गर्नुपर्दछ । यहाँ काम गर्ने कर्मचारीहरुले पनि १० बजेबाट ५ बजेसम्म काम गर्ने कर्मचारीले जस्तै तलब भत्ता पाउँछन् । बाँकी अतिरिक्त तलब भत्ता त पाउँदैनन् । मानिसले धेरै काम गरेपछि पक्कै पनि बढि तलब भत्ताको आशा गरेको हुन्छ । जसले गर्दा यो फार्ममा काम गर्ने कर्मचारीका लागि सरकारले अतिरिक्त काम गरे बापत प्रोत्साहन भत्ता दिएको खण्डमा अझ राम्रो काम हुने थियो । काम गर्ने कर्मचारीको अझै जाँगर चल्ने थियो । यो फार्महरुमा पदस्थापन हुने भनेका कर्मचारीहरु डम्पिङ साइड जस्तो सम्झेका हुन्छन् । उनीहरु अन्य ठाउँमा पहुँच नपाएका बखत मात्रै यहाँ सरुवा भएर आउने गरेका छन् । यसैले हौसला बढाउन, लगनशिलता कायम राख्न, पनि जुनसुकै लाइभस्टक फार्ममा काम गर्नेहरुका लागि अतिरिक्त प्रोत्साहन भत्ता दिन जरुरी छ । कुनै बागवानी फार्ममा एउटा विरुवा मरे जस्तो यहाँ हुँदैन । घास फार्ममा पनि त्यस्तो ठूलो नोक्सानी हुँदैन । यहाँ सेवा दिन नसकेका कारण रातमा एउटा मात्रै बाख्रा मर्न गयो भने पनि लाखौं नोक्सानी हुन्छ । यो ठाउँ कर्मचारीका लागि सेवा र सुबिधाबाट एकदमै बन्चित भएको ठाउँ हो । यहाँ विद्यालय वा कुनै बजारको सुबिधा छैन । यो फार्ममा काम गर्दा यहाँ बसेको अवस्थामा कुनै दिनको गते, बार वा महिनाको नै ठेगान हुँदैन । यहाँ हामीहरु २४ सै घण्टा बाख्रा र ड्यटी बाहेक केहि पनि देखिदैन । यसरी मेहनत गर्ने मामिसलाई थप प्रोत्साहित गर्न म जरुरी देख्दछु ।


० अन्तमा केहि थप भन्नु छ कि ?
हाम्रो जस्तो दुर्गम ठाउँको यो फार्ममा आएर हाम्रो होसला बढाउँदै फार्मको प्रचार प्रसार गरिदिनुभएकोमा मुरी मुरी धन्यवाद दिन चाहन्छु ।

Copyright © All rights reserved. | Newsphere by AF themes.